Friday, May 10, 2024

-->

पुष्प व्यवसायी र उपभोक्ताको जमघटबीच चारदिने राष्ट्रिय बागवानी मेला सकियो

पुष्प व्यवसायको बजारीकरण प्रवद्र्धनका लागि व्यवसायी र उपभोक्ताबीच अन्तर्क्रियात्मक जमघट भएको मेलामा ८५ नर्सरी सहभागी थिए।

पुष्प व्यवसायी र उपभोक्ताको जमघटबीच चारदिने राष्ट्रिय बागवानी मेला सकियो
तस्वीहरू : पुष्पा विष्ट/उकालो

काठमाडौँ– नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको राष्ट्रिय बागवानी प्रदर्शनी मेला सोमबार सकिएको छ। चार दिनसम्म चलेको मेला पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। 

भृकुटीमण्डपमा चैत १६ गतेदेखि चलेको मेला पहिलो राष्ट्रिय बागवानी प्रदर्शनी हो। “नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार” भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा पुष्प व्यवसायको बजारीकरण प्रवर्द्धनका लागि व्यवसायी र उपभोक्ताबीच अन्तर्क्रियात्मक जमघट भएको थियो।  

मेलामा ‘सफल मिलन नर्सरी काठमाडौँ’ले उत्कृष्ट अवार्ड पाएको छ, जसको सञ्चालन ३९ वर्षीय तीर्थबहादुर लोप्चनसहित उनका चार दाजुभाइले १६ वर्षदेखि गर्दै आएका छन्। बालुवाटारबाट शुरू भएको फूल व्यापारको यात्रा अहिले कपनको बालुवाखानी र भंगालमा पनि विस्तार भएको लोप्चनले बताए। 

दुई ठाउँमा नर्सरीको विस्तार भइसक्दा पनि बोटविरुवाको प्रदर्शनी गर्ने उपयुक्त ठाउँ नपाएको उनको गुनासो छ। “हाम्रो नर्सरीमा आएका ग्राहकलाई मात्र हाम्रोमा कस्ता–कस्ता फूल पाइन्छ थाहा छ। अरूलाई पनि थाहा दिन र हामीसँग भएको सामानको प्रदर्शनी गर्न यहाँ आएका हौँ,” उनले भने।

राष्ट्रिय बागवानी प्रदर्शनी मेलामा ८५ नर्सरी सहभागी थिए। तिनैमध्येकी ६३ वर्षीया पुतली भट्टराई विगत २३ वर्षदेखि सिनामंगलमा नर्सरी गर्दै आएकी छन्। मेला अवधिभर उनले बिहान ७ देखि बेलुकी ६ बजेसम्म भृकुटीमण्डपमै बिताइन्। आफ्नो बोटविरुवाको प्रचार गर्न आएको बताउने उनले भनिन्, “व्यापार त नर्सरीबाटै हुन्छ। तर आफ्नो नर्सरीको सामान अरूले पनि चिनून् भनेर आएको हुँ। फूल या विरुवा किन्न आउने मानिसलाई कार्ड दिएर पठाउँछु। नर्सरीको प्रचार गर्न यहाँ सजिलो भइरहेको छ।”

भक्तपुरका २८ वर्षीय सरोज बस्यालको हिमालयन प्लान्ट हर्ब शान्तिनगरमा छ। उनी पनि मेलामा सहभागी हुन आएका थिए। आफ्नो स्टार्टअप व्यवसायको प्रवद्र्घनमा मेलाले सघाएको अनुभव उनले सुनाए। “फूलसँगै हामी बोटविरुवासम्बन्धी अन्य सामग्री पनि बिक्री गर्छौं,” उनले भने, “एक वर्षअघि यो व्यवसाय शुरू गर्‍यौँ। तर ब्रान्डिङ गर्न पाएका थिएनौँ। त्यसको लागि यहाँ राम्रो अवसर मिल्यो।”

पुष्प बिक्रेताका हकहितकोे लागि मेला शुरू हुनुभन्दा एक दिनअघि मात्र नर्सरी व्यवसायी संघ नेपाल दर्ता गरिएको थियो। नेपाललाई कृषिप्रधान देश मानिए पनि यहाँ उत्पादित जडिबुटी, फलफूल र बोटविरुवाको सशक्त प्रवर्द्धन गर्न नसकिएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए। 

“नर्सरी व्यवसायीको हक, हित र अधिकार सुनिश्चत गर्न संघको स्थापना भएको हो। यसलाई व्यवसायिक लगानी, सीप र क्षमताको विकास तथा विस्तार एवम् प्रवर्द्धन गर्न छाता संगठनको रूपमा लैजान्छौँ,” उनले भने। 

मेला उद्घाटनका बेला वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले अब किसानलाई खेतीयोग्य जमिन सुलभ भाडामा २० देखि ४० वर्ष सम्म दिने र बैंकिङ सुविधा दिएर पुष्प व्यवसायमा लगानीयोग्य वातावरण बनाउन आवश्यक कानूनी व्यवस्था गर्न लागिएको बताए। 

“यसले युवालाई काम गर्ने हौसला मिल्छ र रोजगारीकै लागि विदेश पलायन हुनबाट पनि रोक्न सकिन्छ,” उनले भने, “वन विभाग मातहत कुनै जग्गा छ भने बागवानीको लागि  उपयोग गर्न चाहनेहरू सम्पर्कमा आउन सक्नुहुन्छ।”

मेलामा चार दिनसम्म लगातार अवलोकनकर्ताको बाक्लो उपस्थिति थियो। उनीहरूमध्ये कतिपय फूलका विरुवा किन्न आएका थिए भने विभिन्न थरी फूलहरूले सजाइएको मेलास्थलको दृश्यावलोकन गरेर रमाउनेहरूको पनि कमी थिएन।


सम्बन्धित सामग्री