मैनाली भन्छन्, ‘‘अल्पमतमा पर्नु, पेलिनु र पार्टी फुटाएर नयाँ निर्माण गर्नु कति सकस हुँदो रहेछ, सायद माधव नेपाल महसुस गर्दै होलान्।”
नेपालको वाम आन्दोलनको कुरा गर्दा छुटाउन नमिल्ने नाम हो राधाकृष्ण मैनाली, भलै उनको वैचारिक विचलन र स्खलनको छुट्टै कहानी किन नबनोस्। राजनीतिक आस्था र अडानकै कारण निकै लामो र कष्टकर जेल जीवन बिताउने सीमित राजनीतिज्ञमा मैनालीको नाम अग्रस्थानमा भेटिन्छ। २०४६ सालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन सकारात्मक निष्कर्षमा पुग्दैगर्दा अग्लो शारीरिक कदका अलावा अग्लो र आशालाग्दो राजनीतिक उचाइसाथ जनतामाझ उदाउने पात्र थिए मैनाली।
सशस्त्र झापा आन्दोलनको सूत्रधार हुँदै वाम राजनीतिमा होमिएका मैनालीको राजनीतिक यात्रा प्रजातन्त्र प्राप्तिपछिको खुला राजनीतिमा भने सरल रेखामा अंकित गर्न मिल्ने खालको रहेन। वाम आन्दोलनमा मैनालीका समकालीन केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनालदेखि वामदेव गौतम र सीपी मैनालीसमेत राजनीतिमा सक्रिय रहिरहँदा मैनाली भने संन्यासबिनै ‘राजनीतिक संन्यासी’ बनेका छन्।
नेपालको राजनीति, पात्र र प्रवृत्ति अनि मैनालीबारे चासो राख्नेका लागि केही हदसम्मका जिज्ञासा २०७३ सालमा उनैले लेखेको ‘नलेखिएको इतिहास’ किताबले गर्नसक्छ। उक्त संस्मरणमा मैनालीले आफ्ना कतिपय कमजोरीसमेत अभिलेखीकरण गरेका छन्। यसो भनौँ, मैनालीले पुस्तकमा नेकपा एमाले, राजनीतिक समकक्षी माधव नेपाल र केपी शर्मा ओलीको यति उछितो काढेका छन् कि उक्त किताब उनका लागि एमालेसँगको राजनीतिक साइनोमा पूर्णविराम लगाउने ‘अबिच्युअरी’ लेखनजस्तै भयो।
विद्रोहको वैशिष्ट्य र औचित्यबारे अनेक तर्क हुन सक्लान्, तत्कालीन घटना विश्लेषण गर्ने चस्माको पावर ‘वाद’को आँखाअनुसार फरक हुन सक्लान्, झापा विद्रोह नेपालको राजनीतिक इतिहास र नेपाली कम्युनिस्ट आन्दोलनको छुटाउनै नमिल्ने घटना हो। त्यसअर्थमा झापा विद्रोहका सूत्रधारमध्ये राधाकृष्ण मैनाली एक हुन्। राजनीतिक ‘कोर्स’ र सामाजिक रूपान्तरणले निकै फराकिलो फेरो समातिसकेको वर्तमान अवस्थामा के मैनालीलाई विद्रोहको त्यो पुरानो ‘घाउ’ सकेसम्म कम सम्झन पाए हुन्थ्यो भन्ने लाग्छ?
मैनाली ‘हो पनि’ भन्दैनन् र ‘होइन पनि’ भन्दैनन्। झापा विद्रोहको उठानदेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारमा सामेल हुँदाको अवस्थासम्म मैनालीको राजनीतिक ‘ग्राफ’ निकै उतारचढावपूर्ण रह्यो। उनको हकमा राजनीतिक आयामको औसत आकारभित्र तीन वटा घुम्ती बनेका छन्।
झापा विद्रोह (विसं २०२८) देखि प्रजातन्त्रप्राप्ति २०४६/०४७ सम्मको अवधि मैनालीका लागि साँच्चै ´स्पाती` थियो, कठोर थियो। चौध वर्षभन्दा बढी समय जेलमा बिताउनु परेको त्यो कठोर कालखण्डमा मैनाली प्रखर वाम नेताका रूपमा उदाए। झापा विद्रोहदेखि प्रजातन्त्र प्राप्तिसम्मको उन्नाइस वर्षे अवधिलाई राजनीतिक ‘क्रेज’का हिसाबले हेर्ने हो भने उनको त्यो स्वर्णिम समय थियो।
मैनालीको दोस्रो घुम्ती हो–२०५४ मा तत्कालीन नेकपा एमाले विभाजन। त्यसबेला एमाले फुटाउन वामदेव गौतमजत्तिकै अर्को पात्र राधाकृष्ण मैनाली हुन्। माले बनाउन अरू धेरै नेताको सहयोग थियो, तर मैनाली र गौतमले पार्टी फुटाएर नयाँ पार्टीको नेता बन्ने कसम खाएकै कारण एमाले विभाजन भएको हो भन्ने आरोप लाग्ने गरेको छ।
मैनाली भने यो आरोपसँग सहमत भएनन्। भन्छन्, ‘कमजोरी सबैबाट भए होलान्। सबैलाई मिलाउनुपर्ने नेतृत्वले उल्टै अल्पमतको गला निमोठ्न खोज्नु नै तत्कालीन पार्टी विभाजनको कारण थियो। त्यो फुटको मुख्य मतियार माधवकुमार नेपाल हुन्। महाकाली सन्धिका सन्दर्भमा मलगायत साथीको विरोध र फरक मतलाई कुल्चँदा माले जन्मियो। उतिबेला पार्टीको मूलधारले हामीमाथि 'कर्नर' गरेको कुरा गत चार वर्षअघि माधव नेपाल खेमाउपर केपी ओलीले देखाएको बहुमतको दम्भभन्दा झनै कठोर थियो। ऊबेला त्यो कठोरता, असहिष्णुता र स्वार्थकेन्द्रित राजनीतिको नेतृत्व माधवकुमार नेपालले गरेका थिए। माधव असहिष्णु र स्वार्थी राजनीतिका जनक नै हुन्।’
विपरीत आँकडा
राजनीतिक जीवनमा माधव–मैनालीबीच मिठास कहिल्यै भएन। उनी भन्छन्, “अल्पमतमा पर्दा र पेलिनु पर्दा र पार्टी फुटाएर नयाँ पार्टी निर्माण गर्न कति सकस हुँदो रहेछ, सायद माधवकुमार नेपाल अहिले महसुस गर्दै होलान्।”
२०३९ सालमा चन्द्रप्रकाश मैनालीलाई मालेको महासचिवबाट हटाउनु अतिरिक्त उनलाई केन्द्रीय सदस्यमा समेत स्थान दिइएन। उनका अनुसार सीपी मैनालीलाई नेतृत्वबाट ‘च्युत’ गर्ने योजनाको सूत्रधार माधव नेपाल र झलनाथ खनाल थिए। सीपी मैनालीलाई च्युत गरेपछि माधव–झलनाथमध्ये महासचिव पद झलनाथले पाए। महासचिवमा झलनाथ भए पनि पार्टीभित्र मिलाउने/भत्काउने, उठाउने/थेचार्ने चक्करमा सबैभन्दा सक्रिय माधव नेपाल नै थिए।
२०४६ भदौमा तत्कालीन मालेको सिरहामा भएको चौथो महाधिवेशनमा राधाकृष्ण मैनालीलाई केन्द्रीय सदस्यबाट वैकल्पिक स्थायी समिति सदस्य बनाउने पार्टी सल्लाह थियो। तर नेपाल नै मैनालीका लागि ‘भिलेन’ भइदिए। जनआन्दोलन ०४६ को उठान, उत्कर्ष र यसको सफल अवतरणका बेला दरबारसँग वार्ता टोलीमा वाम घटकका तर्फबाट मैनाली सामेल थिए, तर चैत २७ गतेको विजयसभामा मैनाली नै मञ्चबाट ‘लखेटिनु’ पर्यो। बहुदल प्राप्ति पछिको अन्तरिम सरकारमा जाने र संविधान मस्यौदा कमिटीमा बस्ने रोजाइमा पनि माधव/झलनाथको गठजोड हाबी भयो, मदन भण्डारीले त्यो कुरा पछि मात्र बुझे।
२०५० जेठ ३ मा जिप दुर्घटनामा मदन भण्डारीको अस्वाभाविक र अकल्पनीय निधन भएपछि त झन् माधव नेपाललाई शोक, संकट र सहानुभूतिसहित नेकपा एमालेको महासचिव पद ‘चिट्ठा’ पर्यो। २०५१ को मध्यावधि चुनावमार्फत बहुमत ल्याउन नसके पनि एमाले ठूलो दल बन्यो। त्यस सरकारमा मैनाली कृषि र भूमिसुधार तथा व्यवस्थामन्त्री बने। मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको सरकारले एमालेलाई स्थापित र लोकप्रिय बनायो। ‘लोकप्रिय नौमहिने सरकार’ सञ्चालनबाट ओर्लिनासाथ एमालेका दुर्दिन शुरू भए। २०५४ को फागुनमा भएको पार्टी विभाजन विग्रहको उत्कर्ष बन्यो।
त्यतिबेला एमाले विभाजन हुँदा वामदेव गौतम, आरके/सीपी मैनाली, साहना प्रधानलगायत थुप्रै स्थापित र युवा नेता मिलेर नेकपा माले पार्टी बनाए। विभाजनले स्वयं एमालेलाई त कमजोर बनायो नै, खुबै उत्साहसाथ ‘माले’ बनेका नेताहरू पनि २०५६ को निर्वाचनमा नराम्रोसँग पत्तासाफ भए। मालेले देशभर एक सिट पनि जित्न सकेन। विभाजनको बाछिटा नेपालको समग्र राजनीति र संसदीय प्रणालीमै पर्यो।
मैनालीको निचोड पनि महाकाली सन्धिका कारणले पार्टी विभाजन भएको र त्यसले एमाले र माले दुवै पार्टीलाई भन्दा राष्ट्रिय राजनीतिलाई ज्यादा अहित गर्यो भन्ने छ। ‘नेकपा माले’मै बसिरहँदा पार नलाग्ने देखेपछि २०५८ मा बहुसंख्यक माले फेरि एमालेमा एक भए। तर सीपी मैनालीले माले छोडेनन्।
सीपी किन एमालेमा फर्किएनन्?
आफ्ना अनुज सीपीबारे राधाकृष्ण मैनालीको बुझाइ छ, “प्रथमतः, मेरो ‘क्रेज’ पञ्चायतकालमा झैँ छ। मालेलाई पञ्चायतको अवस्थामा जस्तै तेजिलो बनाउँछु भन्ने भ्रम सीपीमा पर्न गयो। दोस्रो, एक पटक माधव/झलनाथबाट ‘धोखा’ खाइसकेको मान्छे पुनः माधव नेपालको नेतृत्वमा फर्कन उनको ‘इगो’ले दिएन।”
मैनाली थप्छन्, “सीपी एमालेमा नफर्कीकनै ओझेल पर्दै गए, म एमालेमा फर्किएर पनि पेलाईमा पर्दै गएँ। सातौँ महाधिवेशनमा मेरा समकक्षी सबै १३ जना स्थायी कमिटीमा अटाए। म अटिनँ। यो सबै माधव नेपालको डिजाइन थियो। त्यो डिजाइनलाई ऊबेला केपी र वामदेवले मौन समर्थन गरिदिए।”
राधाकृष्ण मैनाली कस्तो फरक ‘प्रजाति’को राजनीतिज्ञ हो? मैनालीको कमजोरी के हो? यो जिज्ञासाबारे उनी भन्छन्, “पहिलो कुरा, राजनीतिमा मैले सबैभन्दा बढी धोका माधव नेपालबाट पाएको छु। त्यसैले एकै शब्दमा माधव नेपालको कमजोरीबारे भन्छु, उनी निकै सानो चित्त भएका नेता हुन्। दोस्रो, व्यक्ति अगाडि बढेर मलाई ‘टप्छ’ कि भन्ने ‘इन्फेरियरिटी कम्प्लेक्स’बाट चलिरहने नेता हुन् माधव नेपाल। चार वर्षयता ओलीसँगको ‘अपमान’विरुद्धको लडाइँ पनि उनको त्यही कम्प्लेक्सको परिणाम हो।”
आफ्नै कमजोरी
उनकै शब्दमा, ‘राजनीतिक जीवनमा गुटमा सामेल भइनँ, गुटमा बसिनँ वा म शतप्रतिशत सही थिएँ भनी बताउँदै हिँडेँ भने त्यो ममाथिकै ठट्टा हुनेछ। राजनीतिक जीवनमा कतिपय स्वभावजन्य कमजोरी भए/गरिए होलान्। म, केपी, मोहनचन्द्र अधिकारीलगायत नेताहरू लामो जेल जीवन र गोलघरको ‘कालकोठरी’ भोगेकामध्ये परियो। झलनाथ जेल परे पनि झापाबाटै रिहा भए। माधवचाहिँ जेल बस्नु परेन। पञ्चायतताक भूमिगत रूपमा संगठनको भित्रभित्र घुस्न पाएँ। त्यसैले होला, माधव बाठो र फाइदा आँकलन गर्न सक्ने संगठक भएर निस्किए। म अलि ‘स्ट्रेट फर्वाड’ खाले, पार्टीभित्र होस् वा गुटमा आफ्नो स्वार्थ रक्षाका लागि तिकडम गर्न नसक्ने वा नजान्ने। मेरो कमजोरी यही हो।’
उनका अनुसार, विभाजित एमाले-माले एकीकरण दौरान सम्मानजनक भूमिका दिनेबारे एमाले नेतृत्वमा बसेका माधवले सबै मालेका साथी र मलाई व्यक्तिगत रूपमा पनि मीठो आश्वासन दिए। तर मेरो हकमा माधव-वचन झूटा साबित भए। आफ्नो स्थान जोगाउन नेतृत्वसँग मुलाहिजा गर्नुको सट्टा मैले आफ्ना असन्तुष्टिहरू भन्न-लेख्न थालेँ। त्यति मात्र नभएर ऊबेलाको माओवादी सशस्त्र द्वन्द्वलाई समाधान गर्ने सन्दर्भमा पनि मेरो सोच फरक थियो। दरबार र माओवादीलाई विश्वासमा लिएर एमालेले बीचको बाटो निर्धारण गर्नुपर्छ भन्ने मेरो धारणा थियो। तर मेरा यिनै धारणा मलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गराउने अस्त्र बन्यो। ममाथि अनुशासनको डन्डा चलाइयो। थोरै मेरा कमजोरी र धेरै माधव नेपालको पूर्वाग्रहका कारण म पार्टीविहीन बनेँ। मनमोहनलाई समेत अक्करमा पार्न बाँकी नछाड्ने माधव नेपालका लागि म न उनको आमापट्टिको, न मामापट्टिको।’
माधव नेपालमाथि मैनालीले लगाएका आरोप पत्याउनैपर्ने आधार के त? यो त मैनालीको एकोहोरो भडाँस पनि त हुन सक्छ!
उनको उत्तर छ, “२०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारको कुरा गरौँ, प्रधानमन्त्री मनमोहन भए पनि छायाँ प्रधानमन्त्री माधव नै हुन् भन्दाहुन्छ। प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनैपर्ने संवैधानिक व्यवस्थाको बन्धनले बाँधिएका कारण मात्र माधव उपप्रधानमन्त्रीमा बस्न बाध्य भए। अन्यथा, मनमोहनलाई प्रधानमन्त्री बन्न माधवले कुनै हालतमा दिने थिएनन्। त्यस बेलाको परम्पराअनुसार रक्षा मन्त्रालय प्रधानमन्त्रीमातहत रहने प्रावधान थियो। तर परम्परा लत्त्याउँदै रक्षा मन्त्रालयसमेत आफूले लिएर मनमोहन अधिकारीलाई मन्त्रालयविहीन र ‘डमी’ प्रधानमन्त्री बनाउने माधव नै हुन्।”
मैनालीले यसो भनिरहँदा केही वर्षअघि प्रकाशित ‘सात जना प्रधानमन्त्रीहरूसँग काम गर्दा’ शीर्षकको संस्मरण आलेखमा पूर्वसचिव शारदाप्रसाद त्रितालले पनि मनमोहनको प्रधानमन्त्री भूमिकाबारे ठ्याक्कै यस्तै अनुभव सार्वजनिक गरेका थिए। त्यस हिसाबले पनि मैनालीले माधवकुमार नेपाललाई लगाएको आरोपको ‘हिसाब’ मिल्नमिल्न आउँछ।
अनि नि, ‘कम्युनिस्ट आन्दोलन र नेतृत्वको गठिलो पृष्ठभूमिलाई तीलाञ्जलि दिँदै ज्ञानेन्द्र शाह नेतृत्वको सरकारमा शिक्षामन्त्री बन्न जानुमा पनि माधवकै हात हो र?’ व्यंग्यसहितको यो प्रश्नको जवाफमा मैनालीले भनेका दुई कुरा मात्र जोडौँ यहाँ:
पहिलो, ‘माधव नेपालले पहिला माले र पछि एमालेको राजनीतिमा निकै नै ‘खुराफाती’ खेल खेलेका छन्। म भुक्तभोगी र साक्षी दुवै हुँ। त्यसैले म निर्धक्कसँग भन्छु, माधव नेपाल मेरा लागि ‘धोखेबाज’का सरदार हुन्।’ दोस्रो, ‘पार्टीभित्र निरन्तरको पेलाईले म एक्लँदै गएँ। म पनि केही विकल्प खोजिरहेको थिएँ, यत्तिकैमा ज्ञानेन्द्रले शासन प्रत्यक्ष आफ्नो हातमा लिए।’
दरबार (राजावादी), दलहरू (संसदवादी) र माओवादीको त्रिपक्षीय चेपुवामा परेको देशमा ज्ञानेन्द्रको कदमले द्वन्द्व व्यवस्थापनमा केही मध्यमार्गी बाटो निकाल्छ कि भन्ने ‘शंकाको लाभ’ मैनालीको दिमागमा खेल्यो। कदाचित् माओवादी द्वन्द्व र राजनीतिक अस्थिरता अन्त्य भयो भने त्यही ‘जस’कै आधारमा राजनीतिक पेन्सन खाएर बसौँला भन्ने उनलाई लाग्यो। ‘तर म राजनीतिको विश्लेषण गर्न र दूरदर्शिताका हिसाबले निकै कच्चा निस्किए, मेरो भ्रम टुट्न ज्ञानेन्द्र अध्यक्ष रहेको मन्त्रिपरिषद्का धेरैवटा बैठक कुर्नुपरेन। ज्ञानेन्द्रको योजनामा म नराम्रो गरी झुक्किएँ, शाही सरकारमा जानु मेरा लागि ‘राजनीतिक डोपिङ’ भयो,’ उनको भनाइ छ।
‘डोपिङ’ काण्डमा परेका खेलाडीले पाएका पदक खोसिएझैँ आन्दोलनबाट प्राप्त मैनालीका उपलब्धि पनि अपनत्वबाट खोसुवामा पर्दैपर्दै गए। मैनालीका लागि राजनीतिको यो तेस्रो घुम्ती उनको आफ्नै राजनीतिक इतिहास निर्मम-कलमी गर्ने हतियार बन्यो।
२०६२/०६३को दोस्रो जनआन्दोलनपछि मैनाली
प्रचण्डसँग सहकार्य गर्न उनी माओवादी पनि बने, तर जिम्मेवारी पाएनन्। जिम्मेवारी त परको कुरा, माओवादीको हेटौँडा सम्मेलनमा उनलाई ‘निम्तो’समेत आएन, सल्लाहकार दिने नाममा झुलायो। फेरि शुभचिन्तक बनेर एमालेमै फर्किए। एमालेको नेतृत्वमा केपी ओली आएपछि राजनीतिमा पुनरागमनको ढोका खुल्छ कि भन्ने लागेको रहेछ उनलाई। ओलीले पनि भनेका थिए रे, ‘म तपाईंका लागि स्थान बनाउँछु।’ तर त्यो आश्वासनबाहेक केही भएन। नेकपा एमाले र नेकपा माओवादी बीचको गठबन्धनले २०७५ जेठ तीनमा पार्टी एकीकरणको औपचारिकता पाएपछि बनेको नेकपाले दुवै तर्फका नेता समेटेर विशाल केन्द्रीय कमिटी घोषणा गर्यो। मैनाली केन्द्रीय सदस्यमा परेनन्।
मैनालीका लागि पार्टीमा कतै कुर्सी उभ्याउन सक्ने भनेका ओली थिए। ओलीले पनि ´प्लास्टिकको ललिपप`मै अलमल्याए। एमालेको मौजामा सुकुमबासी बन्न पुगेपछि भने उनले ´राजनीतिक लालपुर्जा` पाउने आस मार्दै गए।
ओलीको यो पछिल्लो कार्यकालमा मात्र होइन, एमाले र माओवादी सहितको ‘नेकपा’कालीन झन्डै दुई तिहाइ बहुमतको सरकार नेतृत्व गरेका बेलादेखि नै मैनाली ओलीको खुबै आलोचक बनेर निस्किए। आलोचनाको अन्तर्य गुण-दोषका आधारमा हो वा ओलीले आफूलाई स्थान नदिएको आक्रोशमा हो? बन्दी जीवनका सन्निकट मित्र ओलीमाथि आक्रोशबारे सफाइ दिनुको साटो मैनालीले एउटा चाखलाग्दो किस्सा सुनाए:
‘म, ओली र मोहनचन्द्रलगायत राजनीतिक बन्दीहरू केन्द्रीय कारागारमा थियौँ। जेलको चौकीदार करवीर थापा र भाइ-चौकीदारमा सुमन्त पोखरेल नामक दुई पात्र थिए। कारागारभित्रको आन्तरिक व्यवस्थापनमा चौकीदारको दबदबा चल्थ्यो। चौकीदारको आदेशमा भाइ चौकीदारले कैदीलाई कुट्ने, पिट्ने थर्काउने सबैथोक गर्थ्यो। २०३६/२०३७ सालतिर कैद सकिएर करवीर थापा रिहा भएपछि सुमन्त नामको कैदी भाइ-चौकीदारबाट चौकीदारमा बढुवा भयो। हिजो भाइ चौकीदार हुँदा त्यति विघ्न कुटपिट गर्ने सुमन्त अब चौकीदार नै भएपछि के-के गर्ने हो, अझ कति उघ्र बन्ने हो? कैदीहरू सशंकित भए। तर सुमन्तमा नाटकीय परिवर्तन आयो। हिजो मैले गरेका दादागिरी र अत्याचार सबै नाइके करवीरको अरनखटनमा बस्नुपर्दा उसकै आदेशमा गरेको हुँ। अब नाइके भएपछि त्यो काम मबाट हुँदैन है भन्दै कैदीहरूसँग नम्र रूपमा पो प्रस्तुत हुन थाले। त्यसपछि सुमन्त त कारागारमा हिरो भए।’
उनले भने, ‘ओलीलाई पनि पार्टीको ‘भाइ चौकीदार’ हुँदा ‘चौकीदार’ (माधव नेपाल)ले गरेका/गर्न लगाएका अनेकन् गल्तीलाई चौकीदार (पार्टी अध्यक्ष र प्रधानमन्त्री) बनेपछि सुमन्तको शैलीमा सच्याउने अवसर थियो। तर ओलीले प्रचण्ड बहुमतसहित तेस्रो पटक प्रधानमन्त्री हुँदाको बखत आफैँले देखेको/भोगेको सामान्य पात्र ‘चौकीदार सुमन्त’ले जति पनि विवेक पुर्याउन सकेनन्, ज्यादै उन्मादी भए।’
मैनालीको बुझाइ छ, ‘अघिल्लो कार्यकालको तुलनामा अहिले ओली केही संयमित बनेझैँ लाग्छ। सच्चिएको संकेत हो भने त ठिकै छ। सँगै पार्टीमा लागेको, जेल जीवनका कैयौँ वर्ष साँघुरो कोठामा सँगै बिताएको मित्रले देशका लागि राम्रो गरे त खुसी नै लाग्छ, ओलीले त्यसो गरून्, शुभकामना। तर अघिल्ला कार्यकालभन्दा अहिले ओलीको ‘टोन डाउन’ हुनुका कारण गठजोडको सकस, ओलीको घर्किँदो उमेर र खस्कँदै गएको स्वास्थ्य पनि त हुन सक्छ। त्यसैले ओलीको स्वभाव र सबै परिस्थितिले धेरै आशावादी हुन भने दिँदैन।’
मैनाली थप्छन्, ‘ओलीमा देखिएको गुट र दाउपेचवाला राजनीतिक संस्कारले ´गुरु` माधव नेपाललाई समेत जित्ने डर छ।’
नेकपा एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीबाट माधव नेपाल, झलनाथ खनाल, अनि एमालेको संघारमा उभिएर ‘न भित्रको न बाहिरको’ अवस्थामा अलमलिएका वामदेव गौतमलगायत पाका नेताले अब राजनीतिबाट अवकाश लिनुपर्ने बहस चलिरहेको छ। यद्यपि, पटकपटक एमाले र ओलीविरुद्ध पड्किएका अनि सक्रिय उमेरले नेटो काट्न आँटेका गौतम फेरि एमालेमा स्थान खोज्न ओलीको इसारा कुर्न छोडेका छैनन्, माधव नेपाललाई 'लतारेरै' एमाले विभाजनका लागि निर्वाचन आयोग गएकी रामकुमारी झाँक्री पुनः एमालेमा फर्कन ´साइत र निम्तो` कुरिबसेको हल्ला छ।
नेकपा समाजवादीका बहालवाला सांसद किसान श्रेष्ठ र प्रेम आलेले ´ओली त हाम्रो बा समानको मान्छे, हाम्रो उहाँसँग विशेष सम्बन्ध छ` भन्दै मूलधारको मार्ग कुरेका छन्। र पनि उनीहरूका लागि ओली सचिवालयबाट पार्टी प्रवेशको 'एग्रीमो' आएको छैन। यस्तो अवस्थामा उमेरले ७८ वर्ष पुगेका मैनालीले आफ्नो पुरानो पार्टी एमाले र समकालीन ओलीलाई आलोचना गर्न र 'भडाँसको भरुवा बन्दुक' पड्काउन बाँकी राखेका छैनन्।
मैनालीलाई सोधियो, समकालीन नेता र विगत जोडिएको नेकपा एमालेसँगका उनका ´नोस्टाल्जिया`बारे। मैनालीले भने, "नसम्झने कुरा हुन्छ र त्यो विगत? सपनामा पनि हरबखत केपी ओलीलाई देख्छु, अरू नेताहरूलाई देख्छु, एमाले सेरोफेरोमा डुलिरहेको, जुधिरहेको सपना देख्छु।"
राजनीति गर्ने उमेर घर्किए पनि पहिचानको रहर त मर्दोरहेनछ।
‘लुटिएका दुई थुँगा फूल’, ‘बन्दी रहर’, ‘मेरो अतीत मेरो सपना’ र ‘नलेखिएको इतिहास’लगायत पुस्तकका लेखक मैनाली अखबारी आलेखमा पनि देखिन्थे, तर आजकल लेखनमा ‘पूर्णविराम’ लागेको छ, किन होला? भन्छन् ‘हाम्रो पुस्ताका राजनीतिक सहकर्मीमध्ये कम्प्युटर टाइपमा अभ्यस्त प्रदीप नेपाल मात्र हुन् क्यारे। म आफैँ टाइप गर्न सक्दिनँ। सचिवालय खडा गर्ने, सहयोगी राखेर लेखाउने/छपाउने गर्दा खर्च धान्न सकिँदैन।’
पैसाको कुरा आएपछि मैनाली एकैछिन अलमलिए र भने, ‘राधाकृष्ण मैनालीलाई झापाको हैसियतमा चिन्ने तप्का अब सीमित छ। सीतापाइलास्थित दुई रोपनी जग्गा, फूलबारीसहितको शान्त घरमा बसेको देख्दा अरू राजनीतिक पात्रझैँ मलाई पनि भन्दा हुन्, ´पटक-पटक मन्त्री भएको मान्छेको त्यति पनि नहोस् त, राजनीति गर्यो मन्त्री बन्यो, देश लुट्यो घर बनायो`। तर यथार्थ निकै फरक छ, उनी थप्छन्, ‘पिता धनपति मैनालीले झापामा जोडिदिएको सत्तरी बिगाहाभन्दा धेरै जमिनको उत्तराधिकारीमध्ये एक हुँ म। आज मसँग झापामा मुस्किलले एक बिगाहा मात्र जमिन छ। दैनिक घर खर्चका लागि ‘अमेरिकी एनआरएन’ छोरा दिनेशले धानिदिएको छ। प्रत्येक एक दुई वर्षको अन्तरमा झापामा बचेको जग्गा एक/एक कट्ठा बेच्दै आफ्नो सामाजिक र सार्वजनिक खर्च व्यवस्थापन गर्छु।’
कुरा जति गरे पनि सकिँदैनन्। अब कम्युनिस्ट राजनीतिको ‘मियो’तर्फ फर्कौं।
२०७४ को आम निर्वाचनलाई छेको पारेर नेकपा एमाले र नेकपा माओवादीले नाटकीय गठबन्धन गरे, चुनावपछि पार्टी एकता गर्दै पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखे। तर नेकपाको आयु लामो बनेन। ´नेकपा' नाम जुधेको कारणसहित सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपाको अस्तित्व बदर गर्दै नेकपा एमाले र नेकपा माओवादीलाई पुनर्जीवित गर्यो। त्यसपछि ´नेकपा`कालीन किचलो नेकपा एमालेको मात्र ´पेवा` भयो।
ओली पक्षले ´माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई समाप्त पारे` भन्न थाले, नेपाल पक्षले ´ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पारे` भन्न थाले। तर जनताको नजरबाट हेर्दा दुवै पक्षका हरकत नै कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने खालका थिए।
मैनालीका अनुसार २१ फागुन २०५४ मा माधव नेपालले ´पार्टीको नेतृत्व गरेकै कारण एमाले पार्टी विभाजन भयो। अनि २ भदौ २०७८ मा नेकपा एमाले विभाजन भयो माधव नेपालले ´विभाजित समूहको नेतृत्व गरेका कारण। माधव नेपालको तस्बिर नेकपा एमाले विभाजनरूपी ´खोटो सिक्का`मा दुवैतर्फ छापिएको छ।
नेपालमा कम्युनिस्ट अभियन्ताहरूले पार्टी निर्माणमा निकै मिहिनेत गरे। देशमा शासकीय व्यवस्था परिवर्तन गर्न कठोर संघर्ष गरे। जनमतका आधारमा पटक-पटक देशको ठूलो पार्टी बन्ने अवसर पनि पनि प्राप्त गरे। तर जब जनमतबाट राज्य-सत्ता सञ्चालनको जिम्मा आइपुग्छ, तब पार्टीभित्रको किचलोका कारण बेमेलको उत्कर्षले छोइहाल्छ।
जनतालाई ‘डेलिभरी’ दिने बेलामा झगडा गरिरहनुपर्ने, के त्यस्तो रोग छ कम्युनिस्टभित्र? समस्याको चुरो सिद्धान्त हो या नेतृत्वमा पुगेका व्यक्तिको स्वभाव? शब्दजालमार्फत बेमेललाई सैद्धान्तिक जामा पहिर्याए पनि झगडाको अन्तर्य व्यक्तिगत लाभ-हानि र 'इगो' नै हो। यो सबैलाई थाहा छ।
कम्युनिस्टहरू किन संघर्षको ‘लिगेसी’बमोजिम टिकिरहन सक्दैनन्? किन कम्युनिस्टलाई सफलताको उचाइ फाप्दैन? नेतृत्वमा पुग्नासाथ किन असहिष्णु बनिहाल्छन्? किन अन्तर्संघर्षको बहानामै कम्युनिस्ट शक्तिको ‘मलिक्युल्स’ सकिन्छ?
राजनीतिमा थोरै मात्र चासो राख्नेका लागि यो स्वाभाविक जिज्ञासा हो। र, कम्युनिस्ट राजनीतिको गुण-दोष र स्खलनको हिस्सेदार बन्नबाट राधाकृष्ण मैनाली पनि उम्कन पाउँदैनन्। हिन्दी सिनेमामा प्रयोग हुने एउटा परिहासमिश्रित संवाद छ नि, ´नङ्गा नाहाएगा क्या, निचोडेगा क्या`। वर्तमान राजनीतिमा हस्तक्षेपका हिसाबले मैनालीको हैसियत त्यही हो। बिगत कोट्याउने हो भनेचाहिँ मैनाली हिङ बाधेको टालो होइनन्, हिङ नै हुन्।
(पोखरेल स्वतन्त्र पत्रकार हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
