थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकमा दुई समलिंगी पुरूषको प्रेमसम्बन्ध देखाइएको छ। यो नाटक 'एभरेष्ट फिल्म एकेडेमी'का विद्यार्थीहरूले तयार पारेका हुन्।
काठमाडौँ– अँध्यारो कोठा। नाटकको पर्दापछाडि काम गर्नेहरू ‘फोर्थ वाल’भित्र यताउता दौडिरहेका छन्। अपरान्ह ४ बजेतिर मण्डला थिएटर पुग्दा कुन सामान कता राख्ने, कसरी राख्ने भन्नेबारे 'रिहर्सल'मा व्यस्त थिए उनीहरू।
नेपथ्यबाट बोल्ने उद्घोषक खाली र अँध्यारो हलतिर हेर्दै 'गला सफा' गरिरहेका थिए। दर्शक नै नभएको हलमा उनी एकनाशले चिच्याइरहेका सुनिन्थे, "हामीलाई माया गरेर नाटकघरसम्म आइदिनुभएकोमा धन्यवाद!"
प्रकाश संयोजक, रङ संयोजक तथा ध्वनि संयोजकहरू दर्शकदीर्घाभन्दा माथि बसेर यी प्रविधिको तालमेल मिलाइरहेका थिए।
त्यही माहोलमा नाटकका निर्देशक सन्तोष विष्टले अँध्यारो कोठा हुँदै एक साँघुरो कुनामा लगे।
धिपधिपे उज्यालोमा नाटकका कलाकारहरू 'मेकअप' गरिरहेका भेटिए। त्यहाँको प्रकाशले नधानेर केही कलाकार मोबाइलको 'फ्ल्यास'बाट उज्यालो बनाउने कोशिस गर्दै थिए।

तेस्रो दिनको मञ्चनसम्म आइपुग्दा पनि कलाकारको अनुहारबाट 'नर्भसनेस' हटेको थिएन। दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् भन्ने मुहारभाव उनीहरूमा स्पष्ट देख्न सकिन्थ्यो।
'एभरेष्ट फिल्म एकेडेमी'का विद्यार्थीले तयार पारेको नाटकमा लेखन, निर्देशनदेखि 'सेट डिजाइन'सम्मका सबै काम विद्यार्थीहरूले नै गरेका छन्। अनि अभिनयमा पनि उनीहरू नै उत्रिएका छन्।
पहिलोपटक मञ्चमा उभिएर अभिनय गर्दा आत्मविश्वास उकास्ने संघर्ष जारी रहनु स्वाभाविक पनि हो।
मेकअप नसकिँदै पहिलो घण्टी बज्यो। कलाकारहरू हतारहतार टुंग्याएर खाजा खान गए। त्यतिञ्जेल फिल्म हेर्ने दर्शकहरू नाटकघरको अँध्यारो कोठामा छिर्न लाइन बसिसकेका थिए।
अन्तिम घण्टी बज्यो। सबै कलाकार तम्तयार भए अनि नाटक शुरू भयो।

आफैँभित्र हराइरहेको मानवको खोजी गर्ने नाटक हो 'मानिस हराएको सूचना'।
थापागाउँस्थित मण्डला थिएटरमा मञ्चनरत नाटकमा दुई समलिंगी पुरूषको प्रेमसम्बन्ध देखाइएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रका समलिंगी पुरूष अर्थात् 'गे' पात्रले आफू परिवार र समाजका कारण भित्रभित्रै हराउँदाको पीडालाई नाटकमा अभिव्यक्त गरेका छन्।
अमित गिरीले लेखेको नाटकलाई गिरी र सन्तोष विष्टले संयुक्तरूपमा निर्देशन गरेका छन्।
हालै सर्वोच्च अदालतले विवाह दर्ताको अस्थायी अभिलेख राखिने गरी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विवाहलाई मान्यता दिएको छ। माया र सुरेन्द्र नामका समलिंगी जोडीले त अदालतको सोही आदेशअनुसार लमजुङको दोर्दी गाउँपालिकामा विवाह दर्तासमेत गरिसकेका छन्।
फिल्म पढ्ने विद्यार्थीहरूको पहिलो नाटक हो यो। कतिपय कमीकमजोरीका बीच नाटकले सामाजिक कथा भनेको छ।
मंसिर १५ देखि चलिरहेको नाटक ‘मानिस हराएको सूचना’ २४ गतेसम्म सोमबार बाहेकका दिन साँझ पाँच बजे हेर्न सकिन्छ।
नाटकमा सविन राई, सोनिका शाही ठकुरी, रोमस राय ठकुरी, स्नेहा जोशी, साइमन थापा, दीपक कोइराला लगायतका १३ जना कलाकारहरूले अभिनय गरेका छन्।
थप कथा तस्वीरमा हेर्न स्लाइड थिच्नुहोस्:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
