Saturday, May 11, 2024

-->

कार्यस्थलमा डिजिटल प्रविधिको प्रयोग: आँखामा पर्दै असर

कार्यस्थलमा कम्प्युटर, ल्यापटप र मोबाइलजस्ता डिजिटल उपकरणमा लगातार काम गर्नेहरूको आँखाको समस्या बढ्दै गएपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन्।

कार्यस्थलमा डिजिटल प्रविधिको प्रयोग आँखामा पर्दै असर

काठमाडौँ– काठमाडौँ कपुरधाराकी रमिला सापकोटा एक वर्षअघि एउटा सामाजिक संस्थामा काम गर्थिन्। उनलाई अनुसन्धानसम्बन्धी कामको जिम्मेवारी दिइएको थियो। ड्युटीको समयभर कम्प्युटरको स्क्रिन बस्नुपर्थ्यो। लामो समय स्क्रिनअघि बसेर काम गर्दा उनको आँखा रातो हुने र बिझाउने समस्या देखियो। “जहिले दैनिक सात घण्टासम्म कम्प्युटरमा काम गर्नुपर्ने अवस्था थियो,” उनी भन्छिन्, “काम गर्दागर्दै आँखा रातो हुने, बिझाउने समस्या आयो।”

आँखा पोल्ने र बिझाउने समस्याले सताएर परीक्षण गर्दा आँखा सुख्खा भएको पहिचान भयो। चिकित्सकले बिनासावधानी लामो समय स्क्रिनअघि बसेर काम गर्दा आँखामा यस्तो समस्या देखिएको सुनाएको उनको भनाइ छ।

गोंगबुका ५० वर्षीय राम वाग्ले विगत तीन वर्षदेखि स्थानीय पसलमा लेखापालको रूपमा कार्यरत छन्। उनी हरेक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म करिब १० घण्टा काम गर्छन्। तथ्यांक राख्ने र अन्य काम गर्दा कम्प्युटर स्क्रिनमा लामो समय बिताउनुपर्थ्यो कम्प्युटरमा काम गर्दागर्दै नजिकको दृष्टि नै कमजोर भएको उनले अनुभव गरे। “लगभग दुई वर्ष कम्प्युटरमा काम गरेपछि नजिकको अक्षर देख्न र पढ्न गाह्रो भयो। टाउको पनि दुख्यो। अति भएपछि चिकित्सककहाँ जँचाउन गएँ,” उनले भने, “नजिक पढ्न पावर भएको चस्मा लगाउनुपर्ने अवस्था आयो। सायद, बैलैमा सचेत भएको भए चस्मा लगाउनुपर्ने थिएन।”

पानीपोखरीकी २० वर्षीया ललिता शेर्पा ६ महिना अघिसम्म एउटा मिडिया हाउसमा काम गर्थिन्। उनीले त्यहाँ कार्यक्रम संयोजकको रूपमा करिब एक वर्ष बिताइन्। कार्यक्रम उत्पादनका क्रममा उनी दैनिक ७ घण्टासम्म कम्प्युटर स्क्रिनअघि बसेर काम गर्नुपर्थ्यो।

“लामो समयसम्म कम्प्युटरको स्क्रिनमा काम गर्दा आँखाको सेतो भाग रातो हुन्थ्यो। बेलुकातिर रातोपन आफैँ हराउँथ्यो। मैले त्यतिबेला बेवास्ता गरेँ,” उनले भनिन्, “एक महिनापछि त्यही समस्या बल्झियो। जाँच गर्दा आँखाको नानीमा आँसु कम भएर सुख्खा भएको थाहा भयो।”

बुढानीलकण्ठकी २० वर्षीया शर्मिला पौडेल एक कपडा स्टोरमा सामाजिक सञ्जाल चलाउनेका साथै लेखापालका रूपमा काम गर्छिन्। स्क्रिनमा बढी समय बिताउनुपर्दा नजिकको दृष्टि पहिलेभन्दा कमजोर भएको उनको अनुभव छ।

“बच्चै बेलादेखि मेरो आँखा कमजोर थियो। चस्मा लगाउँथे। अहिले लामो समयसम्म कम्प्युटरको स्क्रिनमा काम गर्दा नजिकको दृष्टि झनै कमजोर भएर केही दिनअघि चस्मामा पावर थपेर आएँ,” उनी भन्छिन्।

आँखाको समस्या लिएर अस्पताल पुग्ने रमिला, राम, ललिता, शर्मिला प्रतिनिधिमूलक पात्र हुन्। अधिकांश कार्यालयमा कम्प्युटर, मोबाइल, ल्यापटपअघि बसेर काम गर्नुपर्ने हुन्छ। यस्तो काम गर्नेहरूमा आँखासम्बन्धी समस्या बढ्न थालेको चिकित्सक बताउँछन्। वीर अस्पतालकी नेत्ररोग विशेषज्ञ, डा. आरती काराखेतीले स्क्रिनमा लामो समय बिताउने व्यक्तिहरूमा कम्प्युटर भिजन सिन्ड्रोम (आँखामा सुक्खापन) धेरै देखिने बताउँछिन्।

उनका अनुसार भिजन सिन्ड्रोममा आँखाको नानी सुख्खा भई रातो हुने, आँखा पोल्ने, चिलाउने र आँखाबाट आँसु आउनेजस्ता लक्षणहरू देखिन्छन्। सुख्खापन बढ्दै गएमा आँखामा फुला पर्ने र आँखा नदेखिनेसम्म पनि हुन सक्छ। “तर, कम्प्युटर लामो समय बिताउनेहरूले यसबारे विचार पुर्‍याएका छैनन्,” उनले भने।  

टेकुस्थित नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. प्रनव श्रेष्ठ कम्प्युटरमा काम गर्नेहरूमा शुरूआतमा आँखा रातो भई दुख्ने र समय बित्दै गएपछि आँखाको भित्री भागसँगै टाउको दुखाइको समस्या देखिने बताउँछन्।

“धेरै डिजिटल स्क्रिन टाइम भएका व्यक्तिहरूमा आँखा रातो हुने, दुख्ने र चिलाउने हुन्छ,” उनले भने, “बढ्दै गएपछि आँखाको भित्री भागहरू र टाउको पनि दुख्न थाल्छ।” 

२०२१ मा भारतीय नेत्र विज्ञान जर्नलमा प्रकाशित अनुसन्धानअनुसार कम्प्युटर प्रयोगकर्ताहरूमा आँखा दुख्ने, जलन, आँखा थकान, धमिलो दृष्टि, जलन र सुख्खा आँखाजस्ता लक्षणहरू देखिन्छन्।

“लामो समयसम्म कम्प्युटर प्रयोग गर्नेमध्ये ६४–९० प्रतिशतले आँखाको तनाव, धमिलो दृष्टि, डिप्लोपिया र सुख्खा आँखाजस्ता लक्षणको अनुभव गरेका थिए,” जर्नलमा भनिएको छ, “जबकि कम्प्युटर चलाउने क्रममा आँखा सुख्खा हुने समस्या धेरै देखिएको थियो।”

आँखाको हेरचाह कसरी गर्ने?
त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सागर राजकर्नीकारका अनुसार शरीरका अन्य अंगभन्दा आँखा अत्यन्तै संवेदनशील हुन्छ। समस्या देखिएर उपचारमा आउनुभन्दा पहिल्यै रोकथाममा लाग्नु महत्त्वपूर्ण हुन्छ। आँखाको तनाव कम गर्न कार्यस्थलमा प्राप्त उज्यालोको सुनिश्चित गर्नुपर्छ। आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउने र धेरै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्ने सकिन्छ। आँखा वरपर मांसपेशी बलियो बनाउन आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्नेजस्ता अभ्यास गर्न पनि उनी सुझाउँछन्।

उनका अनुसार डिजिटल स्क्रिनमा हेर्ने गतिविधिमा कम संलग्न हुने, २०–२०–२० को नियम (२० मिनेट स्क्रिनमा हेरेको छ भने २० सेकेन्डलाई २० फिट टाढा हेर्ने) अभ्यास गर्ने, आँखाका लागि सम्भावित जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडी मर्मतस्थल, मोटरसाइकल/गाडी चलाउँदा, ट्राफिक प्रहरीहरू ड्युटीमा रहँदा आदि)मा काम गर्ने व्यक्तिले सुरक्षात्मक चस्मा प्रयोग गर्न सकिन्छ।

आँखा स्वास्थ्य र सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउने, बेलाबेलामा आँखा जाँच गराइरहने र दृष्टिसम्बन्धी कुनै पनि समस्या देखिनासाथ नेत्र सहायक/अप्टोमेट्रिस्ट वा नेत्ररोग विशेषज्ञलाई सम्पर्क गरी सावधानीका उपाय अपनाउन उनको सुझाव छ।

तिलगंगा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. सृजना अधिकारी आँखाको अवस्था र विशेषज्ञको सुझावअनुसार चस्मा लगाउनुपर्ने सुझाउँछिन्। “चस्मा प्रायः कम दृष्टि भएकालाई प्रयोग गर्न सुझाव दिइन्छ। केही बच्चाहरूको पावर कमका कारणले आँखा टेडो हुँदा पनि चस्मा प्रयोग गर्नुपर्ने हुन्छ। कोहीकोहीमा दुई वटा देखिने समस्या हुन्छ। जसमा चस्मामै प्रिजम हालेर लगाउने दिइन्छ,” उनीले भनिन्।

अधिकारीले ब्लु–कट चस्माले केही हदसम्म मात्र आँखाको सुरक्षा गर्ने तर पूरै समाधानका रूपमा लिन नहुने बताइन्। “हाम्रो आँखा नीलो रङसँग संवेदनशील हुन्छ। ब्लु–कट चस्माले नीलो रङलाई काट्ने काम गर्छ। ब्लु–कट चस्मा लगाएमा केही हदसम्म आँखाको सुरक्षा हुन सक्छ,” उनीले भनिन्, “तर यो पूरै समाधानचाहिँ होइन।”


सम्बन्धित सामग्री