Thursday, May 09, 2024

-->

बाजुरामा शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक

हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र शुरू हुनु एक महिना पहिले नै पाठ्यपुस्तक पाएका हुन्।

बाजुरामा शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक

बाजुरा– नयाँ शैक्षिकसत्र शुरू हुनुअगावै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्। हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र शुरू हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन्।

जिल्लाको तल्लो क्षेत्रका बूढीगंगा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्‍याएको हो। 

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ। यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ। 

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष बेलैमा पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए। 

अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए। समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहज रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ।

विगतका वर्षमा शैक्षिकसत्र शुरू भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो। आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए। 

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण शुरू गरेको जनाएको छ। जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन्।

बाजुरामा २०८१ सालका लागि अनुमानित एक लाख २७ हजार ८०६ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए। सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उनले जानकारी दिए। 

करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेको बताए। “आफूले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ,” उनले भने, “बाँकी रहेका विद्यालयमा केही दिनमा पुर्‍याउने छौँ।”

केन्द्रले प्रदेशका विकट तथा दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ। बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिए। सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १८५ थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ। पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन। नेपालको संविधानमा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ।

प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ। ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन्।


सम्बन्धित सामग्री