Friday, December 13, 2024

-->

फलोअप
फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा

निर्वाचन आयोगको मतदाता नामावलीमा अहिले पनि बागमती नगरपालिकाको सुकुमबासी बस्तीका कतिपयको दोहोरो नाम देखिन्छ। अधिकांशको नामका अक्षर छुट्याउने/जोड्ने गरेर दुई वटा परिचयपत्र बनाइएका छन्।

फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा

काठमाडौँ– दुई वर्षअघि २०७९ वैशाख ३१ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोकिएदेखि नै सर्लाहीको बागमती नगरपालिकामा नेकपा एमालेका उम्मेदवार टंक बस्नेतको दौडधुप बढेको थियो। यसपटक आफूले नगरप्रमुखको टिकट पाउने मात्र नभई जित्नेमा पनि उनी विश्वस्त थिए। यता नेकपा माओवादीले तत्कालीन नगरप्रमृुख भरत थापालाई नै उम्मेदवार बनाएको थियो।

उनीहरूबाहेक नेपाली कांग्रेसका सुरज सुवेदीसहित राप्रपा, मंगोल नेशनल अर्गनाइजेशन र स्वतन्त्र उम्मेदवारहरू गरी ११ जना प्रतिस्पर्धामा थिए। मुख्य प्रतिस्पर्धा एमालेका बस्नेत र माओवादीका थापाबीच नै हुँदै थियो। थापा आफ्नै नामबाट बनाइएको भरत तालको भ्रष्टाचार, कुटपिट, हत्या र अवैध उत्खनन् जस्ता विवादमा मुछिएका कारण बस्नेत आफूले चुनाव जित्नेमा ढुक्क थिए।

तर मतदानमा भएका अस्वाभाविक गतिविधिले मतदानको समय नसकिँदै आफू हार स्वीकार गर्ने अवस्थामा पुगेको बस्नेत बताउँछन्। त्यसको कारण थियो, भरत ताल नजिक बसाइएको सुकुमबासी बस्तीका मतदाताले गरेको दोहोरो मतदान। उक्त बस्तीका करिब दुई हजारसहित अन्य वडाका मतदाताको पनि दुई ठाउँबाट दोहोरो परिचयपत्र बनाई मतदान गरेको भेटिए उनको भनाइ छ।

“एक त उसैले बसाएको सुकुमबासी बस्तीको चार हजार–४५ सय मत उसैलाई जानु स्वाभाविक थियो। मत नदिए घर खोस्ने र जलाउने धम्की दिइएको थियो। त्यसमाथि दुई हजारले दुई ठाउँबाट मतदान गर्दा यतिकै भोट बढिहाल्ने भयो,” बस्नेत भन्छन्, “मतदानअगाडि नै थाहा पाएको भए केही गर्न सकिन्थ्यो। पछि थाहा पायौँ, केही गर्न सकिएन। माथिबाट सारा संयन्त्र उसैको।” 

उक्त निर्वाचनमा थापाले ११ हजार ३५७ मत पाएर विजयी भए भने बस्नेतले सात हजार ३६८ मत पाए। कांग्रेसका सुवेदीले एक हजार ५७८ र बाँकी उम्मेदवारले जम्मा ७१४ मत पाएका थिए। 

नतिजा सार्वजनिक भएको केही दिनपछि निर्वाचन आयोगले उक्त नगरपालिकाको मतदाता नामावली ‘फिल्टर’ गरेको थियो। त्यसपछि ५०० देखि एक हजार मतदाता घटेको बस्नेत बताउँछन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीले २०७८ चैतमा सार्वजनिक गरेको विवरणअनुसार बागमती नगरपालिकामा ३१ हजार ६०२ मतदाता थिए। २०७८ देखि २०८० चैतसम्म त्यहाँ जम्मा १९० मतदाता मात्र बढेका छन्। तत्कालीन निर्वाचन अधिकृत दिवाकार भुजेलले भने दोहोरो मतदाता परिचयपत्रबारे आफूलाई थाहा नभएको बताए।

निर्वाचन आयोगको मतदाता नामावलीमा दर्ता भएको दोहोरो नाम।

तर त्यति बेला कांग्रेसबाट नगरप्रमुख उम्मेदवार बनेका सुरज सुवेदी दोहोरो मात्र नभई एकै व्यक्तिको तेहरो र त्योभन्दा बढी परिचयपत्र भएको पनि फेला परेको दाबी गर्छन्। “करिब २५ सय जनाको दोहोरो र त्योभन्दा बढी परिचयपत्र भएको हुनुपर्छ। निर्वाचन आयोगले मतदानको एक महिनाअघि नै उजुरी गर्न भनेको कारण मतदानको समयमा केही गर्न सकिएन,” सुवेदी भन्छन्, “ती परिचयपत्र पछि संघीय निर्वाचनमा भने रद्द गरियो।”

अझै पनि नगरपालिकाभित्र दोहोरो मतदाता परिचयपत्र बाहकहरू धेरै भएको एक स्थानीयको दाबी छ। उनका अनुसार करिब हजार जनाको दोहोरा परिचयपत्र रद्द गरिएको छैन। “उजुरीपछि घट्न त घटेको हो तर सबैको छानबिन हुन सकेन,” ती स्थानीय भन्छन्, “आयोगले यो विषयलाई गम्भीरतापूर्वक लिन जरूरी छ।”

उकालोलाई प्राप्त दोहोरो मतदाता परिचयपत्रमा एउटै मान्छेको नाममा फरकफरक क्रम संख्या छ। नाम र थरको हिज्जे एउटै छ तर अक्षरहरू जोड्ने र छुट्याउने गरेर फरक बनाउन खोजिएको छ। ठेगानामा पनि सामान्य परिवर्तन गरिएको छ। आमाबुवाको नाम भने उही छ। निर्वाचन आयोगको वेबसाइटमा पनि एउटै मान्छेको नाम दुईटा मतदान केन्द्रमा देखिन्छ। 

श्रीसोनाम थिङको नाम वडा नं २ स्थित धरहरा मावि मतदान केन्द्र र वडा नं ४ स्थित जनज्योति आधारभूत विद्यालय कर्मैया मतदान केन्द्र दुवैतिर छ। त्यस्तै, संजवीर मुक्तानको नाम धरहरा मावि र जनज्योति आधारभूत विद्यालय कर्मैया मतदान केन्द्र दुवैतिर छ। राकेश ठाकुरको नाम वडा नं २ स्थित धरहरा मावि र वडा नं १२ स्थित जनजागृति आधारभूत विद्यालय कर्मैया मतदान केन्द्र दुवैतिर छ। सञ्चमाया मुक्तानको पनि दुई वटा परिचयपत्र भएको उकालोले फेला पारेको छ। उनीहरू सबैको दोहोरो परिचयपत्रमा आमा र बाबुको नाम समान छ।

नगरप्रमुख थापाले निर्माण गरेको भरत ताल (जुन वडा नं ४ र १२ मा पर्छ) छेउमा उनैले सुकुमबासी बस्ती बसाएका छन्। अन्य वडामा घर भएका कतिपयलाई थापाले विभिन्न प्रलोभनमा पारेर सुकुमबासी बस्तीमा सारेको एक स्थानीयको दाबी छ। ‘भोट बैंक’ बनाउने उद्देश्यले उक्त बस्ती बसाइएको ती स्थानीय बताउँछन्।

“माथि (डाँडामा) सबैको जग्गा छ नि, यहाँ आएर बस जग्गा पनि दिन्छु भनेपछि आएर बसेका हुन्,” उनी भन्छन्, “नभए भरत थापाको यस्तो आतंक छ कि उनी जित्ने कुरै आउँदैन। पैसा छ उनीसँग। पैसाकै बलमा मत आउँछ। अहिले अख्तियारले जम्मा ५ करोडको बिगो राख्या छ तर उनीसँग त सय करोड नै छ नि।”

यो पनि फिल्म ‘मेयर’को क्लाइमेक्स छायांकन नहुँदै असली मेयर अख्तियारको फन्दामा

कहिलेकाहीँ थापा आफैँले पनि हार स्वीकार गर्ने गरेको उनका एक सहकर्मी बताउँछन्। “प्रायः साथीभाइसँग रमझममा बसिरहेको बेला भन्थ्यो, म जितेको होइन, हारेको हुँ। यदि त्यति मान्छेले मलाई भोट नदिएको भए त हार्ने रहेछु,” ती सहकर्मी भन्छन्, “आफूले ताल र सडक बनाएकोमा पनि उसलाई अहिले पछुतो छ। विकास गरेर केही नहुने रहेछ, विकासले चुनाव जितिने होइन रहेछ भन्थ्यो।”
फर्जी मतदाता खडा गरेको सम्बन्धमा उकालोले थापासँग प्रतिक्रिया लिने प्रयास गर्दा सम्पर्क हुन सकेन।

पहिलो पटक यसरी ‘खोसेका थिए’ टिकट
२०७४ सालको स्थानीय तह निर्वाचनताका बागमती नगरपालिका प्रमुखको उम्मेदवारमा भरत थापाको नाम कतै गाइँगुइँ थिएन। भलै २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी नेकपा माओवादीबाट उम्मेदवार थिए। तर नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय तह निर्वाचनमा उनले टिकट पाउने सम्भावना थिएन।

माओवादीले पोलिटब्यूरो सदस्य केशव ढुंगानालाई मेयरको टिकट दिने तयारी गरेको थियो। ढुंगाना पनि तयार थिए। थापा भने आफैँ ‘मेयर बन्न’ चाहन्थे। त्यसका लागि भित्रभित्रै दाउ खेलिरहेका थिए। 

थापाका सहयोगीहरू मेयरको टिकट ‘भरत दाइ’ले नै पाउनु पर्छ भन्ने प्रचार गरिरहेका थिए। उनीहरू ‘मेयर जित्न पैसा चाहिन्छ, छ तपाईंहरूसँग?’ भनेर ढुंगानालाई भन्थे।

ढुंगाना २०७० वैशाखमा एमाले परित्याग गरेर अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को हातबाट टीका लगाएर माओवादी भित्रिएका थिए। त्यसअघि २०५६ सालमा एमालेबाटै सांसदको उम्मेदवार बनेर कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरसँग पराजित भएका थिए। यसपटक बागमतीको नगरप्रमुखमा माओवादीले उनैलाई टिकट दिने निश्चितजस्तै भएको एक स्थानीय नेता बताउँछन्।

पार्टीले ढुंगानालाई नै टिकट दिने भएपछि थापाका सहयोगीहरूले उनलाई घरै पुगेर ‘भरत दाइलाई नै खान दिनुस्’ भन्न थाले। जबकि ढुंगानाले थापालाई दोस्रो संविधानसभा निर्वाचनमा सघाएका थिए। यद्यपि उनी एमालेका हरि उप्रेतीसँग पराजित भएका थिए। ‘आजै छोडिदिनुस्, अहिले छोडिदिनु्’ भनेर थापाका सहयोगीले बारम्बार दबाब दिन थालेपछि ढुंगाना पनि छाड्ने निर्णयमा पुगे। 

थापाले आफ्नो टिकट मात्रै सुरक्षति गरेनन्, उपप्रमुखका लागि बागमती नगरपालिका कार्यक्षेत्र नै नभएकी लीला मोक्तानलाई पनि टिकट दिलाए। दुई कार्यकालदेखि मोक्तान पनि थापासँगै उपप्रमुखमा निर्वाचित भइरहेकी छन्। उपप्रमुख निर्वाचित हुनुअघि उनी काठमाडौँस्थित पूर्वसांसद नरेन्द्र साहको एक क्यासिनोमा काम गर्थिन् र ट्रेड युनियनको राजनीतिमा थिइन्।

“उनलाई सडकबाट उठाएर उपप्रमुख बनाएको भन्दा केही फरक पर्दैन। उनलाई कसैले चिन्दा पनि चिन्या थिएन,” थापाका एक सहयोगी भन्छन्, “भरत दाइले चिन्नु हुँदोरहेछ। बाँकी लीलाजीको भाग्यले साथ दियो।”

निर्वाचनको एक महिनाअघि प्रचण्डले बागमतीकै स्थानीय विनिता दाहाललाई उपप्रमुखको टिकट दिने वाचा गरेका थिए। सोही अनुरूप दाहाल पनि निर्वाचनको तयारीमा जुटेकी थिइन्। तर उम्मेदवारी दर्ता गर्दा उनलाई बेवास्ता गरेर मोक्तानलाई अघि सारिएको थियो।

“निर्वाचन आयोगबाट फोन आएपछि मैले थाहा पाएँ। पछि त नारायणकाजी (श्रेष्ठ) दाइले पनि पछाडि हट्न आग्रह गरेपछि विवश भएँ,” दाहाल भन्छिन्, “यो विषयमा मैले गिरिराजमणि पोखरेललाई पनि गुनासो गरेको थिएँ तर उहाँले कुनै प्रतिक्रिया जनाउनु भएन।” 

थापाविरूद्ध बोल्नै मुस्किल
गएको वैशाख १० गते उकालोले थापाबारे प्रकाशित गरेको समाचारमा स्थानीय डम्बरदेव पाण्डेको भनाइ पनि राखिएको थियो। समाचार प्रकाशित भएको २४ घन्टा नबित्दै थापाका सहयोगीहरूले पाण्डेलाई धम्क्याएका थिए। 

थापाविरूद्ध स्थानीयहरू हत्तपत्त बोलिहाल्न चाहँदैनन्। बोल्न तयार भए नाम नखुलाउने उनीहरूको पहिलो शर्त हुन्छ। स्थानीय मात्रै होइन, कहलिएका नेताहरू पनि थापाविरूद्ध बाल्न चाहँदैनन्। बरू नजरअन्दाज गर्न सहज हुने बागमती नगरपालिकामा सक्रिय एक नेता बताउँछन्। 

“के बेकारको लफडा लिइरहनु? के हुन्छ बोलेर? आज एक दिन कसैले बोल्यो भने केटाहरू पठाएर ज्यान जानेगरी पिट्न लगाउँछन्,” ती नेता भन्छन्, “त्यही भएर चुप लागेर बस्नु नै ठीक लाग्छ, फोकटको तनावभन्दा त।”

बागमती नगरपालिकामा थापाले ‘तपाईं’ भनेर सम्बोधन गर्ने मान्छे कमै भएको एक स्थानीय बताउँछन्। उनले अधिकांशलाई ‘तँ’ सम्बोधन गर्छन्। कोही मन नपरेको मान्छेले नमस्ते गर्दा पनि ‘किन गरिस् नमस्ते? चाहिँदैन तेरो नमस्ते’ भनेर जवाफ फर्काउने ती स्थानीयको भनाइ छ।

गैरकानूनी तरिकाले आर्जित सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध गएको चैत २८ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले उनीविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको उल्लेख गरेको छ। उनकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

तर यो विषयले थापालाई केही फरक नपारेको उनका एक छिमेकी बताउँछन्। “वैशाख १५ गते पनि उहाँ एक सार्वजनिक कार्यक्रममा देखिनु भएको थियो। मुद्दा परे पनि उनलाई केही फरक पर्या जस्तो देखिएन,” ती छिमेकी भन्छन्, “बरू कार्यक्रममा उनको अभिनन्दन नै भयो।”

अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि अहिले उनी निलम्बित भएका छन्।


सम्बन्धित सामग्री