Tuesday, May 07, 2024

-->

रोल्पामा बस दुर्घटना हुँदा चारको मृत्यु, दुई जनाको अवस्था गम्भीर

रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ।

रोल्पामा बस दुर्घटना हुँदा चारको मृत्यु दुई जनाको अवस्था गम्भीर

काठमाडौँ– रोल्पाबाट दाङको घोराहीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन्।

मंगलबार दिउँसो रोल्पाको परिवर्तन गाउँपालिका बाग्माराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी चार जनाको मृत्यु भएको र ११ महिनाको शिशुसहित १५ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङ लैजाने तयारी भइरहेको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

बस सडकभन्दा १०० मिटर तल खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालका अनुसार प्रहरी टोली घटनास्थलतर्फ खटिए छ। “घटनास्थलमा उद्धार र अनुसन्धानको काम भइरहेको छ,” सूचना अधिकारी भुसालले भने।


सम्बन्धित सामग्री