Friday, May 03, 2024

-->

सीमावर्ती क्षेत्रमा सुन तस्करी बढेपछि सस्तिएको भारु

अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन मंगलबार बरामद भएसँगै चीन र भारतका नागरिक पनि पक्राउ परेका छन्। यो घटना सीमावर्ती क्षेत्रमा नेरुको माग बढ्नुको कारणसँग जोडिने वीरगन्ज र रक्सोलका व्यापारी बताउँछन्।

सीमावर्ती क्षेत्रमा सुन तस्करी बढेपछि सस्तिएको भारु

काठमाडौँ– सीमावर्ती क्षेत्रका अनौपचारिक बजारमा आठ महिनाअगाडि १०० भारतीय रुपैयाँका लागि १६६ नेपाली रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो। नेपाल र भारतबीच कायम मुद्राको औपचारिक विनिमय दर १०० भारु बराबर १६० नेरु हो। अहिले भारतका सिमावर्ती बजारमा १५५ नेरुमा नै १०० भारु साट्न पाइन्छ।

एक्कासि नेपाली रूपैयाँ बलियो हुनुमा विदेशबाट अवैध रूपमा आयात भएको सुन भारत तस्करी गरेर बेच्नु नै प्रमुख कारण भएको सीमा क्षेत्रका कतिपय व्यापारी बताउँछन्। त्यसरी बिक्री भएर आउने भारतीय मुद्राको सटही चापले सीमाक्षेत्रमा औपचारिक विनिमय दरभन्दा नेपाली मुद्रा ६ रूपैया र चलनचल्तिभन्दा करिब ११ रूपैयाँ महँगो बनाएको छ।

आर्थिक विश्लेषक तथा उद्यमी गाणेशप्रसाद लाठ नेपालबाट औपचारिक रूपमा निर्यात हुने वस्तुको निकासी ह्वातै बढेको कुनै तथ्यले नदेखाउने हुँदा विनिमय दर उलटपुलट हुनुमा सुन तस्करीबाहेक अरू कारण नदेखिने बताउँछन्। “यस्तो ठूलो उलटपुलट सानोतिनो कारोबारले हुँदैन, त्यसैले अवैध कारोबारको आकार पनि ठूलो हुनुपर्छ। ठूलो मात्रामा अवैध कारोबार हुनेमध्येको वस्तु सुन हो भन्ने ताजा घटनाले पनि देखायो,” उनी भन्छन्।

नेपाल र भारतबीच कायम मुद्राको विनिमय दरमा व्यापक असर पार्न एकैसाथ धेरै संयोगहरू मिलेको हुनुपर्ने भए पनि अहिले सुनकै अवैध कारोबारले नेपाली रुपैयाँ बलियो भएको लाठको अनुमान छ। “सुनको कारोबार नै मुख्य हो भन्ने धेरैको बुझाइ छ। अहिले बल्कमा सुन समातिएपछि यो आशंकालाई अझ बल मिल्यो,” उनी भन्छन्, “यसबाहेक अरू कारणहरू पनि छन्। विहारमा प्रतिबन्धित मदिरा यताबाट गइरहेको हुन्छ र त्यसको भुक्तानी बैंकिङ च्यानलबाट आउँदैन, भारतमा काम गर्न जाने नेपालीहरूले लिएर आउने हो। लागुऔषधको कारोबार पनि अर्को कारण हो।”

राष्ट्र बैंकका एक अधिकारी आफूहरूले सीमावर्ती क्षेत्रमा भइरहेको औपचारिक विनिमय दरभन्दा फरक सटहीको आन्तरिक अध्ययन गरिरहेको बताउँछन्।

सुन तस्करीमा नेपाल ट्रान्जिट!
सन् १९९३ देखि १६० नेरुको औपचारिक विनिमय दर १०० भारु कायम छ। यो स्थिर सटही दर हो। तर अनौपचारिक व्यवहारमा सटही दर फरक भइरहेको हुन्छ। भारतीय मुद्राको माग नेपाली सीमावर्ती क्षेत्रमा बढेको बेला त्यसको कालोबजारी हुन्छ भने, अहिले भारततर्फ नेपाली रूपैयाँको माग बढेपछि अवस्था उल्टिएको हो।

तस्करीबाट नेपाल आएको सुन किन्नका लागि भारतमा नेपाली मुद्राको माग बढेपछि सटही दर उल्टिएको वीरगन्जका एक सुनचाँदी व्यवसायीले बताए। आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौँमा बरामद गरेको ठूलो परिमाणको सुनले पनि यसको पुष्टि गर्ने उनी बताउँछन्।

हङकङबाट आएको जहाजमा ल्याइएको स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको करिब १०० किलो सुन भन्सार जाँचपास गरेर विमानस्थलबाट निस्किसकेपछि राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार बरामद गरेको थियो। बिहीबार रातिसम्ममा यस घटनामा संलग्न भएको आरोपमा १० जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिक जेक्युयाङ लिन र तिब्बती मूलका भारतीय नागरिक थुक्टिन छिरिङ पनि छन्।

चिनियाँ नागरिक लिन सात महिनादेखि नेपालमा बसेको खुलेको छ। सुन बरामदपछि बिहीबार चीन फर्किन लागेको अवस्थामा उनी पक्राउ परेका थिए। चीन र भारतका नागरिक पक्राउ पर्नुले सुन तस्करीका लागि नेपाल ट्रान्जिट भएको वीरगन्जका व्यापारीको भनाइलाई बल दिन्छ। भन्सार विभागका एक अधिकारी पनि बेग्लाबेग्लै तीन देशका व्यक्ति तस्करीमा संलग्न भेटिएकाले अन्तर्राष्ट्रिय गिरोह नै संलग्न भएको हुनसक्ने बताउँछन्।

विमानस्थलको भन्सार भएर भित्रिएको दुईपांग्रे सवारी स्कुटीको ३२० थान ब्रेकप्याडमा उक्त सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। बरामद सुनसहितको ब्रेक शु १५५ किलो भएको राष्ट्र बैंक टक्सार महाशाखाले जनाएको छ। ब्रेक शुबाट सुन निकालेर शुक्रबार मात्र तौल लिइने बताइएको छ। 

पछिल्लो समय कम्तीमा दुई दर्जन खेप सुन नेपाल भित्रिएको सूचनामा अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका एक अधिकरीको भनाइ छ। यसरी ल्याइएको सुन भारत जाने हुँदा नेपालीलाई भुक्तानी दिन उताका तस्करलाई ठूलो मात्रामा नेपाली रुपैयाँ आवश्यक पर्ने हुँदा माग बढेको वीरगन्जका व्यापारी बताउँछन्।

भारतीय मुद्राको सटहीमा नेपाली रुपैयाँ अन्य सीमावर्ती बजारभन्दा वीरगन्ज र रक्सोलमा महँगो छ। वीरगन्जबाट भारतीय बजार रक्सोल प्रवेश हुनासाथ खुला रूपमा सडक किनारमा लहरै बसिरहेको भेटिन्छन्। उनीहरूले मोलमोलाइ गरेर यात्रुलाई पैसा बेच्छन्। ठूलो मात्रामा थोक कारोबार गर्नेहरू सडक छेउमा नबस्ने र अन्यत्रैबाट सटही कारोबार चलाउने सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

यही नाकामा अवैध कारोबारको रकम लेनदेन हुने हुँदा अन्यत्रभन्दा नेरु महँगो भएको एक व्यापारी दाबी गर्छन्। ठूलो रकमको सटही सडक किनारबाट नभई थोक कारोबार गर्नेहरूबाट हुने उनको भनाइ छ।

यो पनि: सीमावर्ती क्षेत्रमा किन सस्तो भयो भारतीय रुपैयाँ?

रक्सोलस्थित भारतीय व्यापारी महेश अग्रवाल पनि विनिमय दरमा असर गर्ने महत्त्वपूर्ण कारण सुन तस्करीसमेत भएको बताउँछन्। त्यससँगै प्रतिबन्धित लागुऔषध कारोबारले पनि सटही दरमा फरक पारेको उनको भनाइ छ।

“१०० भारुबापत १५५ नेपाली रूपैयाँको दरले आज मेरैअगाडि पैसाको किनबेच भएको छ,” भारतीय व्यापारी अग्रवालले उकालोलाई बिहीबार टेलिफोनमा भने, “मूल कुरा नेपाल सरकारले यसमा चनाखो हुन ढिलो गर्‍यो, दुई देशबीचको मुद्रा विनिमय दरमा यत्रो ठूलो उतारचढाव हुनु भनेको कालो अर्थतन्त्रले औपचारिक अर्थतन्त्रलाई ठूलो चुनौती दिएको बुझ्नुपर्छ।”

भारतीय सुन नीतिको नेपालमा प्रभाव
भारतको वित्त मन्त्रालयले २०२३ जुलाईमा सुनको आयात शुल्क १०.७५ प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्‍यायो। सुनमा १२.५ प्रतिशत मानक भन्सार शुल्क राखिएको छ भने २.५ प्रतिशत कृषि पूर्वाधार विकास उपकर (एआईडीसी) थपिएको छ। भारतमा सुन आयातलाई नियन्त्रण गर्न यसरी भन्सार शुल्क बढाइएको भारतीय समाचार माध्यमहरूले उल्लेख गरेका थिए।  

“भारतमा वार्षिक ७५० टनभन्दा बढी सुनको माग छ। चाहे वैध बाटोबाट आओस् वा अवैध, बजारको मागअनुसार नै आउने हो,” रक्सोलका व्यापारी अग्रवाल भन्छन्, “भारतमा सुन आयातमा १५ प्रतिशत भन्सार शुल्क भएपछि तस्करी अझ बढेको हुनुपर्छ।”

हाल भारतमा छापावाल १० ग्राम सुनको मुल्य ५९ हजार ७६० भारु अर्थात ९५ हजार ६१६ नेरु छ। नेपालमा भने उक्त परिमाणलाई ९७ हजार ३९५ रूपैयाँ पर्छ। अग्रवालले भनेजस्तै भारतको स्टाटिस्टा नामको संस्थाले गरेको एक अध्ययनले आर्थिक वर्ष २०२२ मा भारतमा सुनको गहनाको उपभोक्ता माग ७७४ मेट्रिक टन भएको देखाएको छ।

यसैबीच, ठूला दरका भारतीय नोट चलनभन्दा बाहिर जाने सक्ने आँकलनसँगै त्यहाँका मानिसमा संसय पनि छ। त्यस कारण नगदलाई भविष्यका लागि सन्चित गर्न सुनमा रूपान्तरण गर्ने प्रवृत्ति बढेको छ। भारतीय संचारमाध्यमहरूले जनाएअनुसार गत वैशाखदेखि भारतीय रिजर्भ बैंक (आरबीआई) ले २ हजार दरका नोट चलनबाट हटाउने निर्णय गरेको थियो। त्यसलगत्तै सुनतर्फ आकर्षण बढेको छ।

२०१६ नोभेम्बर ८ मा नरेन्द्र मोदी सरकारले ५०० र १००० रूपैयाँका नोटमा प्रतिबन्ध लगाएको थियो। त्यही दिन राति ८ बजेदेखि ती नोट नचल्ने घोषणा गर्दैै सटहीका लागि सीमा तोकेर समय दिइएको थियो। 

भारतीय पत्रकार अमरेन्द्र तिवारीका अनुसार पहिला मानिसहरूले स्रोत नखुलेको पैसा सन्चय गर्नु पर्दा सुन किन्थे, अहिले भने भारत सरकारले सुनको किनबेचलाई ‘ट्रयाकिङ’ गरिरहेको छ। “बजारबाट सहजै सुन किन्ने अवस्था अब रहेन, त्यसो गर्दा निगरानीमा परिन्छ,” भारतीय पत्रकार तिवारीले उकालोसँग भने, “यसै कारणले अवैध कारोबार भएर अउने सुनको माग बढ्नु स्वभाविक हो।”


सम्बन्धित सामग्री