काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा शुक्रबार दिउँसो एक्कासि ठूलो बाढी आयो। बाढीले थामेगाउँका १३ घर बगायो, १० वटा घरमा आंशिक क्षति पुर्यायो। एक/एक विद्यालय भवन र स्वास्थ्य क्लिनिक तथा दुई होटल पनि बाढीले बगाएर लग्यो। खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन बन्द छ। बाढीले दूधकोशी नदीको तल्लो तटीय क्षेत्रका बस्तीसमेत जोखिममा छन्।
हिमालको काखमा रहेको सुन्दर पर्यटकीय गाउँलाई बाढीले बगर बनाएको छ। एउटै शैली र प्रायः एकै रङको जस्तापाताको छानो लगाउनु सोलुखुम्बु जिल्लाका बस्तीहरूको विशेषता हो। हिमाल बीचको सानो समथर फाँटमा अवस्थित थामेगाउँ बाढीपछि खण्डहर बनेको छ। थामेखोलाको मुहानमाथि रहेको एउटा सानो हिमताल विस्फोट हुँदा यो क्षति पुगेको हो। यस घटनाले विस्फोटको खतरामा रहेका ठूला हिमतालले भविष्यमा निम्त्याउन सक्ने खतराको घण्टी बजाएको वातावरण क्षेत्रका जानकारहरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका उपप्राध्यापक बसन्तराज अधिकारी सानो ताल फुट्दा ठूलो विनाश निम्तिनु चिन्ताको विषय भएको बताउँछन्। “यति सानो हिमताल फुट्दा त गाउँबस्तीमा यसरी विनाश निम्त्याउँछ भने ठूलो ताल फुट्दा के होला?” उनी भन्छन्, “च्छो रोल्पा, दिच्छो, ठूलागी र इम्जाजस्ता ठूला हितालको तुलनामा अहिले फुटेको हिमताल त केही पनि होइन।”
शुक्रबार फुटेको हिमताललाई यसअघि विस्फोटको खतराको सूचीमा राखिएको थिएन। विस्फोटपछि सबै पानी निस्केर बाहिर गएको देखिने तल्लो तालको आकार विस्फोट हुने दिन ०.०५०४ वर्ग किलोमिटर रहेको भूउपग्रह तस्वीर विश्लेषणका आधारमा पत्ता लागेको छ। त्यहाँबाट बाहिरिएको पानीको परिमाण कति थियो भन्ने यकिन नभए पनि क्षेत्रफलका आधारमा च्छो रोल्पा ताल उक्त तालभन्दा करिब ३० गुणा ठूलो छ।
दोलखामा रहेको च्छो रोल्पा हिमतालले ओगटेको क्षेत्र १.५३७ छ। उक्त तालको गहिराइ ५५ मिटर र लम्बाइ ३.४५ किलोमिटर छ। यो ताल विस्फोट भयो भने यसले तामाकोशी नदी तटीय क्षेत्रका ६० हजार घरपरिवार प्रभावित हुने अनुमान अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले गरेको छ।
अर्को एक अध्ययनका अनुसार च्छो रोल्पा हिमताल विस्फोट भयो भने त्यसले तामाकोशी नदीको ७० किलोमिटरसम्मको तल्लो तटीय क्षेत्रमा प्रत्यक्ष असर पुर्याउँछ। तामाकोशी नदीमा रहेको ४५६ मेगावाटको अपर तामाकोशीसहित ५० मेगावाटको खिम्ती जलविद्युत् आयोजनालाई पनि असर पुग्नेछ। बाढीले नदी तटीय क्षेत्रमा गर्ने कटान भयावह हुने त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका पूर्वप्रमुख तथा प्रध्यापक नरेन्द्र खनाल बताउँछन्।
सम्भावित जोखिमको सूचीमा रहेको अर्को ताल हो, मनाङ जिल्लाको चार हजार ४० मिटर उचाइमा अवस्थित ठूलागी हिमताल। ईसीमोडले गरेको अध्ययनअनुसार २.५ किलोमिटर लम्बाइ र ७३ मिटर गहिरो उक्त तालमा तीन करोड ६० लाख क्युबिक मिटर पानी छ। यो भनेको १४ हजार ४०० वटा ओलम्पिक पोखरीको पानी बराबर हो। यो ताल विस्फोट भयो भने यसले नदीतटीय क्षेत्रका एक लाख ६६ हजार मानिस प्रभावित हुने र विद्युत्गृह तथा सडकमा क्षति पुग्ने निश्चित छ। उक्त ताल विस्फोट हुँदा एक खर्बभन्दा बढीको क्षति हुने अनुमान छ।
सन्निकट संकट
ईसीमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र तिनका जोखिमबारे गरेको अनुसन्धानमा आधारित प्रतिवेदनले ४७ वटा हिमताललाई जोखिमपूर्ण भनी पहिचान गरेको छ। तीमध्ये ३१ वटा उच्च जोखिमयुक्तमा पर्छन्। ती सबै शुक्रबार विस्फोट भएको हिमतालभन्दा धेरै ठूला छन्।
विश्वव्यापी जलवायु परिवर्तनसँगै बढ्दो तापक्रमका कारण उच्च हिमालमा हिउँ पग्लिने र ताल बन्ने प्रक्रिया छिटो–छिटो भइरहेको छ। त्यसबीच नेपाललाई प्रत्यक्ष असर पार्ने सम्भावित जोखिमको सूचीमा रहेका तालहरूको संख्या दर्जनौँ छ।
जोखिमको सूचीमा रहेका ४७ हिमतालमध्ये २५ वटा चीनको तिब्बत क्षेत्रमा छन् भने २१ वटा नेपाल र एउटा भारतमा पर्छ। कोशीको सहायक अरुण नदीको जलाधार क्षेत्रमा मात्र जोखिम पहिचान गरिएका १७ वटा हिमताल छन्। तीमध्ये १३ वटा चीनमा र चार वटा नेपालमा छन्। त्यसैगरी दूधकोशी जलाधार क्षेत्रमा नौ र तमोर नदीको जलाधार क्षेत्रमा चार वटा हिमताल छन्। नेपालका ठूलामध्येका जलविद्युत् आयोजना अरुण नदीमै निर्माणाधीन छन्।
गण्डकी जलाधार क्षेत्रको सहायक नदी त्रिशूलीको जलाधार क्षेत्रमा दुई र मर्स्याङ्दी नदीमा एउटा हिमताललाई जोखिमका रूपमा पहिचान गरिएको छ। त्रिशूली जलाधार क्षेत्रमा रहेको एउटा हिमताल चीनतर्फ पर्छ।
त्यस्तै, कर्णाली नदीको सहायक नदी काली र हुम्ला कर्णालीमा एक/एक वटा हिमताललाई जोखिमयुक्त पहिचान गरिएको छ। त्यसमध्ये एउटा नेपालतर्फ र अर्को भारततर्फ पर्छ। उक्त अध्ययनले तीन वटा नदीका जलाधारमा तीन हजार ६२४ वटा हिमताल रहेको औँल्याएको छ। तीमध्ये दुई हजार ७० हिमताल नेपालको राजनीतिक नक्साभित्र, एक हजार ५०९ वटा चीनको तिब्बतमा र ४५ वटा भारतमा पर्छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार एक हजार ४१० हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूला छन्। हिउँ पग्लिने क्रमसँगै हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको छ। सन् २००० मा तीन वटा नदी जलाधार क्षेत्रमा तीन हजार ६०१ हिमताल र त्यसले ओगटेको क्षेत्रफल १७०.५६ वर्ग किलोमिटर थियो। सन् २००५ मा हिमतालको संख्या तीन हजार ६०६ र क्षेत्रफलबढेर १८६.४४ वर्ग किलोमिटर हुन पुग्यो। त्यस्तै, सन् २०१५ मा हिमतालको संख्या तीन हजार ६२४ र त्यसले ओगटेको क्षेत्रफल १०५.३९ वर्ग किलोमिटर पुगेको थियो।
सन् २००० देखि २०१५ सम्ममा २३ वटा हिमताल विस्तार भएका छन्। तिनको क्षेत्रफल १५.८ वर्ग किलोमिटर थपिएको छ। सन् २०१५ पछि अध्ययन नभएकाले हिमतालको अवस्था सार्वजनिक जानकारीमा छैन। तर हिउँ पग्लिने दर झन् बढ्दै गएकाले हिमतालको संख्या र तिनीहरूको क्षेत्रफलमा वृद्धि भएको अनुमान गर्न सकिन्छ।
कसरी कम गर्ने जोखिम?
उच्च हिमाली क्षेत्रमा रहेका तालहरू विस्फोट हुने क्रम आउँदा दिनमा अझ तीव्र हुने विज्ञहरू बताउँछन्। उनीहरूका भनाइमा सम्भावित जोखिमबाट बच्न अहिल्यैदेखि काम गर्ने हो भने क्षतिको मात्रा न्यूनीकरण गर्न सकिन्छ। उच्च हिमालमा रहेका हिमतालहरूको मिहीन अध्ययन गरेर ती ताल विस्फोट हुँदा पुग्नसक्ने क्षति र प्रकोपको नक्सांकन गर्नुपर्ने यूएनडीपीमा जलवायु विश्लेषकका रूपमा कार्यरत दीपक केसी बताउँछन्।
“सानो तालले पनि ठूलो संकट निम्त्याउन सक्छ भन्ने थामेको घटनाले संकेत गरेको छ। सम्भावित खतराको सूचीमा रहेका तालहरूले निम्त्याउने क्षति ठूलो हुन्छ,” उनी भन्छन् “नक्सांकन गरिएको क्षेत्रलाई रेड एरिया घोषणा गर्ने र त्यहाँ संरचना नबनाउने हो भने क्षति कम गर्न सकिन्छ।”
ताल विस्फोट भएर आउने बाढीको तीव्रतालाई कुनै पनि संरचनाले धान्न नसक्ने केसीको भनाइ छ। “गेग्र्यान र पानीको तीव्रता धेरै हुन्छ। कुनै पनि संरचनाले त्यो धान्नै सक्दैन। घर पुलहरू केहीले थेग्न सक्दैन,” उनी भन्छन्।
हिमपहिरोले विस्फोट
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको टोलीले गरेको स्थलगत अध्ययनबाट थामे गाउँभन्दा करिब ९ किलोमिटर माथि रहेका दुई वटा ताल विस्फोट हुँदा थामे खोलामा गेग्र्यान र ढुंगासहितको बाढी आएको देखिएको छ।
घटनास्थलको अनुगमन गरेर फर्केका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार उक्त तालबाट कति पानी बाहिर गयो र कति मात्रामा पानी थियो त्यसको यकिन विवरण अहिलेसम्म आएको छैन। “सानो आकारका तालहरू फुट्दा पनि त्यसले ल्याउने जोखिम ठूलो हुन्छ भन्ने थामेको घटनाले देखायो,” पोखरेल भन्छन् “कति मात्रामा पानी थियो भन्ने विषयमा अध्ययन भएपछि मात्र यथार्थ बताउन सकिन्छ।”
घटनास्थलको अध्ययनपछि प्राधिकरणका तर्फबाट जारी विज्ञप्तिमा थामे खोला जलाधारको माथिल्लो तटीय जलाधार क्षेत्रका पाँच वटा हिमतालमध्ये सबैभन्दा माथिको ताल फुटेर तलको अर्को तालमा पानी बगेको र उक्त ताल पनि फुट्दा त्यसको प्रभावले बाढीको अवस्था निम्तिएको उल्लेख छ। तर माथिल्लो ताल फुट्ने अवस्था कसरी आयो भन्ने प्रश्न अझै अनुत्तरित छ।
हिमाली क्षेत्रको जलवायु र त्यहाँको तापक्रमका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूले भने भूउपग्रह तस्वीर विश्लेषणका आधारमा माथिल्लो तालमा एभ्लन्च (हिमपहिरो) ले दबाब दिएर ताल विस्फोट हुन पुगेको र त्यसको पानी अर्को तालमा आएको बताउँछन्। नेपालको हिमाली क्षेत्रकै बारेमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता एवं युनिभर्सिटी अफ अलास्कामा विद्याबारिधि गरिरहेका अमृत थापा भूउपग्रहको तस्वीरलाई विश्लेषण गर्दा माथिल्लो तालमा हिमपहिरो आएको देखिने बताउँछन्। “त्यसले गर्दा माथिल्लो ताल फुट्यो। अनि त्यसको पानी तल्लोमा झरेर बाहिर बग्न थाल्यो। बेलुन फुटेजस्तो फुटेको होइन,” उनले भने।
काठमाडौँ विश्वविद्यालयका हिमनदीविज्ञ डा. मोहनबहादुर चन्द फुटेको तल्लो ताल सन् १९९० तिर बनेको बताउँछन्। “तल्लो ताल सन् १९९० मै बनिसकेको देखिन्छ। त्यसको साइज बढेको देखिन्न,” चन्द भन्छन्, “माथिल्लो ताल भने सानो पोखरी हुँदै सन् २०१० मा मात्र देखिएको पाइन्छ। माथिल्लो तालको सबै पानी बाहिर निस्केको छैन।”
हिमाली क्षेत्रमा हिमपहिरो आउनु स्वाभाविक प्रक्रिया हो। तर पछिल्लो समयमा विश्वव्यापी तापक्रम वृद्धिका कारण उच्च हिमालमा हिमपहिरो, वर्षा जस्ता घटना अस्वाभाविक रूपमा बढेका छन्। यसले हिउँ पग्लिएर हिमताल बन्ने र हिमपहिरो आउनेजस्ता घटनामा पनि बढोत्तरी भएको छ। उच्च हिमाली क्षेत्रमा चट्टानको चहर र माटोलाई बरफले समातेर राखेको हुन्छ। जब तापक्रम वृद्धिले त्यहाँभित्रको बरफ पग्लिन्छ तब चट्टान र गेग्र्यान कमजोर भएर पहिरोको रूपमा बग्ने अनुसन्धानकर्ता थापा बताउँछन्।
“त्यहाँ कति तापक्रम बढ्यो र त्यसले कति असर पार्यो त्यसको अवलोकन नभएकाले ठ्याक्कै भन्न सकिन्न,” उनी भन्छन्, “यही प्रक्रियाले हिमालमा हिमपहिरो र ताल विस्फोटका घटना हुन पुग्छन्।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्यस क्षेत्रको तापक्रम र वर्षाको अवस्थालाई उक्त ताल विस्फोट हुनुको कारक मानेको छ। “जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार नजिकको फोर्से केन्द्रमा सात दिनमा ६५ मिलिमिटर वर्षा भएको छ। साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमिकरूपमा वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको छ। साउन ३१ को अधिकतम तापक्रम १५.९ डिग्री पुगेको थियो,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भन्छन्, “जलवायु परिवर्तनको प्रभाव समेत जोडिएर भएको तापक्रम वृद्धि बढ्दो वर्षा पर्माफ्रोष्ट र ग्लेसियर पग्लिँदा हिमताल विस्फोट भएको देखिन्छ।”
जल तथा मौसम विज्ञान विभागसँग फोर्से केन्द्रको चार वर्षको मात्र तथ्यांक उपलब्ध छ। त्यसमा पनि पूर्ण विवरण छैन। त्यसकारण त्यहाँको औसत तापक्रम र वर्षा कति हो स्पस्ट छैन। वर्षा र तापक्रमले हिउँ पगाल्न र हिमपहिरो चलाउन सघाउने भए पनि के कारणले भयो विस्तृत अध्ययनबिना भन्न नसकिने विभागका महानिर्देशक जगदीश कर्माचार्य बताउँछन्।
“कसरी फुट्यो भन्ने विषयमा जान्न विस्तृत अध्ययन गर्नुपर्छ। ६५ मिलिमिटर पानी परेको भन्ने जानकारी आएको छ। तापक्रम पनि बढी नै थियो। बाँकी तथ्य त अध्ययन भएपछि मात्र भन्न सकिन्छ,” उनी भन्छन्, “नभए उही हामीले भन्दै आएको तापक्रम र वर्षाले गर्दा भयो भन्ने सैद्धान्तिक कारणबाहेक अरू केही बताउन सकिन्न।”
‘सूचना र स्रोत छैन’
फुट्ने जोखिम भएपछि यसअघि इम्जा र च्छो रोल्पा हिमतालको पानी घटाएर जोखिम कम गरिएको थियो। सोलुखुम्बु जिल्लामा पर्ने इम्जा लेकमा ‘क्यानल’ बनाएर तालमा रहेको पानीलाई दुई मिटर घटाइएको थियो। त्यस कामका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र ग्लोबल इन्भारोमेन्ट फ्यासिलिटिजले करिब तीन मिलियन अमेरिकी डलर अनुदान सहयोग गरेका थिए।
त्यसैगरी सन् २००१ मा पनि च्छो रोल्पा हिमतालको पानी घटाएर जोखिम कम गरिएको थियो। तर ती तालको पछिल्लो अवस्थाबारेका सूचना अहिले सरकारसँग छैन। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कर्माचार्य तालहरूको अवस्थाको सूचना प्रँप्त गर्न आफूहरूसँग स्रोत नै नभएको बताउँछन्। “सबै तालको अवस्थाबारे थाहा पाउनु धेरै टाढाको विषय हो। हामीले विगतमा काम गरेका तालको अवस्था के छ भन्ने सूचना पनि हामीसँग छैन,” उनी भन्छन्।
इम्जा तालबाट आउने सूचना पनि अहिले प्राप्त नभएको उनी बताउँछन्। प्रविधिहरू प्रयोग गरेर सूचना लिनुपर्नेमा त्यसका लागि बजेट नभएको उनको भनाइ छ। इम्जा तालको सूचना स्याटेलाइटमार्फत विभागले लिँदै आएको थियो। तर अहिले यो बन्द छ। “हामीसँग स्रोतको सीमा छ। इम्जाको मोनिटरिङ गर्न पनि हम्मे–हम्मे परिरहेको छ। माथिल्लो एरियामा स्याटेलाइट कम्युनिकेसनबाट डेटा ल्याउनुपर्छ। अहिले इम्जाको पनि सूचना छैन,” उनी भन्छन्, “नियमित बजेटबाट सम्भव छैन। एक ठाउँमा वर्षको एक–डेढ लाख खर्चेर कम्युनिकेसन उपकरण राख्न सक्दैनौँ।”