काठमाडौँबाट अन्तर्राष्ट्रिय हवाई भाडा अचाक्ली, सरकारकै नीतिले पर्यटक बढाउने योजना संकटमा

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर हवाई भाडामा १३ प्रतिशत भ्याटलाई निरन्तरता दिइएपछि चिनियाँ विमान कम्पनीहरूले काठमाडौँ उडान नगर्ने चेतावनी दिएका छन्।

काठमाडौँ– गएको असार १६ गते काठमाडौँबाट दोहा हुँदै लण्डन पुग्न कतार एयरलायन्सको टिकट मूल्य १ लाख ८ हजार रुपैयाँ थियो। त्यही दिन उक्त एयरलायन्सको दिल्ली–लण्डनको टिकट ५६ हजार ५६८ रुपैयाँ मात्र थियो। भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डन जाँदा एक जना यात्रुको ५१ हजार ४३२ रुपैयाँ बचत हुन्थ्यो।

काठमाडौँबाट करिब ८२० किलोमिटर हवाई दूरीमा रहेको दिल्ली झण्डै एक घण्टा १५ मिनेटमा पुगिन्छ। लण्डन जान काठमाडौँ र दिल्लीको भाडादरमा त्यति ठूलो अन्तर पर्नुमा नेपालमा ग्राउन्ड ह्यान्डलिङलगायतमा लाग्ने चर्को शुल्क, हवाई इन्धनको चर्को मूल्य र टिकटमा लिइने भ्याट प्रमुख कारण भएको नाम उल्लेख गर्न नचाहने सर्तमा एक अन्तर्राष्ट्रिय एयरलायन्सको नेपालस्थित कन्ट्री म्यानेजर बताउँछन्।

उनका अनुसार काठमाडौँ आउने फ्लाई दुबई, सिंगापुर एयरलायन्स जस्ता न्यारोबडी जहाजले काठमाडौँ अवतरण गरेर उडान भर्दासम्म ३ हजारदेखि ३५ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्छ। जबकि, दिल्लीमा ६०० देखि ७०० डलर बुझाए हुन्छ। वाइडबडी जहाजको शुल्क त ४ देखि ५ हजार डलरसम्म पर्छ। यस्तो शुल्क जहाजको तौल, सिट क्षमतालगायतमा निर्भर हुन्छ। 

“न्यारोबोडी जहाज दिल्ली, बांग्लादेश अथवा पाकिस्तानमा अवतरण गर्दा ५ देखि ७०० डलर विचमा शुल्क तिरे पुग्छ। तर, यहाँ त्यसको पाँच गुणा महँगो छ,” ती कन्ट्री म्यानेजर भन्छन्।

हवाई इन्धन पनि दिल्लीमा भन्दा काठमाडौँमा महँगो छ। काठमाडौँमा एक किलोलिटर इन्धनको मूल्य १ हजार ३५ डलर पर्छ। दिल्लीमा ८७० डलरमै पाइन्छ। त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने सञ्चालन शुल्क पनि महँगो छ। “उदाहरणका लागि, कुनै विमानस्थलको सञ्चालन खर्च २० डलर छ भने एयरलाइन्सले त्यसमा १० डलर जोड्दा ३० डलर तिरे हुन्छ। जहाँ ५० डलर खर्च हुन्छ, त्यहाँ १० जोड्दा ६० डलर तिर्नुपर्छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनेको संसारकै महँगो विमानस्थल हो,” उनी भन्छन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का महासचिव विष्णु पाण्डे सरकारले टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिएका कारण हवाई भाडा महँगो भएको बताउँछन्। “ग्राउन्ड ह्यान्डेलिङलगायत शुल्क र इन्धनको मूल्यका कारण पहिलेदेखि हवाई भाडा महँगो थियो, त्यसमा १३ प्रतिशत अतिरिक्त मूल्य लगाउँदा झन् महँगो भयो,” पाण्डे भन्छन्, “हामीले सरकारका मन्त्री, सचिवलगायतलाई निरन्तर भेटेर ध्यानाकर्षण गरेका छौँ तर सुनुवाइ भइरहेको छैन।”

प्रभास ट्राभल्सका सञ्चालक प्रकाश लोहनी सरकारले हवाई टिकटमा लगाएको भ्याट विश्वव्यापी मान्यता विपरीत रहेको बताउँछन्। “यो इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) को मान्यता विपरीत छ,” लोहनी भन्छन्, “सरकारको नीतिका कारण नेपाल अन्तर्राष्ट्रिय यात्रुका लागि महँगो गन्तव्य बन्न पुगेको छ। महँगो पैसा तिरेर नेपालमा पर्यटक किन आउने?” आइटाले हवाई भाडा अनुगमन र ‘बिलिङ’ व्यवस्थापन गर्छ। 

सरकारले गत वर्षदेखि हवाई भाडामा १३ प्रतिशत भ्याट लगाएको हो। भ्याट लगाएपछि आन्तरिक र बाह्य भाडादर थप महँगो भएको छ। हवाई भाडामा लगाइएको भ्याटलाई लिएर नेपालमा उडान भर्ने चिनियाँ विमान कम्पनीहरूले उडान नै बन्द गर्ने चेतावनी दिइसकेका छन्।

काठमाडौँस्थित चिनियाँ दूतावासले गत वैशाखमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर १३ प्रतिशत भ्याट हटाउन भनको थियो। तर सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत त्यसलाई निरन्तरता दिएपछि नेपालमा उडान भर्ने चिनियाँ विमान कम्पनीहरूले केही दिनअघि नागरिक उड्ययन प्राधिकरण र परराष्ट्र मन्त्रालयलाई भ्याट फिर्ता नलिए नेपालमा उडान बन्द गर्ने चेतावनी दिएका हुन्। एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न र सिचुवान एयरलायन्सले काठमाडौँबाट चीनका विभिन्न गन्तव्यमा उडान भर्छन्।

सरकारको लक्ष्यमै तगारो!
सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट भाषणमा १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। पर्यटक भित्र्याएर आर्थिक चलायमान र रोजगारीका अवसर बढाउने उद्देश्यसहित पर्यटनलाई जोड दिइए पनि हवाई भाडाका कारण काठमाडौँ महँगो गन्तव्य हुँदा आफ्नै नीति सरकारका लागि बाधा बनेको छ। 

नेपालका पुराना पर्यटन व्यवसायी एवम् टेम्पल टाइगर रिसोर्टका सञ्चालक वसन्त मिश्र पर्यटकहरूले नेपाल गन्तव्य महँगो भएको गुनासो गर्ने गरेको बताउँछन्। अमेरिका, युरोप, चीनलगायत विभिन्न ठाउँबाट पर्यटक नेपाल ल्याउन उनले पर्यटन प्रबर्द्धनको क्षेत्रमा समेत काम गर्दै आएका छन्। 

“नेपालको हवाई सुरक्षा र सवारी दुर्घटनालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरेको छ। हामीसँग यिनै विषयमा प्रश्न गर्छन्,” मिश्र भन्छन्, “धेरै पर्यटक ल्याएर फाइदा हुन्छ भने कर किन लगाउने? जीडीपीमा कति योगदान गर्छ भनेर सोच्नुको सट्टा आइसोलेसन गरेर प्रत्यक्ष फाइदा मात्र सोचियो।” 

ठूला हवाई कम्पनीहरूले सन् २०१९ मा कोभिडका बेला बन्द गरेर अहिलेसम्म उडान नगर्नु र मागभन्दा ‘सप्लाई’ कम हुनु पनि नेपाल गन्तव्य महँगो हुने कारण भएको उनी बताउँछन्।  “धावनमार्गको स्ट्रक्चरले गर्दा ठूला जहाज आउन सक्दैनन्। त्यसले पनि मागअनुसार सिट संख्या भएन र केही महँगो भयो,” उनी भन्छन्। 

सिंगापुर एयरलायन्सका नेपालस्थित् कन्ट्री म्यानेजर सुधीर पाण्डे अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले कोरोनाअघिको अवस्थामा हवाई सेवा सञ्चालन नगर्दा र काठमाडौँबाट यात्रा गर्ने संख्याको तुलनामा जहाजको सिट कम हुँदा पनि माग र आपूर्तिको सन्तुलन नभएर टिकट महँगो परेको बताउँछन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा बाह्य दुवैगरी ८६ लाख ९१ हजार ४४३ जनाले हवाई यात्रा गरेका थिए। सन् २०२२ मा यो संख्या ७९ लाख ५४ हजार ४९५ थियो। अन्तर्राष्ट्रिय यात्रुको संख्या अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढेको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार यात्रुले हवाईयात्रा गरेका थिए।

विकल्प भैरहवा र पोखरा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ९० लाख यात्रुको चापलाई मात्र धान्न सक्छ। यद्यपि, विमानस्थल मर्मत र जहाजको अत्यधिक चापका कारण अहिले पनि उडान र अवतरणका समयमा पालो कुर्नुपर्ने बाध्यता छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार थप केही विदेशी विमान कम्पनीले काठमाडौँ उडान भर्न इच्छा देखाएका छन्। तर ती कम्पनीलाई साँझ र बिहानको समय उपलब्ध गराउन सक्ने अवस्था छैन। उनीहरूले चाहेको समय नपाउँदा उडान गर्ने प्रक्रिया अगाडि बढाएका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित क्षमता र बढिरहेका हवाई यात्रुलाई ध्यानमा राखेर सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको छ। ती विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा समस्या भएको पर्यटन व्यवसायी योगेन्द्र शाक्य बताउँछन्। त्यसबाहेक संसारका विभिन्न गन्तव्यमा उडान गर्न सरकारको आफ्नै ध्वजावाहक जहाज पर्याप्त भए प्रतिस्पर्धाका कारण भाडा सस्तो हुने र धेरै पर्यटक भित्र्याउन सकिने शाक्यको भनाइ छ।

“हामी सबैभन्दा कमजोर हवाई सम्पर्कमा छौँ, स्थलमार्ग पनि राम्रो छैन। हाम्रो राष्ट्रिय ध्वजावाहकले कुनैबेला ६० प्रतिशत यात्रु बोक्थ्यो। अहिले राष्ट्रिय ध्वजावाहक विमान ६ प्रतिशतभन्दा कममा झरेको छ,” शाक्य भन्छन् “अरू एयरलायन्सले त आफ्नो पकेटबाहेक हेर्दैन, त्यसले हवाई भाडा महँगो हुनु स्वाभाविक हो।”

काठमाडौँमा यात्रुको चाप घटाउन पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि ती विमानस्थल सञ्चालन गर्न निजी क्षेत्र चुकेको शाक्यको धारणा छ। “भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गराउन निजी क्षेत्र, टुर अपरेटर र ट्राभल एजेन्सीले काम गर्नुपर्छ, सरकारको मुख ताकेर मात्र हुँदैन,” उनी भन्छन्, “बनाउने काम सरकारको हो, बनायो। विमानस्थल चलाउने काम निजी क्षेत्रले हो, यसमा चुकेको छ।”