स्वस्थानी, दन्त्यकथा र लोककथालाई चित्रमा उतार्ने साँखुका भूपेन्द्रमान बाल्यकालमा चित्रकारिताको सौख राख्थे। जीवनको सातौँ दशकमा सौख पूरा गर्न थालेका उनले गत माघमा साढे ३ लाखको स्वस्थानी चित्रमाला बेचे।
काठमाडौँ– “बिफोर पिपल युज टु टेरिफाई इच अदर विथ स्टोरीज्,” थोमस बेलले आफ्नो पुस्तक ‘काठमाडौँ’मा उल्लेख गरेको वाक्यांश हो यो। यसको अर्थ हुन्छ–पहिले मानिसहरू एकअर्कालाई कथाहरूले तर्साउँथे।”
काठमाडौँ उपत्यकामा बिजुलीको व्यवस्था नभएको समयमा मानिसहरू एकअर्कालाई दन्त्यकथा र लोककथाका आधारमा तर्साउने गरेको पुस्तकका एक पात्र सुन्दरमान बताउँछन्। टुँडिखेलमा रहेको गुरुमापाको किंवदन्तीदेखि राजकुमार दिक्पाल, शिशिर वसन्त, भुतप्रेत, पिशाच, किच्कन्नीलगायतका कथा सुन्ने–सुनाउने सामाजिक चलन एक पुस्तामार्फत अर्कोमा सरिरहेको थियो।
कथा कथनको त्यो युग इन्टरनेटबाट बालबालिका प्रभावित नभएको पुस्तासम्मको साझा अनुभव हो। मानिसहरू कथामा विश्वास गर्ने मात्र होइन बाँच्नेसमेत गरेको व्याख्या बेलले गरेका छन्। तिनै कथाको परिकल्पनालाई चित्रमा उतार्न समर्पित प्रतिभा हुन् साँखुका भुपेन्द्रमान श्रेष्ठ (६९)।
भूपेन्द्रमानको बाल्यकाल अनेक कथा सुनेर बित्यो। काठमाडौँको पौराणिक स्थल मानिने साँखुमा उनलाई अनेक कथाले पच्छ्याए। स्वस्थानी व्रतकथामा वर्णित यो भूमिलाई चित्रमालामा रुपान्तरण गरे। उनले ३६ वटा चित्रावलीसहितको स्वस्थानीको चित्रमाला बनाएका छन्। स्वस्थानीमा पीएचडी गरेकी जेसिका भेन्तिन बिर्केहोल्जले केही हप्ताअघि अमेरिकाबाट ती चित्र मगाइन्। उनको लागि यो हर्षको कुरा थियो। त्यो चित्रमाला उनी हरेक वर्ष साँखुको मेलामा पनि बेच्ने गर्छन्।

बाल्यकालदेखिको रुचिलाई वृद्धावस्थामा पूरा गर्न पाउँदा उनी सन्तुष्ट छन्। आफ्नो कला, सीपको सम्मान भएको मान्छन्। यद्यपि स्वस्थानीको चित्रमाला नै भूपेन्द्रको पहिलो या अन्तिम चित्रकला होइन।
आफूले अक्षर चिन्न थालेदेखि चित्र कोर्न शुरू गरेको उनी बताउँछन्। चित्रकलाबारे कुनै औपचारिक अध्ययन भने गरेका छैनन्। जे जति काम गरेका छन्, ती सबै उनको स्वःअध्ययन र अभ्यास हो। यसलाई उनी ‘ईश्वरको वरदान’ मान्छन्।
बाल्यकालमा राजा महेन्द्र, रानी रत्नराज्यलगायत व्यक्तिको चित्र कोर्ने गर्थे। आफ्ना साथीभाइका चित्र कोरेर दिएको उपहार अझै पनि साँखुका २०–३० घरका भित्तामा झुण्डिरहेको उनी बताउँछन्।
साँखुमा चित्रका ‘कारखाना’
भूपेन्द्रमानका पुर्ख्यौली भने चित्रकार वंशका होइनन्। न चित्र बनाएर जीवन धान्न सक्ने अवस्था छ। चित्र बनाउनु र बेच्नु उनको शौख हो र आफ्नो सन्तुष्टिका लागि यो काम गर्छन्। व्यक्तिगत रूपमा बनाएका चित्रको पैसा लिए पनि सार्वजनिक प्रायोजनको काम पैसा नलिई गर्छन्।
उनले विभिन्न व्यक्तिबाहेक ब्रह्मा, विष्णु, कुमारलगायत देवताका चित्र बनाउने गर्छन्। “मलाई तपाईंको एउटा फोटो ल्याइदिनुभयो भने पेन्सिलले कोरेर स्केच गरेको २–४ सय लिन्छु, रंगिन बनाउँदा थप रकम लिन्छु,” उनी भन्छन्, “रंगिन बनाउँदा रङ तथा समय बढी खर्च हुने कारण हजारभन्दा बढी पर्न जान्छ।”
भूपेन्द्रको कला यतिमा मात्रै सीमित नभएको साँखुका स्थानीय तथा इतिहासकार प्रकाशमान श्रेष्ठ बताउँछन्। साँखुमा सामाजिक तथा धार्मिक कार्यमा पुजिने अष्टमंगललगायतका चित्र उनैले बताउँछन्। पुर्ख्यौली रूपमा चित्र बनाउने पुः (नेपालभाषामा चित्रकार)हरूले यस्ता धार्मिक तथा सामाजिक कार्यका लागि चित्र बनाउन छाडेपछि भूपेन्द्र अन्तिम विकल्प बनेको उनको भनाइ छ।

इतिहासकार श्रेष्ठका अनुसार विवाह, व्रतबन्ध, यज्ञलगायत शुभकार्यमा आवश्यक पर्ने देवीदेवताका चित्र, जंकुमा चाहिने बोसला, सिंहजस्ता चित्र पहिले चित्रकारहरूले बनाउँथे। अहिले पनि बज्रयोगिनीको चित्र लेखनी शास्त्रीय धार्मिक मान्यतासँग जोडिएको कारण चित्रकार समुदायबाहेक अरूले व्याख्या गर्न नमिल्ने श्रेष्ठको भनाइ छ। “यहाँ चित्रकार (पुः) परिवारले ब्रजयोगी, साली नदीका केही विशेष चित्र बनाउनु हुन्छ। त्यो उहाँहरूले बाहेक अन्यले बनाउन मिल्दैन। समय मिलाएर उहाँहरूले गर्नुहुन्छ,” उनी भन्छन्, “यहाँका खाटी चित्रकारहरूले सामाजिक कार्यका लागि पनि चित्र लेख्नु पर्ने थियो तर व्यवसायिक रूपमा अन्य पेसामा लागिसक्नु भएको कारण भ्याउनुहुन्न।”
भूपेन्द्रमानले मणिचुड राजा, नमोबुद्धलगायत चित्र पनि कोर्छन्। धार्मिक तथा सामाजिक कथा बोकेका चित्र २०३०–४० सालतिर लेखपढ गर्न नसक्ने मानिसका लागि धर्मग्रन्थका कथा बुझ्ने माध्यम थिए। लक्ष्मी पूजामा चित्रकारले बनाउने चित्रमा लक्ष्मीले कछुवामाथि टेकेको, छेउमा धनका राजा कुवेर, ख्याकले बोरामा सिक्का र गरगहना बोकेको हुन्छ। यस्ता कुरा मानिसलाई बुझाउन चित्र सबैभन्दा सशक्त माध्यम भएको इतिहासकार श्रेष्ठको भनाइ छ। धर्मग्रन्थमा लेखिएका हजारौँ शब्दभन्दा एउटा चित्रले आममानिसलाई बुझाउन सहयोग गर्ने उनको तर्क छ।
“कोजाग्रत पूर्णिमादेखि नेवारहरूले औँसीसम्म आकाशदीप बाल्छन्। यसमा हरेक रात लक्ष्मीका विभिन्न स्वरूपलाई पुजिन्छ र सोही अनुसारका विभिन्न चित्र चाहिन्छ,” इतिहासकार श्रेष्ठ भन्छन्, “अहिले भारतबाट आउने लक्ष्मीको फोटो फ्रेम राख्ने गरिए पनि नेवार समुदायमा नेपाली कागजमा लक्ष्मीको चित्र हुनैपर्छ।”
मन्दिरका टुँडाल, गूर्जु (नेवार समुदायका पुजारी/गुरु)को घरमा पनि यस्ता चित्रहरू परापूर्वकालदेखि हुने गरेका छन्। भूपेन्द्रमानले नेवारी परम्परामा चाहिने चित्र बनाउँछन्। उनले बनाउने अष्टमंगलको चित्रमा चन्द्र, सूर्य, कलशलगायत आठ वटा मंगल चिन्ह हुन्छन्। “जंकुको बेलामा ३०–३५ अष्ठमंगलका चित्र सजावटको लागि चाहिन्छ। कलशमा समेत देवताका नाम छुट्टै लेख्नु पर्छ,” श्रेष्ठ भन्छन्, “महादेव र पार्वतीलाई शिवशक्ति भनेर लेख्नु पर्छ। गणेश, नाग भनेर धेरै खालको कलश बनाएर बुझाउने काम हुन्छ।”

यसरी काम गर्दा भूपेन्द्रले ४ हजार रुपैयाँसम्म पाएका छन्। आफूले बनाउने चित्र सकेसम्म धार्मिक ग्रन्थकै आधारमा हुने उनको भनाइ छ। एक पटक १० दिक्पालको चित्र बनाउन अनुरोध आउँदा १० दिक्पालबारे स्वःअध्ययन गरेको उनी बताउँछन्। “१० दिक्पालमा ब्रह्मा, शिव, अग्नि, वायुलगायत दिक्पाल पर्ने रहेछ, अध्ययन गरेर सोही अनुसार चित्र लेखेर पठाएँ,” उनले भने।
उनले ब्रजयोगिनीको मणिशैल महापुराण, स्वस्थानीको आधारमा बज्रयोगिनीमा मायासुर आएर शिवलाई लखेटेको चित्रमाला बनाएका छन्। बुद्धका १२ अवतारको पनि चित्र बनाएका छन्। “मैले सुनेअनुसार लगभग ३२ अवतारका बुद्ध छन् तर अध्ययनको क्रममा १२ वटा मात्र भेट्टाएँ। ती सबैको चित्र बनाएको छु।”
उनी प्रायः सिसाकलमले चित्र बनाउँछन् र फाइबर रङ पोत्छन्। पानी पर्दा पनि नपखालिने कारण फाइबर प्रयोग गर्न थालेको उनी बताउँछन्। सिसाकलमले कोरिएका चित्र रंग्याउन पहिला ‘वाटर कलर’ प्रयोग गर्थे।
वयस्कमा छुटेको सौख वृद्धावस्थामा पूरा
भूपेन्द्र अहिले साँखुको इपाटोलस्थित तुँलाछीमा ‘आर्ट फ्रेम’ पसल संचालन गर्छन्। पसल संचालन गरेको दुई दशक हुन लागेको छ। यसअघि उनी काठमाडौँस्थित असनमा ब्याग बनाउने र बेच्ने पसलमा काम गर्थे। “मैले १८ वर्ष काठमाडौँ भोगेको छु,” उनी भन्छन्।
पुर्ख्यौली खेतीकिसानी छाडेर काठमाडौँस्थित असन पुग्नु त्यति बेला बाध्यकारी भएको उनको भनाइ छ। खेतीकिसानी र चित्र बनाएर जीविकोपार्जन सहज नहुने देखेपछि उनी काठमाडौँ शहर हानिएका थिए। आलु र धान उत्पादनमा साँखु कृषिमा अब्बल भए पनि त्यो निर्वाहामुखी मात्र थियो।
“धान, गहुँ, काउली, लसुन, प्याज धेरै खालका खेतीपातीको काम गरेँ तर कुनैमा उपलब्धि भएन,” भूपेन्द्रमान सम्झन्छन्, “काँक्रो रोप्दा लगभग २०० वटा बोट लगाउँथे। राम्रो फलेको बेला दिनको एक डोको बेच्थेँ। तर परिवार चलाउन त्यो सबै पर्याप्त थिएन।”

एक दुई वटा चित्र र अन्नबाली रोपेर घर खर्च नटर्ने भएपछि भूपेन्द्र २०३९ सालमा काठमाडौँ शहर पसे। शहर पसेपछि उनले चित्रकारितालाई बिट मारे। असनमा झण्डै १८ वर्ष बिताएका उनी त्यो समय आफूलाई सुन्दर नलाग्ने बताउँछन्। ३७ वर्षको उमेरमा परिवारसहित असन बस्न पुगेका उनलाई आफ्नो जीविका चलाउन भने त्यो बेलाको कामले सहज भएको थियो।
असनको पसलमा खटाइअनुसार पैसा पाउँथे। जति काम गर्न सक्यो त्यति कमाइ हुने हुँदा फुर्सद नै पाउँदैन थिए। महिनामा पाँचदेखि १० हजार वटा ब्यागको कपडा काटेको उनी सम्झन्छन्।
मरुटोल र यंगल बसेर छोराछोरीलाई पढाइ–लेखाइ गराएर व्यवहार मिलाएपछि उनी २०६० सालमा श्रीमती देकुमायालाई लिएर साँखु नै फर्किए। “मेरो कला र सीपको कारण मलाई मेरो साहुजीले कहिल्यै पनि कामका लागि अन्त जान दिएनन्,” उनी भन्छन्।

१८ वर्षपछि साँखु फर्कंदा के काम गर्ने उनले सोच्न भ्याएकै थिएनन्। उनले फ्रेम तथा पोस्टरको काम शुरू गरे। अनि चित्र बनाउने शोखलाई फेरि ब्युँताए।
हाल भुपेन्द्रमान वैशाख र माघजस्ता जात्राको महिनामा देवीदेवताका चित्र बेच्न ठाँउठाउँ पुग्छन्। अन्य महिना आफ्नो पसलमा बसी मागअनुसार चित्र कोर्छन्।
विशेषतः माघ स्वस्थानी व्रतकथाको महिना भएकाले उनले करिब ३ लाख ५० हजार रुपैयाँको व्यापार भएको बताए। साँखुमा हुने जात्राका महिनामा देवीदेवताको फोटो फ्रेमबाट ३०–४० हजारसम्मको व्यापार गर्छन्। अहिले फ्रेम पसल चलाएर उनी सन्तुष्ट छन्, यसको कारण हो बाल्यकालको सुसुप्त चाहना पूरा गर्ने अवसर।
“छोराबुहारी काठमाडौँ बस्छन्। उनीहरूलाई यो ल्याऊ, त्यो ल्याऊ भन्न मलाई गाह्रो लाग्छ। त्यही भएर बुढाबुढीको लागि आफैँले खर्च जुटाइरहेका छौँ। बुढेसकालमा शरीर अलिकति हलचल पनि गराउनै पर्यो नि,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
