Friday, May 10, 2024

-->

डेंगी देखापरेको १९ वर्षपछि नियन्त्रणको कार्ययोजना लागु, ९२ पालिकामा विशेष सर्कुलर

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।

डेंगी देखापरेको १९ वर्षपछि नियन्त्रणको कार्ययोजना लागु ९२ पालिकामा विशेष सर्कुलर

काठमाडौँ– नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ।

सरकारले अहिलेसम्म डेंगी नियन्त्रणको कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको पहिलो पटक हो। डेंगी नियन्त्रणको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि ७७ वटै जिल्लामा पठाइसकिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रुद्र मरासिनीले जानकारी दिए।

कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह,  रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ। बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा विशेष सर्कुलर जारी गरेको प्रमुख मरासिनीको भनाइ छ।

डेंगी संक्रमण बढी भएका ठाउँहरू काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा वार्षिक कार्ययोजना लागु भइसकेको छ। “कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास कसरी रोक्ने? उपचारमा केके गर्ने? स्थानीय तह र रेडक्रसको भूमिकालगायत विषय समेटेका छौँ,” उनले भने, “काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका सरोकारवालासँग बसेर कार्यक्रम गरिसकेका छौँ।”  

उनका अनुसार नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी देखिएको थियो। यसबीचमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको छ। डेंगी संक्रमणबाट ८८ जनाको मृत्यु भएको छ। पछिल्लो समय डेंगी संक्रमण बढ्दै गएकाले सावधानी अपनाउनसमेत उनले आग्रह गरे।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगी रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। डेंगी नियन्त्रणका लागि स्थानीय सरकारले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

डा. पुनले आगामी वर्ष डेंगीको जोखिम झनै बढ्नसक्ने अनुमान गरे। “ग्यारेजमा फालेका टायरहरू लामखुट्टेका लागि स्वर्ग जस्तै हो। वृत्ति विकास हुन्छ र त्यहाँबाट नै लामखुट्टेहरू तपाइ हाम्रो घरघरमा आइपुग्छ,” उनले भने, “लामखुट्टेको टोकाइबाट बच्ने भनेको लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु हो।”

नेपालमा सबैभन्दा धेरै सन् २०२२ मा ५४ हजार ७०० जनामा डेंगी संक्रमण देखिएको छ। सामान्यतया डेंगी वर्षा र वर्षालगत्तैको समयमा बढी देखिने गरेको उनले बताए। 


सम्बन्धित सामग्री