Sunday, April 28, 2024

-->

सिंहदरबारमा आगो लाग्दा सुतिरहेका राजालाई खबर सुनाउन जर्नेल डराए

म बालेन शाहको समर्थक नै हुँ। तर उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नु हुँदैन थियो। हामीले त सिंहदरबारमा साँच्चै आगो लागेको देखेका छौँ, त्यो निकै दर्दनाक थियो।

सिंहदरबारमा आगो लाग्दा सुतिरहेका राजालाई खबर सुनाउन जर्नेल डराए

(काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत शनिबार सामाजिक सञ्जालमा लेखे– 
आजको लागि केही भएन
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु।
याद राख चोर सरकार।

बालेनकी श्रीमती चढेको महानगरको गाडीलाई ट्राफिक प्रहरीले कोटेश्वरमा रोकेर सोधपुछ गरेपछि उनी रुष्ट बनेका थिए। उनले आफ्नो आवेग फेसबुकमार्फत सार्वजनिक गर्दा सिंहदरबारमा आगो नै लगाइदिने धम्की दिए। सिंहदरबारमा आगो लगाइदिने प्रसंग अहिले पनि सामाजिक सञ्जालमा सेलाएको छैन। बालेनको ‘पोष्ट’ आएपछि २०३० असार २५ गते सिंहदरबारमा भएको आगलागीको विषय पनि चर्चामा आयो। त्यतिबेलाको भीषण आगलागीले सिंहदरबारमा ठूलो क्षति पुर्‍याएको थियो। राजा महेन्द्रको शासनकालमा पटक–पटक मन्त्री बनेका र पछि राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत भएका नवराज सुवेदीले त्यस दिनको आगलागी यसरी सम्झिए– सम्पादक)


म बालेन शाहको समर्थक नै हुँ। तर उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नु हुँदैन थियो। हामीले त सिंहदरबारमा साँच्चै आगो लागेको देखेका छौँ, त्यो निकै दर्दनाक थियो।

सिंहदरबारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री र्कीतिनिधि विष्ट, मलगायत केही व्यक्ति गफिइरहेका थियौँ। त्यतिबेला सिंहदरबारको रेखदेख र नियन्त्रण आर्मीले गर्थ्यो। मास, फुँदो, चुना, सुर्की आदि मिलाएर बनाएको सिंहदरबारमा आगो दनदनी बलिरहेको थियो। त्यो आगलागी सम्झिँदा अहिले पनि डर लाग्छ।

आगो यसरी फैलियो कि, सिंहदबार पूर्णरूपमा जल्नेजस्तो भयो। त्यही भएर हामीले प्रधानमन्त्रीज्युलाई सिंहदरबारको अघिल्लो मुख (अघिल्लो भाग) मात्र भए पनि बचाउन सुझाव दियौँ। त्यसका लागि के गर्ने त! दरबारको अघिल्लो मुख विस्फोट गराएर छुटाउन सकिन्थ्यो। तर उहाँ केही बोल्नुभएन, आँसु बगाउन थाल्नुभयो।

त्यसपछि उहाँले दरबारमा फोन गर्नुभयो। फोन शेरबहादुर (तत्कालीन राजा वीरेन्द्रका पार्श्ववर्ती शेरबहादुर मल्ल) जर्नेलले उठाए। ‘सिंहदरबार सकिन लाग्यो। दरबारको अघिल्लो भाग बचाउन सकिन्छ, तर ब्लास्ट गराउनु पर्छ’ (प्रधानमन्त्रीज्यूले) भन्नुभयो। 

तर जर्नेलले रातको समयमा राजासमक्ष यो कुरा लैजान डराए। उनले भने, “राजा सुतिरहेका छन्, उनी सुतेको ठाउँमा कसरी जाने, कसरी उठाउने, के भन्ने?”

यता (सिंहदरबार) जलेर खत्तम भइसक्यो, उता राजाबाट खबर आउँदैन। कस्तो अप्ठ्यारो पर्‍यो हामीलाई। त्यसपछि सबैले ‘जे हुन्छ–हुन्छ, हामी सबै मिलेर भोगौँला’ भनेर सिंहदरबारको मुख्य भाग जोगाएका हौँ। नत्र त्यतिबेला अझै ठूलो क्षति हुन्थ्यो।

तस्वीर: जेरी याेङ

आगलागीमा धेरै महत्वपूर्ण कागजातहरू जले, ती ऐतिहासिक महत्त्वका थिए होलान्। भौतिक संरचना नष्ट भए। चाँदनी बैठक कक्ष यति सुन्दर थियो कि, त्यहाँ पस्दा पूर्ण चन्द्रमाको रातजस्तो अनुभूत हुन्थ्यो। यस्ता अरू पनि हल थिए। ती सबै गुमायौँ।

हामीले के के गुमायौँ भन्ने त लेखाजोखा नै छैन।

आगलागीपछि र्कीतिनिधि विष्टले प्रधानमन्त्री पद त्याग गर्नुभयो। ‘तिमीले आगो लगाएको हैन’ भनेर राजाले पद नछोड्न आग्रह गरे। तर आफू प्रधानमन्त्री भएको समयमा आगलागी भएको र सिंहदरबारको सुरक्षाको जिम्मेवारी लिन नसकेको भन्दै पद छाड्नुभयो।

चन्द्रशमशेरको समयमा भएको ‘वायरिङ’ नै आगजनीको कारण हो। त्यतिबेलाको वायरिङ हामीले पनि फेर्नुपर्छ भनेर सोच्न भ्याएनौँ।


सम्बन्धित सामग्री