काठमाडौँ– सरकारी ढुकुटी रित्तिएर कागज किन्नसमेत पैसा नहुँदा विद्यार्थीको परीक्षा नै स्थगित गर्नुपरेको श्रीलंकाको घटना धेरै पुरानो होइन। दुई वर्षअघि त्यसरी टाट पल्टेको श्रीलंका अहिले तंग्रिदै छ। विदेशी दातृ निकायको सहायता र पर्यटनको भरले आर्थिकरूपमा ‘लाइन’मा आउन संघर्षरत देश अब कता जाने भन्ने यही सेप्टेम्बर २१ मा हुने राष्ट्रपतीय निर्वाचनले तय गर्नेछ।
सन् २०२२ मा जनताले गरेको सडक संघर्षबाट तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे अपदस्थ भएका थिए। श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) बाट सन् २०१९ को निर्वाचनमा उम्मेदवार बनेका उनले बहुमत (५२.२५ प्रतिशत) ल्याएर राष्ट्रपति चुनिएका थिए। उनले वाचा गरेअनुसार देशलाई आर्थिक उन्नतितर्फ लैजान सकेनन्। उल्टै कर र ब्याजदर घटाएर आर्थिक संकटतर्फ धकेलेको, भ्रष्टाचार गरेको भन्दै कोलम्बोसहित विभिन्न शहरमा चलेको व्यापक विरोध प्रदर्शनबीच उनले भाग्नुपर्ने अवस्था आयो। अन्ततः राजीनामा दिएर उनी माल्दिभ्स हुँदै सिंगापुर पुगे।
कुनै समय सशस्त्र विद्रोही संगठन ‘लिबरेसन टाइगर्स अफ तमिल इलम’ (एलटीटीई) लाई दबाउँदै झन्डै ३० वर्षदेखि चलेको गृहयुद्धको अन्त्यका लागि त्यहाँका जनताले उनलाई ‘युद्ध नायक’ नै मान्थे। उनका दाजु महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदा सन् २००९ मा श्रीलंकाको सेनाले एलटीटीईलाई पराजित गरेको थियो। त्यसबेला उनी रक्षा सचिवको जिम्मेवारीमा रहेर एलटीटीईविरुद्धको युद्धमा प्रधान सेनापति सरथ फोन्सेकालाई सघाएका थिए। तर जनताको विश्वास गुमाउँदा उनले देशै छाड्नुपर्यो।
राजापाक्षे परिवारले सन् २००५ देखि श्रीलंकामा शासन गरेको थियो। त्यस कारण गोटाबाया देश छोड्न बाध्य हुँदा पनि ‘राजापाक्षे शासन’को दबदबा कमजोर बनेको थिएन। गोटाबायाले आफ्ना उत्तराधिकारीको रूपमा ७५ वर्षीय रनिल विक्रमासिंघेलाई राष्ट्रपति बनाए। यसअघिको राष्ट्रपतीय निर्वाचनमा पराजय भोगेका विक्रमासिंघे युनाइटेड नेसनल पार्टी (यूएनपी)बाट निर्वाचित एक मात्र सदस्यका रूपमा संसद्मा थिए। राजापाक्षे अपदस्थ भएपछि उनकै पार्टीले समर्थन गरेर विक्रमासिंघे राष्ट्रपति भए।
त्यसयता दुई वर्षमा विक्रमासिंघेले केही नीतिगत सुधारहरू लागू गरे। उनको यो छोटो कार्यकालमा मुद्रास्फीति ७० प्रतिशतबाट ५ प्रतिशतमा झरेको छ। ब्याजदर पनि घटेको छ र विदेशी विनिमय सञ्चिति बढेको छ। करको दर बढाएर होस् वा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट २.९ अर्ब डलर राहत लिएर, देशलाई केही हदसम्म राजनीतिक र आर्थिक स्थिरता प्रदान गरेका छन्। यद्यपि आयकरको उच्च दरविरुद्ध जनताले गुनासो गरिरहेका छन्।
राष्ट्रपतिको निर्वाचन प्रसंग
लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाको आर्थिक र राजनीतिक भविष्यलाई आकार दिन अबको १२ दिनपछि हुने निर्वाचनलाई महत्त्वपूर्ण मानिएको छ। राष्ट्रपतिको दौडमा ३८ उम्मेदवार प्रतिस्पर्धामा छन्। मुख्य दाबेदारहरूमा वर्तमान राष्ट्रपति विक्रमासिंघेसँगै विपक्षी नेता तथा युनाइटेड पिपुल्स पावर (यूपीपी)का सजित प्रेमदासा, नेसनल पिपुल्स पावर (एनपीपी)का अनुरा कुमारा दिसानायके, पिपुल्स स्ट्रगल एलियन्स (पीएसए)का नुवान बोपेज र श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) का नमल राजापाक्षेलाई मानिएको छ।
महिन्दा राजापाक्षेका छोरा तथा पूर्व राष्ट्रपति गोटाबायाका भतिजा ३८ वर्षका नमल आफ्ना काकाको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। श्रीलंकाको राजनीतिक विरासत बोकेको परिवारका सदस्यका हैसियतमा उनी बलिया दाबेदार पनि हुन्। संसद्मा प्रमुख प्रतिपक्षी नेता ५७ वर्षीय प्रेमदासा सन् २०१९ को राष्ट्रपति निर्वाचनमा राजापाक्षेसँग पराजित भएका थिए। यी दुवै एउटै विचारधारासँग जोडिएका व्यक्ति हुन्।
प्रेमदासाको पार्टी यूएनपीले नेसनल डेमोक्र्याटिक फ्रन्ट (एनडीएफ)सँग गठबन्धन गरेर ४२ प्रतिशत मत प्राप्त गरेको थियो। राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपति बन्ने प्रयत्न गरे पनि सहमति जुट्न नसकेपछि उनी प्रमुख प्रतिपक्षी दलका नेतामै सीमित रहे।
यस्तै, अभियन्ता तथा अधिवक्ता नुवान बोपेजलाई जन अरगालय कार्यकर्ताहरूले स्थापना गरेको जनसंघर्ष गठबन्धन (पीएसए)का लागि राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन गरिएको छ। यस गठबन्धनमा अरगालय आन्दोलनका सदस्यका साथै नागरिक समाज, विभिन्न संगठन तथा राजनीतिक दलहरू समावेश छन्।
तत्कालीन श्रीलंकन सरकारविरुद्ध सन् २०२२ मार्च १५ देखि नोभेम्बर १४ सम्म सात महिना चलेको जनआन्दोलनलाई सिंहाली भाषामा ‘जन अरगालय’ नाम दिइएको छ। जसको अर्थ ‘जनसंघर्ष/जनप्रदर्शन’ भन्ने हुन्छ। यसलाई पनि चुनावमा प्रभाव पार्न सक्ने गठबन्धका रूपमा हेरिएको छ।
एनपीपीका दिसानायकेले सन् २०१९ को राष्ट्रपतीय चुनावमा भाग लिए पनि तीन प्रतिशत मात्र मत प्राप्त गरेका थिए। तर चार वर्षको अन्तरालमा उनले ठूलो जनविश्वास प्राप्त गरेका छन्, जसलाई चुनावी पोलले प्रष्ट पारेको छ।
चुनावी पोलमा दिसानायके अगाडि!
आसन्न निर्वाचनको पहिलो चरणमा एउटै उम्मेदवारले स्पष्ट बहुमत ल्याउने सम्भावना कम देखिएको छ। स्वास्थ्य नीति संस्थानको ‘श्रीलंका ओपिनियन ट्र्याकर सर्भे’ (स्लट)का अनुसार यूपीपीका उम्मेदवार प्रेमदासालाई समर्थन गर्नेको संख्या मे महिनाको तुलनामा जुनमा ४ प्रतिशतले बढेर ४३ पुगेको थियो। त्यही समयमा मार्क्सवादी नेता दिसानायकेको समर्थन ६ प्रतिशतले घटेर ३० मा झरेको थियो। जबकि राष्ट्रपति विक्रमासिंघेको समर्थन ३ प्रतिशतले बढेर २० पुगेको थियो। नमल राजापाक्षेको पक्षमा अघिल्लो महिनाको तुलनामा ७ प्रतिशतको वृद्धि देखाएको थियो।
यद्यपि, जुलाईको सर्वेक्षणमा दिसानायके पहिलो स्थानमा पुगेका छन्। उनको पक्षमा ३७ र प्रेमदासाको पक्षमा ३६ प्रतिशतको समर्थन छ। यस्तै, विक्रमासिंघेलाई २३ प्रतिशत तथा एसएलपीपी उम्मेदवार राजापाक्षेको समर्थन ४ प्रतिशतमै कायम रहेको छ।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा दोस्रो रहेका प्रेमदासाले ४२ प्रतिशत मत पाउँदा जम्मा ३ प्रतिशत मत पाएका दिसानायके पाँच वर्षको अन्तरमा कसरी बलिया उम्मेदवार बने त?
युद्ध लडेको पार्टीको निर्वाचन यात्रा
अनुरा कुमारा दिसानायके श्रीलंकामा चर्चित मार्क्सवादी नेता हुन्। उनी पूर्व कृषिमन्त्री हुन्। भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका उनी २०२२ को आर्थिक मन्दीबाट आजित मतदातामाझ लोकप्रिय बन्दै गएका छन्।
श्रीलंकाको २२५ सदस्यीय संसद्मा राष्ट्रिय जनशक्ति गठबन्धन अर्थात् एनपीपीको तीन सिट मात्र छ। एनपीपीमा विभिन्न २७ घटक तथा समूह सामेल छन्। यसको मुख्य घटक दल पिपुल्स लिबरेसन फ्रन्ट वा जनता विमुक्ति पेरामुना (पीएलएफ/जेभीपी) हो। दिसानायके त्यही दलको नेतृत्व गरिरहेका छन्।
कुनै समय लिबरेसन टाइगर्स अफ तमिल इलमसँग तुलना गरिने जेभीपीले सन् १९७१ र १९८७ मा दुई पटक असफल सशस्त्र विद्रोह गरेको थियो। उनीहरू युद्धबाट सत्ता कब्जामा विश्वास गर्थे। दुवै विद्रोहमा लगभग ८० हजार नागरिकको ज्यान गुमेको थियो। त्यसपछि पार्टीले हिंसात्मक बाटो त्याग्यो र समाजवादी शक्तिमा परिणत भयो। यसले सन् २०१९ मा गठन भएको गठबन्धन मोर्चा एनपीपीको नेतृत्व गरिरहेको छ।
संसद्बाट निर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तर्राष्ट्रिय मुद्रा कोषको २.९ अर्ब अमेरिकी डलर ऋणलाई निरन्तरता दिने बताइरहेका बेला दिसानायकेले उक्त सम्झौताका विभिन्न बुँदामाथि पुनः वार्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। त्यसैगरी, भारी कर कटौतीको योजना पनि सार्वजनिक गरेका छन्। उनले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विगत तीन दशकमा श्रीलंकाका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरे पनि यसलाई पूरा गर्न असफल भएका छन्। दिसानायकेले पनि राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाइरहेका छन्।
उनको जितको सम्भावनालाई विभिन्न पक्षहरूबाट विश्लेषण गर्न सकिन्छ। पहिलो, उनी एक समाजवादी विचारधाराका समर्थक हुन् र आर्थिक असमानता तथा भ्रष्टाचारविरुद्ध आवाज उठाएर लोकप्रिय बनिरहेका छन्। यसले वर्तमान सरकारको नीतिप्रति असन्तुष्ट मतदाताको समर्थन प्राप्त गर्न मद्दत पुग्नेछ।
यस्तै, सामाजिक न्यायका लागि गरिएको कामका कारण पनि उनी युवाहरूमा लोकप्रिय बनेका छन्। उनले आफ्नो चुनावी अभियान युवा र नयाँ विचारधारामा विश्वास गर्ने जनतालाई लक्षित गरेका छन्। यसका साथै, सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रभावकारी उपयोग गरेका छन् जसले उनलाई युवाहरूमा अधिक पहिचान दिलाउन मद्दत गरेको छ।
तर ठूलो राजनीतिक अनुभव र संसाधन भएका मुख्यधारका दलहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छँदै छ।
-एजेन्सीहरूको सहयोगमा