Monday, April 29, 2024

-->

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

युराेपेली देशमा राम्राे राेजगारकाे प्रलाेभन देखाउँदै ठगी गर्ने गरेकाे पाइएकाे छ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने चार जना पक्राउ

काठमाण्डौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै लाखाैँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका–८ का ३० वर्षीय शमीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ का ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखराकी ४० वर्षीया तारा गुरूङ रहेका छन्। उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक दुई लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेका छन्। सुनुवारले एक जनालाई क्रोएसिया पठाई फूड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेकी छन् भने खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेका छन्। गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

उनीहरूबाट ठगीएकाहरूले वैदेशिक रोजगारीमा दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जनाएको छ। 
 
 


सम्बन्धित सामग्री