काठमाडौँ– घण्टाघरसँगको ३७ वर्ष पुरानो सम्बन्धबाट टाढिएपछि यो ऐतिहासिक धरोहर ठिंग ठडिएको कंक्रिटको खम्बाजस्तै लागेको छ गणेशलाई।
कुनै समय यस्तो थियो जतिबेला नेपाली सेनाले टुँडिखेलबाट दूरबिनले हेरेर घण्टाघरमा दिउँसो १२ बजेको समय यकिन गर्थ्यो र तोप पड्काउँथ्यो। कहिलेकाहीँ घडी बन्द भयो भने पनि समय मिलाउन लगाएर तोप पड्काउने चलन थियो।
शहरमा ध्वनि प्रदूषण कम थियो। घण्टाघरको घडीले समय निश्चित गरेको जताततै सुनिन्थ्यो। स्थानीयहरू त्यही घडी हेरेर समय यकिन गर्थे। स्कुल, कलेज र कार्यालय जानेदेखि व्यवसाय गर्नेहरूसम्म समय थाहा पाउन घण्टाघरको घडीमा निर्भर थिए। जसोतसो चलिरहेको यस्तो ऐतिहासिक घडी केही समयदेखि बन्द जस्तै थियो।
२०४४ सालमा पहिलो पटक कमलादीमा सार्क सम्मेलन हुने निश्चित भयो। सम्मेलनमा समय मापन गर्नुपर्ने भयो। यकिन समयको सूचक घण्टाघरको त्यही घडी थियो। दुई–चार महिनाअघि नै घडी बनाउने मान्छेको खोजी भयो। तर कतै नभेटिएपछि दरबारबाटै त्रिचन्द्रमा प्राविधिक काम गरिरहेका गणेश सापकोटालाई घडी मर्मत र रेखदेख गर्न जिम्मा दिने कुरा भयो।
घण्टाघरको घडी बनाउने र रेखदेख गर्ने प्रस्ताव उनले स्वीकार त गरे, तर घडीको बाहिरी आवरण मात्रै देखेका उनले भित्रको मेसिन कहिल्यै देखेका थिएनन्। “प्राविधिक कुरामा चासो राख्ने भएकै कारण मैले उत्सुकताका साथ घडी मर्मत गरी रेखदेख गर्ने जिम्मा लिएँ,” उनले भने।
चन्द्रागिरि घर भएका उनी २४ घण्टा घडी रेखदेख गर्नुपर्ने भएपछि घण्टाघर नजिकै कोठा लिएर बसेका थिए। “चौबीसै घण्टा घडी हेरेर समय मिलाउने जिम्मा लिनुपरेपछि मैले इमानदार भएर काम शुरू गरेको हुँ,” उनले भने।
सार्क सम्मेलन शुरू हुनुअघिको १० दिन अघिदेखि गणेशको ड्युटी घण्टाघरको टुप्पोमै केन्द्रित थियो। तीनदिने सार्क सम्मेलन शुरू भयो र सफलतापूर्वक सकियो पनि। पहिलेदेखि बिग्रिइरहने घडीलाई निरन्तर चालु राख्न सम्मेलनअघिका १० दिनसमेत १३ दिनसम्म निरन्तर घण्टाघरको टुप्पोमै बसेर घडी हेर्दे समय मिलाइरहे। त्यसपछि मात्र उनी ओर्लेर डेरा फर्किए।
सम्मेलनपछिका १० दिनजति घडी ठीकसँग चलिरह्यो। घडी चले नचलेको जाँच्न बागमती अञ्चलका तत्कालीन अञ्चलाधीश, त्रिचन्द्र क्याम्पसका प्रमुख लगायतका अधिकारीहरू बेलाबेला आइरहन्थे। गणेशका अनुसार त्यसबेला समय मिलाउनसमेत कुनै अर्को स्रोत थिएन। क्याम्पस प्रमुखले एउटा रेडियो दिएका थिए जसबाट उनलाई घण्टाघरको घडीमा समय ‘सेट’ गर्न सजिलो भएको थियो। त्यो रेडियो पनि सार्क सम्मेलन सकिएको भोलिपल्टै फिर्ता लगे।
त्यसपछि उनलाई क्याम्पस प्रमुखले त्यो बेलामा तीन रुपैयाँ पर्ने चाइनिज घडी किनिदिएका थिए। घण्टाघरमा पुरानो भएर काम गर्न छोडेको दाँती (सुई)हरू तारले बाँधेर काम चलाउनुपरेको गणेश सम्झन्छन्। बिग्रेका अन्य सरसामान लेड मेसिनमा लगेर बनाएका थिए। बिग्रैकामध्ये पाइने जति सामान आफैले बजारबाट किनेर मर्मत गरेको उनी बताउँछन्।
कतिपय पार्टपुर्जा भाँचिएका छन्। त्यसरी भाँचिएका दुई वटा दाँती उनले टेकुमा लगेर बनाएका थिए, तर केही समय चलाएपछि घोटिँदै गएर काम नदिने भएपछि उनले फिर्ता गरिदिए। त्यस्तै समस्याका कारण त्यहाँका चार वटा घडीहरूले समेत एकनासले समय देखाइराखेको छैन। सेकेन्डमा चल्ने दाँती भाँचिएपछि उनले त्यसलाई वेल्डिङ गरेर राखेका छन्। उक्त दाँती मिनेटमा एक फन्को लगाउँछ र लकमा गएर ठोकिन्छ। यसरी ठोकिँदा केही समय सन्तुलन बिग्रिन्छ र हल्लिइरहन्छ।
त्यस्ता समस्याका बीच पुरानो घडीलाई उनले जसोतसो मर्मत गर्दै चलाइराखेका थिए। “०४७ सालअघि घडी बिग्रियो कि अञ्चलाधीशको फोन आउँथ्यो। त्यसपछि त कसैले वास्ता नै गरेनन्” उनी भन्छन्, “दम दिने दुई जना खटाएर तिनीहरूलाई सरकारले पारिश्रमिक पनि दिएको थियो। तर अहिले कसैलाई चासो छैन।”
काठमाडौँ शहरकै समयसूचक बनेको घण्टाघर र घडी डिजिटल युगको शुरूआतसँगै छायामा पर्दै गयो। २०७१ सालमा काठमाडौँ महानगरपालिकाले बैठक बोलाएर ‘घण्टाघरको घडी अब हामी हेर्छौं’ भनेको थियो। त्यसको एक हप्तापछि महानगरले रङरोगन गर्यो। त्यसपछि भने कुनै पनि कर्मचारी वा जनप्रतिनिधिले ‘पाइला नटेकेको’ गणेश बताउँछन्। उनी भन्छन्, “पाँच–सात वर्ष अघिदेखि कोही काम गर्ने मान्छे भए म सिकाइदिन्छु भन्दा कोही पनि आएनन्। अब केही पार लाग्दैन भनेर मैले राजीनामा बुझाएँ।”
उनले २०८० मंसिर ६ गते राजीनामा दिएका थिए। त्यसयता घण्टाघरलाई पुरानै अवस्थामा फर्काएर घडी चलाउने कुरामा अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकार कसैले पनि पहल गरेका छैनन्।
ऐतिहासिक महत्व बोकेको घण्टाघरको संरक्षण र व्यवस्थापनमा कसैले वास्ता नगरेको गणेशको गुनासो छ। वीर शमशेरको पालामा बनेको र पुरातात्विक महत्व बोकेको घण्टाघरलाई सरकारले बेवास्ता गरेकोमा उनी दुःखी छन्।
पटक–पटक फेरबदल भएर आएका त्रिचन्द्र क्याम्पसका प्रमुखलाई उनले घण्टाघरको स्थितिबारे कुरा राखेका थिए। तर कसैले वास्ता गरेनन्। उनले घण्टाघर नजिकैबाट डेरा सरेको दुई वर्ष हुँदै छ। गणेशका अनुसार उनलाई अहिले घडी बन्द देख्दा साह्रै नमज्जा लाग्छ। “यो घण्टाघर अब म्युजियमको रूपमा मात्रै उभिन्छ होला,” उनले भावुक मुद्रामा भने।
गणेशका अनुसार घडी चलाउन दम दिनुपर्छ, तर दम दिनेहरूले समय मिलाउन सक्दैनन्। उनी बाहेक घडीको समय मिलाउन सक्ने व्यक्ति अहिलेसम्म अरू कोही पनि देखिएका छैनन्।
त्रिचन्द्र क्याम्पसमा पढेर सरकारमा पुगेकाहरूले पनि यसलाई हेर्न नसक्दा दुःख लागेको उनी बताउँछन्। कार्य दक्षताको मूल्यांकन नहुँदा राम्रा र दक्ष जनशक्ति विस्थापित भइराखेकोमा उनले असन्तुष्टि जनाए। “यसलाई जीवन्त राख्न पाए हुन्थ्यो भन्ने भित्री मनदेखि लागेको छ।”
१०५ फिट उचाइ रहेको घण्टाघर नेपालका ११औं प्रधानमन्त्री वीर शमशेरको पाला (१९४७–१९५२ साल) मा निर्माण भएको इतिहास छ। १९९० सालको महाभूकम्पले क्षतविक्षत भएपछि जुद्ध शमशेरको पालामा पुनः अर्को घण्टाघर निर्माण गरिएको थियो।
भिडियो