काठमाडौँ– एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा यूएईसँग नेपाल पराजित भएको छ। ओमानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो।
नेपाललाई पराजित गरेसँग यूएई फाइनलमा पुगेको छ। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२३ रन बनायो।
यूएईका लागि अलिसन सराफुले अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ४ विकेट र २ छक्का प्रहार गर्दै ५५ रन बनाए।
त्यस्तै, विष्णु सुकुमारनले २८, स्याद हैदरले १४, कप्तान मुहम्मद वासीमले ११ र अशिफ खानले १० रन जोडे। बलिङतर्फ नेपालका गुल्सन झाले २ विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीका नाममा १/१ विकेट रह्यो।
ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनायो। खराब शुरूआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल गुमाएको थियो।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले। जोराले ४० बलमा दुई छक्का र चार चौकाको सहयोगमा ५० रन बनाए । त्यस्तै, गुल्सन झाले २०, करण केसीले १७ रन बनाए। अरू ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले २/२ विकेट लिए। ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले १/१ विकेट लिए।
नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो भने यूएई समूह ‘बी’को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो।