क्यानले आधिकारिक फ्रेन्चाइज लिगका नाममा आयोजना गरेको नेपाल टी२० लिग पहिलो संस्करणमै विवादित भयो। अन्य तीन वटा लिग पनि पुरानै स्वरूपमा खेलाउन रोकिएपछि नेपाली क्रिकेट लिगबिहीन हुने अवस्थामा छ।
काठमाडौँ- सबै कुरा ठीकठाक चल्थ्यो भने, एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पाँचौँ संस्करण २०७९ मंसिर दोस्रो साता सम्पन्न भइसकेको हुन्थ्यो। नेपाल क्रिकेट संघ (क्यान) आफैँले २६ कात्तिकदेखि १० मंसिरसम्म प्रतियोगिता आयोजना गर्ने अधिकार दिएको थियो। आयोजक ईपीएल प्रालीले तयारी थाल्दै गर्दा क्यानले आफ्नै फ्रेन्चाइज लिग घोषणा गर्यो। त्यसपछि क्यानले अन्य तीन वटा लिगलाई क्षेत्रीयस्तरमा आयोजना गर्ने विकल्प दिएपछि त्यसमध्येको एक ईपीएलले अस्वीकार गर्यो।
क्यानको निर्णयविरुद्ध ईपीएल सर्वोच्च अदालत पुगेको थियो। यद्यपि, क्यानकै आग्रहमा अहिले मुद्दा फिर्ता लिएको छ। तर, क्यानका कारण रोकिएका ईपीएलसहित धनगढी प्रिमियर लिग (डीपीएल), पोखरा प्रिमियर लिग (पीपीएल) कुन स्वरूपमा खेलाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०७३ सालमा क्यानलाई निलम्बन गरेपछि घरेलु क्रिकेटमा तीन वटा फ्रेन्चाइज लिगको जन्म भएका थिए। ६ वर्षसम्म क्यान निलम्बनमा हुँदा निजी क्षेत्रले शुरूआत गरेको डीपीएल, पीपीएल र ईपीएलले नेपाली क्रिकेटलाई चलायमान बनाएका थिए।
करिब एक वर्षअघि आईसीसीको निलम्बन फुकुवापछि क्यान आफैँले नेपाल टी–२० लिग शुरूआत गर्यो। लामो समयदेखि आयोजना भइरहेका अन्य लिग नेपाल टी–२० को समानान्तर भएको भन्दै क्यानले राष्ट्रिय लिगको रूपमा आयोजना गर्न नदिने घोषणा गर्यो।
क्यानले नेपाल टी–२० लिग आयोजना गरे पनि पहिलो संस्करण नै विवादित बन्यो। भारतीय कम्पनीसँगको सम्झौता, स्पट फिक्सिङ र पारिश्रमिकलगायत विषयमा गिजोलिएको लिग अब हुन्छ या हुँदैन निश्चित छैन। अन्य लिगको भविष्य पनि अन्योल भएपछि क्यान झस्किएको छ।
ईपीएल अध्यक्ष आमिर अख्तरलाई मुद्दा फिर्ता लिन लगाएर क्यानले पुनः काठमाडौँमा फ्रेन्चाइज लिग आयोजना गर्ने अधिकार दिएको छ। यसले धनगढी र पोखरालाई आधार बनाएर आयोजना भइरहेका डीपीएल र पीपीएललाई समेत आयोजनाको बाटो खुलाइदिएको छ। तर, क्षेत्रीय स्वरूपमा जान नमानेका फ्रेन्चाइज लिग अब कुन स्वरूपमा खेलाउने भनेर टुंगो लाग्नै बाँकी रहेको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।
“मुद्दा फिर्ता लिएर सहजीकरण गर्न भनेका थियौँ। उहाँले (आमिर अख्तरले) मुद्दा फिर्ता लिनुभएको छ। तर, ईपीएल कुन मोडालिटीमा कसरी गर्ने भन्ने टुंगो लागेको छैन,” अध्यक्ष चन्द भन्छन्।
मुद्दा फिर्ता भएपछि क्यानले ईपीएललाई प्रतियोगिता सञ्चालन गर्ने अनुमति पत्र दिइसकेको छ। “नेपाली क्रिकेटको हित र खेलाडीको विकासका लागि सबै सम्भावनाको ढोका खुला राखेका छौँ। त्यसैअनुसार उहाँहरू (ईपीएल आयोजक) हामीसँग सहमतिमा आउनुभयो। तर, फ्रेन्चाइज लिगलाई कस्तो मान्यता दिने, खेलाडीको पेमेन्ट, विदेशी खेलाडीलगायत विषयमा छलफल गर्न बाँकी छ। यसबारे छिट्टै टुंगो लगाउछौँ,” उनी भन्छन्।
अझै अन्योल
ईपीएल अध्यक्ष अख्तर क्यानले नेपाल टी२० लिग आयोजनाको अधिकार दिएको सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णय गरेपछि ईपीएल पहिलैकै शैलीमा आयोजना गर्ने पत्र क्यानबाट पाएको दाबी गर्छन्। त्यही सहमतिको आधारमा आफूहरूले मुद्दा फिर्ता लिएको पनि उनको दाबी छ। यससँगै पहिलाकै स्वरूपमा लिग आयोजना गर्ने तयारीसमेत थालेको उनको भनाइ छ।
गत वर्षको विजेता चितवन टाइगर्सबाहेक विराटनगर वारियर्स, भैरहवा ग्याडियटर्स, काठमाडौँ किङ्स इलाभेन, ललितपुर प्याट्रियार्क र पोखरा राइनोजले पाँचौँ संस्करणको ईपीएलको तयारी थालिसकेका छन्। चितवनले भने आयोजकसँग आर्थिक कारोबार नमिलेको कारण अर्को संस्करण खेल्ने नखेल्ने टुंगो नलागेको टिम सम्बद्ध स्रोतले बताएको छ।
उता, पीपीएल र डीपीएल आयोजनाबारे भने अझै टुंगो लागेको छैन। पीपीएल आयोजकमध्येका एक छुम्बी लामा क्यानका केन्द्रीय सदस्य पनि हुन्। बोर्ड बैठकबिना नै व्यक्ति पोस्न ईपीएललाई पत्र पठाएर क्यान स्वार्थअनुकूल चल्न खोजेको उनको आरोप छ। पीपीएल आयोजनाका लागि आफूहरूलाई क्यानले अहिलेसम्म कुनै पत्र नपठाएको उनको भनाइ छ।
“आईसीसीको निलम्बनमा रहेको बेला ईपीएलले झैँ पीपीएल र डीपीएल दुवैले नेपाली क्रिकेटलाई माथि उठाउन सहयोग गरेका हुन्, यसलाई क्यानले स्वीकार गर्नुपर्छ। क्यानले व्यक्तिका पक्षमा निर्णय गर्न हुँदैन, सबैको लागि समान निर्णय गर्नुपर्छ,” उनी भन्छन्।
जोरा स्पोर्ट्स म्यानेजमेन्टले २०७० चैत २७ गते थालेको ईपीएलको पहिलो संस्करणमा खेलाडीको पारिश्रमिकलगायत विषयमा विवाद भएको थियो। ईपीएलसँगको लामो विवादपछि लामा, पारस खड्का र ज्ञानेन्द्र मल्लसहितले २०७५ कात्तिक ९ गतेदेखि पोखरामा ६ टोली सम्मिलित पीपीएल थालेका थिए। सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालित पीपीएलको दोस्रो संस्करण २०७६ पुसमा भएको थियो। अर्को संस्करणको पीपीएल आयोजनाको तयारी गर्दागर्दै कोरोना महामारीका कारण सम्भव नभएको लामा बताउँछन्।
कोरोना महामारी साम्य भएपछि क्यानले झिकेको बखेडाका कारण आफूहरू अलमलमा परेको लामाको भनाइ छ। पैसा कमाउनको लागि पीपीएल आयोजना नगरेको जिकिर गर्दै आफूहरूले क्रिकेट विकासका लागि योगदान गरेको उनी दाबी गर्छन्। त्यसैले क्यानले नेपाल टी–२० लिगलाई आफ्नो आधिकारिक प्रतियोगिता बनाएर पीपीएललाई कार्यविधिमार्फत क्षेत्रीय, मोफसल या प्रदेश मोडलमा आयोजना गर्ने अधिकार दियो भने पनि आफूहरूलाई मान्य हुने उनी बताउँछन्।
“एउटा लिगलाई मात्रै होइन, क्यानले स्पष्ट कार्यविधि बनाएर सबै फ्रेन्चाइज लिगलाई समान व्यवहार गर्नुपर्छ। विदेशी खेलाडी अनुबन्ध, पारिश्रमिक, टेक्निकल कुराको अनुगमन गर्नुपर्छ। रोयल्टीसमेत लिएर आयोजना गर्न दिन्छ भने पनि स्वीकार छ, हामीलाई जुनसुकै मोडलमा जान आपत्ति छैन,” उनी भन्छन्।
ईपीएललाई मात्र राष्ट्रिय लिगको मान्यता दिएर आयोजना गर्न दिए आफूहरूलाई मान्य नहुने उनले बताए। “एक लिगले क्यानलाई मुद्दा हाल्ने, अनि उसैलाई मात्र आयोजना गर्न दिने। अर्को लिगले फेरि क्यानलाई मुद्दा हाल्ने, यस्तो काम भयो भने नेपाली क्रिकेट नै धराशायी हुन्छ। व्यक्तिअनुकूल चले भोलिका दिनमा संस्था र (आमिर) अख्तर दुवैलाई गाह्रो बनाउँछ। त्यसैले क्यानले कार्यविधि बनाएर सबैलाई उत्तिकै आँखाले हेर्नुपर्यो,” उनी भन्छन्।
खेलाडी उत्पादन र राष्ट्रिय टोली निर्माण गर्न फ्रेन्चाइज लिगहरूलाई महत्त्वपूर्ण मानिन्छ। यसले खेलाडीको आर्थिक स्थितिसमेत उकास्छ। तर, धेरै फ्रेन्चाइज लिग हुँदा आफ्नो लिगको आयमा कटौती हुने जोखिम रहेको र भविष्यमा अन्य लिगलाई टिक्न गाह्रो देखिएको क्यानको तर्क छ। त्यसैले निजी लिगलाई निश्चित दायरमा ल्याएर मात्र आयोजना अधिकार दिने तयारी रहेको क्यानका एक पदाधिकारी बताउँछन्।
पीपीएलका लामा भने क्यानले क्रिकेट लिग नै नबुझेको तर्क गर्छन्। अहिले देश संघीयमा गएसँगै सातै प्रदेशमा लिग गराउन सकिने उनको भनाइ छ। “काठमाडौँमा मात्रै लिग सीमित हुनुपर्छ भन्ने छैन। डीपीएलको क्रेज धनगढीमा छ, पीपीएलको पोखरामा छ। अहिले प्रदेश सरकार छन्, नगरपालिका छन्। १५/२० वटा लिग पनि गराउन सम्भव छ। यसरी लिग भए पो खेलाडी उत्पादन हुन्छ र ‘एक्पोजर’ मिल्छ,” उनी भन्छन्।
डीपीएल आयोजक सुवास शाही पनि लिगको संख्या धेरै हुँदा खेलाडीलाई फाइदा पुग्ने बताउँछन्। यसका लागि धनगढी क्रिकेट एकेडेमीले डीपीएलको पहिलो संस्करणदेखि नै स्थानीय युवालाई ‘एक्सपोजर’ दिने गरी सञ्चालन गरिरहेको उनी बताउँछन्। यसपटक समेत सोही लक्ष्य लिएर आफूहरू प्रतियोगिता गर्न कस्सिए पनि क्यानले लामो समयसम्म चल्ने गरी लिगको मोडल बनाएर स्पष्ट पार्न नसकेको उनी गुनासो गर्छन्।
“प्रतियोगिता जति धेरै हुन्छ, उति धेरै खेलाडी उत्पादन हुन्छ। यसले देशमा क्रिकेटको माहोल बढाउँछ। तर, पहिला क्यानले स्पष्ट पार्दिनुपर्यो। लिग दीर्घकालसम्म चलाउन सक्ने वातावरण निर्माण गर्दियो भने सबैले लगानी गर्छन्। तर, अहिले क्यानले त्यो पहल गर्न सकेको छैन,” उनी भन्छन्।
क्यानका कार्यवाहक सचिव दुर्गा पाठक क्यानले कहिले पनि फ्रेन्चाइज लिगलाई नरोकेको जिकिर गर्छन्। आगामी दिनमा क्यान आफैँले फ्रेन्चाइज लिग आयोजना गर्ने उनले बताए। क्यानले आयोजना गर्नेबाहेकका लिग कस्तो मोडलमा गराउने भनेर केन्द्रीय कार्यसमितिले टुंगो लगाउन बाँकी रहेको उनको भनाइ छ।
“केन्द्रीय कार्यसमिति बैठक हुन्छ। उक्त बैठकमा सबैलाई बोलाउछौँ। ईपीएल आयोजकलाई पनि त्यही भनेका छौँ। यस बैठकमार्फत कुन र कस्तो मोडलमा आयोजना गर्ने भनेर टुंगो लगाउँछौँ,” उनले भने।
तर, केन्द्रीय समितिको बैठक भने कहिले बस्छ, यसबारे अहिलेसम्म टुंगो नलागेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
