काठमाडौँ- सुदूरपश्चिमका पहाडबाट गुजाराका लागि भारत पस्नु सामान्य जस्तै छ। २१ वर्षअघि, सन् २००३ मा पनि अवस्था ठ्याक्कै यही थियो। त्यस बेला कामको खोजीमा दार्चुलाका अमरबहादुर बम भारत पसेका थिए। घरको आर्थिक अवस्था कमजोर थियो, त्यसलाई पार लगाएर परिवार धान्ने जिम्मेवारी उनकै काँधमा थियो।
अमरले भर्खरै धनमतीसँग विवाह गरेका थिए। बाध्यताले गर्दा विवाह भएको २६ दिनपछि नै उनी कामको खोजीमा भारत पसे। उनको गन्तव्य थियो, धार्चुला।
धार्चुला अमरको घरबाट धेरै टाढा होइन। महाकाली वारिपट्टि दार्चुला छ, पारिपट्टि पर्छ भारतको यो जिल्ला।
अमरलाई गाडी चलाउन आउँथ्यो। दार्चुलामै पनि साना गाडी चलाउँथे। ड्राइभिङमा दक्खल भएकाले भारतमा काम पाइनेमा उनी ढुक्क थिए।
तर त्यसको ६–७ वर्षसम्म उनी परिवारको सम्पर्कमा आएनन्। अमर कहाँ के गर्दै थिए, परिवारले केही मेसो पाएन। उनीहरूको मनमा त्यस्तो नराम्रो केही भयो होला भन्ने पनि लागेन। राम्रो पैसा कमाएर एकैपटक फर्केर आउलान् भन्ने आशामा बसिरहे।
एक दिन यस्तो खबर आयो जसले अमरका बुबा कर्णबहादुरलाई आफू बसेको जमिन भासिएझैँ भयो। अमरकी श्रीमती धनमती विक्षिप्त भइन्। त्यो खबर थियो– ‘अमर ६ वर्षदेखि दुबईको जेलमा छन्। उनलाई हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ।’
त्यतिञ्जेल अमरका बुबा कर्णबहादुर आफ्नो छोरा भारतमै ड्राइभिङ गरिरहेको होला, अलि धेरै पैसा जम्मा गरेर फर्किएला भन्ने ठानिरहेका थिए। “भारतमै होला भनेर खासै चिन्ता गरेको थिइनँ। बरू बेलाबखत उसको श्रीमतीले सोधिरहन्थ्यो,” कर्णबहादुर भन्छन्, “तर अचानक दुबईको जेलमा भएको खबर सुनेपछि पत्याउनै सकिनँ। ऊ कसरी त्यहाँ पुग्यो होला भनेर मात्र सोचिरहेँ।”
यो खबर आएदेखि दार्चुलास्थित अमरको घर फुंग रङ उडेझैँ भएको छ। घर सम्हाल्ने छोरोलाई ज्यान सजाय सुनाइएको खबरले परिवारको सहारा चुडिएझैँ भएको छ। अहिले घरको सबै बोझ धनमतीको काँधमा आइलागेको छ।
घर चलाउन धनमतीले गाई र बाख्रा पालेकी छन्। घाँस–दाउराका लागि दैनिक बिहान-बेलुकी जंगल जान्छिन्। “घरमा कमाउने मान्छे छैन। बुढा ससुरा छन्। उनले काम गर्ने कुरै भएन। मैले नै जेनतेन गुजारा गर्ने पैसा जोडिरहेको छु,” उनी भन्छिन्, “सक्ने जति गरिरहेको छु। बेलाबेला लाग्छ, श्रीमान् सँगै नभए पनि सन्तान भइदिएको भए त्यति सारो एक्लोपन महसुस हुँदैन्थ्यो।”
छोटा राजनको 'जालो'मा दिल्ली हुँदै दुबई
सन् २००३ मा धार्चुला गएको केही समयमै अमर दिल्ली पुगेका थिए। धार्चुलामा राम्रो कमाइ नहुँदा उनी साथीभाइको सल्लाहमा बढी पैसा कमाउन दिल्ली गएको अमरका छिमेकी राजेन्द्र कुवँर बताउँछन्। “हाम्रो गाउँका अधिकांश केटाहरू पैसा कमाउन दिल्ली जान्थे। परिवारको खर्च धार्चुलाको कमाइले नधान्ने भएपछि ऊ पनि दिल्ली गयो,” राजेन्द्र भन्छन्, “दिल्लीको एउटा मार्बल फ्याक्ट्रीमा ठूलो ट्रक चलाउँथ्यो। त्यतिखेर उसको तलब ३ हजार थियो। तर अचानक उसलाई केही मान्छेहरूले दुबईमा राम्रो रोजगारीको अवसर आएको भन्दै लोभ्याए।”
एकैपटक महिनाको २० हजार तलब पाउने भनेर अमरलाई लोभ देखाइएको थियो। ती मान्छे को हुन् भन्ने जानकारी थिएन। अमर उनीहरूसँग एउटा शर्तमा राजी भएका थिए- गाडी चलाउनेबाहेकको काम नगर्ने।
अमरलाई दुबईको प्रलोभनमा पार्नेहरू 'अण्डरवर्ल्ड डन' राजन्द्र सदाशिव निकल्जे उर्फ छोटा राजनका मानिस थिए। उनीहरू कुनै मुद्दामामिला नभएको र हेर्दा पनि अनपढ र सोझो मिजासको देखिने मानिसको खोजीमा थिए। राजेन्द्रका अनुसार अमर ३ कक्षासम्म मात्रै पढेका थिए। “काम त गर्नसक्थ्यो तर उसलाई मजाले सम्झाउनुपर्थ्यो। गाउँ बसेको केटा खासै बाहिरी कुराहरू थाहा नहुने नै भयो,” राजेन्द्र भन्छन्, “त्यसैको उनीहरूले फाइदा उठाए।”
अमर दुबई पुगे। उनलाई भनेजति सुविधा पनि दिइरहेका थिए। दुबई पुगेको एक सातामै २००३ जनवरी २० मा नसोचेको घटना भयो, जसले उनको जीवनलाई तहसनहस बनायो।
अमरलाई दुई भारतीय नागरिक करणमान सिंह (३०) र मनोज मुदाना कोटिएन (३२) सँग साँझ दुबईकै एक क्लबमा जान निर्देशन आयो। निर्देशन दिने व्यक्ति भारतीय नागरिक विमलकुमार राम (२६) थिए जसले भारतमा अमरको पासपोर्ट बनाउनेदेखि भिसा स्वीकृत गराउनेसम्म गरेका थिए। अमर त्यो दिन करण र मनोजलाई लिएर दुबईस्थित ‘इन्डियन क्लब’ पुगे पनि किन गएको जानकारी पाएका थिएनन्।
उनीहरू पुगेको केही समयपछि एउटा मर्सिडिज गाडीमा आएको व्यक्ति क्लबको मूलढोकातर्फ बढ्दै गर्दा अन्धाधुन्ध गोली हानियो। ‘टाइम्स अफ् इन्डिया’का अनुसार २० गोली दागेर हत्या गरिएका ती व्यक्ति भारतीय मूलका व्यापारी शरद शेट्टी थिए जसलाई अर्का 'अण्डरवर्ल्ड डन' दाउद इब्राहिमका 'दाहिने हात' भनेर चिनिन्थ्यो। विमलले करण र मनोजलाई आफूसँग भएका सबै गोली शेट्टीमाथि प्रहार गर्न भनेका थिए।
अमर जोडिएको घटना
सन् १९८६ सम्ममा मुम्बईको 'अन्डरवर्ल्ड डन' भएका दाउद इब्राहिम पुलिसको ‘टार्गेट लिष्ट’मा परिसकेका थिए। त्यही कारण ‘डी कम्पनी’मार्फत चलिरहेको सारा धन्दाको जिम्मा छोटा राजन र दुई नयाँ नाइके छोटा शकिल तथा अब्बु शलिमलाई दिएर दाउद दुबई भागे। उनले दुबईबाटै मुम्बईको 'धन्दा' चलाउन थाले।
मुम्बईमा शरद शेट्टी पनि यही समूहका लागि काम गर्थे। मुम्बईका वरिष्ठ पत्रकार बलजित परमारले आफ्नो युट्युब च्यानलमा बताएअनुसार त्यतिखेर शेट्टी अन्धेरी इस्ट एरियामा गुन्डागर्दी गर्थे। केही समस्या भए दाउदसँग सल्लाह लिन दुबई पुगिहाल्थे।
शेट्टीले छोटा राजनसँग मिलेर अरुण गावलीका शार्प शुटर अशोक जोशीको हत्या गरे। यस कारण गावली ग्याङ र मुम्बई पुलिस दुवैको ‘हिट लिष्ट’मा परेपछि शेट्टी पनि दुबई गएको र त्यहीँ बसेर दाउदलाई सघाउन थालेको पत्रकार परमारले बताएका छन्।
मुम्बईमा पुलिसको इन्काउन्टरमा दाउदका जेठान स्माइल पार्कर मारिएपछि छोटा राजन, छोटा शकिल र शोतिया पनि दुबई पुगे। त्यहीँबाट डी कम्पनी चल्न थाल्यो। तर यो समूहबीच सम्पत्तिको हिस्सा बाँडफाँटको खटपटले दाउद र छोटा राजन अलग भए। यो समूह फुट्नुमा महाराष्ट्रमा हुने धार्मिक राजनीतिले पनि काम गरेको थियो।
सन् १९९३ को मुम्बई विष्फोटपछि छोटा राजन र दाउद समूह एकअर्कालाई सिध्याउन लागि पर्न थाले। भारतीय सञ्चारमाध्यहरूका अनुसार ब्लास्टपछि छोटा राजनले दाउदका गोप्य सूचना भारतीय गुप्तचर संस्था ‘रअ’लाई दिएका थिए। यति मात्र नभई उनी दाउद र उनका लागि काम गर्ने सबैलाई 'सिध्याउने' काममा लागे।
तर दाउद समूह पनि छोटा राजन समूहलाई सिध्याउन लागेको थियो। सन् २००० मा छोटा राजनमाथि बैंककस्थित बसिरहेकै घरमा गोली चल्यो। उनी त्यहाँबाट भाग्न सफल भए। हिन्दुस्तान टाइम्सका अनुसार बैंककमा छोटा राजनमाथि हमला गराउने योजनाकार शरद शेट्टी थिए। छोटा राजनमाथि सन् २०१५ मा अस्ट्रेलियामा पनि आक्रमण भएको थियो।
छोटा राजनमाथि बैंककमा आक्रमण भएको तीन वर्षपछि सन् २००३ मा दुबईस्थित इन्डियन क्लबमा शरद शेट्टीको हत्या भयो। त्यो हत्याकाण्डमा नेपाली युवा अमरबहादुर बम पनि मुछिए। उनले अन्जानमा दुई शुटरलाई क्लबसम्म पुर्याएका थिए।
गल्फ न्यूजका अनुसार शेट्टीको हत्या गर्ने योजनामा ६ जना संलग्न थिए। मनोज र करणले शेट्टीमाथि गोली प्रहार गरेका थिए। अमर उनीहरूको गाडी चालक थिए। विमलकुमार चाहिँ छोटा राजनको निर्देशनमा हत्याको योजनाकार बनेका थिए। यी चारैजनालाई दुबई अदालतले मृत्यूदण्डको सजाय सुनायो।
त्यसैगरी, भाषा किवत (२६) लाई मनोज, करण र अमरलाई दुबईबाट निकालेर शारजाहाँको एक अपार्टमेन्टमा सार्ने जिम्मा थियो। उनलाई दुबई अदालतले तीन वर्षको जेल सजाय सुनायो। तीनै जनालाई पानीजहाजमा राखेर दुबईबाट निकाल्ने क्याप्टेन अब्दुल माजिदलाई अदालतले छाडिदिएको थियो।
सुनिएन हारगुहार
दुबई अदालतको आदेशपछि अमरले आफू निर्दोष रहेको दाबी गरे। उनले कैयन टेलिफोन अन्तर्वार्ताहरूमा आफूलाई केही थाहा नभएको र गाडी मात्रै चलाएको बताइरहे। तर उनको सजाय मिनाहा भएन। उनी भने आफू निर्दोष भएकाले ढिलोचाँडो छुट्ने आशामा रहिरहे। करिब १० वर्षसम्म पनि जेलबाट नछुटेपछि उनले भित्रैबाट एउटा अडियो सार्वजनिक गरे जुन नेपाल सरकारसम्म पुगे पनि उनका लागि कुनै पहल हुन सकेन।
“म इन्डियनहरूको गाडी चालउन दुबई आएको थिएँ। मलाई उनीहरूबारे केही थाहा थिएन। उनीहरूले मान्छे मारेकै हो तर त्यसमा मेरो संलग्नता छैन। म निर्दोष छु। सबै नेपाली दाजुभाइ दिदिबहिनीसँग अनुरोध छ कि मेरो रिहाइको लागि नेपाल सरकारसँग अनुरोध गरिदिनुहोस्,” अमरले अडियोमा भनेका छन्, “म भाषाको कारण फसेँ। मलाई अदालतमा केही बोल्नै आएन। मसँग केही सोध्दा पनि सोधिएन। त्यसैले नेपालको प्रधानमन्त्री वा राष्ट्रपतिले यहाँको सरकारसँग मेरो कुरा गरेर मलाई बचाउनुपर्यो। मान्छे मार्नेहरूले पनि लेखेर दिएको छ कि म निर्दोष छु। उनीहरूले भनेको छ कि यो हाम्रो ड्राइभर मात्रै हो। मार्नेहरू मेरो मालिकहरू हुन्।”
अमरले नेपाल सरकारको एउटा पहलमै आफू छुट्न सक्ने दाबी गरेका छन्। “यहाँ नेपालको जस्तो हुँदोरहेनछ मुद्दा हालेर केस लड्ने। खाली त्यहाँको सरकारले यहाँको सरकारसँग कुरा गर्यो भने म छुट्छु,” अमरले भनेका छन्, “यहाँबाट ३-४ जना यस्तै निर्दोष छुटेर गएका छन्। मलाई पनि सरकारले यहाँबाट छुटाएर मेरो घर पुर्याइदेओस्।”
शेट्टी हत्याकाण्डको २१ वर्ष बितिसक्दा पनि दुबई सरकारले उनीहरूलाई मृत्यूदण्ड नदिई अल अबिर नामक केन्द्रीय कारागारमा राखेको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा बेलाबखत अमर फोनमार्फत परिवारसँग पोखिरहन्छन्। दुबई पुग्दा उनी २६ वर्षका थिए, अहिले ४७ वर्षका भए। पहिला उनलाई घर फर्किन पाउने आशा थियो, अहिले आशा मर्दै गएको उनकी श्रीमती धनमती बताउँछिन्।
नेपाल झिकाउन के-के प्रयास भए?
अमरका पिता कर्णबहादुर छोरालाई नेपाल फर्काउने पहल गर्न २०औँ पटकभन्दा बढी काठमाडौँ आएर नेताहरू भेटेको बताउँछन्। तर सबैले झूटो आश्वासन मात्रै दिएको उनको भनाइ छ। “कसलाई भेटिनँ मैले? माधव नेपाल, बाबुराम भट्टराई, विद्या भण्डारी, रामवरण यादवलगायत कतिलाई भेटेँ मलाई नाम पनि याद छैन,” उनी भन्छन्, “कति मिडियाहरू गुहारेँ तर कतैबाट मेरो छोरा फर्काउने पहल परिणाममुखी हुनसकेन। बाचा सबैले गरे, पूरा कसैले गरेनन्।”
सन् २०१२ मा अमरका लागि नागरिकस्तरबाट पहल भए पनि त्यसले नतिजा दिन सकेन। त्यतिखेर उनको पक्षमा सामाजिक सञ्जालमा ह्यासट्याग ‘सेभ अमरबहादुर बम’ अभियान चलाइएको थियो।
अमरका लागि व्यक्तिगत र संस्थागत तवरबाट धेरै प्रयास भए पनि राज्यको तर्फबाट नभएको अमरका छिमेकी राजेन्द्र कुवँर बताउँछन्। “म शुरूदेखि नै यो केसमा संलग्न छु। हामीले के मात्रै गरेनौँ, कहाँ मात्रै पुगेनौँ?” उनी भन्छन्, “म अमरलाई दुबईको जेलमा गएर भेट्दा नै मैले थाहा पाइसकेको थिएँ जबसम्म नेपाल सरकारले दुबईको प्रमुखसँग वान टु वान कुरा गर्दैन, तबसम्म केही हुँदैन।”
दुबई बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे सरकारको पहलकदमी सम्बन्धित ठाउँमा नपुगेकै कारण अमरले अहिलेसम्म जेल बस्नु परेको बताउँछन्। कूटनीतिक तवरबाट पनि नेपालको आवाज दुबईसम्म नपुगेको उनको बुझाइ छ। “बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा धेरैथोरै प्रयास भए पनि सफल हुनसकेन। पछि सुशील कोइरालाको पालामा मिनेन्द्र रिजाललगायतको प्रयास पनि असफल भयो,” पाण्डे भन्छन्, “अहिलेसम्मको सबभन्दा आशलाग्दो प्रयास विद्यादेवी भण्डारी राष्ट्रपति छँदा भएको थियो। त्यतिबेला उनले दुबईका रूलर शेख मुख्तिकिमसँग कुरा गरेकी थिइन्। तर त्यसले पनि नतिजा दिनसकेन।”
आफूलाई अमरले बेलाबेला फोन गरिरहने र भएका पहलबारे सोधिरहने पाण्डे बताउँछन्। उनी भन्छन्, “उसलाई दुबई ल्याएर बुबासँग भेटाइदिउँ भन्दा मान्दैन। बूढो मान्छे मलाई यस्तो हालतमा देख्दा झन् बिरामी पर्छन् भन्छ। आश त मारेको छैन, एकदिन त नेपाल कसो नपुगिएला सर भन्दै भक्कानिन्छ।”
२०८० मंसिर १३ गते जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' युएई जाँदा अमरको परिवारले दुबई सरकारसँग वार्ता हुने अपेक्षा गरेको थियो। तर प्रचण्ड फर्केर आएपछि आफूहरूलाई केही खबर नदिएको पिता कर्णबहादुर बताउँछन्।
पत्रकार पाण्डेका अनुसार त्यतिखेर प्रचण्डले अमरबारे कुरा गर्ने इच्छा देखाए पनि अर्कै विषयमा सहभागी हुन गएका कारण समय अभाव भयो।
राष्ट्रपति कार्यालयकी प्रवक्ता अर्चना खड्का अमर बमबारे उक्त कार्यालयलाई कुनै जानकारी नभएको बताउँछिन्। “सबै फाँटमा सोधिसकेँ कुनै ठाउँमा अमर बमको कुनै सूचना फेला परेन,” खड्का भन्छिन्, “घटना पनि पुरानो भयो तर पनि सबैतिर खोज्न लगाउँदा केही भेटेनौँ।”
पराराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्य पनि अमरसँग सम्बन्धित कुनै सूचना नभएको बताउँछन्। “खासगरी यो सूचना कन्सुलर सेवा विभागसँग हुनुपर्ने हो। हामीसँग यसबारे केही जानकारी छैन,” आचार्य भन्छन्, “विभाग पनि मन्त्रालयकै अन्तर्गत छ। उतै बुझ्नु न।”
कन्सुलर सेवा विभागका सूचना अधिकारी अर्जुन अधिकारी पनि विभागसँग अमरबारे कुनै जानकारी नभएको बताउँछन्। घटना पुरानो भएका कारण विभागसँग जानकारी नभएको उनको भनाइ छ।
विभागकै कानून अधिकृत कृष्णप्रसाद बस्याल पनि अमरबारे कुनै सूचना नभएको बताउँछन्। “मैले खोज्न लगाएँ तर त्यो नामको जानकारी भेटिएन,” बस्याल भन्छन्, “बरू पीडित परिवारले उजुरी दर्ता गरेको केही कागजात भए थप खोज्न सकिन्छ।”