इलामले रोपाइँ जात्रासँग यति याम बिताइसक्यो कि यदि रोपाइँजात्रा इलामबाट हराउने हो भने यहाँको इतिहासका धेरै कथाहरू बिर्सने डर हुन्छ।
नेपाली संस्कृति केलाई भन्ने? अथवा नेपालले भन्ने या मान्ने 'नेपाली' के हो? बहसकै लागि लामो समय लाग्न सक्छ। यद्यपि, आज एउटा सुदूरपूर्वको कथा सुनाउँछु, जसलाई नेपालभर 'चिया'बाहेक अन्य परिचयले खासै चिन्दैन। भन्नलाई कतिले पाँच त कतिले आठ ‘अ’को जिल्ला भन्ने गरे तापनि चियाबाहेक अन्य आयाम गुमनाम हुन्छ इलामको। बरु ‘अ’को परिचयभन्दा बढ्ता चर्चामा नीलम आंगबुहांगको शब्द रहेको गीत ‘पानी मीठो मेरो हजुर..’ नै छ। मानिसहरू पानी पिउँछन्, तर उनीहरू भन्दा हुन्, ‘अरे यस्तो त हाम्रैमा पनि छ त, हाम्रो पानीभन्दा यहाँको पानी के नै फरक छ र?’ यसको उत्तरचाहिँ स्रष्टा आंगबुहांग नै जानून्।
तर यस लेखमा रोपाइँजात्राबारे चर्चा गरिन्छ। इलाममा रहेका जाति तथा समुदायले अँगालेर त्यस जात्रालाई कसरी आफ्नो बनाए र समयसँगै कसरी सम्पूर्ण इलामको गौरवका रूपमा चिनियो भन्नेबारे हामी यहाँ जान्नेछौँ। यो लेख धेरैजसो अनुभवका आधारमा लेखिएको हो। नित्सेको भनाइअनुसार अनेक कोणका अनुभव र धारणाहरूले एउटा विचारलाई थप बलियो बनाउँछ, सत्यनजिक बनाउँदै जान्छ। यो लेख त्यही सत्य समीप पुग्ने प्रयास हो।
नेवारी इतिहासअनुसार 'सिनाज्या जात्रा'को शुरूआत मल्लकालमा प्रताप मल्लले गरे–नेपालको 'नामी' अनलाइन पात्रो 'हाम्रो पात्रो'ले भन्छ। जो गाईजात्राको भोलिपल्ट मनाउने चलन छ। थपमा नेपाल पात्रो नामक अनलाइन पोर्टलमा सुदन भट्टराई उपाध्याय लेख्छन्, 'यसलाई ‘रोपाइँजात्रा’ (सम्भवतः नेपाली खस भाषामा सिनाज्याको भाषिक रूपान्तरण हुनसक्छ यो) मनाउने क्रम विसं. १९७२ बाट इलामका तत्कालीन बडाहाकिम गजराजसिं थापाले शुरूआत गरेका हुन्।'
यसको तथ्यगत आधार के हो उनी नै जानून्, किनभने कर्णेल गजराजसिं थापाको इलामको कार्यकाल विसं. १९२० देखि शुरूआत भएर विसं. १९४६ सम्म मात्र रहेको देखिन्छ। अथवा उनले इंगित गरेका गजराज अर्कै पो हुन् कि? उनले इंगित गरेको चिया रोप्न थाल्ने गजराजसिं थापा इलामकै हुन् भन्ने हो भने यी मिति उनले सच्याउनुपर्ला।
स्थानीय तहले विसं. २०७९ सालबाट रोपाइँजात्रालाई स्थानीय पर्वको रूपमा सार्वजनिक बिदा दिने गरेको छ। साथै यस पर्वका लागि इलाम नगरपालिकाको वडा नं. ७ ले केही बजेटसमेत विनियोजन गर्ने गरेको छ।
दुई भिन्न कोण
इतिहासबारे जानकार युद्धप्रसाद वैद्य इलाममा रोपाइँजात्राको शुरूआतबारे यकिन नभए पनि नेवार जातिबाटै यो चलन आएको हो भन्ने मत राख्छन्। उनको अनुभव र देखे-सुनेअनुसार रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट मनाइन्थ्यो। यद्यपि, इलामको हाटबजारको पुरानो संरचनाअनुसार यसलाई कृष्ण जन्माष्टमीको अघिल्लो बिहीबार बनाउने चलनमा बाँधियो।
रोपाइँजात्रा नेवारी संस्कृति हो भन्ने एउटा आधार यो पनि हो। स्मरण रहोस्, स्थायी पसल कबलहरूको निमार्ण हुनुपूर्व नेपालमा व्यापारको आधार भनेकै हाटहरू हुने गर्थ्यो। तत्कालीन समयको प्रमुख बजार र अञ्चल र जिल्लाको सदरमुकाम भएको हुँदा इलाममा भने आइतबार र बिहीबार हाट लाग्ने गर्थ्यो। अधिकांश इलामेहरूलाई यो थाहा छ र सो चलन छाड्न नसकिने संस्कृतिझैँ रहेको छ। अहिले पनि इलाममा धेरैजसो कार्यक्रमहरू बिहीबारकै दिन हुन्छ। बिहीबार नै हाट लाग्ने हुँदा यसले ठाउँअनुसार आफूलाई गाईजात्राको भोलिपल्ट हुनुपर्ने नियमलाई परिमार्जन गरेको बुझ्न सकिन्छ।
वैद्यका अनुसार राणाकालीन समयमा आएका नेवारहरूले इलाममा यो जात्रा भित्र्याएका थिए। विशेषतः राणाकालीन समयमा त्यसबेलाका राणाहरूले आफू रहेको स्थानमा बजार निर्माणका लागि नेवारहरू लिएर जाने गरेको देशभरको अभ्यास पाइन्छ। इलाममा पनि नेवारहरूको उपस्थिति व्यापारिक तथा जागिरको उद्देश्यले आएको देखिन्छ। जागिर र व्यापार आदिको सिलसिलामा आएका नेवारहरूले आफ्नो संस्कृति जोगाउनका निम्ति रोपाइँजात्राको शुरूआत गरे। इलामेहरूमाझ जात्राको शुरूआतबारे अन्य मत पनि छ। हाल रोपाइँजात्राको यो परम्परालाई नेवार समुदायको संस्था 'नेपाल भाषा तथा संस्कृति समाज, इलाम'ले आयोजनाको जिम्मा लिएको छ। यो रोपाइँजात्राको एक कोण हो। अर्को पक्षमा भने अलि फरक मत आउँछ।
तर रोपाइँजात्रा विशेष रूपले धानखेतीसँग जोडिन्छ। पूर्वी नेपालमा लिम्बूहरूको बाहुल्यता छ। उनीहरूका लागि धान र धानखेती नौलो होइन। जोसेफ डाल्टन हुकर 'कञ्चनजंघा जुहार' नामक पुस्तकमा उनी सन् १८४८ तिर इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङको यात्रा गर्दैगर्दा साना–साना फोगटा भएको खेतमा पनि धानखेती गरिएको सम्झना लेख्छन्। हुनलाई धाननाचको सौन्दर्यबेगर इलामको रोपाइँजात्रा सम्पन्न हुन्न।
इलाम बजारकै अघिल्तिर छन् नाम्सालिंग, सोयांगलगायतका गाउँ। लेप्चा भाषाअनुसार नाम्सालिंगको अर्थ हुन्छ घाम–पानी हुने ठाउँ, सोयांगको अर्थ हुन्छ बढी पानी पर्ने ठाउँ। नाम्सालिंग, सोयांगलगायतका गाउँहरूतिर निंगलेखु, सम्वाहाम्फे थरका लिम्बू जाति पाइन्छन्, जो इलामका पुराना लिम्बू जाति होइनन्।
महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका उप–प्राध्यापक तथा इतिहास, संस्कृति, राजनीतिशास्त्र, समाजशास्त्र तथा मानवशास्त्र विभाग प्रमुख मोहनसिं थेबे भने रोपाइँजात्रालाई अलि फरक ढंगले हेर्छन्। थेबेका अनुसार तेह्रथुम रहने ती जाति बसाइँ सरी यहाँ आउनुको एउटा कारण मेलाहरूसमेत हुन्। यद्यपि, इलाम बजारमा हुने रोपाइँजात्रा भने नितान्त मनोरञ्जनकै नियतले र त्यस बेलाको भेटघाटको बहाना हुनसक्ने थेबे अनुमान गर्छन्।
इलाममा जोगमाई र माईखोलाको दोभानमा माघ १ गते 'बेनी मेला' लाग्छ। कात्तिकमा गजुरमुखी, ठूलो एकादशीमा माई पोखरी मेला लाग्छ। लिम्बू समुदायका लागि महत्त्वपूर्ण रहेका यी मेलामा धाननाच आफैँमा महत्त्वपूर्ण संस्कृति थियो। खेतका रोपाइँहरू सकिसकेपछि इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमका गाउँहरूबाट आएका मानिस आफ्नो थकान मेटाउँदै आफन्त र समुदायबीचको भेटलाई नाचमार्फत झनै उत्साह थप्थे। मेलाका भेट मित्रता, प्रेम र विवाहसमेतमा बदलिन्थे। यी कुराहरू मेलाहरूको प्रमुख आकर्षण हुन्थे।
लिम्बूहरूमाझ खोलामा हुने सिमेभुमे पूजाका कारण पनि मेलामा मान्छेहरू पुग्थे भने यस्तो अवसर व्यापारिक गतिविधिका लागि पनि मौका बन्न पुग्थ्यो। मेलाको प्रमुख केन्द्रमा मात्रै नभएर थुन्से र तोक्मा बोकिएका भारीहरू गोर्खे धाप बजार हुँदै मानेभञ्ज्यांगबाट शनिश्चरे, सिलिगुडीसम्म पुग्थे। स्थानीय उत्पादन र अनाज बेचिन्थे।
त्यस बेलाको लाहुरे संस्कृति त छँदै थियो, कामका लागि दार्जिलिङ, आसाम आदिजस्ता स्थानमा जाने चलनसँगै अञ्चल सदरमुकाम इलाममा बास बस्ने चलन थियो। अझ ख्यालीमा तीनपुस्ते साइनो नलाग्ने अनि इलाममै रहेका लिम्बूहरू थेबे, साउदेन, बेघा, लिङ्देन, योंगहांग आदि जातिहरूको उपस्थितिले गर्दा धान नाच्ने, माया साटासाट गर्ने काम पनि मेलामा हुन्थ्यो। हात समातेर पालम गाइन्थ्यो।
सेन्छेङ्ग लाओ चादुःमेले
अकेसो नारन आदुःमेले
(मंसिरै महिना धान पाक्यो है
यसरी हाम्रो भेट भयो है।)
मेन्जिमलेन ताजेंग पापेसारे
केःहोपा लुंगमा ओ युक्खेसारे
(मायाको डोरी केलाइ हेरूँ
मुटुभित्र राखेर बोली हेरूँ)
लिम्बूहरूको धाननाच बेगर रोपाइँजात्राको इलामे इतिहास अपूर्ण हुन्छ। पुरुषहरू मात्र महिला बनेर नाँच्ने रोपाइँजात्रामाझ केटाकेटी आपसमा हात समाएर नाच्नु त्यस समय लिम्बूइतर समुदायका लागि अचम्मको कुरा थियो। २०२४ सालतिर यहाँ स्थापित क्याम्पसमा पढाउन यहाँ आएका तराईका शिक्षकहरू साँझ नवीन चोकतिरका धाननाच देखेर छक्क पर्थे। युद्धप्रसाद वैद्य सम्झन्छन्, 'स्वयं केटा र केटी दुवै सम्मिलित गराएर नचाउने काम पहिलोचोटि सिंहबाहिनी क्लबले गराएको थियो।'
ऊ बेलाको र अहिलेको रोपाइँजात्रा
अलिकता पछाडि जाऔँ। उतिखेर बजार भन्नु नै हाट हुन्थ्यो। अनि ‘हाटबजार’ हुन्थ्यो। बजारको एक कुना बाँसको झाडी मुन्तिर घोडाहरू अहिले बाइक पार्कमा राखिएजस्तरी लस्करै राखिएका छन्। नजिकैकादेखि तीन–चार दिन पैदल बाटो लाग्ने गाउँहरूबाट आएका मानिसहरूका घोडा हुन् ती। बजारभित्रका घरहरू काठैकाठले बनेका छन्। घरहरूको बिचमा ठूलो चोक छ, जहाँ हजारौँ मानिस छन्। हल्ला र किनबेच छ। मोल मलाई छ। 'कक्कर'को चर्को गन्ध कतै, कतै डाइस (लंगुरबुर्जा)को हल्ला। प्लास्टिकले छाएका कपडा, खैनीलगायतका पसलहरू छन्। त्यो चोक छोडी जाने एउटा बाटोको एक कुना गोसखाना (वधशाला/मासु पसल) मात्र छ।
अर्को कुना दूधदही मात्र छ। एक हिसाबले बजारमा आउनेहरूले आफैँ व्यवस्था गरेको व्यवस्थित बजार। एक कुनामा एउटा गाउँबाट आएका मानिसहरूको घिउले सुगन्धित गराइरहेछ। अर्कोतिर अर्को गाउँबाट झरेका मानिसहरूको आलु, अर्कोतर्फ कतैबाट आएको धानको चुली, यस्तै–यस्तै। लेकबाट आएका मान्छेहरू एक कुना छन्, जसले लेकमा पाउने आलु, जडीबुटी र छुर्पीहरू ल्याएका छन्। बेसीबाट आएका र अर्को जिल्लाबाट आएका मानिसहरूको अर्को कुनाले मेलाले झन्डै सिंगो देश झल्कन्छ।
बारहरूमा लाग्ने यो हाटको दिन बिहीबार हो। कृष्णजन्म अष्टमी अघिको बिहीबार। र यसै बीचमा पुरुषहरू महिलाको भेषमा आउँछन् र धान रोपेको नक्कल गर्दै नाच्न थाल्छन्। बाउसे गर्दै, हलो जोत्दै खेतमा गरिएका सम्पूर्ण कर्महरूलाई देखाउँछन्। साथमा मुखौटा लगाएको लाखे पनि नाच्न थाल्छ। मानिसहरू जोडजोडले हाँस्ने र तर्सने काम सँगै भइरहेको हुन्छ। ब्यागपाइपर र पञ्चेबाजाको तालमा शुरू गरिएको नाच देखाइएको साँझ एक कुनामा पालमसँगै धान पनि नाचिरहेको छ। च्याब्रुंग बजिरहेको छ। आगो तापेर मानिसहरू आगोको फिलंगो उठिरहेको लप्कासँगै आइरहेको सुन्तले प्रकाशमा दंग पर्दै नाच हेरिरहेको छन्।
इलाम बजारको हाट लाग्ने समयको चित्र हो यो, जुन बेला गाडी थिएन। मानिसहरू हिँडेकै भरमा टाढा–टाढासम्म यात्रा गर्थे। हुने खानेहरू घोडा चढ्थे। सोयांग, सोयाक, माइमझुवा, पाँचथर, सांगरुम्बा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापासम्मका मान्छे विशेष किनबेचको उद्देश्यले भेट हुन जान्थे। यस जात्रामा रोपाइँको कर्मसँगै बाउसे, रोपर, गोरु र हलीसँगै लाखेको पनि प्रवेश हुन्थ्यो। काठमाडौँ उपत्यकामा यस्तो त सम्भव हुन्थेन, तपाईं मान्नुस् या नमान्नुस्।
‘गोरु जोतेको’ उक्त अभिनयको सौन्दर्य काठमाडौँभित्र भएको रोपाइँजात्राको सौन्दर्य हुन कदाचित सक्थेन, किनभने काठमाडौँ उपत्यकाभित्र गोरु जोतिँदैन। लाखे नाचेको र गोरु जोतिरहेको सौन्दर्यसँगै धाननाच। इलाममा रहेको लाखे कुन लाखे हो त्यसबारे जानकारी नरहेको बताउँछन् वैद्य। यसो हुँदा लाखेको मिथकले पनि थोरै स्थानीयता ग्रहण गरेको देखिन्छ। यो कथामा भने लाखेले रोपाइँमा बालीनाली सुरक्षा गर्न सघाउँछ।
इलामको रोपाइँजात्रा स्वतन्त्र र लचिलो छ। यो नै यसको सौन्दर्य हो। अघिल्लो साल मात्र निकालिएको रोपाइँजात्रामा त्यस जात्रालाई धेरै समयबाट बुझिरहेका अनि जात्रा व्यवस्थापनमा लामो समयदेखि खटिरहेका इलामका सामाजिक अभियन्ता बुद्धिमान राईले ‘वनकाहिँला र वनकाहिँली’ पात्रलाई पुनः ल्याए। राईका अनुसार पहिलोपल्ट वनकाहिँला र वनकाहिँलीको झाँकी राजा वीरेन्द्रको जन्मोत्सवलाई मध्यनजर गर्दै निकालिएको थियो। पप्पु खानका बुबाले यसलाई पहिलोपल्ट परिकल्पना गरेका थिए। राईले नाम भने सम्झन सकेनन्। चुराको व्यवसाय गरी इलाम बसेका ती परिकल्पनाकार अहिले भने इलाममा छैनन्।
इलामबारे जानकार वैद्य भने रोपाइँजात्रामा बनकाहिँला र बनकाहिँलीको पपेट (पुतली)को सल्लाह दिने व्यक्ति जिल्ला घरेलु तथा साना उद्योग कार्यालयमा कुनै समय काम गर्ने कुनै कर्मचारी रहेको बताउँछन्। 'नेवारी राम्रो बोल्थे। काठमाडौँतिरका मुसलमान थिए,' वैद्य सम्झन्छन्, ‘अघिल्लो साल त जात्रामा सिल्भरम्यानसमेत आइपुग्यो, चाँदीजस्तै रंगले लतपतिएको दुरुस्तै चाँदी–मान्छे।' समयसँगै रोपाइँजात्राभित्र प्रवेश गरेको ‘सिल्भरम्यान’ले जात्राको लचिलो चरित्र र स्वभावलाई संकेत गर्ला। नारायण श्रेष्ठ र देवीदास श्रेष्ठले काठमाडौँबाट मुखौटा ल्याएर इलाममा लाखे नचाएको पनि लगभग निकै समय बितिसक्यो, तर यसमा नयाँपन थपिने क्रम जारी नै छ।
समयसँगै यसमा अनेक खालका बुख्याँचा र मुखियाहरू पनि थपिए। रोपाइँजात्राकै व्यवस्थापनमा लामो समयसम्म लागेका अर्का इलामे सामाजिक अभियन्ता गणेश खतिवडाका अनुसार रोपाइँजात्राको उक्त संरचनामार्फत नेपाली समाजको मौलिकता नयाँ पुस्तामा देखाउन खोजेको थियो।
वनकाहिँला र वनकाहिँलीको मिथक के थियो, त्यो त यी पात्र कल्पना गर्ने मान्छे नै जानून्, तर राजाको जन्मोत्सवमा देखाइएका उक्त पुतला राज्यव्यवस्थाको डरले उब्जाएको पात्र हुनसक्छ भन्ने लख काट्छन् कवि हांगयुग अज्ञात। अर्थ जे होस्, तर वैचारिक रूपबाट हेर्दा जात्रा सबैभन्दा सुन्दर बनाउन के–के गर्न सकिन्छ त भन्ने सल्लाहहरूको साना–साना आयामले एउटा रोपाइँजात्रा बन्छ। सबै समुदायबाट आएका सोच, विचार र परिकल्पनाको एक बृहत् आयाम। इलामको रोपाइँजात्राको इतिहास र विशेषता नै यही हो।
अन्य आयामका कुरा
धेरै समय रोपाइँजात्रामा किशोर पोर्तेल बाउसे बने। अहिले बाजे बनिसकेका उनीसँग त्यस समय पद्मोदय (हालको आदर्श उच्च मावि) पढ्ने छात्रहरू रोपार, गोरु आदि हुन्थे। पुरस्कार राखिएको उक्त रोपाइँजात्रालाई टाढा–टाढाका गाउँ र शहरबाट पढ्न, पढाउन, जागिरको सिलसिलामा, घुम्न आएकालगायत प्रयोजनले इलाम आएका मानिसले नियाल्थे। इलामे जनविश्वासअनुसार रोपाइँजात्राको दिन यहाँ पानी पर्छ। त्यो झरिमा भिजेका सांस्कृतिक भेषभुषा लगाएका रोपारहरूमध्ये उत्कृष्ट ढंगले रोप्नेहरूले, फेउरी लाउने बाउसेहरूले प्रथम, द्वितीयदेखि सान्त्वनासम्म पुरस्कार पाउँथे।
कृषकको कामलाई कला मानी पुरस्कार दिइने चलन अन्यत्र विरलै होला। बाउसेमध्ये राम्रो बाउसे, रोपारमध्ये उत्कृष्ट रोपार। यस्तो किसिमले कुनै भ्वाइस आइडल या डान्स आइडलजस्तै रियलिटी सो हुन्थ्यो भने कस्ता-कस्ता कृषकहरू आउँथे होलान्? कस्ता कस्ता दर्शन र लेखहरू आउँथे होलान्? आउँदा दिनमा हाम्रो पुरस्कारका मानक आफैँ निर्माण गरी कृषकहरूमध्ये उत्कृष्ट कृषकलाई तिनको ‘उत्पादनको मात्राको आधारमा नभई गुणको आधार’बाट प्रशस्त धनराशिले पुरस्कृत गर्ने हो भने देशलाई कृषिप्रधान भन्न पनि सुहाउँदो हो। कृषकहरूले स्थानीय नश्ल संरक्षण गरेबापत भारतमा देशकै गौरवपूर्ण पद्मविभूषण पदक दिइन्छ। हाम्रोमा त्यस्तो कहिले होला?
लिम्बूहरूमाझ एक रैथाने 'छरुवा' नामको धानको प्रजाति हुन्छ, जो एकदमै कम पानी हुने ठाउँमा समेत फल्छ। यस्तै चाक्मारे भन्ने रैथाने प्रजाति हुन्छ, जसलाई सानो सानो फोगटा बनाएर रोप्ने चलन हुन्छ। बजारमा ताइचीन चिउरा आएसँगै हाल यी रैथाने बिउहरू हराएर गएका छन्। रैथाने प्रजाति किन आवश्यक छन्? यो अबको समयको प्रमुख विषय बन्न सक्छ। मोन्सान्टोजस्तो बिउमा उपनिवेश बनाउन तत्पर बहुराष्ट्रिय कम्पनीहरूले हाम्रो देशमा केसम्म गर्न सक्छ, त्यसबारे अर्को लेखमा उल्लेख गरौँला।
रोपाइँ नै जात्रा हुनुको पछाडि मनोरञ्जन मात्र कारण थिएन होला। मेरो सम्झनाको साठीको दशकको इलाम सम्झँदा उतिखेर गाउँबाट पढ्न आएका विद्यार्थी ‘गाउँ र शहर’ नामको मनोवैज्ञानिक वर्गमा विभाजित थिए। गाउँबाट आएकाहरू त्यसबेला शहरलाई दमनकारी देख्थे। धेरै राजनीतिक नेतृत्वले आफू राजनैतिक रूपबाट सांगठनिक हुनुको एउटा कारण यही दमनकारी सोच थियो भन्ने अनुभव अचेल सुनाउँछन् पनि।
रोपाइँजात्रा शहर र गाउँ मिलाउने पर्व पनि थियो। शहरले नै सबैभन्दा राम्रोसँग रोप्न जान्ने, बाउसे गर्न जान्ने, गोरु जोत्न जान्ने विधामा सहभागीलाई पुरस्कृत गर्थ्यो। नेवार जातिहरूले केही समय निरन्तर राखेको संस्कृतिलाई पछि भने स्थानीय क्लबहरूले सञ्चालन गर्न थाल्यो। सेवासंघ, छात्रसंघ, सुनगाभा क्लब, सिंहबाहिनी क्लबहरूले कुनै समय आफ्नो आर्थिक अवस्था यही जात्रा सञ्चालन गरेर मजबुत बनाए।
जात्राका जानकार राई सम्झन्छन्, ‘म पनि यसरी नै जोडिएको हुँ।’ सिंहबाहिनी क्लबले पहिलोपल्ट महिला र पुरुषलाई नचाएपछि यो जात्रामा नयाँ आयाम थपियो। यसभन्दा अघि रोपाइँजात्रामा पुरुषहरू मात्र भाग लिने गर्थे।
जात्रामा क्लबहरूले त्यसबेला सामुदायिक विद्यालयहरूलाई सहभागी हुन आह्वान गर्थ्यो। केही समयको प्रशिक्षणपश्चात् इलाम बजारमा नाच देखाउँदै खाता घुमाउँदै दान लिन्थ्यो र नाच घुमाउँथ्यो। इलामका सबै स्थानीय र बाहिरबाट आएका मानिसको भीडले सडकहरू भरिन्थे। एक खाले महोत्सव नै लाग्थ्यो। हाल भीड सानो भए पनि रौनक सोही किसिमको छ।
रोपाइँजात्रा इलामबाहेक मंगलबारेमा पनि देखाइन्छ। मंगलबारेको रोपाइँजात्राको सम्पूर्ण नेतृत्व सिंहदेवी उच्च माविले लिएको छ। वैद्यका अनुसार उक्त संस्कृतिको थालनी इलामका हांस्यव्यंग्यका निबन्धकार विष्णु नवीनलगायतको समूहको नेतृत्वमा गरिएको थियो। इलाममा भने हाल रोपाइँजात्रालाई नेपाल भाषा तथा संस्कृति समाजको संयोजनमा गर्ने गरिएको छ।
केही अनुत्तरित प्रश्न
जात्रा निकाल्ने प्रयोजनका लागि नेवार समुदायमा रहेको गुठी र ज्यापुहरूको उपस्थितिलाई आधार मान्ने हो भने इलाममा आउने नेवारहरूमाझ गुठीको स्थापना एकदमै कम देखिन्छ। अझ जागिर खान आउने तथा व्यापार गर्न आउने नेवारका लागि कृषिप्रधान जात्राको आवश्यकता किन पर्यो होला? यी प्रश्नलाई आधार मान्दा प्रताप मल्लको इतिहास मात्रले रोपाइँजात्राको इलामको उपस्थितिलाई बल दिँदैन। अझ यसमा प्रयोग हुने लाखे कुनचाहिँ लाखे हो?
काठमाडौँको बौद्ध क्षेत्रमा रोपाइँजात्रा मनाइने रहेछ। तर इलाममा चाहिँ यसको शुरूआत कसरी भयो होला? कहाँबाट आएका नेवारले यो चलन थाले होलान्? अरूले यो जात्रा चलाएका हुन् भने ती को होलान्? यसलाई प्रारम्भमा पुरुषप्रधान जात्रा मात्र बनाउन किन आवश्यक पर्यो होला?
ब्यागपाइपर र पञ्चेबाजाको प्रयोग र पुरुषहरूको मात्र उपस्थितिले यो फेरि पनि नेपाली सेनाभित्रकै संस्कृति पो थियो कि भन्ने शंका पनि उठ्छ। तत्कालीन नेपाली सेनाको फौजमा मगर सेनाहरूको सहभागिता र त्यस समुदायको मारुनी संस्कृतिको यस जात्रामा देखिने प्रभावले त्यसलाई बल दिन्छ। अझ ढँट्वारे नै सायद लाखे बन्यो कि?
अन्त्यमा,
रोपाइँजात्राको इतिहास सोधखोजको विषय बन्न सक्छ, तर यस वरपर अन्य जातिहरूको स्वीकार्यताले थपेको सौन्दर्य र दर्शनको कुरा गरिएन भने यो अपूर्ण नै रहन्छ।
देशका अन्य जातिभित्रका सभ्यताहरूलाई हामी बलपूर्वक 'नेपाली' बनाउन खोजिरहेका छौँ। इलाममा भने रोपाइँजात्रा कसको हो भन्ने कुराको इतिहास/तथ्य थाहा नपाइ यसलाई समग्र इलामले अपनत्व गरिरहेछ। हामीमाझ रहेको साझापनाको इतिहासका कारण त्यसो भएको हो। हामीलाई कुनै बिहीबारे हाटले जोड्यो र त्यसपछि हरेक साल यसभित्र आयामहरू थपिँदै गइरहे। राजनीतिक, सामाजिक अनि सांस्कृतिक परिवर्तनलाई रोपाइँजात्राले रूखको पत्रहरूझैँ आफ्ना नाचहरूमा कैद गर्दै गयो। अनि यो इलामको स्थानीय पर्वका रूपमा स्थापित भयो।
पूर्वी लिम्बूवानमा फंगवुक्मा पुको कथा छ। कथाअनुसार धान चोरेको निहुँमा स्थानीय मानिसले फंगवुक्माको प्वाँख डढाइ दिन्छन्। प्वाँख डढेर नांगै भएको उक्त चरालाई अन्य चराहरूले प्वाँख सहायता दिन्छन्।
नेपाली र नेपालीत्व के हो? यो कतैबाट आयातित भावना हो या साझा भन्दै बहिस्कार गरिएको नेपालभित्रकै साकेला, धाननाच, मारुनीजस्तै सांस्कृतिक भावना हो? वा इलामको रोपाइँजात्राजस्तै हो? कि नेपाल त्यही चराजस्तो हो, जसका प्वाँखहरू सबैको संयोजनमा संकलित छ?
हरेक जातिले अपनत्व लिएर इलामले एक सुन्दर धानचरी बनायो। यो समग्र इलामकै मौलिक पहिचान बन्न गयो। समग्र इलामले रोपाइँजात्रासँग यति याम बिताइसक्यो कि अबका लागि यदि रोपाइँजात्रा इलामबाट हराउने हो भने इलामको इतिहासका धेरै कथाहरू बिर्सने डर हुन्छ। सायद नेपाली भन्ने कुरा यस्तै पो हो कि? नेपालभित्रको 'संस्कृति-साझा'को नाममा संस्कृतिहरूको बहिष्करणभन्दा इलामको जस्तै स्वीकार्यता ठीक होला कि? यदि यसो हो भने इलामको रोपाइँजात्रा नेपाली जात्राको सबैभन्दा उत्कृष्ट नमूना हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
