गोरेटो बाटोको याचनामै एक पुस्ता गुजार्नथालेको महाकालीछेउको नेपाल, पर्खाइ अर्को पुस्तासम्म लम्बिने चिन्ता

१५ वर्षदेखि अलपत्र दार्चुला–तिंकर सडक बन्ला र ‘नेपालको स्विजरल्यान्ड’को घुम्टो उघ्रिएला भन्ने सपना त धेरै टाढा भइगयो। महाकालीछेउका बासिन्दाले गोरेटो बाटोकै पर्खाइमा एक पुस्ता गुजार्न थालिसकेका छन्। 

गोरेटो बाटोसम्म नहुँदा महाकाली किनारमा ज्यानकै जोखिम मोलेर यात्रा गरिरहेका व्यासवासी।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको उत्तरी जिल्ला दार्चुलाको व्यास गाउँपालिका भारत र चीनको साँधमा पर्छ। भौगोलिक तथा सांस्कृतिक विरासतको रूपमा स्थानीयले प्राप्त गरेको महाकाली नदीको सान्निध्य व्यासवासीका लागि वरदान हुनुपर्नेमा काठमाडौँको उपेक्षाका कारण दुःखको पर्याय बन्न पुगेको छ। देशको उत्तर–पश्चिम सिरानमा रहेको प्राकृतिक सौन्दर्यका कारण नेपालभित्रको स्विजरल्यान्ड भन्ने गरिएको व्यासको व्यथा त्यहीँका बासिन्दाको लागि विकराल छ। 

गाउँपालिकाकै वडाहरूबाट पालिका केन्द्र सुन्सेराब पुग्न विकटताका कारण सहज छैन। पालिकाको उत्तर–पश्चिमी दिशातर्फ अन्तिममा पर्ने वडा नम्बर १ का गाउँहरू छाङ्गरु र तिंकर कुनैबेला दार्चुला–तिब्बत व्यापार मार्गको सुपरिचित बिन्दुमा पर्दथे। दार्चुलाबाट पैदल एवं खच्चरमा सामान ओसार्ने र भेडाच्याङ्ग्रा हिँडाउन मिल्ने पदमार्ग सन् १९८० (२०३७ साल) सम्म रहेको दार्चुलाका बुद्धिजीवी हेमेन्द्र बोहरा बताउँछन्। त्यसबेला दार्चुला सदरमुकामबाट सुनचेट, राप्ला र दुम्लिङ हुँदै अहिलेको व्यास गाउँपालिकाको उत्तरी सिरानमा रहेको छाङ्गरु पुग्ने ७२ किलोमिटर लामो पैदल बाटो थियो। 

त्यो बाटो तिंकर र डाङगङ हुँदै तिब्बत–नेपाल सीमा रुटमा ओहोरदोहोर गर्ने व्यापारीहरूका लागि बाटोमै चियाखाजाको पसल र बासको व्यवस्था पनि थियो। यताबाट फापर, गहुँ, मकै, चामल लगायतका खाद्यान्न र नुन भेडाच्याङ्ग्रालाई बोकाएर तिब्बत पुर्‍याउने व्यापारीहरू उताबाट नगद वा थप च्याङ्ग्रा किनेर ल्याउँथे। अहिले यो व्यापारचक्र र पारवहन मार्ग दुवै मासिएको छ। कोरोना महामारी शुरू हुनु अगाडिसम्म छाङ्गरु र तिंकरका व्यवसायीले दार्चुला–तिब्बत व्यापारको ऐतिहासिक विरासत थाम्दै आएका थिए। अहिले त्यो पनि भताभुंग भएको छ। 

दार्चुलामा चिनियाँ सीमानजिकै रहेको नेपालको अन्तिम गाउँ तिंकर। तस्वीर सौजन्य: अमितसिंह तिंकरी

दार्चुला बजारको पश्चिम भएर बग्ने महाकाली नदी कटेपछि सीमापारि भारततर्फको धार्चुला बजार छ। धार्चुलादेखि सीतापुलसम्मको ६८ किलोमिटर सडकमा मोटर गुड्न थालेपछि ऐतिहासिक दार्चुला–तिब्बत व्यापारमार्गको रूपमा रहेको पैदल बाटो उपेक्षित हुँदै गएर अहिले मेटिएको हो। तिंकरका सुरेन्त एतवालका अनुसार नेपालकै बाटो भएर व्यास गाउँपालिकाको उत्तरी भेगका हिमाली गाउँहरूसम्ममा पुग्ने कुनै गोरेटो पनि छैन। निर्माणाधीन दार्चुला–तिंकर सडक योजना शुरू भएको १५ वर्षदेखि अलपत्र छ। 

सीमापारि भारतमा महाकालीको किनारै किनार भएर उत्तरी भेगमा जाने सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आउजाउ गर्ने विकल्प पाएको यो सडकबाट धेरै पटक यात्रा गरिसकेका बोहरा बताउँछन्। “गाडी चढेर तीन–चार घण्टामा सजिलैसँग पुगिने ठाउँमा चार दिन पैदल हिँडेर कोही जान चाहँदैन। अहिले मानिसहरू भारतकै बाटो सीतापुल जान्छन् र पुनः महाकाली पुल तरेर छाङ्गरु पुग्ने गरेका छन्,” उनले भने, “भारतमाथिको यो निर्भरता हटाउन सरकारसँग कुनै ठोस योजना नबन्नु दुखद छ। दार्चुला–तिंकर सडक योजनाको प्रगति सुतेजस्तो भएको छ।”

नेपालकै बाटो गाउँसम्म पुग्ने सडक नहुँदाको परनिर्भरता एकातिर छ भने अर्कोतिर काठमाडौँमा राष्ट्रियताको नारा लागेपछि भारतीय पक्षले नेपालीको आवतजावत र किनमेलमा समेत कडाइ गरेर समस्या पारिदिने गरेको उनले बताए। वारितर्फ बाटो नहुँदा महाकाली तरेर भारततर्फको बाटो प्रयोग गर्ने क्रममा तुइनमा झुन्डिएर आवतजावत गर्दा नेपालीले ज्यानसमेत गुमाइरहेका छन्। 

पुरानो पैदलमार्ग मासिएपछि दार्चुला सदरकुमामबाट नेपाली भूमि भएर आफ्नो गाउँ पुग्न जोखिम यात्रा गर्दै व्यासवासी। तस्वीर सौजन्य: इन्सेक अनलाइन

तीन देशको सीमा जोडिने क्षेत्रलाई जोडेर काठमाडौँमा बसेर टिप्पणी गर्ने र राष्ट्रियताको नारा लगाउनेहरूले समस्या पार्ने बाहेक अरू केही पनि गर्न नसकेको बोहराको टिप्पणी छ। विकासको नाममा सदरमुकामदेखि तिंकरसम्म गोरेटो बाटो पनि बनाउन नसकेका दलहरूले चरम राजनीतिकरण गरेर सामाजिक सुमधुरता बिथोलेकोमा उनी चिन्तित छन्। अहिलेसम्म नेपालकै बाटो भएर त्यहाँ पुग्ने सडक बनेको छैन। 

“यहाँका नागरिकको धेरै ठूलो माग र महत्त्वाकांक्षा छैन। हाम्रोतिर कम्तीमा गोरेटो बाटो त बनोस् भन्ने मात्र हो,” व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवर भन्छन्, “दार्चुला–तिंकर सडकको महत्त्व सरकारले नबुझेको देख्दा अचम्म लाग्छ। त्यो सडक नबनेसम्म पैदल हिँड्न मिल्ने एउटा गोरेटोसमेत बनाउन सक्ने तागत नेपाल सरकारसँग नभएकै हो?”

यो पनि: ताक्लाकोटका पसलमा ताला लगाएर आएका दार्चुलाबासी, फर्केर तिब्बती बजार जान चार वर्षदेखि काठमाडौँलाई गुहार्दैछन्

व्यासको विकासका लागि स्थानीयले पटक-पटक दलका नेतालाई घचघच्याउँदै आएका छन्। उनीहरूले सरकारका जिम्मेवार निकायहरूलाई ज्ञापन-पत्र र निवेदनहरू बुझाउनेदेखि लिएर सामूहिक प्रतिनिधि मण्डल बनाई संघीय राजधानी काठमाडौँसम्म आएर नीति निर्माताहरूलाई भेट्न बाँकी राखेका छैनन्। तर त्यसको नतिजा पर्खिँदापर्खिँदै एउटा पुस्ताको पूरै जीवन सकसमा बित्नेतिर डोरिएको छ।

गत वैशाखमा गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको नेतृत्वमा काठमाडौँ आएको व्यास गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री र गृहमन्त्रीदेखि विभिन्न सरोकारवालालाई भेटेर नेपाली भूमिबाटै सदरमुकामदेखि हिमाली गाउँहरूसम्म आवतजावत गर्न मिल्ने गोरेटो बाटो बनाइदिन, चीनको स्वशासित क्षेत्र तिब्बतसँगको परम्परागत व्यापार खुल्ला गर्न र भारत तथा चीन दुवैतिर छोटी भन्सार स्थापना गर्न माग गरेको थियो। तर त्यसमाथि कुनै सुनुवाइ नभएको गाउँपालिका उपाध्यक्ष कुँवरले बताए।

व्यासबाट देखिने अपि हिम शृंखलाको एक दृश्य। 

व्यास गाउँपालिकासँगको सीमावर्ती चिनियाँ बजार ताक्लाकोटदेखि हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा श्रद्धास्थल कैलाश पर्वत ३२ किलोमिटर र कैलाश मानसरोवर ५२ किलोमिटरको दुरीमा पर्छ। यी दुई प्रख्यात धार्मिक–पर्यटकीय गन्तव्य पुग्ने सबभन्दा पायकको दार्चुला–तिंकर–ताक्लाकोट रुट आधिकारिक रूपमा आवागमनको लागि खुल्ने सपना दार्चुलावासीले पुस्तैनी देख्दै आएका छन्। २०३७ सालसम्म पैदलका साथै खच्चर वा भेडाच्याङ्ग्राको पिठ्युँमा सामान राखेर ओसार्न मिल्ने दार्चुला–तिब्बत व्यापार मार्ग चलिरहँदा उक्त क्षेत्रको आफ्नै महत्त्व थियो। 

व्यास गाउँपालिकामा पर्ने नेपालको सबभन्दा माथिको गाउँ तिंकरदेखि दुई किलोमिटरको दूरीमा चीनतर्फको सीमावर्ती प्रहरी पोस्ट छ। त्यहाँदेखि ३ घण्टाको  पैदल दूरीमा नेपाल–चीन सीमाको पिलर नम्बर १ पर्छ। त्यहाँदेखि चीनले बनाएको २२ किलोमिटर लामो सडकमार्ग छिचोलेपछि तिब्बती बजार ताक्लाकोट (पुरङ) पुगिन्छ। 

१५ वर्षदेखि शिथिल सडक योजना
सरकारले आर्थिक वर्ष २०६५/६६ मा दार्चुला–तिंकर १४० किलोमिटर सडक निर्माण योजना ल्याएको थियो। त्यसयताका १५ वर्षसम्म स्थानीयले लाभ पाउने स्तरको कुनै प्रगति नभएको व्यासका बासिन्दा बताउँछन्।

४० किलोमिटर खण्डमा ट्र्याक खोल्ने काममै १२ वर्ष बितेपछि सरकारले तीन वर्षअघि यो काम नेपाली सेनालाई जिम्मा दियो। तत्कालीन मन्त्रिपरिषद्ले २०७७ वैशाख १४ गतेको निर्णयबाट उक्त सडक बनाउने जिम्मेवारी सेनालाई दिएको थियो। त्यसको तीन महिनापछि २०७७ साउनदेखि सेनाको निर्माण इकाईले काम थाल्यो। 

व्यास गाउँपालिकाको केन्द्र सुन्सेराबाट खच्चरमा सामान लिएर छाङ्गरुतर्फ जाँदै स्थानीयहरू। तस्वीर सौजन्य: विनोदसिंह कुँवर

त्यसबेला नेपाली सेनाको निर्माण टोली दार्चुला पुग्दा अब सडक छिट्टै पूरा हुने आशा र उत्साह जागेको छाङ्गरुका योगेश बोहरा सम्झन्छन्। तर सोचेजस्तो गतिमा काम अघि बढेन। सरकारले पर्याप्त बजेट नदिएकै कारण सेनाले जिम्मा लिएयता पनि योजनाको प्रगति सुस्त छ।

दार्चुला–तिंकर सडक अहिले महाकाली राजमार्गको योजनामा गाभिएको छ। योजनाको करिब ६० प्रतिशत बढी ट्र्याक खुलाउने काम भइसकेको महाकाली राजमार्ग (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिंकर सडक) योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताए। “योजना पुरानो भएकाले यसका सबै विवरण हामीसँग पनि छैनन्, खोजेर मात्र यसबारे भन्न सकिन्छ। १८ अर्ब लागत अनुमान गरिएको यो योजनामा चालु आर्थिक वर्षको कुल ५० करोड बजेट खर्च भइसकेको छ,” इन्जिनियर अधिकारीले उकालोसँग भने, “३३४ किलोमिटर सडकमध्ये ८७ किलोमिटर सेनाले बनाइरहेकाले त्यस खण्डको प्रगति विवरण पनि हामीसँग छैन।” 

सेनाले व्यास गाउँपालिका वडा नम्बर २ को घाँटीबगरदेखि तिंकरसम्म भौगोलिक रूपमा जटिल देखिएको सडक खण्ड निर्माणको जिम्मा पाएको छ। राष्ट्रिय योजनामा परेका अन्य सडकजस्तै सडक विभागले कार्यान्वयन गरिरहेको महाकाली करिडोरअन्तर्गत सञ्चालित यस योजनालाई दार्चुलाको ‘लाइफलाइन’ भनिए पनि आफ्नो जीवन बदल्ने सपनाको पर्खाइ ‘अनन्त’ बन्ने चिन्ता व्यासवासीमा छ।