Monday, May 06, 2024

-->

अझै रिहा भएनन् विपिन, नेपालको कूटनीतिक प्रयास कमजोर भएको हो?

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल भन्छन्– ‘कतारसँग हाम्रो सम्बन्ध राम्रै हो, तर कतार सरकारको पनि आफ्नै कूटनीतिक सीमा होला। त्यही भएर हाल चलिरहेको प्रक्रियाबारे जानकारी नगराएको हुनसक्छ।’

अझै रिहा भएनन् विपिन नेपालको कूटनीतिक प्रयास कमजोर भएको हो

काठमाडौँ– हमास र इजरायलबीच जारी युद्धविरामको पहिलो चरणको चार दिनको म्याद सकिइसकेको छ। एक अर्काले बन्धक र कैदी रिहा गर्ने सम्झौताअनुसार शुक्रबारदेखि सोमबार रातिसम्म हमासले ५० इजरायली नागरिकसहित ६९ बन्धक रिहा गरिसकेको छ। तीमध्ये १७ जना थाई, एक फिलिपिनी र एक अमेरिकी नागरिक रहेका छन्। तर उनीहरूसँगै बन्धक बनाइएको भनिएका कञ्चनपुरका विपिन जोशीको पर्खाइ भने अझै जारी छ। 

विपिनको परिवार सुखद खबर सुन्ने तीव्र प्रतिक्षामा छ। तर युद्धविरामको समय घर्किँदै जाँदा पनि विपिन छुट्ने नछुट्ने कुनै निश्चित नहुँदा उनको परिवारमा बेचैनी बढेको छ। “विपिनको केही खबर आइहाल्छ कि भनेर मोबाइल हेरेर बसिरहन्छौँ। हमासले आज यति रिहा गर्‍यो भन्ने सुन्दा कतै विपिन पनि पर्‍यो कि भन्ने लाग्छ,” विपिनका बुवा महानन्द जोशीले फोनमा भने, “चार दिनसम्म रिहा हुनुपर्ने हो, भएन। यता सबै आत्तिइसके, उसकी आमा बिरामी त छन्।”

विपिनको परिवारलाई अस्थायी युद्धविराम भएको पहिलो दिन नै विपिन छुट्छन् कि भन्ने लागेको थियो। तर पहिलो दिन शुक्रबार १३ इजरायली, १० थाई र एक फिलिपिनी नागरिक रिहा भए। दोस्रो दिन शनिबार १३ इजरायली र चार थाई नागरिक तथा आइतबार १३ इजरायली, तीन थाई र एक इजरायली–अमेरिकी बालिका रिहा भइन्। सोमबार फ्रान्स, जर्मनी र अर्जेन्टिनाको दोहोरो नागरिकता भएका ११ इजरायलीलाई हमासले रिहा गरेको छ। 

कैदीबन्दी साटफेर गर्ने युद्धविरामको सम्झौताअन्तर्गत हमासले छाड्ने बन्धकहरू (इजरायली) को तेब्बर संख्यामा इजरायलले प्यालेस्टिनी कैदीहरू छाड्ने गरेको छ। इजरायलले अहिलेसम्म १५० प्यालेस्टिनी कैदीलाई छोडेको छ।

यता हमासले छाडेका बन्धकको सूचीमा विपिनको नाम खोजिरहेको उनको परिवार तथा समग्र नेपालीले अझै उनको रिहाइको खबर कहिले सुन्न पाउने हो कुनै टुंगो छैन। सरकारले विपिनलाई जसरी पनि छुटाउने बताउँदै आएको छ। त्यही आश्वासनको भरमा छ विपिनको परिवार। तर चार दिन बित्दा पनि रिहा नहुँदा कूटनीतिक प्रयास पुगेन कि भन्ने लागेको छ विपिनका बुवा महानन्दलाई।

“मनले त आइजाला भन्ने लागेको छ, सरकार पनि लागिपरेको छ भन्छन्,” उनले भने, “कूटनीतिक प्रयास गर्न त गरेकै होला, तर कम पर्‍यो कि भन्ने लाग्छ।”

कूटनीतिक प्रयास नपुगेकै हो?
अमेरिका र इजिप्टको प्रयासमा कतारले मध्यस्थता गरिरहेको चारदिने अस्थायी युद्धविराम दुई दिन थप लम्बिएको छ। यो थपिएको अवधिमा पनि विपिन छुट्ने हुन् या होइनन् भन्न सकिने अवस्था छैन।

इजरायलको राजधानी तेल अबिबस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले विपिन कहिले रिहा हुन्छन् भन्नेबारे दूतावासलाई कुनै खबर नभएको बताए।

“हामीले कूटनीतिक तवरबाट हुने सबै प्रयास गरिसकेका छौँ,” उनी भन्छन्, “हामीलाई अहिलेसम्म त्यस्तो केही जानकारी छैन। उनी हमासको कब्जामा छन् भन्नेबाहेक नयाँ अपडेट केही पनि भएको छैन।”

यता परराष्ट्र मन्त्रालयले पनि प्रयास गरिरहेको जवाफ दिनेबाहेक विपिन कहिले रिहा हुन्छन् भन्नेबारे केही प्रस्ट जानकारी दिन सकेको छैन।

युद्धविरामको मध्यस्थता गरिरहेको कतारले पहल गरिदिए विपिन छुट्न सक्छन् कि भन्ने धेरैलाई लागेको छ। नेपालको कतारसँग सम्बन्ध पनि राम्रो छ। केही दिन पहिले मात्रै नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग विपिनको रिहाइका लागि पहल गरिदिन सरकारले आग्रह गरेको थियो।

हमासले रिहा गरेको पहिलो चरणको ५० जनाको समूहमै विपिनलाई पनि रिहा गराइदिन परराष्ट्रमन्त्री एनपी साउदले विशेष अनुरोध गरेका थिए। कतारी विदेश राज्यमन्त्री मुखैरीले पनि रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएका थिए। 

दोहास्थित नेपाली दूतावासले पनि औपचारिक पत्र लेखेरै कतारलाई विपिनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको थियो। 

“युद्धविरामको लागि कतारले मध्यस्थता गरिरहेको छ भन्ने थाहा हुनेबित्तिकै हामीले विपिनको सम्पूर्ण विवरण राखेर लिखित र मौखिक रूपमा कतारसँग आग्रह गरेका थियौँ। त्यसलाई कतार सरकारले सकारात्मक रूपमा लिएको थियो,” कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल भन्छन्, “कतारसँग हाम्रो सम्बन्ध राम्रै हो, तर कतार सरकारको पनि आफ्नै कूटनीतिक सीमा होला। त्यही भएर हाल चलिरहेको प्रक्रियाबारे जानकारी नगराएको हुनसक्छ।”

हमासले बन्धक बनाएर फरक फरक ठाउँमा राखेका कारण अहिले सहज हुने क्षेत्रबाट रिहा गरिरहेकाले पनि विपिनको पालो नआएको हुनसक्ने उनको अनुमान छ।

हमासले पहिलो दिन रिहा गरेका बन्धकलाई लिएर रफ्हा बाेर्डरतर्फ जाँदै अन्तर्राष्ट्रिय रेडक्रसको भ्यान। तस्वीर: रोयटर्स 

नेपालको प्यालेस्टाइन र कतारसँगको सम्बन्ध नराम्रो छैन। इजरायलले गाजामा आक्रमण रोक्न नचाहिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको साधारणसभामा नेपालले इजरायल र हमासबीच युद्धविराम हुनुपर्ने पक्षमा मतदान गरेको थियो। त्यस्तै, अघिल्लो महिना संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल दुई देशबीच शान्ति स्थापनाको पक्षमा रहेको बताएका थिए। 

उनले भनेका थिए, “नेपाल संयुक्त राष्ट्रसंघका प्रस्तावहरू अन्तर्गत तय गरिएका मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमामा इजरायल र प्यालेस्टाइन शान्तिपूर्ण रूपमा सँगसँगै बसेको देख्न चाहन्छ।”

तर मन्त्रीको आग्रह र प्रधानमन्त्रीको सम्बोधनका बाबजुद विपिन रिहा नहुनुमा नेपालको कूटनीतिक प्रयास कमजोर देखिएको अड्कल गर्न थालिएको छ। १७ जना थाई नागरिक रिहा भइसक्दा नेपाली नागरिक किन रिहा नभएको भन्ने प्रश्न पनि उठ्न थालेका छन्। 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशकसमेत रहेका कूटनितिज्ञ निश्चलनाथ पाण्डे दूतावासलाई प्रभावकारी बनाउन नसक्दा यस्तो अवस्था आएको बताउँछन्। उनी भन्छन्, “यो हाम्रो कूटनीतिक सीपको परीक्षा नै हो। दूतावास नचाहिने ठाउँमा खोल्ने, तर भएका दूतावासलाई प्रभावकारी नबनाउने हाम्रै बानीले यस्तो समस्या आएको हो।”

थाई नागरिकलाई भने त्यहाँको मुस्लिम समूहको आग्रहमा रिहा गरेको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार थाई मुस्लिम समूहले हमास समूहसँग प्रत्यक्ष संवाद गरेर बन्धक बनाइएका थाई नागरिकलाई रिहा गरेको उल्लेख गरेको छ।

थाई–इरान पूर्वविद्यार्थी संगठनका अध्यक्ष लेर्पोङ सिदले सोमबार रोयटर्ससँग भनेका छन्, “युद्ध शुरू भएको दिनदेखि नै थाई नागरिकको रिहाइको लागि पहल गर्ने हामी एक मात्र पार्टी हौँ।” 

नागरिकमा उब्जेको आंशका
गत असोज २० गते हमासले इजरायली भूमि किबुत्जमा आक्रमण गर्दा त्यहाँको कृषि फर्ममा कार्यरत १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। सँगै कार्यरत विपिन आफ्ना घाइते साथीहरूको उद्धारमा जुटेका थिए। घाइते साथीहरूलाई सहयोग गर्दै किबुत्जबाट अलसिफा अस्पताल पुगेका उनी त्यहीँबाट सम्पर्कविहीन भएका थिए। 

त्यसपछि लामो समयसम्म उनको अवस्थाको बारेमा कसैलाई केही थाहा भएन। हमासले बन्धक बनाएर लगेको आशंका गर्न थालियो। तर गएको मंसिर ४ गते इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै नेपाली दूतावासले विपिन हमासकै कब्जामा रहेको पुष्टि गरेको थियो। 

उनको पछिल्लो अवस्था यकिन गर्न नसकिएको र खोजी कार्य जारी रहेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि आईडीएफले सार्वजनिक गरेको भनिएको अस्पतालको सीसीटीभी फुटेजमा देखिएका व्यक्ति विपिन नै भएको बताइएको छ। उक्त भिडियोमा हाफ पाइन्ट लगाएका व्यक्तिलाई हमास समूहले समातेर लगेको देखिन्छ। तिनै व्यक्ति विपिन भएको इजरायलबाट उद्धारपछि नेपाल फर्किएका विपिनका साथी लुइस रिजाल बताउँछन्।

कतिले ती व्यक्ति विपिन हुन् या होइनन् भन्ने दुविधा व्यक्त गरिरहेका छन्। विपिनका बुवा पनि उनका साथीहरूको भनाइलाई विश्वास गर्दै भिडियोमा देखिएका व्यक्त आफ्नै छोरा विपिन भएको बताउँछन्। उनी भन्छन्, “उसका साथीहरू त्यो विपिन नै हो भन्छन्। मलाई पनि हो जस्तो लाग्छ तर अनुहार देखिएन।”


सम्बन्धित सामग्री