तस्वीर सौजन्य: राजेन्द्र दाहाल
काठमाडौँ– आकाशमा कालो बादल मडारिन थालेपछि ललितपुरको गोदावरी नगरपालिका–७ बाबियागाउँका दीपक घिमिरेलाई रातमा निद्रा पर्दैन, दिनमा छटपटी हुन्छ। यो वर्ष झरी शुरू भएयता आफू राम्रोसँग निदाउन नपाएको उनको गुनासो छ। “अलि ठूलो पानी पर्यो भने उठेर बस्छौँ,” उनी भन्छन्, “ठूलो पानी पर्दा तलबाट पहिरोले कति बेला लैजान्छ भनेर मनमा डर लागिरहन्छ।”
घिमिरेको घरभन्दा करिब २०० मिटर तल गोदावरी–७ देवीचउरमा सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेको हो। त्यहाँ मच्छिन्द्रनाथ मल्टिप्रपोजले चार वर्षदेखि ढुंगाखानी चलाइरहेको छ। भिरालो ठाउँमा रहेको खानी अहिले गाउँसम्मै पुगेको छ। मच्छिन्द्रनाथ मल्टिप्रपोज केदारनाथ तिमल्सिनाले सञ्चालन गरेको कम्पनी हो।
देवीचउरका अर्का स्थानीय क्षितिज तिमेल्सेना पानी परेको बेला राति पहिरोमा परिएला भन्ने डरले निदाउनै मुस्किल पर्ने बताउँछन्। “धुलो र मेसिनको आवाजले त हामीलाई गाह्रो बनाएकै थियो, अब बर्खामा राति सुतेको बेला पहिरोले तान्ला भन्ने डर भयो,” तिमेल्सेना भन्छन् “पहिरो गयो भने एकैपटक बागमतीमा पुर्याउँछ।”
यसरी गरिएको थियो दोहन
देवीचउर क्षेत्रमा सञ्चालन भएका खानी तथा क्रसरले त्यहाँको करिब ४०० रोपनी क्षेत्र उजाड बनाएको छ। त्यहाँको अवस्था बुझ्न उकालोले स्थलगत अध्ययन र भूउपग्रहबाट उपलब्ध तस्वीर विश्लेषण गरेको छ। खानी तथा त्यसका कारण गएको पहिरो, ढुंगा प्रशोधन उद्योग र सडकसहित वडा नं.–७ को कटुवाल दहभन्दा दक्षिण दुई लाख सात हजार वर्गमिटर अर्थात् ४०० रोपनी जग्गाको हरियाली हराएको छ। यो भनेको २९ वटा दशरथ रंगशाला खेलमैदान बराबरको क्षेत्र हो।
स्थानीय दीपक घिमिरेका अनुसार ४०० रोपनीमध्ये बढीमा १५० रोपनी जग्गा खानी सञ्चालकको निजी हो। बाँकी जग्गा सार्वजनिक भएको उनी बताउँछन्।
भूउपग्रहको तस्वीरमा २०१६ नोभेम्बरसम्म उक्त क्षेत्र रुखहरूले ढाकिएको देखिन्छ। तर अहिले त्यहाँ हरियाली देखिँदैन।
“त्यहाँ धेरै कित्ताका जग्गा छन्। हामीले अहिलेसम्म ६४ रोेपनीको एउटा कित्ता सार्वजनिक जग्गा भेटाएका छौँ, जहाँ खानी चलाएका छन्,” घिमिरे भन्छन्, “हिजो यहाँका स्थानीयले सार्वजनिक जग्गा भनेर वृक्षरोपण गरेका ठाउँमा पनि अहिले उनीहरूले खानी चलाएका छन्।”
मछिन्द्रनाथ मल्टिप्रपोजले देवीचउरमा २०२१ नोभेम्बरदेखि उत्खनन् शुरू गरेको थियो। उत्खनन् शुरू गर्नुअघि पनि त्यहाँ हरियाली देखिन्छ। उक्त कम्पनीले एक ठाउँमा ४९ रोपनीबाट ढुंगा निकालेको छ। स्थानीयका अनुसार त्यसमध्ये आधा जग्गा सार्वजनिक हो, बाँकी उनीहरूले व्यक्तिको जग्गा किनेका हुन्।
स्थानीयले वन क्षेत्र मासेर खानी सञ्चालन गरेको उजुरी गरेपछि खानी तथा भूगर्व विभागले अनुगमन गरी गत वर्ष भदौ १३ गते गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय ललितपुरलाई पत्र पठाएको थियो। तर ती निकायले उक्त क्षेत्रमा अनुगमन गरेर रोक लगाउनुको सट्टा निर्वाध रूपमा उत्खनन् गर्न सघाएका थिए।
उक्त क्षेत्रमा खानी तथा क्रसर सञ्चालनको शुरूआत भने २०१७ फेब्रुअरीबाट शुरू भएको थियो। २०१६ डिसेम्बरसम्म वडा नं.–७ को कटुवाल दहसम्म मात्र सडक पुगेको थियो। तर २०१७ फेब्रुअरीबाट सडक बनाउन शुरू गरी त्यही वर्ष नोभेम्बरमा खानीसम्म पुर्याइएको थियो। खानीसम्म तीन किलोमिटर सडक खनेपछि २०१९ फेब्रुअरीबाट उत्खनन् थालिएको थियो।
डिभिजनल वन कार्यालय ललितपुरका डिभिजन वन अधिकृत हेमबहादुर थापा उक्त क्षेत्रमा खानीले कति सार्वजनिक जग्गा प्रयोग गरेका छन् त्यसको यकिन विवरण वन कार्यालयसँग नभएको बताउँछन्। “भूगर्व विभागबाट स्वीकृति लिएर निजी जग्गामा खानी सञ्चालन गरेको भनेका छन्। तर कानूनले त निजीमा सञ्चालन भएको हकमा पनि वातावरणीय प्रभावलाई ध्यान दिनुपर्छ,” उनी भन्छन्।
त्यहाँ ऐलानी र पर्ती जग्गा कति टुक्रा छन् भनेर नापजाँच गरी यकिन नगरिएको पनि थापाले जानकारी दिए। उनी भन्छन्, “यो वर्ष नापी, नगरपालिकासहित सबै सहभागी भएर नापजाँच गर्ने योजना बनाउँदै छौँ। त्यसका लागि प्रदेश सरकारसँग बजेट पनि मागेको छु।”