चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयातको करिब ७०.९७ प्रतिशत अर्थात् चार लाख ५५ हजार ८९८ वटा स्मार्टफोन उत्तरी छिमेकी देश चीनबाट आयात भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकमा नेपालले ६ लाख ४२ हजार ४१५ थान स्मार्टफोन आयात गरेको छ। साउन, भदौ र असोज गरी ३ महिनामा उक्त परिमाणमा स्मार्टफोन आयात गर्दा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँ विदेशिएको छ।
भन्सार विभागले दशैँलगत्तै जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वस्तु आयातसम्बन्धी तथ्यांकमा यस्तो आँकडा सार्वजनिक भएको हो। चाडबाडको मुखमा पर्ने आर्थिक वर्षको शुरूका यी महिनाहरूमा बजारमा किनबेच बढेको बेला स्मार्टफोनको बिक्री पनि बढ्ने गरेको अघिल्लो वर्षको तथ्यांकले पनि देखाउँछ।
गत आर्थिक वर्ष २०७९/८० मा वर्षभरि नेपाल भित्रिएको कुल स्मार्टफोनको ३५ प्रतिशत हिस्सा पहिलो तीन महिनामै आयात भएको थियो। भन्सार विभागका अनुसार गत वर्षका तीन महिनामा आठ अर्ब ५३ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख १८ हजार ५८० थान स्मार्टफोन नेपालले आयात गरेको थियो। यस वर्ष आयातित स्मार्टफोन पोहोरभन्दा करिब चार प्रतिशतले बढी हो भने यसको आयातमा बिदेसिएको रकम करिब साढे ९ प्रतिशतले बढी छ।
सबभन्दा बढी स्मार्टफोन चीनबाट आयात हुने गरेको देखिएको छ। त्यसपछि नेपालले स्मार्टफोन खरिद गर्ने दोस्रो देश भारत हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल आयातको करिब ७०.९७ प्रतिशत अर्थात् चार लाख ५५ हजार ८९८ वटा स्मार्टफोन चीनबाट आयात भएको छ। त्यस्तै, भारतबाट एक लाख ८५ हजार २०८ थान अर्थात् करिब २९ प्रतिशत स्मार्टफोन यस अवधिमा आयात भएको छ।
आयातको तथ्यांकमा देखिएकामध्ये एक हजार ३०९ वटा स्मार्टफोन व्यावसायिक आयातभन्दा विदेशबाट आएका व्यक्तिले ल्याएका मोबाइल हुन्। चीन र भारतबाहेक अरू देशबाट व्यावसायिक रूपमा स्मार्ट मोबाइल फोन आयात भएको तथ्यांकमा देखिँदैन।
तीन महिनाको कुल आयातको करिब ९९.८ प्रतिशत स्मार्टफोन चीन र भारतबाट आएको छ भने बाँकी ०.२ प्रतिशत मोबाइल यस बाहेकका ३८ देशहरूबाट आएका छन्। मुख्य दुई देशबाहेक भियतनामबाट ३७३ वटा, जपानबाट २०५ वटा, अमेरिकाबाट १८१, युएईबाट १२२ र कुवेतबाट १०२ वटा स्मार्टफोन आयात भएको तथ्यांकमा उल्लेख छ।

यी बाहेकका देशबाट भएको आयातित संख्या तीन अंकमा पनि छैनन्। एकदेखि नौ वटासम्म मोबाइल आयात भएका देश २७ वटा छन्। यो विदेशबाट आउनेले व्यक्तिगत रूपमा ल्याएका मोबाइलको संख्या भएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए।
गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो एउटाबाहेक थप एक थान मोबाइल ल्याएमा कुनै पनि महसुल नलाग्ने निर्णय गरेको थियो। भन्सार विभागका अनुसार यसबाहेक विदेशबाट फर्किने अन्य नेपाली नागरिकलाई यस्तो छुट छैन।
नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) कार्यान्वयनमा ल्याएको र उक्त प्रणालीमा समावेश नभएको मोबाइल फोन सञ्चालन हुन नसक्ने जनाउँदै विभागले वैशाख २९ गते सूचना जारी गरेको थियो।
गत जेठ १५ गते जारी भएको आर्थिक ऐनमा उक्त मितिसम्म नेपालमा प्रयोगमा रहेका तर ‘एमडीएमएस’मा दर्ता हुन नसकेका मोबाइल फोन प्रयोगकर्ताले असार मसान्तसम्ममा निर्धारित राजस्व बुझाएर अनलाइन प्रणालीबाट दर्ता गर्न सक्ने व्यवस्था मिलाएको थियो। त्यसयता सर्वसाधारणले विदेशबाट फर्किंदा ल्याउने मोबाइल भन्सारमा प्रज्ञापनपत्र भरेर राजस्व तिरेपछि मात्र ल्याउन पाउने भएपछि विभिन्न देशबाट फुटकर मोबाइल आयात भएको तथ्यांक देखिएको हो। १० वटा देशबाट त एक/एक वटा मात्र मोबाइल आयातको तथ्यांक पनि छ।
गत वर्षभरि नेपालले २४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ बराबरको १५ लाख ६९ हजार ५९६ थान स्मार्टफोन आयात गरेको थियो। त्यसबाट ४ अर्ब ५५ करोड २ लाख रुपैयाँ राजस्व आम्दानी भएको भन्सार विभागको अभिलेख छ।
गत आर्थिक वर्षभरको आयातको तुलनामा ४१ प्रतिशत स्मार्टफोन यस वर्ष असोजसम्ममा भित्रिएको तथ्यांकले देखाएको छ। यसैसँग मिल्दोजुल्दो अघिल्लो वर्षको तथ्यांकको अनुपातमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा १८ लाख ३५ हजार ४७१ थान स्मार्टफोन आयात हुने अनुमानित प्रक्षेपण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
