प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बीई, बीआर्क) तहको प्रवेश परीक्षामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थी भने बढेका छन्।
अध्ययन संस्थानभित्र विद्यार्थी संगठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामा समेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष २०८०–८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ। बोर्डले शुरूमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो।
ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबीबीएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले इन्जिनियरिङ विषयमा अन्य विश्वविद्यालयमा भर्ना गरेकाले त्रिविको प्रवेश परीक्षामा २० प्रतिशत विद्यार्थी सहभागी भएनन्। विवादका कारण गत असोज १६ गते बोर्डका सबै पदाधिकारीले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगन भएको थियो। वार्ता र सहमतिपछि परीक्षा सञ्चालन भएको थियो।
अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा आठ हजार विद्यार्थीले मात्रै परीक्षामा भाग लिएका छन्। गत वर्ष नौ हजार ४०० जनाले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित भएका थिए।
संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सूचना प्रविधिका आधारमा यस वर्ष पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिक रूपमा पनि परीक्षा सञ्चालन गरिएको छ।
त्रिविका सरकारी र निजी गरी १५ कलेजमा चार हजार ३४४ विद्यार्थीले इन्जिनियरिङमा उक्त तहमा पढ्नसक्ने क्षमता रहेको छ। त्यसमा पाँच सरकारी (आंगिक) क्याम्पसमा ६०० विद्यार्थीले पढ्न पाउँछन्। निजी (सम्बन्धन प्राप्त)मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन्। शुल्क तिरेर पढ्ने एक हजार ४०० विद्यार्थी हुन्छन्।
प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो।
तत्पश्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिएका छन्। ती क्याम्पसका लागि पहिलो चरणको योग्यता सूची पठाइएको र केही दिनमा भर्ना लिइने डा. बज्राचार्यले जानकारी दिए। बोर्डले तोकेअनुसार न्यूनतम अंकभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रमअनुसार भर्ना लिइनेछ।
पुलचोक इन्जिनियरिङ क्याम्पसका केमिकल इन्जिनियरिङ विभागका प्रमुख प्रा.डा. हेमराज पन्तले पनि परीक्षाको मिति सर्नु र चिकित्सा शिक्षाको परीक्षासँग मिति जुध्नुले सहभागी संख्या केही घटेको बताए।
उक्त क्याम्पसका प्राध्यापक संघका सभापति डा. पन्तका विचारमा नेपालमा अन्य विश्वविद्यालय र त्रिविकै पनि अरू अध्ययन संस्थान र संकायमध्ये इन्जिनियरिङ अध्ययन संस्थान अग्रणी स्थानमा रहेको छ।
पुलचोक क्याम्पसका उपप्राध्यापक बाबुराम दवाडीको एक अध्ययनमा अनुसन्धानात्मक गतिविधिमा स्रोत साधनको कमी भए पनि पूर्णतया योग्यताक्रम (मेरिट) का आधारमा पारदर्शी रूपमा भर्ना लिइनु, परीक्षाका गतिविधिमा सूचना र प्रविधिको प्रयोग हुनु आदि कारणले त्रिविको इन्जिनियरिङ शिक्षामा गुणस्तर कायम रहेको र संस्थानको भावी रणनीति कार्यान्वयन भएमा अझै सुधार हुने अपेक्षा व्यक्त गरिएको छ।
त्रिविका पाँच अध्ययन संस्थानमध्ये इन्जिनियरिङ अध्ययन संस्थान एक मानिन्छ। यसको स्थापना मुलुकमा नयाँ शिक्षा योजनासँगै २०२९ सालमा भएको हो।
स्थापनाकालमा यसले राष्ट्रिय आवश्यकताअनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इन्जिनियर उत्पादन, विभिन्न तहका जनशक्तिलाई तालिम र देशको इन्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि एवं अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने मुख्य उद्देश्य राखेको थियो।
हाल इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस, पुलचोक, थापाथली क्याम्पस पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखरा छन्। उच्च शिक्षामा निजी तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्यअनुरूप इन्जिनियरिङ शिक्षा प्रदान गर्न त्रिविबाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेज यस संस्थानअन्तर्गत सञ्चालनमा छन्।
त्रिविका अतिरिक्त काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, लुम्बिनी–बौद्ध विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्नसक्ने क्षमता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
