Sunday, April 28, 2024

-->

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : गृहमन्त्री

समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए।

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ  गृहमन्त्री 

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताएका हुन्।

वर्तमान सरकारले सुशासनलाई पहिलो शर्त बनाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए। “भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिँदैन”, उनले भने, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।”

मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे। “आमजनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्”, उनले भने, “भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ।” भ्रष्टाचार विरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई कुनै पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ थियो।

भ्रष्टाचार र कमिसनले जरा गाड्दा राजनीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए। उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्नु आवश्यक रहेको उल्लेख गरे। 

“अब भ्रष्टाचार र कमिसनखोरी अन्त्य गरिदिनुपर्छ, जसले नियमविपरित काम गरेका छन् तिनलाई कानूनको दायरामा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “तब मात्रै सुशासन स्थापित हुन्छ । यसबाट मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्छ ।”

समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए। “राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक, आर्थिक रूपान्तरण कसरी गर्ने? नसोची आफ्नो पद कसरी प्राप्त गर्ने, पदको दुरुपयोग गरेर परिवारको मात्रै समृद्धिको कल्पना गर्ने, संविधान र कानूनलाई तोडेर भए पनि आफ्ना पार्टी वरिपरिका मान्छेलाई कसरी पोस्ने भनेर सोच्यौँ भने सहिदको सपना पूरा हुँदैन”, उनले भने।

गृहमन्त्री श्रेष्ठले राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले शहीदलाई सम्झेर आफूलाई सच्याउनुपर्ने बताए। “मजदुर, किसान, महिला, दलित र पिछडिएका क्षेत्रका जनता, सबै सीमान्तकृत समुदायले परिवर्तनको लाभ प्राप्त गर्‍यो भन्ने अनुभूति दिलाउनुपर्छ”, उनले भने, “यो परिवर्तनको रक्षा जनताले नै गर्ने अवस्था हामीले बनाउनुपर्छ।”

गृहमन्त्री श्रेष्ठले सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पारेर त्यसको प्रतिफल आमनागरिकले सहजै प्राप्त गर्ने वातावरणको सिर्जना गर्नु राजनीतिक दलको दायित्व भएको बताए। सो अवसरमा गृहमन्त्री श्रेष्ठले उद्यानमा रहेको शहीद स्मारकको अवलोकन र शहीदप्रति माल्यार्पण गरेका थिए। उनले उद्यान परिसरमा वृक्षारोपणसमेत गरेका थिए।


सम्बन्धित सामग्री