Saturday, April 27, 2024

-->

अपहरण गरेर बन्धक बनाई बालिकाको बलात्कार, प्रतिवादीले स्वीकारे कसुर

१५ वर्षीया बालिकालाई अपहरण गरेर होटलमा बन्धक बनाई बलात्कार गरेको अभियोगमा काठमाडौँमा व्यवसाय गर्दै आएका सुजन श्रेष्ठविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बिहीबारदेखि थुनछेक बहस जारी छ।

अपहरण गरेर बन्धक बनाई बालिकाको बलात्कार प्रतिवादीले स्वीकारे कसुर

काठमाडौँ– नाबालिगलाई बन्धक बनाएर बलात्कार गरी पैसा दिएर घटना सामसुम पार्न खोज्ने सुजन श्रेष्ठ समेतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। १५ वर्षकी नाबालिग (प्रहरीले दिएको नाम महाराजगञ्ज–३६) लाई बन्धक बनाई बलात्कार गर्ने ३५ वर्षीय सुजन श्रेष्ठको थुनछेक प्रयोजनका लागि न्यायाधीश दिनबन्धु बरालको इजलाशमा बहस जारी छ।  

पीडित पक्षको जाहेरी, बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट, घटनास्थल मुचुल्का र घटनाका मतियारहरूको बयानलाई आधार मान्दा सुजनले १५ वर्षीया बालिका महाराजगञ्ज–३६ लाई बलात्कार गरेको स्पष्ट हुने जिल्ला सरकारी वकिलले बिहीबार दाबी गरे। अभियुक्त श्रेष्ठ स्वयंले पनि महाराजगञ्ज–३६ लाई बलात्कार गरेको बयानमा स्वीकारेका छन्। त्यसैले थुनामा राखेर कारबाही हुनुपर्नेमा विवाद नरहेको सरकार पक्षको दाबी छ। 

दिदीको फोन नउठेको मौका छोपेर बहिनीको अपहरण   
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका सुजन काठमाडौँको पहेँलोपुलस्थित ‘देहेनती डेकोर हाउस प्रालि’का सञ्चालक हुन्। मंसिर २१ गते सुजन र उनका साथी रोहन श्रेष्ठ बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित होटल ‘फरेष्ट भ्यु रिसोर्ट एन्ड नेवारी किचन’मा पुगेका थिए। रोहन काठमाडौँकै गोकर्णेश्वर नगरपालिका–९ गोठाटारस्थित ‘महाजन इन्डस्ट्रिज प्रालि’का प्रबन्धक हुन्। 

त्यसका सञ्चालक राजेश श्रेष्ठसँग सुजन र रोहन दुवैको चिनजान थियो। सुजन उक्त होटलबाट रोहनलाई लिएर अर्का साथी रोमन श्रेष्ठलाई भेट्न स्कर्पियो जिपमा चाबहिलस्थित हाजिपुर रेस्टुरेन्टमा पुगेका थिए। करिब सात वर्षदेखि अस्ट्रेलियामा रहेका रोमन दुई महिनाअघि नेपाल आएका थिए। प्रहरीमा गरिएका कागजहरू केलाउँदा हाजिपुर रेस्टुरेन्टमा जम्मा भएका रोहन, रोमन र अन्य दुई युवकसँगै सुजनले मादक पदार्थ सेवन गरेका थिए। त्यसपछि आफ्नो गाडी हाजिपुरमै राखेर निजी कार मगाई सुजन उनीहरूसँग ठमेलस्थित ‘एलओडी’ पुगेका थिए। 

पीडितकी दिदीले प्रहरी कार्यालयमा दिएको जाहेरी निवेदनको अंश।

क्लबमै रात बिताएका उनीहरूले घर फर्कने क्रममा मंसिर २२ गते बिहान साढे ३ बजेतिर सोह्रखुुट्टे चोकमा महाराजगञ्ज–३६ र अर्की एक युवती उभिइरहेको देखे। महाराजगञ्ज–३६ आफ्नो डेरानजिकै बस्ने चिनजानकी काकीको भदैनीसँग उनको जम्मदिन मनाउन अघिल्लो दिन बेलुकी ५ बजे सोह्रखुट्टे गएकी थिइन्।

त्यहाँको एक रेस्टुरेन्टमा अबेरसम्म जन्मदिन मनाएपछि पीडित बालिकाको नाता पर्ने युवतीले त्यही कार्यक्रममा चिनजान भएकी अर्की युवतीसँगै पठाओ खोजेर घर जान भनेकी थिइन्। पीडित महाराजगञ्ज–३६ र ती युवतीलाई सुनसान सडकमा उभिएको देखेपछि सुजन र उनका साथीहरूले कार रोकेका थिए। उनीहरूले सोधपुछ गर्दा पीडित बालिका र अर्की युवतीले आफूहरू कोठामा जानका लागि पठाओ कुरिरहेको बताए।

सुजनको समूहले आफूहरू पनि उनीहरूको डेरा भएतिरै जान लागेको भन्दै उनीहरूलाई पुर्‍याइदिने प्रस्ताव गर्‍यो। त्यसपछि आफूहरू कारमा साँघुरो गरी बसेको बयान पीडितले दिएकी छन्। त्यसपछि हाजिपुर रेस्टुरेन्ट पुगेर पार्किङ गरेको सुजनको स्करपियोमा सुजन, रोमन, रोहन, महाराजगञ्ज–३६ र अर्की युवती चढेका थिए। दुई युवा भने पहिलेकै कारमा आफ्नो घरतर्फ लागेका थिए। 

केही पर पुगेपछि अर्की युवती गाडीबाट ओर्लेपछि तीन जना युवकका बीच महाराजगञ्ज–३६ एक्लै परेकी थिइन्। त्यही मौका छोपी सुजनले उनीसँग शारीरिक सम्पर्क राख्ने प्रस्ताव गरेका थिए। सुजनले बयानमा भनेका छन्, “गाडीमा सवार भई पीडितसँगै आएकी महिलालाई ओरालेर पीडितलाई उनको डेरातर्फ लाँदै गर्दा म समेतले पीडितसँग शारीरिक सम्पर्क राख्ने सोच बनाई हामीसँग जाने हो भनी सोधी निजलाई ललाई फकाई गरी तिमीलाई भनेजति पैसा दिन्छौँ, हामीसँग हिँड भन्दा निज केही पनि नबोली मौन बसेकी थिइन्।” 

मुख्य प्रतिवादी सुजनले लिखित बयानमा गरेको स्कीकारोक्ति। 

गाडीमै रहेका बेला महाराजगञ्ज–३६ ले दिदीलाई फोन गरेकी थिइन्, तर फोन उठेन। तैपनि आफ्नो डेरा जाने बाटो आएको भन्दै गाडीबाट उत्रिएर लगातार दिदीलाई फोन गरिरहेकी थिइन्। केही पर पुगिसकेका सुजन, रोहन र रोमन गाडी मोडेर पुनः उनी भएको ठाउँमा पुगेका थिए। “सुजन र उनका साथीहरूले गाडी मोडेर पुनः फर्किएपछि घटनाले झन् गम्भीर रूप लिएको देखिन्छ। पीडित बालिकाले आफ्नो दिदीलाई सम्पर्क गर्न नसकिरहेको मौका छोपेर उनलाई अपहरण गरी होटलमा लगेर बलात्कार गर्ने योजना युवकहरूले बनाएको भन्ने बुझिन्छ,” जिल्ला न्यायाधीवक्ता सीताराम अर्यालले भने। 

उनको बुझाइलाई पीडितको कागजले पनि समर्थन गर्छ। “प्रतिवादीहरू उक्त पिकअप गाडी (सुजनको स्करपियो) मा फर्केर आई मलाई ललाई फकाई एकछिन हामीसँग हिँड भन्दा मैले इन्कार गरेपछि निज प्रतिवादीहरूले मलाई जबरजस्ती गाडीमा चढाई बोल्न कराउन समेत नदिई होटल पुर्‍याएका थिए,” उनले गराएको वयान कागजमा उल्लेख छ।  

यो कुरा पनि सुजनले स्वीकारेका छन्। “सडकको किनारामा नै पीडित उभिइरहेको देखेपछि गाडी नजिकै लगेर रोकी म समेतले किन कोठातर्फ नगएकी भनी सोध्दा पीडितले दिदीले फोन नउठाएको भनी बताएकी थिइन्। तत्पश्चात् म समेतले निजलाई हामीसँग हिँड भनी निजलाई ललाई फकाई गाडीमा चढाई चुच्चेपाटी, तिनचुली, जगडोलको बाटो हुँदै चुनिखेलस्थित होटल फरेष्ट भ्यु रिसोर्ट एन्ड नेवारी किचनतर्फ गएका थियौँ।” 

मेडिकल रिपोर्टबाट पनि बलात्कार भएको पुष्टि
दिदीले जाहेरी दिएकै दिन कान्ति बाल अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा पीडितले सोही कुरा दोहोर्‍याएकी थिइन्। चिकित्सकले पनि रिपोर्टमा घटनाबारे संक्षिप्त विवरण उल्लेख गरेका छन्। (हे. रिपोर्ट)। स्वास्थ्य परीक्षण रिपोर्टमा बालिकाको योनीको कन्याजाली च्यातिएको, योनीको दायाँबायाँ चोट लागेको भनिएको छ। 

चिकित्सकले उनलाई मनोसामाजिक परामर्शको आवश्यकता पनि रहेको रिपोर्टमा सुझाएका छन्। “घटनाकै दिन गरिएको मेडिकल परीक्षण रिपोर्टले बालिकामाथि बलात्कार भएको देखाउँछ। यो रिपोर्टलाई कोही कसैले हलुका रूपले लिने स्थिति छैन, “यो रिपोर्ट अध्ययन गरेपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वप्रध्यापक एवं मेडिकोलिगलका विज्ञ डा. हरिहर वस्तीले भने। 

होटल सञ्चालक र अन्य दुई युवा मतियार
महाराजगञ्ज–३६ लाई अपहरण गरेर लगेपछि सुजनले बाटोबाटै होटल सञ्चालक राजेश श्रेष्ठलाई फोन गरेर कोठा मिलाइदिन आग्रह गरेका थिए। राजेशले पनि कोठा मिलाइदिने बाचा गरेपछि पीडितलाई उनीहरूले बिहानको साढे ४ बजे होटलमा पुर्‍याएका थिए। रोहन र रोमन गाडीमै सुत्न गएको पीडितले कागज गर्दा भनेकी छन्। पीडितलाई सुजनले कोठामा लगेपछि आफूहरू गाडीमै सुतेको उनीहरूको बयानमा उल्लेख छ।  

सुजनले आफूलाई टी–टेबल र म्याट्रेस मात्रै भएको होटलको कोठामा पुर्‍याई बलात्कार गरेको बालिकाले बयानमा भनेकी छन्। आफूले बालिकालाई बलात्कार गरेको कुरा सुजनले पनि बयानमा स्वीकारेका छन्। उनले भनेका छन्, “मैले पीडितलाई ललाई फकाई म्याट्रेसमाथि सुत्न लगाई कन्डम लगाई एक पटक करणी गरेको हुँ, कन्डम सोही कोठाको शौचालयको कमोटमा फाली फ्लस गरेको थिएँ।” पीडाले छट्पटिएकी बालिकाले रुँदै आफ्नी दिदीलाई फोन गरेर बोलाइदिन या अस्पताल पुर्‍याइदिन प्रतिवादी सुजनलाई भनेकी थिइन्। 

सुजनले घटनाबारे कसैलाई नभनेमा पैसा दिने प्रलोभन देखाएका थिए। तर बालिकाले सुजनको प्रस्ताव अस्वीकार गरेकी थिइन्। उनले दिदीलाई फोन गर्न खोज्दा प्रतिवादी सुजनले फोन खोसेका थिए। बालिका चिच्याउन थालेपछि उनको फोन भुइँमा फ्याकेर सुजन कोठाबाहिर निस्केका थिए। त्यही मौका छोपी बालिकाले दिदीलाई फोन गरेर घटनाबारे बताउन भ्याएकी थिइन्। 

प्रतिवादी सुजनले बयानमा भनेका छन्, “करणी गरिसकेपछि पीडितले पेट दुखेर पीडा भयो भनी रुन थाली निजको मोबाइलबाट जाहेरवालाई फोन गर्न खोज्दा मैले फोन नगर्नू समेत भनेको थिएँ, निजले जाहेरवालालाई फोन गरी होटलको लोकेसन समेत दिई उक्त रिसोर्टमा आउन भनेकी थिइन्।” 

जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्रमा गरेको सजाय मागदाबी। 

दिदीसँग कुरा हुनासाथ बालिका कोठाबाट भागेर काउन्टरमा पुगेकी थिइन्। तर सुजन र उनका साथीहरूले काउन्टरमै उनलाई बन्धक बनाएका थिए। होटल सञ्चालक राजेशले बयानमा भनेका छन्, “करिब ४/५ मिनेटपछि प्रतिवादी रोहन श्रेष्ठले मलाई फोन सम्पर्क गरी माथि आऊ, लफडा पर्‍यो, बर्बाद भयो भनेपछि म तत्काल रिसोर्टको काउन्टरमा पुग्दा प्रतिवादी सुजन श्रेष्ठ र रोहन श्रेष्ठले पीडितलाई काउन्टरअगाडि टेबलमा राखेर कुराकानी गर्दै थिए। सो समयमा पीडित रुँदै थिइन्।” 

उनीहरूले बालिकालाई ‘घटनाको बारेमा कसैलाई नभन्नू, उजुरबाजुर नगर्नू, तिमीलाई जति पैसा चाहिन्छ हामी दिन्छौँ’ भन्दै मनाउने प्रयास गरिरहेका बेला आफू घटनास्थलमा पुगेको उनकी दिदीले जाहेरीमा भनेकी छन्। त्यसपछि तत्कालै आफूले घटनाबारे खबर गरेपछि प्रहरीले घटनास्थल पुगेर प्रतिवादीलाई पक्राउ गरेको बालिकाकी दिदीले बयानमा बताएकी छन्। 

प्रहरीले प्रतिवादीहरूलाई पक्राउ गर्न ‘जरुरी पक्राउ पुर्जी’ दिएको थियो। सरकारी वकिल कार्यालयले रोहन श्रेष्ठ, रोमन श्रेष्ठ र राजेश श्रेष्ठलाई पनि मतियारका रूपमा प्रतिवादी बनाएको छ। प्रतिवादी राजेश श्रेष्ठले सञ्चालन गरेको रिसोर्टमा पुर्‍याएर बन्धक बनाई प्रतिवादी सुजन श्रेष्ठले पीडितलाई बलात्कार गरेको र पीडितलाई अपहरण शैलीमा लगेर जबरजस्ती करणी गर्न सहयोग पुर्‍याएको भन्दै उनीहरूलाई अपराधको मतियारका रूपमा प्रतिवादी बनाइएको कार्यालयले जनाएको छ। 

सरकारी वकिल कार्यालयको माग दाबी 
जिल्ला सरकारी वकिल कार्यालयले मुख्य प्रतिवादी सुजन श्रेष्ठको हकमा अपहरण तथा शरीर बन्धकको कसुर र जबरजस्ती करणीको कसुरसमेत गरेर एकीकृत कसुरबमोजिम सजाय र जरिबानाको मागदाबी लिएको छ। त्यस्तै, मुख्य प्रतिवादी सुजनलाई बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनबाट २०७९ चैत १४ गतेको फैसलाअनुसार एक दिन कैद भएको मिसिल संलग्न कागजातबाट देखिएको भन्दै थप सजायको मागदाबीसमेत लिइएको छ। उनीउपर थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने सरकारी वकिल कार्यालयको माग छ।  

अन्य तीनजना प्रतिवादीहरू (रोमन, रोहन र राजेश) ले शरीर बन्धक तथा अपहरण र जबरजस्ती करणी गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई पनि थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने मागदाबी अभियोगपत्रमा छ। बिहीबार भएको थुनछेक बहसमा पनि जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले चार जना प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने जिकिर गरेका थिए। शुक्रबार थुनछेक बहस सकिएपछि अदालतले प्रतिवादीहरूलाई थुनामै राख्ने कि धरौटी या साधारण तारेखमा छोड्ने भन्नेबारे आदेश दिनेछ।


सम्बन्धित सामग्री