Wednesday, October 16, 2024

-->

सिक्किमको राजनीति: साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। २५ वर्ष मुख्यमन्त्री रहेका त्यसका नेता पवन चाम्लिङले दुई ठाउँबाट चुनाव हारेका छन्।

सिक्किमको राजनीति साबिक पार्टीबाट विद्रोह गर्नेहरूको सत्तारोहण

काठमाडौँ– सन् २०२४ अप्रिल १९ मा भएको सिक्किम विधानसभा चुनावको नतिजा आउन एक दिन अगाडिसम्म पनि सिक्किम डेमोक्र्याटिक फ्रन्ट (एसडीएफ) का अध्यक्ष पवन चाम्लिङलाई सत्तामा पुन: फर्किने आशा थियो। 

सन् १९९४ देखि २०१९ सम्म लगातार २५ वर्ष मुख्यमन्त्रीको कुर्सीमा विराजमान रहेका चाम्लिङ भारतीय इतिहासको पानामा पाँच पटक मुख्यमन्त्री भएको रेकर्ड कायम गरेका पहिलो नेता हुन्। यसपटक बहुमत ल्याएर छैट्टौँ पटक मुख्यमन्त्री बन्ने उनको धोको थियो। 

२०१९ को विधानसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ सिट ल्याएपछि छैँटौ पटक उनको मुख्यमन्त्री हुने प्रयासमा ब्रेक लागेको थियो। एसडीएफले त्यो निर्वाचनमा जम्मा १३ सिट जितेको थियो। 

जुन २ मा विधानसभाको नतिजा आयो। तर चाम्लिङले सोचेजस्तो नतिजा आएन। सन् २०१९ को विधानसभा निर्वाचनमा एसडीएफलाई किनारा लगाएर मुख्यमन्त्रीको कुर्सी हत्याएको एसकेएमले पुन: दोस्रो पटक उसलाई छेउकुनातिर धकेलिदिएको छ। ३२ सिट रहेको सिक्किम विधानसभामा एसकेएम एक्लैले ३१ सिट ल्याएको छ। बाँकी एक सिट मात्रै एसडीएफले जितेको छ। त्यो पनि ती विधायक चाम्लिङ आफै नभएर तेन्जिङ नोर्बु लाम्था हुन्। उनी सिक्किमको श्यारी क्षेत्रबाट निर्वाचित भएका हुन्। चाम्लिङ भने उठेका दुवै क्षेत्रबाट पराजित भए।

सिक्किमका स्थानीय पत्रकार प्रविन खालिङका अनुसार चाम्लिङले गएको चुनावमा आफूहरूको पार्टीले २६ सिट ल्याएर सरकार बनाउने दाबी गरेका थिए। तर एकाएक नतिजा यस्तो आएपछि एसडीएफ चकित भएको खालिङले उकालोसँग बताए।

“एउटै व्यक्तिसँग पटक–पटक शासित भएपछि जनता आजित भइसकेका थिए। नयाँ अनुहारको खोजी हुँदै थियो। ती अनुहारहरू एसकेममा देखिए, एसडीएफ बढारियो,” खालिङ भन्छन्, “हुन त एसडीएफको पतन २०१४ को निर्वाचनबाटै शुरू भइसकेको थियो। तर पूर्णरूपमा सत्ताच्यूत यसपटक भएको छ।” 

चार वर्षअगाडि नेपाल आएका  चाम्लिङलाई अन्तर्वार्ताको क्रममा पत्रकार टिकाराम यात्रीले सोधेका थिए, “अहिले पनि दुई क्षेत्रको सांसद हुनुहुन्छ। फेरि पनि बहुमत आयो भने मुख्यमन्त्री बन्ने योजना छ?” जवाफमा चाम्लिङले भनेका थिए, “योजना मेरो छैन हजुर। पाँच-पाँच पटक मुख्यमन्त्री भइसकेँ। अब पनि जनताले हाम्रो सिक्किमलाई तपाईंले सम्हालिदिनुपर्‍यो भनेमा जनताको आदेश स्वीकार्छु।”

२०१९ मा सिक्किमेली जनताले चाम्लिङलाई मुख्यमन्त्रीको ‘गद्दी’बाट हटाएपछि एसकेएमका अध्यक्ष प्रेमसिंह तामाङ (पीएस गोले) मुख्यमन्त्री भए। यो विधानसभा निर्वाचनबाट पनि उनै पीएस गोलेले पुन: जुन १० मा मुख्यमन्त्रीको शपथ खाए। उनी २०१४  को विधानसभा अघिसम्म चाम्लिङसँगै एसडीएफमा थिए। तर चुनावपछि आफ्नै नेतृत्वमा एसकेएम गठन गरेर अलग भए।

विवादपछि विद्रोह
सन् १९९४ मा सरकारी जागिरबाट राजीनामा दिएर एसडीएफ प्रवेश गरेका गोले शुरूदेखि नै सबैका प्रिय थिए। १९९४ देखि २००९ सम्म उनी चाम्लिङ सरकारमा पशुपालन, भवन र आवाससँगै उद्योग गरी तीन पटक मन्त्री भए। तर २००९ पछिको सरकारमा उनलाई मन्त्री बनाइएन।

शिक्षकको पेसा छोडेर समाजसेवा गर्ने रहरले गोलेलाई राजनीति हुँदै एसडीएफसम्म जोडेको थियो। सोही क्षेत्रमा शुरूदेखि नै सफलता मिल्दा उनले १५ वर्ष मन्त्री भएर काम गर्ने मौका पाए। तर २००९ पछि विधानसभा निर्वाचन जिते पनि मन्त्री भएर काम गर्न नपाउँदा उनी रुष्ट बनेका थिए।

पार्टीभित्र आफूभन्दा धेरै लोकप्रिय हुन थालेपछि चाम्लिङले उनलाई मन्त्री पद दिन अस्वीकार गरेको एसकेएमका प्रवक्ता विकास बस्नेत बताउँछन्। बस्नेतका अनुसार गोले १५ वर्ष मन्त्री भएर काम गर्दा उनले लोकप्रियतामा मुख्यमन्त्रीलाई उछिनेपछि पार्टीभित्रै उनलाई किनारा लगाउने प्रयत्न भइरहेको थियो।

“अर्को कुरा, जनताले नयाँ नेतृत्व चाहिरहेका थिए। चाम्लिङ सरकारको कामकाजविरुद्ध असन्तुष्टि जाहेर गर्ने ठाउँ पनि थिएन। त्यही बेला हामीले नयाँ पार्टी खोल्ने निर्णय गर्‍यौँ,” बस्नेतले उकालोसँग भने, “पार्टी गठन भएलगत्तै सिक्किमेली जनता हाम्रो पक्षमा उभिए।” 

एसडीएफका वरिष्ठ उपाध्यक्ष केटी ग्याल्टसन पनि माथिल्लो नेताहरूसँग गोलेको असन्तुष्टि बढेपछि उनी अलग भएर गएको स्वीकार्छन्। ग्याल्टसनका अनुसार गोले अलिक बढी महत्वकांक्षी भएर पार्टी गठन गरेका थिए। “उहाँ हाम्रो पुरानो साथी हुनुहुन्छ। चाम्लिङ साहबसँग केही मिस्अन्डरस्ट्यान्डिङ थियो। पछि चाम्लिङ साहबको लामो समय पनि भइसकेको थियो। त्यही भएर जनताले उहाँहरूलाई अहिले म्यान्डेट दिनुभएको छ,” ग्याल्टसनले सिक्किमबाट टेलिफोनमा भने।

२०१३ मा गठन भएको एसकेएमले २०१४ को विधानसभा निर्वाचनमा ३२ मध्ये १० सिट जित्यो। त्यसको पाँच वर्षपछि २०१९ मा १७ सिट जितेर सरकार बनायो। २०१९ मा एसकेएमले सरकार बनाउनुको पछाडि गोलेप्रति जनताको सहानुभूतिको मत भएको पत्रकार खालिङ बताउँछन्। गोले मन्त्री भएकै बेला उनीमाथि नरबहादुर भण्डारी नेतृत्वको पार्टीले दुधालु गाईको किनबेचमा भ्रष्टाचार गरेको आरोप लगाएको थियो। पछि त्यो मुद्दा अदालतमा गए पनि लामो समयसम्म विचाराधीन रहिरह्यो।

“तर २०१७ मा फेरि त्यही मुद्दामा भ्रष्टाचारको कसुर ठहर भई गोलेलाई एक वर्ष जेल सजाय भयो। उनको विधानसभा सदस्यता खारेज भयो,” खालिङ भन्छन्, “त्यो समयमा चाम्लिङ सरकारले नै यो सबै प्रपञ्च रचेको कुरा बाहिरियो। २०१८ मा जेलबाट रिहा भएर उनले पुन: सक्रिय राजनीति शुरू गरे। परिणामस्वरूप २०१९ को निर्वाचनमा जनताले उनको पार्टीलाई बहुमत दिएर जितायो।”

२०१९ को चुनावपछि चाम्लिङले मुख्यमन्त्री पद मात्रै गुमाएनन्, आफ्नै सांसदहरू पनि गुमाए। चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद बीजेपी प्रवेश गरे। उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति चालेको बीजेपीले एसडीएफका १० सांसद भित्र्याउँदै सिक्किमको दोस्रो ठूलो दलमा आफूलाई दर्ज गर्‍यो। 

गएको विधानसभा निर्वाचनमा दोस्रो पटक एसकेएमले कसरी भारी बहुमत ल्याउन सफल भयो भनी ‘इन्डिया टुडे’ले सोधेको प्रश्नमा गोलेले भनेका छन्, “हामीले सुशासन र जनताको हितमा काम गरेको देखेपछि जनताले हामीलाई यस्तो भारी बहुमत दिएर जिताएका हुन्।”

यसअघि सन् १९९३ मा नरबहादुर भण्डारीको सिक्किम संग्राम परिषद् र २००९ मा चाम्लिङ नेतृत्वको  एसडीएफले ३२ सिट पूरै जितेका थिए।

चाम्लिङले पनि भण्डारीलाई छाडेका थिए
सन् १९८९ देखि १९९२ सम्म तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी नेतृत्वको सरकारमा चाम्लिङ सूचना तथा सञ्चारमन्त्री थिए। तर पाँच वर्ष नबित्दै १९९३ मा विद्रोह गरेर उनी बाहिरिए। भण्डारीले जातीयद्वेषी अभिव्यक्ति दिएपछि चाम्लिङले चित्त दुखाएका थिए।

आफ्नै पार्टीका अध्यक्ष र राज्यका मुख्यमन्त्रीले पटक–पटक आफ्नो समुदायप्रति असह्य टिप्पणी गरेपछि विद्रोह गरेका चाम्लिङले एसडीएफ गठन गरेको उनलाई नजिकबाट चिन्ने दार्जिलिङका पूर्वविधायक डा. हर्क क्षेत्री बताउँछन्। 

नरबहादुर भण्डारीले राई लिम्बुलाई अपमान गरेपछि नै चाम्लिङले विद्रोहको बाटो रोजेको क्षेत्रीको दाबी छ। भण्डारीले सार्वजनिक रूपमै, ‘लिम्बूले भित्री वस्त्र लगाउँदैन र राईको छाला काढेर डम्फू बनाउँछु’ भनेपछि भण्डारीको पतन भएको उनी बताउँछन्। 

“यस्ता अभिव्यक्तिले ती जातिका मान्छेहरू बिच्किए। उनीमाथि जातीय विद्वेष फैलाएको आरोप लाग्न थाल्यो। त्यही बेला चाम्लिङ विद्रोह गरेर निस्केका हुन्,” क्षेत्री भन्छन्, “उनी पहिल्यैदेखि वामपन्थी धारका थिए। त्यो बेला धेरैले उनलाई भनेका थिए, बहुमत त हाम्रै जातको हो। आफै पार्टी खोले हुन्न? यही कुराले उनलाई पार्टी खोल्न हौस्यायो।”

एसडीएफ गठन भएलगत्तै भण्डारी अल्पमतमा परे। त्यही बेला चाम्लिङ पहिलो पटक मुख्यमन्त्री भए। सन् १९९९ को निर्वाचनमा चाम्लिङ नेतृत्वको एसडीएफले बहुमत ल्यायो र  सरकार बनायो, जुन २०१९ सम्म अटुट चल्यो। 

त्यतिबेला भण्डारीले सार्वजनिक भाषणमै भनेका थिए, “चाम्लिङलाई मैले कुहिएको आलु सम्झेको थियो, मोरा त बिजनको आलु भएर निस्केछ।”

सिक्किम भारतमा विलय भएपछि पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे भएका थिए। इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १९७९ अगस्ट १८ सम्म मुख्यमन्त्री भए। त्यसपछि करिब तीन महिनासम्म राष्ट्रपति शासन लागू भएको थियो।

तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्री बनेका थिए, १९७९ देखि १९८४ सम्म। त्यतिबेला उनी सिक्किम जनता परिषद् नामक पार्टीका नेता थिए। ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने। त्यसपछिका ११ महिनासम्म पुन: राष्ट्रपति शासन लागू भयो।

सन् १९८५ मा पुन: मुख्यमन्त्री बनेका नरबहादुर भण्डारी १९९४ सम्म पदमा रहे। त्यो बेला भण्डारीको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् भइसकेको थियो। अहिले सिक्किममा यो दलको अस्तित्व छैन। 

सिक्किममा विद्रोहको राजनीति स्वाभाविक भएको दार्जिलिङका पूर्व विधायक क्षेत्री बताउँछन्। लामो समयसम्म एउटै मान्छेले शासन गरेपछि त्यही पार्टीबाट कोही नयाँ जन्मिनु नौलो नभएको उनको अभिमत छ।

“सिक्किम र दार्जिलिङको राजनीति उस्तै–उस्तै छ। यहाँ पनि २१ वर्षसम्म सुवास घिसिङलाई कसैले चलाउन सकेन, तर विमल गुरुङ विद्रोह गरेर आएपछि उनले घिसिङको ठाउँ लिए,” क्षेत्री भन्छन्, “सिक्किममा पनि त्यही भएको हो। भण्डारीपछि चाम्लिङ र उनीपछि अहिले गोले। गोले पनि तिनीहरूकै बाटोमा लागे भने भोलि फेरि को आउला भन्न सकिन्न।”


सम्बन्धित सामग्री