‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’
रिडर्स झापा नामक संस्थाका साथै कम्युनिस्ट राजनीतिमा समेत संलग्न निरोज कट्टेलले २०२८ सालमा भएको झापा विद्रोहबारे लेखेको पुस्तक बजारमा भर्खरै आएको छ। बेला पब्लिकेसन्सले बजारमा ल्याएको सो पुस्तकबारे लेखक कट्टेलसँग गरिएको कुराकानी:
२०२८ सालको झापा विद्रोहबारे नै लेख्न तपाईँ किन प्रेरित हुनुभयो?
झापामा लेखपढका रुचि राख्ने र सामाजिक मुद्दाहरूमा छलफल गर्न रुचाउने युवाहरूको रिडर्स झापा नामको संस्था छ। त्यसमै संलग्न रहने क्रममा 'केही नयाँ गरौँ' भन्ने प्रस्ताव साथीहरूबाट आइरहेको थियो। तीमध्ये साथी उज्ज्वल प्रसाईँले एक दिन किताब लेख्न प्रस्ताव गर्नुभयो। उहाँको प्रस्ताव ठिक लाग्यो। म त्यस ऐतिहासिक विद्रोह भएकै पेरिफेरीमा हुर्केका कारणले पनि मलाई त्यसबारे विशेष रुचि र जानकारी थियो। आफैँ पनि सक्रिय राजनीतिमा रहेका कारण त्यसलाई राम्ररी बुझ्ने प्रयास गरेको थिएँ। संगठित हिसाबले झापा विद्रोहबारे अहिलेसम्म पुस्तक नलेखिएका कारण पुस्तक र त्यसमा समेटिएका जानकारी नयाँ पनि हुनसक्छ भन्ने हिसाबले किताब लेखेँ।
नेपाली राजनीतिक आन्दोलन तथा सामाजिक आन्दोलनका उथलपुथलपछि जस्तो राजनीतिक व्यवस्था आउँछ, त्यसमा आन्दोलनको नेतृत्व गरेकाहरूले धेरै ठूला कुरा गर्ने, जार्गनको धेरै प्रयोग गर्ने र आफू अनुकूल आन्दोलनको भाष्य निर्माण गर्ने अभ्यास छ। हामीमा संगठित खालको अध्ययन गर्ने परम्परा नभएका कारण पनि झापा विद्रोह मात्र होइन, अन्य आन्दोलनहरू पनि जसले जेजे भन्यो, 'आन्दोलन त्यही हो' भन्ने बुझाइ आम जनमा हुने गरेको छ। त्यसलाई चिर्न पनि यस्तो पुस्तक आवश्यक छ भनेर यो किताब लेखेँ।
झापा विद्रोहलाई नक्सलवडी विद्रोहको अनुकरण या विस्तारका रूपमा पनि लिइन्छ। किन भयो झापा विद्रोह?
नक्सल आन्दोलनकै अनुकरण थियो झापा विद्रोह भन्नेहरू पनि छन्। तर मेरो बुझाइ के छ भने वैश्विक घटनाबाट कुनै पनि आन्दोलन निरपेक्ष हुँदैन। त्यतिखेर, ३० को दशकमा वैश्विक रूपमा वामपन्थको क्रेज थियो। चिनियाँ क्रान्ति र तत्कालीन हिन्द-चिनी देशहरू ; कम्बोडिया, भियतनाम, फिलिपिन्स, लाओसतिर कम्युनिस्ट आन्दोलनका तरङ्गहरू देखा परेका थिए। त्यसपछि पश्चिम बङ्गालको नक्सलबाडी आन्दोलन र सबै विश्व परिवेशका प्रभाव हाम्रोमा पनि परेका थिए।
हाम्रो घरेलु परिवेश पनि त्यस खालका विद्रोहका लागि उर्वर बन्नुका कारक बने। नेपालमा भूस्वामित्वमा आएको परिवर्तन, राजा महेन्द्रले १७ सालमा गरेको कु र त्यसपछि आएको भूमिसुधार एन २०२१ ले भूस्वामित्वमा ल्याएको केही परिवर्तन, त्यसपछिको औलो उन्मुलन, सोही कारण पहाडबाट तराईतर्फ बढेको बसाइसराइ, महेन्द्र राजमार्ग निर्माण, भारत स्वतन्त्र भएपछि त्यहाँ उर्लँदो राजनीतिक चेतना स्तर र हाम्रो सिमाना क्षेत्रमा कृषिमा आधारित मझौला उद्योगको स्थापनाजस्ता कुराले बिस्तारै स्रोतमाथिको स्वामित्वमा अन्तर्द्वन्द्व सुरु हुन थालेको थियो। यिनै घटना-परिघटनाबीच झापा विद्रोह भएको थियो।
नेपाली समाज र राजनीतिका अध्ययन गर्नेहरूलाई काम लाग्ने के त्यस्ता तथ्य र विवरण छन् किताबमा?
मूलतः यो कृति आन्दोलनमा संलग्न तर नदेखिएका भुईँ मान्छेहरूको पनि कथा हो। त्यस आन्दोलनमा संलग्न पात्रहरूमध्ये छनौट गरिएका केही पात्रको कथा हो मूलतः यो पुस्तक। के पाउने पाठकले भन्नेबारे चाहिँ म ठ्याक्कै भन्न सक्दिनँ। नेपाली राजनीतिक इतिहासबारे यस किताबमार्फत पक्कै केही थप बोध होला।
झापा विद्रोहअघि नेपालमा कम्युनिस्ट सिद्धान्तको प्रेरणामा विद्रोहहरू भएका थिए कि थिएनन्?
झापा विद्रोह मूलतः राजनीतिक आन्दोलन हो। तर त्यसले माध्यमचाहिँ हिंसालाई बनायो। तर त्यो विद्रोह उति व्यवस्थित किसिमको थिएन। नेपालको कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको मानिन्छ, त्यसपछि 'तेस्रो महाधिवेशन' हुँदै ३० को दशक आइपुग्दा कम्युनिस्ट पार्टी र किसानहरूको नेतृत्वमा देशव्यापी रूपमा आन्दोलन भएका छन्। झापामै पनि २००८ र २०१० को बीचमा 'खमार बन्द आन्दोलन' भएको थियो। त्यस खालका आन्दोलनहरू देशव्यापी रूपमै भएका थिए।
झापामा पनि २०२८ सालको विद्रोहअघि २०२७ सालमा त्यहाँका जमिनदार हरिराज आङदेम्बेको हत्या गरेर जनताले विद्रोह गरेका थिए। त्यहाँ कम्युनिस्टहरूको आंशिक प्रभाव र संलग्नता थियो।
झापा विद्रोहलाई दबाइयो, त्यसमा संलग्नहरूले जेल र यातना भोगे। तर विद्रोहका रुमानी कथासँगै नेपालमा कम्युनिस्ट पार्टी फैलन प्रेरणा पनि भयो होला, हैन?
कतिपय कम्युनिस्ट नेताहरूले त्यस्तो दाबी गर्नुहुन्छ। मूलधारको पार्टीको रूपमा अहिले एमाले स्थापित छ, त्यसका कतिपय नेताहरूले हाम्रो आधार नै झापा विद्रोह भन्नुहुन्छ। तर २०३४ देखि २०३७ सम्म आएपछि, २०३७ मा नेकपा माले नामको पार्टी गठन भएपछि नै त्यस पार्टीले विद्रोहकालीन व्यक्ति हत्याको नीति गलत थियो भनेर निर्णय गरेको थियो। त्यही निर्णयकै आधारमा त्यस पार्टीको महासचिवमा उतिखेर सिपी मैनाली चुनिए। त्यसो हुँदाहुँदै पनि आन्दोलन र विद्रोहको प्रेरणा कतिपयले झापा विद्रोहबाट लिएका हुन सक्छन्।
नेपाल अझै पनि कम्युनिस्ट राजनीतिको उर्वर भूमिका रूपमा रहेको छ। त्यसो हुनुमा झापा विद्रोहले कत्तिको भूमिका खेलेझैँ लाग्छ?
कुनै पनि राजनीतिक आन्दोलन या विद्रोहको लामो प्रक्रिया हुन्छ। साना साना कुराले त्यसलाई प्रेरित गरिरहेको हुन्छ। भियतनाम र कम्बोडियाका विद्रोहले नक्सलबाडी र तेलंगाना विद्रोहलाई प्रेरित गरे। स–साना विद्रोहले ठूला राजनीतिक आन्दोलनमा प्रेरणा दिइरहेको हुन्छ।
झापा विद्रोहका महिमा मण्डन गर्ने र आरोपित गर्ने दुवै पक्ष छन्। तपाईँको अध्ययन र निष्कर्षले के भन्छ?
मैले झापा विद्रोह ठिक या बेठिक थियो भन्ने निष्कर्ष पुस्तकमार्फत निकालेको छैन। त्यसबारे किताबमा म प्रवेश गरेकै छैन। मैले आफ्नो किताबलाई इतिहासमाथिको प्रश्नका रूपमा लिएको छु।
किताबमा त्यस विद्रोहबारे नयाँ के ल्याउनुभाछ?
विद्रोहका क्रममा विद्रोही र राज्यद्वारा मारिएका या विस्थापित गरिएका, पारिवारिक हिसाबले विघटन भएका मान्छेहरूको कथा हो यो। नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
