तस्वीरमा विपिन र उनका बुवा महानन्द (बायाँ)
काठमाडौँ– दशैँ मान्न घर फर्किरहेका यात्रुले खचाखच बस पूर्व–पश्चिम राजमार्गमा हुइँकिरहन्छन्। तिनै बसको कुनै एक सिटमा बसेर आफ्नो छोरा पनि आइदिओस् भन्ने लाग्छ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका महानन्द जोशीलाई।
गाजा क्षेत्रबाट इजरायल पसेर गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी सशस्त्र समूह हमासले आक्रमण गरेदेखि नै त्यहाँ रहेका विपिन जोशी बेपत्ता छन्। महानन्दलाई एक वर्षयता छोरा विपिनबाहेक कुनै कुराको चासो छैन। राजमार्गमा कति गाडी आए–गए तर विपिन आएनन्।
“पहिला दशैँ आयो कि पढ्न गएको छोरा आउन्या दिन कुरेर बस्थ्यौँ। ऊ चढेको गाडी कति बेला पुग्ला भन्न्या झर्को हुन्थ्यो,” फोनमा कुरा गरिरहँदा महानन्द निराश सुनिए, “एक वर्ष भइगयो, नयाँ कुरो केही छैन। हामी त बस् दिन गन्तेर बस्याका छौँ।”
एक वर्ष भयो महानन्दले त्यही सडकलाई नियालिरहेका। कतिका छोराछोरी विदेशबाट कमाएर घर फर्के, पढाइ सकेर जागिरे भए। तर उनी छोराको सकुशल फिर्तीको कामना गरिरहेका छन्। उनको परिवारमा न दशैँ आएको खुशी छ, न त उमंग।
“अहिले पनि विपिनकी आमा र बहिनी उसैलाई सम्झेर रोइरहेका हुन्छन्,” महानन्दले भने, “छोरा सहीसलामत छ भन्न्या खबर पाए मात्र पनि हामीलाई दशैँ आयाजसै हुन्थ्यो।”
गाजा युद्ध शुरू भएको आज ठीक एक वर्ष पूरा भएको छ। हमासको आक्रमणको बदलामा इजरायलले युद्ध घोषणा गरेको थियो। अहिले पनि इजरायलले हवाइ र स्थलगत आक्रमण जारी राखेको छ।
अक्टोबर ७ मा हमासको आक्रमणमा परी कृषिका १० जना नेपाली विद्यार्थीसहित ११ सयभन्दा धेरैले ज्यान गुमाए। हमासले २५१ जनालाई बन्धक बनाएर लग्यो। सम्पर्कविहीन भएका विपिनलाई पनि हमासले बन्धक बनाएको नेपालस्थित इजरायली दूतावासको भनाइ छ।
पछिल्लो एक वर्षदेखि गाजा युद्धको ‘अपडेट’ लिइरहनु, बन्धक रिहाइबारे कुनै समाचार आए कि भनेर जान्नेबुझ्नेसँग सोधपुछ गरिरहनु र फोनमा छोराको खबर पर्खिरहनु महानन्दको दैनिकी बनेको छ।
यसअघि विभिन्न चरणमा भएका अस्थायी युद्धविरामको समय बन्धक रिहाइ हुँदा विपिन पनि छुटिहाल्छन् कि भन्ने आशामा थिए उनी। त्यही आशा बोकेर पाँच पटक त काठमाडौँ पुगे। यसबीचमा तीन जना परराष्ट्रमन्त्री फेरिइसके। विपिनको गृहजिल्लाका एनपी साउदले उनको घरमै पुगेर जसरी पनि छुटाउने आश्वासन दिए।
त्यसपछि नारायणकाजी श्रेष्ठ र अहिले आरजु राणा सबैले रिहाइका लागि पहल गर्ने आश्वासन दिइरहे। तर ती आश्वासनअनुरूप परिणाम निस्किएन। आफूले दबाब दिन नसकेको हो कि, सरकारको पहल नै सुस्त भएको हो, उनको मनमा यस्तै प्रश्न खेलिरहन्छन्।
“हामीले त पहिलो पटक नै युद्धविराम भएको खबर सुन्दा छोरा पनि छुटिहाल्ला भनेर आशा गरेका थियौँ, त्यतिबेला भएन,” उनी भन्छन्, “दोस्रो पटक पनि त्यसै भयो, सरकारले जोडदार पहल गरेको भए छुटिहाल्थ्यो कि भन्ने एउटै गुनासो मनमा छ।”
इजरायलबाट उद्धारपछि नेपाल फर्किएका विपिनका साथी लुइस रिजाल पनि विपिनको बाटो हेरिबसेका छन्। उनी कहिले इजरायलमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्छन्, कहिले नेपालस्थित इजरायली राजदूतलाई भेट्न पुग्छन्।
“अस्ति नै हनान गोदर (नेपालका लागि इजरायली राजदूत)सँग कुरा गरेको मैले, अझै १५० जना जति उतै (गाजामा) छन्,” राजदूतको भनाइ उद्धृत गर्दै लुइसले भने, “सबै सकुशल छन्, तर मानसिक स्वास्थ्यको बारेमा भन्न सक्ने अवस्था भने छैन भन्ने जवाफ दिए।”
युद्ध लम्बिएसँगै बढ्यो चिन्ता
हमासको आक्रमणपछि इजरायलको जवाफी कारबाहीमा अहिलेसम्म ४२ हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार झन्डै एक लाख जति घाइते छन् भने १० हजार जति भग्नावशेषमा पुरिएको आशंका छ। संयुक्त राष्ट्रसंघको स्याटलाइट विश्लेषणअनुसार इजरायलको आक्रमणबाट झन्डै दुईतिहाइ गाजाक्षेत्र खण्डहर भइसकेको छ।
विश्वस्तरबाट यो युद्ध रोक्न विभिन्न प्रयास भए पनि सफल हुनसकेको छैन। गत नोभेम्बरमा भएको सातदिने अस्थायी युद्धविरामको अवधिमा १०५ जना बन्धकलाई हमासले मुक्त गरेको थियो भने इजरायलले करिब २४० प्यालेस्टिनी कैदी छाडेको थियो।
गत महिना इजरायली सेना (आईडीएफ)ले गाजाबाट आठ जना बन्धकहरूलाई जीवितै उद्धार गरेको थियो। यस्तै, करिब ३० बन्धकहरूको शव निकालिसकिएको छ। आईडीएफका अनुसार अझै १११ जना बन्धक मुक्त हुन बाँकी छन्, जसमध्ये ४० जना मारिएको हुनसक्ने अनुमान छ। बन्धक र उनीहरूका अपहरणकारीहरूको स्थान पनि अज्ञात छ। विभिन्न रिपोर्टहरूका अनुसार ३० भन्दा बढी व्यक्तिलाई इस्लामिक जिहादीहरूले लगेको हुनसक्ने अनुमान गरिएको छ।
गाजा क्षेत्रमा अझै पनि युद्ध अन्त्यको कुनै संकेत देखिएको छैन। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले हिंसा अन्त्य गर्न अपील गर्दै हमासलाई इजरायली बन्धकहरू रिहा गर्न आग्रह गरेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई धेरै हदसम्म कमजोर बनाएको र लगभग ध्वस्त भएको दाबी गरेका छन्। तर इजरायलले अझै पनि आफ्ना सबै उद्देश्य पूरा गर्न सकेको छैन। इजरायली नागरिकहरूले पनि बन्धकहरूलाई सकुशल फिर्ता गर्न आफ्नो सरकारलाई दबाब दिइरहेका छन्।
दुई पक्षबीच शान्तिवार्ताको कुनै ठोस संकेत छैन। इजरायल अब लेबनान र इरानसहित धेरै मोर्चाहरूमा लडाइँमा संलग्न भएको छ। सिया कट्टरपन्थी हमासलाई लेबनानको इरानसमर्थित हिज्बुल्लाहको सहयोग छ। शुरूआतदेखि नै हमासको पक्षमा उभिएर इजरायलमा आक्रमण गर्दै आएको हिजबुल्लाह अहिले पूर्णरूपमा इजरायलसँगको युद्धमा होमिएको छ। इजरायली आक्रमणमा हिजबुल्लाहका वरिष्ठ नेता हसन नसरुल्लाहसहित थुप्रैले ज्यान गुमाइसकेका छन्।
यो पनि: अझै रिहा भएनन् विपिन, नेपालको कूटनीतिक प्रयास कमजोर भएको हो?
हमाससँगको द्वन्द्वबाहेक इजरायल अब आफ्नो उत्तरी सीमामा लेबनानसँग पनि युद्धमा छ। इजरायली सेनाको आक्रमणबाट लेबनानमा १३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। हिजबुल्लाको आक्रमणले इजरायलमा पनि धनजनको क्षति भइरहेको छ।
हमासपछि हिजबुल्लाहसँग बढ्दो द्वन्द्वले यस युद्धलाई झन् फराकिलो बनाएको छ। इरानले पनि इजरायललक्षित आक्रमण गरिरहेको छ। यसरी दुई पक्षबीचको युद्धले अहिले क्षेत्रीय रूप लिएको छ।
यसरी मध्यपूर्वमा युद्ध फैलिरहँदा कञ्चनपुरमा रहेको विपिनको परिवारमा डर र चिन्ता बढिरहन्छ। बुवा महानन्द भन्छन्, “अहिले त झन् युद्ध बढ्दैछ भन्ने समाचार सुनिएका छन्, त्यसले गर्दा चिन्ता बढेको छ।”