Saturday, May 11, 2024

-->

भदौ र असोजमा डेंगीको संक्रमण उच्च हुने, नियन्त्रणका लागि घरदैलो अभियान

वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि डेंगी संक्रमण ह्वात्तै बढेको छ। यसको रोकथाम र नियन्त्रणका लागि जोखिम नक्सांकन तथा हट–स्पट पहिचान, जनचेतना अभियानलगायत कार्यक्रम गर्ने योजना छ।

भदौ र असोजमा डेंगीको संक्रमण उच्च हुने नियन्त्रणका लागि घरदैलो अभियान

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरेको छ।

डेंगी संक्रमण असारदेखि बढ्दै गई भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए। उनका अनुसार असोजपछि भने डेंगी संक्रमण क्रमशः कम हुँदै जाने छ।

वर्षायाम शुरू भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको उनले बताए। गतवर्ष पनि वैशाखदेखि नै संक्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च संक्रमण भई ७७ जिल्लामा फैलिएको थियो।

“पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगी लाग्छ,” उनले भने, “अहिले संक्रमण बढ्दै गएको छ। निरन्तरको वर्षा र पानीले संक्रमण अझै बढ्ने जोखिम छ।”

महाशाखाका अनुसार यही असार २७ गते एक हजार ३३७ जनामा संक्रमण भएकामा साउन १ गतेसम्ममा दुई हजार ९३० पुगेको छ। निर्देशक डा. मरासिनीले डेंगी रोकथाम र नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिए। 

डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजनाअनुसार लामखुट्टे नियन्त्रणका लागि भौतिक पूर्वाधार, खानेपानी तथा ढल व्यवस्थापन, सहरी विकास, शिक्षा र सञ्चार निकायसँग समन्वय गरिने छ। यस्तै लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान र जनस्तरसम्म डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सचेतना अभियान सञ्चालन गरिने छ।

वर्षायामसँगै डेंगी रोग सार्ने लामखुट्टेको वृद्धि विकास हुने स्थान प्रचुर मात्रामा हुने हुँदा बहुपक्षीय समन्वय र सहकार्यबिना लामखुट्टे नियन्त्रण गर्न कठिन हुने, डेंगी पहिचानका लागि आवश्यक डेंगी किटको अभाव, लामखुट्टेको निगरानी गर्न इन्टोमोलोविष्ट तथा आर्थिक स्रोतको अभाव, स्वास्थ्य मन्त्रालयबाहेक अन्य सरोकारवाला मन्त्रालयको भूमिकालाई पैरवी हुन नसकेको उल्लेख गरिएको छ।

कार्ययोजनामा डेंगी सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने पनि उल्लेख गरिएको छ। यसैगरी जोखिम नक्सांकन तथा हट–स्पट पहिचान गर्ने, डेंगी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेंगी भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेंगी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेंगी रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्नेसमेत उल्लेख छ।

गत वर्ष ५५ हजारभन्दा बढीलाई संक्रमण र ८८ जनाको संक्रमणका कारण निधन भएको थियो। डेंगीबाट मृत्यु भएकामध्ये ५० प्रतिशतभन्दा बढी मृत्यु ५५ वर्ष वा सोभन्दा बढी उमेर समूहका रहेको पाइएको छ। मृत्यु भएका व्यक्तिमा डेंगीसँगै निमोनिया, स्क्रवटाइफसलगायत संक्रमणसमेत पाइएको छ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ।

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ।


सम्बन्धित सामग्री