हुकुमअनुसार ईन्द्रचोक कान्तिपुरकी भान्जीछोरी (भान्जी) लाई कुमारी बनाई दैवीशक्ति जीउमा सारेर साल्खा टोलको कुमारी मण्डपमा कुमारी भैरव गणेश र जेठी कुमारीको पूजा गरियो।
शंखको आकारमा ३३०० वर्ष अगाडी निर्माण गरिएको साँखुको पौराणिक नाम शंखरापुर हो। कलिगत संवत् १८०१ फागुन तृतीयाको दिनमा सात गाउँ मिलाएर शंखरापुर शहर शंखको आकारमा निर्माण गरिएकोबारे मणिशैल महावदान हस्तलिखित थ्यासफुमा उल्लेख छ। थ्यासफुअनुसार साँखुकी इष्टदेवी बज्रयोगिनीको आदेशमा नै साँखुलाई व्यवस्थित शहर बनाइएको हो।
त्यसैमा एक हजार घरहरूको सानो शहरमा बाह्रैमहिना विभिन्न जात्रामात्रा तथा कुमारीको पूजालगायत सांस्कृतिक रूपमा विभिन्न चलनहरूले भरिपूर्ण बनाउने देवीको आज्ञा रहेको उल्लेख छ। शहरको भित्र बाहिर अष्टविनायक, अष्टमंगल, अष्टमातृका देवी शक्तिपीठहरुले घेरिएको हुनुपर्ने बज्रयोगिनी देवीको आदेश थियो भन्ने मानिन्छ।
प्रत्येक वर्ष बज्रयोगिनी देवी जात्राको लागि चार वटा टोलमा देवीको पालीघर (पाहुनाघर), पाटी पौवाहरू र चार वटा मूल डबली निर्माण गराएर ती डबलीहरूमा देवी नृत्य गराउनु पर्ने, चार वटा नासद्य (नाट्यश्वरहरू) को मन्दिर र सहायक ढोकाहरूसमेतको व्यवस्थापन गरी सात गाउँका बासिन्दालाई एकहजार घरधुरीको बसोबास गराएको कथन थ्यासफुमा उल्लेख छ।
साजसज्जामात्र नभई विशेष प्रयोजनसहितका चार मुख्य प्रवेशद्वार र एउटा राजकुलो यहाँको अर्को विशेषता हुन्। साँखुमा रहेको राजकुलो पनि सोही आधारमा बनेको पाइन्छ। राजकुलोले शहरभित्र र बाहिर घेर्नुपर्ने लेखिएको छ भने चार वटा मूल ढोकाहरू चार दिशामा राख्नुपर्ने र सो ढोकाहरूको आआफ्नै विशेषता हुनुपर्ने कुराहरू लेखिएको पाइन्छ। यी ढोका साँखुको परम्परासँग जोडिएको छ।
चार ढोकामध्ये देव ढोकाबाट बज्रयोगिनी देवीको जात्रा गर्दा उनको रथ लैजानुपर्ने चलन छ। भौढोकाबाट साँखुमा भित्रने नयाँ दुलही र नयाँ पाहुनाहरू भित्र्याउने गरिन्छ भने जयबलि ढोकाबाट साँखुका चेली छोरीहरू अन्माई बिदाइ गर्ने तथा ससुराली पठाउने गरिन्छ। महादेव ढोकाबाट नगरभित्र मृत्यु भएकालाई श्मशानमा लैजाने मात्र कार्य गर्ने हुनेगर्छ।
साँखुमा दुई कुमारीको चलन
साँखुको राजकुलो तथा यी चार ढोकाहरूका कारण पनि छिमेकी शहरको तुलनामा साँखु सांस्कृतिक रूपमा बेग्लै पहिचान राख्छ। यद्यपि, छिमेकी शहर काठमाडौँ, भक्तपुर र ललितपुरमा जस्तै यहाँ पनि कुमारी चलन भएको जानकारी धेरैको लागि नौलो हुनसक्छ। अन्य स्थानमा एक जना कुमारीलाई पुज्ने चलन हुँदा यहाँ भने 'मुख्य' र 'जेठी' गरी दुई कुमारीलाई मान्ने चलन छ।
यस वर्ष २०८१ असोज १० गते नवमीको रात्रीमा साल्खा टोलको 'कुमारी मण्डप रामझोपडी'मा बज्राचार्यहरूको केटाकेटीमध्ये दुई जना गणेश र भैरव तथा केटीहरूमध्ये मूलकुमारी र जेठीकुमारी पूजा गर्ने कार्यक्रम सम्पन्न गरिएको छ। १० वर्षसम्मका दाँत नझरेका, कुनै घाउचोटपटक र रजस्वला नभएका केटीहरूलाई कुमारीको रूपमा जात्राअनुसार पूजा गर्ने प्रचलन छ।
मणिचूड राजाको जीवनी वर्णन गरिएको मणिशैल महावदान थ्यासफुमा बज्रयोगिनीको उत्पत्ति र साँखु शंखरापुर निर्माणको तिथिमितिसमेत उल्लेख गरिएको संस्कृत श्लोक यसरी लेखिएको पाईन्छ: ॥याते कलियुगे वर्षे शश्याकाश करीमही।। मासेच फाल्गुनेचैव तिथौ गौरी शिते शुभै।। सप्तग्राम समूहीत्वा शंखपुरो भविष्यति।। (कलिगत सम्वत् १८०१ साल फागुन शुक्ल तृतीयाका दिन सातगाउँ मिलाएर शंखरापुर नगर निर्माण गरिएको छ।)
नेवारी भाषामा यस्तो कथानक गीत पनि छ: शरण महालक्ष्मी कुमारी बशुन्धरा प्रभूया चरणे दान शिल तया॥ (महालक्ष्मी कुमारीको पाउमा मेरो शिर राखेर म शरणमा पर्छु।) यो प्रचलित कथानक गीतको प्रमुख पात्र देवी कुमारी हुन्।
साँखुमा रहेका शक्ति पीठका नायिकाहरूलाई कुमारीकै रूपमा पुजिन्छन्। रुद्रयामलतन्त्रमा १६ कुमारीको नाम उल्लेख छ: १. सन्ध्या २. सरस्वती ३. त्रिधामूर्ति ४. कालिका ५. सुभद्रा ६. उमा ७. मालिनी ८. कुब्जिका ९. कालसंकर्षणा १०. अपराजिता ११. रुद्राणी १२. भैरवी १३. महालक्ष्मी १४. पीठनायीका १५. क्षेत्रजा १६. अम्बिका।
त्यस्तै, जात र थरअनुसार पनि कन्याकेटीहरू पुजिन्छन्। १. नर्तकी कन्या २.कपाली कन्या ३.धोबी कन्या ४.सापु कन्या ५.ब्राह्मण कन्या ६. शूद्र कन्या ७. शाक्य कन्या ८. चाण्डाल कन्या ९. बनियाँ कन्या १०. मित्र कन्या।
नवमीको रात्रीमा साँखुको कुमारी मण्डप, साल्खा टोलमा कुमारी पूजाको आयोजना प्रत्येक वर्ष गरिन्छन्। साँखुमा हुने कुमारी पूजामा परापूर्व कालदेखि नै बज्रयोगिनीको शक्ति कुमारी केटीको शरीरमा प्रवेश गरी आफूलाई गरिएको पूजा ग्रहण गर्ने विश्वास गरिन्छ। सोर्ह्रश्राद्धको अष्टमीको राति स्थानीय अष्टमातृकाहरू महालक्ष्मी, वाराही र ब्रम्हायणी पीठको भैरवलाई बलिपूजा गरिन्छन्।
साँखुमा हुने बज्रयोगिनी जात्रा र सालिनदी स्वस्थानी व्रतको एक महिने पर्वको महिमा धेरैलाई थाहै होला। हरेक वर्षको दुई पटक साँखुमा कुमारी पूजा अनिवार्य छ। गुठीसंस्थानले बर्सेनि रकम निकासा दिएर साँखुको तलेजु मन्दिरबाट पूजा सामग्री निकालेर स्थानीय साल्खाटोलको कुमारी मण्डप, रामझोपडीमा तलेजुकै पुजारीले जीवित गणेश, कुमारी, भैरव र जेठी कुमारीको पूजा गर्ने प्रचलन छ। त्यस्तै, बडादशैँको महानवमीमा मूल कुमारी एक जनाको मात्र पुनः पूजा हुन्छ।
जेठी कुमारीको रूपमा समेत पूजा गर्नुपर्ने प्रावधान रहेको साँखुमा पहिले कुमारी भइसकेका बज्राचार्य खलकका जोकोही पनि जेठी कुमारी बन्न पाउने प्रावधान छ। बज्रयोगिनीको शक्तिको रूपमा कन्याकुमारी केटीको शरीरमा प्रवेश गरेको मानिने कुमारी पूजामा गणेशको पहिलो पूजा हुन्छ, तापनि मूल कुमारीले पूजा भाग ग्रहण नगरेसम्म अरू देवीदेवताले पूजाभाग छुँदैनन्। कुमारीले पूजा सामग्री स्वीकार गरेपछि मात्र अरू देवीदेवताले पनि पूजा स्वीकार गर्छन्।
स्थानीय बाजागाजाका साथ कुमारीपूजा सम्पन्न गरिन्छ। देवीदेवताको प्रसादको रूपमा सबै भक्तजनलाई 'समेबजी' भाग लगाइन्छ। यो कार्य राति मात्र गरिन्छ। परापूर्वकालमा चण्डासुर र महिषासुरजस्ता भयानक दानवको संहार गर्न दुर्गादेवीले विभिन्न महिला शक्तिको रूपमा प्रकट भएको स्मरणमा यसरी कुमारीलाई मुख्य पात्रको रूपमा मानेर पूजा गर्नुपरेको बताइन्छ।
शक्तिदायिनी देवीको सम्मानस्वरूप यहाँ घटस्थापना गरेर जौ तिलको जमराको बीउ छरेर तान्त्रिक विधिबाट सो जमरालाई शक्तिदायिनी भगवतीको रूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायनी, कालरात्रि र महागौरी रूपमा दुर्गाष्टमी आराधना पूजा गरिन्छन्। सम्पूर्ण पूजास्वरूप नवमीको दिन नवदुर्गाको प्रतिकका रूपमा कुमारी केटीहरूमा दैवीशक्ति प्रवेश गराई पूजा गरिन्छन् ।
पूर्वकालमा तुलजा भवानीले कन्याकेटीमा मेरो शक्ति प्रवेश गराई पूजा गर्नु भन्ने आदेश भएकोले कुमारी प्रथाको आरम्भ भएको मानिन्छ। साँखुमा परापूर्वकाल देखि नै चलाउँदै आइरहेको मानिएको कुमारी पूजाबारे बज्राचार्यहरूको थ्यासफुमा तिथिमिति सहितको यौटा घटनाबली समेत लेखिएको पाइएको छ:
॥शुभ सम्वत ७९६ भाद्र कृष्णया दशमीस थ्व वेलस जयधर्मदेव आदिनं गुवहा ,वदे आदिं संघ सकलसियां कुमारी तयत म्ह्याय्मचा मदयाव हिन जुयावचोन।। कुमारी पुजा यायत मदयाव महा संदेहचासें थ्वनलिं अथेमखुत धकं धयाव संघ सकलेँ जयधर्मदेवनं मुनकाव समधार यानाव सकल्यें मुनाव राजास धाल वनाव।। थन राजानं जयधर्मदेव यात धाल छमिस म्ह्यायेया म्ह्याच मदुला धकं नेना ,भिनामचा दु धकंधाल राजानं आम जिव धकं धया वंगल क्षेंया पानियाके पुण्डलीया म्ह्याच कुमारी पुजा यातका।। द्य दुबेना सतिषुनु सालखा तोलया मण्डपसा कुमारी भ्यलू गणेश जिथि कुम्हाल थुलि पूजा याय् माल।।मोहनिस बुसाधन पाललाकम्हया क्षेंस मू कुमारी पूजा याय्माल।। थ्वनलिं जयधर्मदेव या जक मखुत संघ पनिसयाके दतसा कुमारी तयतेव जुल।। कुमारी भरी म्ह्याच मदयाव भिनामचा तयागुया छात चोया तया जुल शुभम्।।
(शुभसंवत् ७९६ भाद्र कृष्ण दशमीको दिनमा बज्राचार्यहरूको संघहरूको कसैको पनि कुमारी पूजा गर्न कन्या नभएका कारण तत्कालीन राजालाई सो कुरा जाहेर गर्दा राजाबाट जयधर्मदेवलाई भान्जीछोरी (भान्जी)लाई कुमारी बनाई पूजा गर्न हुकुम गरियो। सो हुकुमअनुसार ईन्द्रचोक कान्तिपुरकी भान्जीछोरी (भान्जी) लाई कुमारी बनाई दैवीशक्ति जीउमा सारेर साल्खा टोलको कुमारी मण्डपमा कुमारी भैरव गणेश र जेठी कुमारीको पूजा गरियो। त्यस बेलादेखि जयधर्मदेवको मात्र होइन, बज्राचार्य जो कसैको छोरीचेली भान्जीहरू पनि कुमारीपूजा गर्न हुने भएको लिखितम् लेखिराखियो।)
यस वर्ष अष्टमी र नवमी तिथि एकै दिन परेकाले एकै दिन विविध पूजाहरूको चटारो छ। साँखुको कुमारीपुजामा पनि त्यो चटारो नहुने भएन।
(श्रेष्ठ साँखुको संस्कृतिका जानकार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
