म्याग्दीको मालिका गाउँपालिकास्थित गगनेपानी सामुदायिक वनमा केही समयअघि लागेको डढेलो । तस्वीर : रासस
काठमाडौँ– गत चैत ४ गते भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार जंगलबाट शुरू भएको आगलागी बस्तीमा पसेर घरगोठ जल्दा आँगनमा खेलिरहेका रमेश कार्कीका सात वर्षीया छोरी दीप्तिका र तीन वर्षीय छोरा देउनिस तथा अर्का पाँच वर्षीय बालक प्रनिश कार्कीको मृत्यु भएको हो।
देशका विभिन्न ठाउँमा २०८० पुस १६ देखि चैत ८ सम्म भएका आगलागीका घटनामा ४२ जनाको मृत्यु भएको छ, जसमध्ये नौ जना बालबालिका छन्। पछिल्लो पाँच वर्षयता भएका आगलागीका घटनामा २७ जनाभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन्।
बितेका झण्डै तीन महिनामा एक हजार ३४७ स्थानमा आगलागीका घटना भए। तीमध्ये १८० घटना वनमा लागेको डढेलोसँग सम्बन्धित छन्। अरू एक हजार १६७ घटना घर, गोठ तथा खरबारीमा आगो लाग्दा भएको हो। यस अवधिमा जलेर घाइते भएका मानिसको संख्या १८३ छ भने ८०५ पशु चौपाया आगलागीमा परेर मरेका छन्। आगलागीबाट करिब ५२ करोड ८० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
गत वर्ष पुस १६ देखि चैत २० सम्म भएका आगलागीका घटनामा ४८ जनाले ज्यान गुमाएका थिए। ५८ करोड १० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो। आगोले पोलेर १४५ जना घाइते भएका थिए भने ९८५ पशु चौपाया जलेर मरेका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्ष आगलागी तथा डढेलोका घटनामा परेर ७४ जनाको मृत्यु हुँदा २७१ जना घाइते भएका थिए। आगलागीका कारण एक अर्ब मूल्य बराबरको मालसामान नष्ट भएको थियो।
गर्मी शुरू नहुँदै देशभर देखिएका आगलागी तथा डढेलोका घटनाले यस वर्ष यस्ता घटनामा वृद्धि हुने संकेत मिलेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन्। उनका अनुसार सन् २००९ यता डढेलोमा परेर प्रतिवर्ष सरदर सात जनाले ज्यान गुमाइरहेका छन्।
‘रिर्पोटिङ’ भएर आगो नियन्त्रणका लागि जनशक्ति तथा दमकल खटिएको ठाउँका घटना ‘आगलागी’का रूपमा अभिलेखमा रहन्छन्। ‘स्याटलाइट’बाट जंगल क्षेत्रमा लिइएका तस्वीरका आधारमा पहिचान गरिएका घटनालाई ‘डढेलो’ मानिन्छ।
लामो समयको खडेरीमा आगलागीका घटना तीव्ररूपले बढ्ने गरेको छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रध्यापक डा. विनोद पोखरेल आगलागीको प्रमुख कारण लामो समयको खडेरी नै भएको बताउँछन्। “त्यसबेला सावधानी अपनाउनका लागि मानिसहरूमा चेतना नभएसम्म आगलागी र डढेलोका घटना न्यूनीकरण हुन गाह्रो छ,” उनी भन्छन्, “किनभने हामीकहाँ हुने आगलागीका घटना प्राकृतिक नभएर मानवीय हुन्। मानिसले आफ्नो आचरण र बानीव्यवहारमा सुधार गरे आगलागीबाट यति ठूलो क्षति भोग्नु पर्दैन।”
बसाइँ सराइले बढाएको डढेलो
नेपालको वन क्षेत्रमा डढेलो लगाउने प्रवृत्ति पुरानै हो। मानिसहरूले वनमा घाँस पलाउने लोभमा डढेलो लगाउने गरेका छन्। जिल्लाजिल्लाका डिभिजन वन कार्यालय तथा अन्य सरकारी निकायले डढेलो नियन्त्रणका लागि बर्सेनि जनचेतना जगाउन डढेलो सप्ताह लगायतका विभिन्न कार्यक्रम गर्छन्। तर डढेलोको घटनामा कमी आउनुको साटो झन् झन् बढिरहेको छ। “व्यक्ति स्वयंमा चेतना नआएसम्म जति दिवस मनाए पनि डढेलो कम हुँदैन,” दक्षिण एशियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक सुन्दर शर्मा भन्छन्।
पछिल्ला वर्षहरूमा वनको डढेलो गाउँ–बस्तीसम्म आउने र त्यसले घरगोठ जलेर भौतिक तथा मानवीय क्षतिका घटना बढ्ने गरेका छन्। जस्तो कि गत चैत २ गते रामेछाप जिल्लाको हरदेनी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा १२ घर जलेर नष्ट भए। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगलागीबाट दुई करोड मूल्य बराबरको क्षति भयो।
त्यसैगरी, तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–सिम्लेमा लागेको डढेलो बस्तीमा पस्दा १७ घर जलेर खरानी भए। “पहाडमा मानिसहरूको बसाइँ सराइले हिजोका खेतबारी झाडीमा परिणत भए। जंगलमा लागेको आगो रोकिने ठाउँ नै भएन। पहिलेका आवादी खेतबारीले अग्नि रेखाको काम गर्थे र आगो सिधै बस्तीसम्म पुग्न पाउँदैनथ्यो,” पोखरेल भन्छन्, “अहिले त्यो अवस्था छैन। बसाइँ सराइले बस्तीहरू पातलिए। अनि जंगलको आगो गाउँसम्म सजिलैसँग आउन थाल्यो।”
अबोधपनको शिकार
आगलागीका घटनामा बालबालिकाको ज्यान जानुमा भने उनीहरूको अबोधपन नै प्रमुख कारण देखिएको छ। विपद् र त्यसबाट बालबालिकामा पर्ने प्रभावको क्षेत्रमा काम गर्दै आएको कर्णाली एकीकृत ग्रामिण विकास अनुसन्धान केन्द्रकी निर्देशक गीता पाण्डे आगोले कस्तो क्षति हुन्छ भन्ने कुराको जानकारी बालबालिकालाई नहुने र अभिभावकले पनि त्यसतर्फ ध्यान दिन नसक्दा उनीहरू आगलागीमा परेको बताउँछिन्।
“धेरै ठाउँमा अभिभावक काममा जाने घरका बालबालिकाले अन्जानमा प्रज्ज्वलनशील वस्तुहरू चलाउँदा पनि उनीहरू आगलागीमा परेको देखिन्छ,” उनी भन्छिन्, “अहिलेसम्मका घटनाबाट यस्ता प्रकोपमा बालबालिका र महिला बढी मात्रामा प्रभावित हुने गरेको देखिन्छ। यसबाट बुझ्नुपर्छ कि हाम्रो पूर्वतयारी कमजोर भयो।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल डढेलो निभाउन जंगलमा गएका बेला आगोमा जलेर धेरै घटना भएको बताउँछन्। “आगलागी नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री र ज्ञानको अभाव छ। स्याउलाको भरमा डढेलो नियन्त्रण गर्न खोज्दा हावाले ल्याएको आगोको लप्कामा परेर धेरै मानिसको मृत्यु भएको छ,” उनी भन्छन्, “हामीले सकेसम्म मानिसहरूलाई सचेत बनाउने र निभाउने सामग्री वितरण गर्ने प्रयास गरेका छौँ। तर एकल प्रयास अपर्याप्त भएकाले सबै निकाय यसमा लाग्न जरूरी छ।”
२०८० वैशाख २९ गते तेह्रथुमको छथर गाउँपालिका–३, पञ्चकन्याको वनमा लागेको आगो निभाउन गएका आमा–छोराले जलेर ज्यान गुमाए। स्थानीय ५५ वर्षीया दिलकुमारी भुजेल र उनका १६ वर्षका छोरा कुमारको आगो निभाउने क्रममै मृत्यु भएको थियो। अघिल्लो वर्ष गोर्खा, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लामा पनि वन तथा खरबारीमा लागेको आगो निभाउन गएका मानिसहरूको जलेर मृत्यु भएको थियो।