काठमाडौँ– शिक्षामन्त्री विद्या भट्टराईले गएको भदौ ५ गते सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक असुरक्षित भएको उल्लेख गर्दै त्यहाँ सुरक्षाको व्यवस्था गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिन्। शिक्षामन्त्रीले नै सुरक्षाको माग गरेपछि यो विषयले बढी चर्चा पायो।
मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमला गर्न खोजिएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिने गरिएको उल्लेख गरेकी छन्। उनको भनाइबारे सञ्जालमै समर्थन र विरोध दुवै भएपछि त्यही दिन उनले अर्को स्टेटस लेख्दै आफ्नो अघिल्लो स्टेटसको बचाउ गरेकी छन्। उनले लेखेकी छन्, “मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।”
विश्वविद्यालयबारे जानकारी राख्नेहरू भने यो विषय नयाँ नभएको बताउँछन्। प्राडा विद्यानाथ कोइराला राजनीतिक नेतृत्वले चाहेबमोजिमकै बाटोमा विश्वविद्यालय गएको बताउँछन्। “हाम्रा नेताहरूले विश्वविद्यालयमा जे वृक्ष रोपेका छन् त्यसले त्यही फल दिइरहेको छ,” उनी भन्छन्, “अब त एउटा विभागीय प्रमुख नियुक्तिका लागि लडाइँ हुने अवस्था आयो, यो दुर्भाग्य हो।”
पछिल्लो विवाद पनि प्राडा कोइरालाले भनेजस्तै समाजशास्त्र विभागका प्रमुख नियुक्तिको विषयलाई लिएर भएको छ। विभागीय प्रमुख रहेका प्रा. युवराज लुइँटेलको पदावधि साउन ३२ गते सकिएको थियो। उक्त पदमा नियुक्तिका लागि सहप्राध्यापक पासाङ शेर्पा, टीकाराम गौतम र मनहरि ढकाल सिफारिस भएका थिए। मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयको सिफारिसमा त्रिवि कार्यकारी परिषद्ले विभागीय प्रमुख नियुक्त गर्छ।
तर आफ्नो दलका समर्थक प्राध्यापकलाई नियुक्त गर्न कार्यकारी परिषद्मा रहने पदाधिकारीलाई नै धम्की दिइएपछि विवाद छताछुल्ल भएको हो। विवादको शुरू भने मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयबाट भएको देखिन्छ।
समाजशास्त्र विभागबाट वरिष्ठताका आधारमा तीन जनालाई विभागीय प्रमुखका लागि सिफारिस गरेर पठाइएको थियो। तर डिन कार्यालयले त्यसमा हेरफेर गरेर रेक्टर (शिक्षाध्यक्ष) कार्यालयमा सिफारिस पठायो। एमाले निकट सहप्राध्यापक पासाङ शेर्पा समर्थक समूहले उक्त सिफारिसको विरोध गर्यो। समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर त्रिविका विद्यार्थी र प्राध्यापकबीच कित्ताकाट भयो। कांग्रेस समर्थकहरू टीकाराम गौतमलाई र एमाले समर्थकहरू पासङ शेर्पालाई प्रमुख बनाउन चाहन्थे।
एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले डिन कुसुम शाक्यलाई सिफारिस सच्याउन माग गरेको थियो। डिन शाक्य कांग्रेस निकट भएकाले सहप्राध्यापक गौमतलाई एक नम्बरमा सिफारिस गरेको प्रगतिशील प्राध्यापक संगठनको आरोप थियो।
डिन शाक्यले भने आफूले सिफारिस मात्र गरेको र पदाधिकारीको निर्णय नै ठूलो हुने बताएकी थिइन्। तर कांग्रेस निकट सहप्राध्यापक टीकाराम गौतम समर्थक समूहले उनलाई नियुक्ति नगरे पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएपछि विवाद उत्कर्षमा पुगेको थियो।
अन्ततः त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजाल नै सुरक्षाको व्यवस्थापन गरिदिन शिक्षामन्त्रीलाई पत्र लेख्ने अवस्थामा पुगे। रजिस्ट्रार रिजालले साउन ३२ गते त्रिवि परिसरमा असुरक्षा बढ्दै गएको र उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारको निजी आवास र त्रिवि परिसरमा सुरक्षाको व्यवस्था गरिदिन शिक्षामन्त्रीलाई पत्र लेखेका थिए।
पाँच वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेलाई जुन समूहले आक्रमण गरेको थियो त्यही समूहले कांग्रेस निकट प्राध्यापकलाई नियुक्ति गर्न धम्की दिएको एक पदाधिकारी बताउँछन्। तर केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्याम ओझा भने यसमा विद्यार्थी संगठनको कुनै संलग्नता नभएको दाबी गर्छन्।
ओझा भन्छन्, “यो खेल प्राध्यापकहरूको हो। त्यसमाथि पदाधिकारीको निरीहताले यस्तो परिस्थिति सिर्जना भएको हो। विश्वविद्यालयमा विद्यार्थीले गुण्डागर्दी गर्नै सक्दैनन्। कसले कहाँ, कसरी धम्की दिम्की दियो पदाधिकारीले यो कुरा प्रष्ट रूपमा भन्नुपर्छ। कुनै नेता र पार्टीसँग निकट देखिन नाटक गर्नुभएन।”
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले सहप्राध्यापक पासाङ शेर्पालाई समाजशास्त्र विभागको प्रमुख नियुक्त गरिसकेको छ। भदौ ९ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शेर्पालाई प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो।
तर त्रिविका जानकारहरू दलीय भागबन्डाका आधारमा पदाधिकारी र विभागीय प्रमुखहरू नियुक्त हुँदासम्म यस्तै खराब अवस्था भइरहने बताउँछन्। प्रा. सुसन आचार्य भन्छिन्, “यहाँ एक र दुई नम्बरको विवाद भइरहेको छ, यसको कुनै अर्थ छैन। नियुक्ति राजनीतिक आधारमा हुन्छ। तैपनि सिफारिस भएकामध्ये पदाधिकारीले जसलाई पनि नियुक्त गर्न सक्छ, त्यो अधिकार पदाधिकारीलाई दिइएको छ।”
उपकुलपति नियुक्ति नै अपारदर्शी रूपमा हुने गरेको छ। हालका उपकुलपति केशरजंग बराल नियुक्तिका लागि दुई नम्बरमा सिफारिस भएका थिए। दरखास्त दिएका ४३ जनामध्ये प्रस्तुति र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए। अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस हुँदा पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा बराल र तेस्रोमा टंकनाथ धमला थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले दुई नम्बरमा सिफारिस बराललाई नियूक्त गरेको थियो।
कोही निश्चित व्यक्तिलाई नियुक्तिका लागि प्राध्यापक र विद्यार्थीका संगठनले दबाब दिनु अनुचित भएको आचार्य बताउँछिन्। दलीय स्वार्थ परिपूर्तिका लागि पदाधिकारी नियुक्त गरिने परिपाटीले विकृति भइरहेको उनको भनाइ छ। “विद्यार्थीका नाममा गुण्डागर्दी भइरहेको हुन्छ। एउटाले नियुक्ति पायो केही समय शान्त होला, फेरि अर्को यस्तै भइहाल्छ। यसमा कसले कारबाही गर्ने?” उनी प्रश्न गर्छिन्।
त्रिवि पदाधिकारीलाई धम्की दिएको आरोप लागेका नेवि संघ विश्वविद्यालय इकाई कमिटी सचिव योगेन्द्र रावलले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको तस्वीर सार्वजनिक भएको छ। शिक्षामन्त्री विद्या भट्टराईले त्रिवि सुरक्षामा प्रश्न उठाएकै दिन नेवि संघ नेता रावलले गृहमन्त्रीसँग भेटेको तस्वीर फेसबुकमा राख्दै ‘भ्यागुत्ताको ट्वार ट्वार’ भएको बताएका थिए। उनले लेखेका थिए, “अझै हामी श्रावण–भाद्रको झरीमा छौँ, त्रिविको प्रांगणमा भ्यागुत्ता ट्वार ट्वार गर्नु अनौठा होइन।”
यस्ता घटनाबाट त्रिविमा विद्यार्थी संगठनका नाममा हुने गुण्डागर्दीलाई राजनीतिक नेतृत्वबाटै प्रोत्साहन भएको स्पष्ट हुने प्रा. आचार्य बताउँछिन्। उनी भन्छिन्, “पदाधिकारीलाई धम्की दिनेहरू गृहमन्त्रीसँग छन् भने अब हामीले के बुझ्ने? उनीहरूमाथि कारबाही हुन्छ? आश गर्नु बेकार हुन्छ।”
विद्यार्थीका नाममा विश्वविद्यालयभित्र गुण्डागर्दी गर्नेहरू कारबाहीमा नआउनु विडम्बना बनेको आचार्य बताउँछिन्। गएको भदौ २ गते ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द हुनुमा पनि विद्यार्थी नेतृत्वको अराजक व्यवहार जिम्मेवार थियो।
एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पासहितको समूहले परीक्षा निरीक्षक रहेका सहायक प्राध्यापक भीम सुवेदीलाई कुटपिट गरेको थियो। त्यही कारण परीक्षा रद्द भयो। अनेरास्ववियुका नेता भएकै कारण शेर्पालाई कुनै कारबाही भएको थिएन।
यसअघि विश्वविद्यालय परिसरमा नै उपप्रध्यापक प्रेम चलाउनेमाथि निर्घाट कुटपिट भएको थियो। कुट्ने समूहमा यसपटक विवादमा आएका नेवि संघ नेता रावल पनि थिए। यति मात्र नभएर, नेवि संघले धम्की र केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण त्रिवि सेवा आयोगले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता गर्न सकिरहेको थिएन। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले प्रहरी राखेर अन्तर्वार्ता गराएकी थिइन्।
त्रिविमा यस्तो बारम्बार किन भइरहन्छ? राजनीतिक विश्लेषक विष्णु कार्की विश्वविद्यालयलाई दलहरूले राजनीतिको अखडा बनाउँदा पठनपाठन र नियमित क्रियाकलाप डामाडोल भएको बताउँछन्। उनी भन्छन्, “दलहरू जे चाहन्छन् विश्वविद्यालयमा त्यही भइरहेको छ। अहिले पनि एमाले, कांग्रेसको लडाइँमा विश्वविद्यालय परेको हो।”