इग्नोरेन्स इज (नट) ब्लिस

नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका होइनन्। यो त राजनीतिक दल र तिनका नेताको दशकौँयताको अकर्मण्यता, भ्रष्ट सोच तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो।

लोकोक्ति, सूक्ति र नैतिक कथनहरूका लागि प्रख्यात ल्याटिन लेखक तथा दार्शनिक पब्लेलियस सिरस (८५–४३ बीसी) को एउटा उद्धरण छ— ‘इन नोइङ नथिङ, लाइफ इज मोस्ट डिलाइटफुल (नजान्नुमा जीवन बेहद आनन्दमय छ)।’ १८औँ शताब्दीका कवि थोमस ग्रेले आफ्नो कविता ‘ओड अन अ डिस्ट्यान्ट प्रोस्पेक्ट अफ इटन कलेज’को अन्त्य करिब–करिब त्यही भावमा गर्छन्— ‘व्हेर इग्नोरेन्स इज ब्लिस्स, टिस् फोली इज वाइज।’ कालान्तरमा उनको ‘इग्नोरेन्स इज ब्लिस्स’ (अज्ञानता आनन्द हो) एउटा लोकोक्ति नै बन्न गयो। शब्दकोशमा पाइने यसको अर्थ हो, ‘कुनै विषय/समस्याको बारेमा थाहा नै छैन भन्ने त्यसमा चिन्ता गर्नुपर्ने केही छैन।’

केही दिन/महिनायता नेपाली राजनीतिमा ‘थाहा छैन’ निकै चर्चामा छ, विशेष गरी केही आरोप लागिहाल्नासाथ नेपाली राजनीतिकर्मी मिडियालाई ‘थाहा थिएन/छैन’ भनिहाल्ने, अनि सामाजिक सञ्जालमा त्यही ‘थाहा नभएकाहरू’ मजाकको पात्र बन्ने। शुरूआतमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको आलोचना गर्न निकै प्रयोग गरिएको उक्त थेगो पछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसम्म चल्तीमै थियो। दुवै सहकारी बचत अपचलनका आरोपी हुन्। दुवै केसमा मुलुकका समर्थ निकायहरूले अनुसन्धान गरेर त्यसको निरूपण गर्लान् नै। 

मुख्य कुरा के भने नेपालका अधिकांश नेता खासमा ‘थाहा नहुने’ सिन्ड्रोमबाट ग्रसित छन्। उनीहरूको ‘इग्नोरेन्स’ उदेक लाग्दो नै छ। वर्षौं राजनीतिमा होमिएका, राजनीतिलाई नै ‘कर्म’ बनाएका नेपाली नेताको उद्देश्य कुनै दिन राज्य सञ्चालनको हैसियतमै पुग्ने भन्ने नै होला तर आफू जिम्मेवार पदमा पुगिसकेपछि आफूले गर्नुपर्ने काम के भन्नेबारे उनीहरूलाई थाहा छैन। भाषणबाजीमा अभ्यस्त र पोख्त उनीहरू समस्या के–के छन् भनेर बडो मजाले गनिदिन्छन्, तर समाधान के हो त? ‘थाहा छैन।’ 

केही वर्षपहिले एक ‘मार्क्सवादी चिन्तक’ कृषिमन्त्री भएका थिए। दशकौँ राजनीतिमा बिताएर, दलको राजनीतिक दर्शनको व्याख्या गर्न ठूलो भूमिका खेलेका भनिएका उनलाई कृषिमन्त्री भएपछि पत्रकारले सोधिदिए, “मलको समस्या समाधान गर्न के गर्नु हुन्छ त?” बडो सरल अनि निष्कपट उत्तर दिएका थिए उनले, “यो मलको समस्याबारे मैले विद्यार्थीकालदेखि नै सुन्दै आएको हुँ।” उनको विद्यार्थीकाल भन्नु नै त्यो समय हो, जुन बेला नेपाली दल प्रजातन्त्र र लोकतन्त्रको लडाइँमा थिए। 

नेपाली कांग्रेसका एक युवा नेता हालैको सत्ता समीकरणमा उलटफेरपछि स्वास्थ्यमन्त्री भए। नेपालको स्वास्थ्य क्षेत्रमा निकै समस्या रहेछ भन्दै भाषण गर्दै थिए। मन्त्री भएको दुईचार दिनमै अस्पतालमा भएको लाइन हटाउनेजस्ता ‘पपुलिस्ट’ घोषणा पनि गरेका थिए, जुन सम्भव रहेनछ भन्ने थाहा पाउन उनलाई एक महिना पनि लागेन।

यी उदाहरणको अभिप्राय सम्बन्धित नेतालाई लाञ्छित गर्ने पक्कै हैन, उनीहरू मात्र प्रतिनिधि पात्र हुन्। नयाँ पुस्ताका भनिएका नेपाली नेतालाई जिम्मेवारी आइपर्दा खासमा गर्नेचाहिँ के हो भन्ने कुनै ज्ञान वा प्रष्टता नहुनु चिन्ताजनक छ। त्यसैले त होला, मन्त्री बनेको भोलिपल्टै कि त यिनीहरू शौचालय सफा गरिरहेका हुन्छन्, बिजुलीको खम्बा चढेर तार काटिरहेका हुन्छन् या त सरकारी अड्डाको अनुगमनमा हिँडिरहेका हुन्छन्। केही नभए निर्देशन त दिई नै रहेका हुन्छन्। पुराना दोहोरिइरहेका नेताप्रति मौलाएको बितृष्णाबीच उनीहरूलाई प्रतिस्थापन गर्ने/गर्नुपर्ने नेताहरूको व्यवहार, आचरण र ‘इग्नोरेन्स’ले नेपाली समाजलाई कता लग्ने होला?

संसद‍्मा दर्ता भएको विधेयकसम्म नपढ्ने सांसदले मन्त्री भएपछि के गर्ने भन्ने गृहकार्य कहिले पो गरेको होलान्, र त्यसमा पनि चाटुकारिता फस्टाएको समाजमा चाप्लूसहरूसँग समय बिताउनुलाई नै उनीहरूले मुख्य काम बनाएको झैँ पो देखिन्छ। नेपाली दलहरूसँग आजका दिनमा नागरिकले भोगिरहेका समस्या कसरी समाधान गर्ने र समाज र देशलाई कुन दिशा दिने भन्ने बारेमा कुनै योजना नै छैन। 

हालै आएर दुई ठूला दल मिलेर सरकार बनाएका छन् र एउटा नयाँ राग छेडेका छन्— वर्तमानमा अभ्यास गरिएको चुनावी पद्धति टिकाउ सरकार बनाउन बाधक भयो, त्यसकारण संविधान संशोधन गर्नुपर्छ। तर सरकार त एक प्राविधिक संरचना न हो, प्रश्न के भने यी दुवै दल र यिनका नेताले आफ्नै बलियो सरकार बनिहाल्यो भने केचाहिँ गर्ने भन्नेबारे देश, समाज र नागरिक केन्द्रित कुनै बहस वा छलफल गरेका छन् त?

शुक्रबार र शनिबारको अविरल वर्षा र बाढी, पहिरोले देशभर नै भारी नोक्सान मात्र गरेन, २०० भन्दा बढीको ज्यान लियो। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा त्यसको जानकारी सरकारी संयन्त्रबाट हैन कि सामाजिक सञ्जालबाट लिए। कार्यवाहक प्रधानमन्त्री शनिबार दिउँसो मात्र जागे र आकस्मिक बैठक बोलाए। गृहमन्त्रीले भिजिबिलिटीका कारण हेलिकप्टरले संघीय राजधानी काठमाडौँमा उद्धार गर्न नसकेको दुःख व्यक्त गरे। सत्ता सञ्चानल र जनसरोकारका मुद्दाबारे अधिकांश नेताको ‘इग्नोरेन्स’ भयावह त छ नै, ‘सर्वज्ञानी’झैँ व्यहार गर्ने प्रधानमन्त्री ओलीको आफ्ना सीमितताबारे ‘इग्नोरेन्स’ त झनै खतरनाक छ।                      

नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका पक्कै हैनन्। यो त दशकौँयताको राजनीतिक दल र तिनका नेताको अकर्मण्यता, भ्रष्ट सोच, अभ्यास तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो। यो सबैको मूल कारण नेपाली दलमा रहेको चरम अलोकतान्त्रिक परिपाटी पनि हो। नेपाली नेता देशमा लोकतन्त्रको दुहाई त दिन्छन् तर आफ्नै दलभित्र त्यसको अभ्यास पटक्कै गर्दैनन्। 

गुटबन्दीग्रस्त दलहरूमा आन्तरिक द्वन्द्वले यति गहिरो गरी जरो गाडेको छ कि नयाँ/पुराना सबै नेताको अधिकांश समय त्यही द्वन्द्व व्यवस्थापनमै बित्ने गरेको छ। अनि बाँकी समय शक्ति आर्जनको दूषित अभ्यासमा। रचनात्मक र समाजका लागि गर्नुपर्ने काम कर्तव्यबारे शोध, अध्ययन, छलफल गर्न उनीहरूसँग समय नै छैन। नेपाली दलहरूमा एक किसिमको जडता छाएको छ, गतिशीलताको अभाव छ। 

नेपाली नेताको सबैभन्दा ठूलो अपराध तिनले विकास गरेनन् वा भ्रष्टाचार गरेभन्दा पनि आफूलाई चुनेर पठाउने नागरिकलाई तल्लो दर्जाको ठान्ने प्रवृत्ति, जनताका समस्या र सरोकारबारे तिनको अज्ञानता हो। आजका दिनमा कति नेपाली राजनीतिकर्मी होलान्, जो निर्धक्क नागरिकबीच जान सक्छन्? सक्दैनन् वा सकिरहेका छैनन् भने एउटै कारण हो, नागरिकसँग तिनको दूरी निकै बढिसक्यो। उनीहरू आमनागरिक सरोकारबारे निरपेक्ष छन् र जनताका मुद्दाले तिनलाई छुँदैन।

लोकतन्त्रद्वारा निर्देशित र लोकतन्त्रलाई नै दिशा दिने राज्य र नागरिकबीचको ‘सोसल कन्ट्र्याक्ट’लाई नेपाली राजनीतिकर्मीले भत्काइसकेका छन्। आन्तरिक लोकतन्त्र र पद्धति सुधार गर्नमा पटक्कै ध्यान नदिने तर लोकतान्त्रिक राज्यलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने र नागरिकका जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्थाहरूचाहिँ भत्काउँदै जाने प्रवृत्ति दलहरूमा जसरी विकास भएको छ, त्यो अत्यन्त चिन्ताजनक छ।

राजनीति र नैतिकतालाई पूर्णतः पृथक् समीकरणमा हेर्ने नेपाली दल र तिनका नेताले राजनीतिक मूल्यमान्यता जसरी तिलाञ्जलि दिँदै गएका छन् र जसरी अत्यन्त सानो घेरामा बसेर आत्मकेन्द्रित र स्वार्थकेन्द्रित निर्णय गर्ने अभ्यास गर्दै गएका छन्, त्यसले आमनागरिकको घोरअपमान भई नै रहेको छ।

नेपाली नेतालाई लाग्दो हो ‘इन नोइङ नथिङ, लाइफ इज मोस्ट डिलाइटफुल’। त्यसैले त उनीहरूको आचार/व्यवहार/अभ्यास नागरिक र समाजकेन्द्रित छैनन्।

सिरसका समकालीन सिसरोको कथन ‘अनर अमङ थिभ्स’ राम्रैसँग अभ्यास गरिरहेका नेपाली राजनीतिकर्मी आफूलाई आमनागरिक नै ठान्दैनन्। त्यसो हुँदा जनता र समाजका मुद्दाका बारेमा उनीहरूको ‘इग्नोरेन्स’ उनीहरूका लागि त एक प्रकारले ‘ब्लिस’ नै हुने भयो।