लुक्लादेखि नाम्चे जाँदा बाटोमा पर्ने टोकटोक भन्ने गाउँ जोखिममा पर्ने गरी बाढीले गरेको कटान। तस्वीर सौजन्य : खुम्बु पासाङ ल्हामु गाउँपालिका कार्यालय
काठमाडौँ– गत शुक्रबार खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ मा पर्ने थामे खोलाको जलाधार क्षेत्रमा हिमताल विस्फोट हुँदा थामे गाउँका १५ भन्दा बढी घर बाढीमा बगे। गाउँपालिकाका सबइन्जिनियर दीपकुमार बस्नेतका अनुसार ५५ घर रहेको थामेमा बाढीले कटान गर्दै गएपछि अहिले कुनै घर पनि बस्न मिल्ने अवस्थामा छैनन्।
थामेमा विद्युत् र टेलिफोन सेवा अझै अवरुद्ध छ। बाढीले त्यहाँ रहेको ६०० किलोवाटको माइक्रो हाइड्रो पनि बगायो भने पुलमा समेत क्षति पुर्याएको छ। थामेमा मात्र होइन, बाढीले दूधकोशी नदीको तल्लो तटीय क्षेत्रको ११० किलोमिटर तलसम्म कटान गरेको छ।
गाउँपालिका कार्यालयका अनुसार करिब तीन किलोमिटर पदमार्ग बाढीले बगाएको छ जहाँ अर्को बाटो बनाउनुपर्छ। त्यसैगरी बाढीले थामेभन्दा ११० किलोमिटर तल ओर्लाङघाटमा रहेको मोटर गुड्ने पुल बगाउँदा माथिल्लो सोलुखुम्बुसँग जिल्ला सदरमुकामको आवातजावत विच्छेद छ।
त्यसैगरी लुक्लादेखि नाम्चे जाँदा बीच बाटोमा पर्ने टोकटोक भन्ने ठाउँमा तीन वटा घर बाढीले बगाएर लगेको छ। अन्य दुई घरमा बस्न नमिल्ने भएपछि त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। पर्यटकीय पदमार्गमा पर्ने जोरसल्लेका स्थानीयहरू अहिले राति आफ्नो घरमा नबसेर नजिकको सुरक्षित गाउँ मन्चोमा बस्ने गरेको बस्नेत बताउँछन्।
पर्यटनमा असर
पर्यटकीय सिजन शुरू हुनुअघि ताल विस्फोटबाट बाढीले सोलुखुम्बु क्षेत्रमा पुर्याएको क्षतिले त्यस क्षेत्रको पर्यटनमा गम्भीर क्षति पुग्ने अनुभवी पर्यटन व्यवसायीहरू बताउँछन्। बाढीले गर्दा सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय नै प्रभावित हुने चिन्ता नेपालका पुराना पर्यटन व्यवसायीले व्यक्त गरेका छन्।
“जलवायुको परिवर्तनले हिमाली क्षेत्रको पर्यटनमा निकै असर पुर्याउने देखिन्छ। हिमाल चढ्न जानेहरूको जीवन जोखिममा परिराखेको छ। चट्टान खस्ने, हिउँ खस्ने, बसेको ठाउँ खस्ने घटनाहरू भइरहेका छन्,” उनी भन्छन्, “अहिलेको बाढीले नै यो सिजन प्रभावित हुने देखियो। धेरै ठाउँमा बाटो बगाएको छ। थामेमा त बस्ने ठाउँ नै छैन।”
लुक्लाका पर्यटन व्यवसायी नाग्मेल शेर्पा अहिले बाढी पसेको गाउँ बसोबासका लागि आकर्षक रहेको बताउँछन्। “अहिले थामे गाउँ तत्काल बनाउन सम्भव छैन। त्यसले त्यहाँको पर्यटनमा असर गर्छ,” उनी भन्छन्, “सामान पनि लैजान कठिन छ। पर्यटकहरूलाई राम्रो बस्ने ठाउँ नहुँदा त्यसले असर गर्ने भयो। निर्माण सामग्री र खाद्यसामग्री ढुवानीका लागि बाटोको पहुँच चाहियो। अहिले त बाटोको पहुँच नै छैन। सोलुसल्लेरीबाट त्यहाँ जाने बाटो कतिपय ठाउँमा बाढीले बगाएको छ।”
सोलुखुम्बु जिल्लावासीको आम्दानीको मुख्य स्रोत नै पर्यटन हो। तर त्यही पर्यटन व्यवसाय प्रभावित भएपछि मानिसहरूको जीविकोपार्जनमै असर पुग्ने उनी बताउँछन्। बाढीपछि संघीय सरकारले १५ हजार र गाउँपालिकाले ५० हजार गरी प्रतिपरिवार ६५ हजार रुपैयाँ राहत सहयोग पीडित परिवारलाई वितरण गरेका थिए। तर यो रकमले दुई–तीन हप्ताभन्दा बढी नधान्ने नाग्मेल बताउँछन्।
अध्ययन गर्दै प्राधिकरण
उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिउँ पग्लिने क्रम छिटो–छिटो भइरहेको छ। यसले गर्दा हिमताल बन्ने र ती फुट्ने जोखिम बढेको वैज्ञानिकहरू बताउँछन्। यसबाट उच्च हिमाली क्षेत्रका बस्तीहरू नै जोखिममा परेका छन्। बाढीले क्षतिग्रस्त भएको थामे गाउँलाई नयाँ ठाउँमा स्थानान्तरण गर्ने वा साबिककै स्थानमा पुनर्निर्माणको काम शुरू गर्ने भन्नेबारे सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त ठाउँमा वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर मात्र पुनर्निर्माणको निर्णय गरिने छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल तत्कालका लागि अस्थायी आवासको व्यवस्था गर्ने र त्यसपछि वैज्ञानिक तथा प्राविधिक अध्ययन शुरू गरिने बताउँछन्।
“अस्थायी आवासको योजना लैजान्छौँ। त्यसपछाडि हामी त्यहाँ बस्ती बसाउन उपयुक्त छ कि छैन त्यसको आकलन गर्छौं,” उनी भन्छन्, “अध्ययनपछि बस्ती बसाउन उपयुक्त देखिए मात्र त्यहाँ पुनर्निर्माणको काम थाल्छौँ। नभए तल्लो थामेमा पुनस्र्थापना गर्छौं। अध्ययनबिना त्यहाँ बस्ती बसाल्दैनौँ।”
यो पनि : किन फुट्यो हिमताल, कसरी घटाउन सकिन्छ क्षति?