Saturday, April 27, 2024

-->

हुस्सु र चिसोले कष्टकर तराईको जीवन, सुधार हुन्छ कि शीतलहर नै चल्छ?

तराईका जिल्लामा हुस्सु लागेर जाडो बढे पनि शीतलहर छैन। पश्चिमी वायुको प्रभाव रहेकाले सोमबारदेखि वर्षाको सम्भावना छ। वर्षाले जाडो बढे पनि त्यसपछि हुस्सुको प्रभाव घट्न सक्ने मौसमविद् बताउँछन्।

हुस्सु र चिसोले कष्टकर तराईको जीवन सुधार हुन्छ कि शीतलहर नै चल्छ
तस्वीरहरू : किसन पाण्डे

काठमाडौँ– पर्साको छिपरमाही गाउँपालिका हजातति मुखिया (७५) साँझ परेपछि जाडोका कारण अत्तालिन्छन्। उनलाई जाडो छेक्न बाक्लो कम्बल भइदिए हुन्थ्यो भन्ने लाग्छ। तर त्यो त सम्झना मात्र भएको छ। “ओढ्ने राम्रो कपडा छैन। चिसोले रातभर निद्रा लाग्दैन,” उनी भन्छन् “दिनभरि त आगो बालेर निर्वाह हुन्छ। जब साँझ पर्छ, अनि समस्या हुन्छ।”

तराईमा एक हप्तादेखि घाम लागेको छैन। बाक्लो हुस्सुले चुरे पहाडदेखि दक्षिणको समथर भूभागलाई सिरकले जस्तै छोपेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका विभिन्न जिल्लाको तापक्रम ७ देखि ११ डिग्री सेल्सियसबीचमा छ। आइतबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ११.२, भैरहवाको ८.२ र विराटनगरको ७.६ डिग्री सेल्सियस थियो।

तराईका जिल्लामा घाम नलागेर तापक्रम घट्दै गएपछि विपन्न तथा गरिब परिवारमा जाडोले समस्या देखिएको छ। पर्साको छिपरमाहीकै पाना मुखिया (७०) जाडो भगाउन बाक्लो सिरक र कम्बल किन्ने पैसा नभएको बताउँछन्। दुई वर्षअघि गाउँपालिकाले कम्बल दिएको थियो। अहिले उक्त कम्बललाई उनले विस्तारा बनाएका छन्। “जेनतेन चलेको छ। घाम लागेको बेला त समस्या हुन्न, घाम नलागेको बेला सुत्न सक्दिनँ,” उनी भन्छन्।

हजातति मुखिया।


छिपरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार जाडोबाट बचाउनका लागि विभिन्न चोकमा दाउरा वितरण गरिएको बताउँछन्। “हामीले विगत वर्षमा गरिब तथा विपन्न परिवारलाई कम्बलसहित न्यानो कपडा वितरण गरेका थियौँ, यस वर्ष दाउरा वितरण गरेका छौँ,” उनी भन्छन्, “वर्षैपिच्छे कपडा वितरण सम्भव हुन्न। एक पटक दिएका कपडाले तीन वर्ष त चलाउनुपर्‍यो।”

उता, पर्साकै बिन्दवासिनी गाउँपालिका–५ का हरिलाल डोमसहित पाँच परिवारको घर बाँसको भाटाले बेरेर माटो लिपिएको छ। गर्मीको बेला बस्न समस्या नभए पनि जाडोमा सकस हुने हरिलाल बताउँछन्। दैनिक ज्याला मजदुरी गरेर आएको पैसाले बिहान बेलुका छाक टार्न बल्लतल्ल पुगे पनि जाडो छेक्न कपडा किन्न नपुग्ने उनी बताउँछन्।

हरिलाल श्रीमती र तीन छोराछोरीसँग उक्त घरको एउटै कोठामा सुत्छन्। खाना पकाउने ठाउँ घरबाहिरै बनाएको छ। हरिकी श्रीमती चम्पा आफूहरूसँग पर्याप्त कोठा भएको घर बनाउन र जाडो छेक्ने कपडा किन्न पैसा नभएको बताउँछिन्। “काम गरेको पैसाले खान ठिक्क छ। हाम्रो जग्गा जमिन पनि छैन। कसरी कपडा किन्नू!” चम्पाले भनिन्।

पूर्व मात्र नभई पश्चिम तराईतिर पनि हुस्सु लागेको छ। भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम लिएर पुगेका व्यवस्थापक ऋषिराम गौतम सबेरैदेखि बिहान साढे ११ बजेसम्म हुस्सुले झ्याप्पै छोप्ने बताउँछन्। “माथिबाट शीत तपतप चुहिएको जस्तो हुन्छ। चिसो पनि अति हुन्छ। दिउँसो हुस्सु हटे पनि घाम लाग्दैन,” उनले उकालोसँग भने।

गौतमका अनुसार हुस्सु लागेकै कारण शनिबार गण्डकी र लुम्बिनी प्रदेशबीच भएको खेल ८ ओभर घटाएर ४२/४२ ओभरको खेलाइएको थियो। आइतबार भएको गण्डकी र कर्णालीबीचको खेल पनि ४५/४५ ओभरको मात्र भएको थियो।

आइतबारको खेलमा पहिलो इनिङ्ससम्म घाम नै नलागेको गौतमको भनाइ छ। “बिहान हुस्सु लागेको बेला यति अँध्यारो हुन्छ कि तीव्र गतिको बल त खेलाडीले देख्नै मुस्किल हुन्छ,” उनले भने।

छैन शीतलहर
तराईमा एक हप्तादेखि हुस्सुका कारण घाम नलागे पनि शीतलहरको अवस्था नभएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनी बताउँछन्। “अधिकतम औसत तापक्रम ५ डिग्री सेल्सियसभन्दा कम भएको अवस्था शीतलहर हो। अधिकतम तथा न्यूनतम तापक्रमको फरक दुई दिनसम्म ५ डिग्रीभन्दा कम वा दुई दिनसम्म एक किलोमिटरभन्दा कम भिजिबिलिटीको अवस्था पनि शीतलहर हो,” उनी भन्छन्, “त्यस्तो अवस्थामा शीतलहर भएको घोषणा गरिन्छ। अहिले त्यो अवस्था छैन। मौसम खुल्ने अनि हुस्सु लाग्ने क्रम दोहोरिएको छ।” 


सोमबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले वर्षाको सम्भावना रहेको पुडासैनी बताउँछन्। उनका अनुसार यस्तो अवस्थामा हुस्सु लामो समय रहँदैन। 

नेपालमा पहिलो पटक सन् १९९८ मा तराई क्षेत्रमा शीतलहर रेकर्ड गरिएको थियो। त्यतिबेला दिनमा अधिकतम र न्यूनतम तापक्रमबीचको फरक १.३ डिग्री सेल्सियस थियो। लामो शीतलहर चाहिँ सन् २००२ र २००३ मा रेकेर्ड भएको थियो। २००२ मा २६ डिसेम्बरदेखि २७ जनवरीसम्म शीतलहर रेकर्ड गरिएको थियो। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २००१ देखि २०१० सम्म १० वर्षमा २६२ पटक शीतलहर रेकर्ड गरिएको थियो। उक्त अवधिमा ३७६ जनाको मृत्यु भएको थियो। एक हजार ७९३ जना प्रभावित भएका थिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख मेघनाथ धिमाल नेपालमा शीतलहरका कारण प्रतिवर्ष सरदर ४२ जनाको मृत्यु हुने गरेको बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयले यसको रेकर्ड राख्ने गरे पनि धेरै घटनाको रिपोर्टिङ नहुने धिमालको भनाइ छ। 

गृह मन्त्रालयअन्र्तगतको विपद् पोर्टलमा सन् २०१८ देखि शीतलहरका कारण मृत्यु हुनेको संख्या उल्लेख छ। उक्त पोर्टलको विवरणअनुसार २०१८ जनवरीदेखि २०२४ जनवरी १ सम्म ११६ जनाको मृत्यु भएको छ।


सम्बन्धित सामग्री