मधेश संस्कृतिको अभिन्न फल आँप

गुलियो, रसिलो र स्वादिलो आँपको फल खाने सिजन शुरू हुन लागेको छ। फलहरूको राजा भनिने आँप एउटा यस्तो फल हो जुन रुचिकर मात्र छैन खानका लागि धेरै हिसाबले सुरक्षित र स्वास्थ्यकर पनि छ।

आमवा महुअवा के झुमे डलिया

तनी ताकना बलमुआ हमार ओरिया



भोजपुरीको यो लोक भाकामा भनिएको छ, “आँप र महुआका हाँगाहरू हल्लिएका छन्, प्रियतम थोरै मतर्फ हेर न।” मधेशका गाउँबस्तीका बीच र खेतका माझ आँपका रुख र बगैँचाहरू घट्दै गए पनि लोकगीतहरूमा भने आँपको उपस्थिति अझै सघन छ।



नयाँ वर्षको शुरूआत हुँदा (वैशाख १ मा) मशेधमा सतुआन मनाइन्छ। सात अन्नले बनेको सातु खाने सो दिनलाई आँपलाई मुखमा हाल्ने अनुमति प्राप्त हुने दिनका रूपमा पनि बुझिन्छ। वैशाख १ अघि आँपको रूखबाट झरेका वा टिपेरै आँप खानु हुँदैन भन्ने सांस्कृतिक मान्यता पाइन्छ। आँपका कलिला दानामा हुने चोपका कारण खान नहुने बताइन्छ।



अलि हुर्किसकेका काँचो आँपमा ‘कस’ घटेर अम्लता (अमिलोपना) बढिसकेको हुन्छ। स्थानीय बोलीमा ‘टिकोला’ भनिने सानासाना काँचा आँप बालबालिकाहरूले नुन चोपेर खान्छन्। खेतमा हुर्किरहेको प्याज र साना काँचो आँपको बोक्रा ताछेर मसिनो टुक्रामा काटेर नुन, खुर्सानी र तेल हाली बनाइएको ‘कचउरी’ बालबालिकादेखि किशोरसम्मले जिब्रो पड्काउँदै खान रमाइलो मान्छन्।



यतिखेर तराई/मधेशमा आँपको सिजन शुरू हुँदैछ। अहिले तयार हुने आँपको अचार केही वर्षसम्मका लागि हुन्छ। मीठा (सखर या खुदो)को रसमा मसलासहित पकाएर अमिलो र गुलियोको समायोजन गरी बनाइएको ‘खट्टमिट्ठी’ खाना र खाजाको हिस्सा बन्ने समय यही नै हो। मैथिलीको यो लोकगीतले चटनीको चलनलाई यसरी व्यक्त गरेको छ:



चैत, वैशाख दुई मास

अमुआ मजरै छै कोना,

टिकला तोरय हखो दियरवा,

पिया मोरे चटनी खेथिन् ना



अर्थात्, “चैत र वैशाख दुई महिना आँप किन पुल्छ त? काँचो आँप तोडेर ल्याइदेऊ न देवर! मेरो श्रीमानले चटनी खान्छन्।”



वसन्त ऋतुको उत्तरार्द्धमा पर्ने सतुआनदेखि वैशाख महिना भरी आँपको ‘टिकोरा’बाट चटनी, अचार, खट्टमिट्ठीजस्ता परिकारहरूले भान्छामा आफ्नो दमदार उपस्थिति दिइरहेको हुन्छ। आँपको ‘टिकोरा’ सुकाएर ‘अमचुर’ (आँपको सुकुटी) बनाइन्छ। त्यसमा तेल मसला हालेर लामो समय टिक्ने गरी बनाइएको सामग्री नै अचार हो।



ग्रामीण क्षेत्रमा वर्षभरि खपत हुने परिकार काँचो आँपबाट बनाइएको अचार माटोको भाँडोमा भण्डारण गरिन्छ। शहरी क्षेत्रमा एउटै अचार विभिन्न प्याकेटमा पाइन्छ। सिजन सकिएपछि खान मिल्ने गरी आँपको रसलाई तहमाथि तह सुकाएर आमावट बनाइन्छ। आँपको रस र पातको धेरै आयुर्वेदिक फाइदाहरू छन्। आँपको जुसले शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्रदान गर्छ र शरीरको चमक बढाउँछ। गाउँतिरको ‘अमरस’ शहर पुग्दा ‘म्यांगो शेक’ कहलिन्छ।



दर्जनौँ परिकार आँपबाट बन्छन्। यतिकै ताजा आँप छिलेर, चुसेर वा काटेर खान नरुचाउने बिरलै होलान्। चिउरामा, रोटीसँग र भातसँग आँप खाने चलन छँदै छ। खाना खाइसकेपछि आँप काटेर ‘स्विट डिस’को सट्ट खाने चलन बढ्दो छ। बाल्टीमा पानीभित्र आँप डुबाएर झिक्दै, चुस्दै खादै गर्ने पुरानो तरिका अलि कमै देखिन्छ।



जेठदेखि गृष्म ऋत शुरू हुन्छ, यता आँप पनि छिपिइसकेको हुन्छ। अब आँपलाई गरम ठाउँमा दुईचार दिन राखेपछि पाक्ने खालको भइरहेको हुन्छ। अर्थात् गुलियो, रसिलो स्वादिलो आँपको फल खाने सिजन शुरू हुन लागेको छ। आँपको नाममै मिठास छ। फलहरूको राजा भनिने आँप एउटा यस्तो फल हो जुन रुचिकर मात्र छैन खानका लागि धेरै हिसाबले सुरक्षित र स्वास्थ्यकर पनि छ। आँपमा फ्याटको मात्रा न्यून हुन्छ। प्रत्येक १०० ग्राम आँप खादा मात्र ०.४ वसा शरीरमा पुग्छ जसमा कोलेस्ट्रोलको मात्रा शून्य हुन्छ। यसमा कार्बोहाइड्रेट १५ ग्राम, क्याल्सियम ११ ग्राम, रेसा १.६ ग्राम, प्रोटिन ०.८ ग्राम, आइरन ०.२ ग्राम र पोटासियम १६८ मिलिग्राम पाइन्छ।



आँपका उत्पादक कृषकहरूका लागि यो एउटा भरपर्दो नगद आम्दानीको स्रोत हो। बगैँचा भएकाहरूले रुखभरिको आँप एकमुष्ट बेचिदिएका हुन्छन्। आफ्ना लागि भाग भने आरक्षित हुन्छ। बगैँचाको आँप किन्नेले बजारको थोक बिक्रेतालाई र थोक विक्रेताले खुद्रा बिक्रेतालाई आँप बेच्छन्। त्यसपछि सर्वसाधारण उपभोक्तासम्म आँप पुग्छ। आँपको एउटा बेग्लै अर्थतन्त्र छ, जुन बजारको बिचौलियावादबाट अछुतो छैन। तर, यसले धेरैलाई मौसमी रोजगारी दिने गर्छ।



विश्वको समग्र आँप उत्पादनको ५० प्रतिशत बढी भारतले उत्पादन गर्छ। नेपालमा भने भारतसँग सीमा जोडिने तराईको भूभाग आँप हुने मुख्य क्षेत्र हो। ‘स्पिसेस प्रोफाइल फर पेसिफिक आइसल्यान्ड एग्रोफरेस्टरी’ भन्ने अध्ययनका अनुसार दुनियाँभरमा करिब एक हजार प्रजातिका आँप पाइन्छन्। जसमध्ये दुई दर्जन प्रकारहरूलाई व्यावसायिक रूपमा महत्त्वपूर्ण मानिन्छन्। हामीकहाँ माल्द, सबुजा, जर्दा, दशहरी, दलमा, भदेयाजस्ता जातका आँप चलनमा छन्। आँपका नाम पनि ठाउँअनुसार फरक हुने गर्छन्। आँप सबै फलहरूमध्ये उत्कृष्ट हो भन्नेको संख्या धेरै छ।



जन्मदेखि मृत्युसम्म

यसको रूख सामान्यतया ३०–४० फिटसम्म बढ्छ। आँपको रुख छायादार र शीतल हुन्छ। तराई/मधेशमा आँपको रुखको छायामा मानिसहरूले घाँस राख्ने, ‘डेली’ बनाउँदै, माछा मार्ने जाली बुन्दै र कच्ची घरहरू बनाउन काम लाग्ने रस्सी (डोरी) तयार गर्दै गरेको भेटिन्छ। बाघचाल र १६ गोटियाजस्ता बुद्धिबिलासका खेलहरू पनि आँपका बगैँचामा हुन्छ। बालबालिकाको झुलुवा (पिङ) त हुने नै भयो। घरपरिवार, साथीभाइ र टोलछिमेकका मानिसहरूलाई एकसाथ ल्याउने क्षमता आँपमा  हुन्छ। आँपको रूखमुनि जम्मा हुने, हाँसोठट्टा गर्ने, कथाहरू भन्ने तथा सुन्ने र स्वादिष्ट आँपहरू बाँड्दै आनन्द लिने जीवनशैली ग्रामीण भेगमा भेटिन्छ। आँपले सम्बन्धहरू कसिलो बनाउँछ। कहिलेकाहीँ आँपको लोलुपताले क्लेश पनि निम्त्याउने गरेको देखिन्छ।



एकपटक रोपेपछि धेरै वर्षसम्म फाइदा लिन सकिने आँपको रूखको सबै भागहरू प्रयोगमा आउँछन्। सामाजिक रूपमा आँप सांस्कृतिक प्रतीकको रूपमा देखापर्छ। पौराणिक कथा, कला र साहित्यमा गहिरो रूपमा यो सम्मिलित छ। आँप अक्सर प्रेम, प्रजनन र समृद्धिसँग सम्बन्धित छ।



लाल लाल हेठवा से,

बरसे ललइया

कि हो सर चुएला,

जइसे अमवा के मोजरा से

रस सर चुएला।



(राता तिम्रा ओठहरूबाट लालिमा बर्सिएको छ, जसरी आँपको ‘मञ्जरी’बाट रस चुहिन्छ।) यो गीतमा ‘मञ्जरी’बाट रस चुहिएको प्रसंग छ, जतिखेर फूल फलमा रूपान्तर भइरहेको हुन्छ, रस चुहिने कारण मान्छेहरू यस समय आँपको छहारीमुनि बस्नबाट तर्कन्छन्। आँपसँग जोडिएको यो पुरानो भोजपुरी गीत शृङ्गार रसले ओतप्रोत छ। आँपको सामाजिक र सांस्कृतिक महत्त्व गहिरो र बहुआयामिक छ। हिन्दु पौराणिक कथाहरूमा आँपको रुखलाई पवित्र मानिएको छ।



बुद्धिशीलता र शुभका देवता भगवान् गणेश आँपको रूखमुनि बसेको चित्रण गरिएको छ। रामायण र महाभारतजस्ता पुरातन ग्रन्थहरूमा यस फलको उल्लेखले यसको सांस्कृतिक महत्त्व बढाउँछ। शिशु जन्मिएपछि छैटौँ दिनमा गरिने पूजामा आँपको दाउरामा पकाएको सामग्रीको उपयोग हुन्छ। तागाधारीहरूमा व्रतबन्ध गर्दा बटुक (जनै हुने पात्र)लाई आँपकै काठले बनेको आसनमा बसाएर विधिहरू गर्ने प्रचलन पनि छ।



हिन्दु समाजमा हुने हरेक पूजा अनुष्ठानमा कलशमा आँपको पल्लव र तोड्न (सजावटको लागि रंगीविरंगी कागज वा फूलसहित झुन्ड्याइने डोरी)मा आँपको पात चाहिन्छ। पूजा गर्ने यजमानको औँलामा औँठीजस्तै आँपको पातको बीच भागबाट पवित्री बनाएर पहिराइन्छ। तराई/मधेसमा छोराछोरीको बिहेअगाडि आँप र महुआको रुखको बिहे गराइने चलन छ। खराब ग्रह नक्षत्रको प्रभाव यसले नवदम्पतीमाथि पर्न दिँदैन भन्ने मान्यता छ। बिहेको मण्डपमा दुलहा दुलहीको हातमा आँपको पातबाट डोरीले कंगन बनाइ पुरोहितले लगाइदिने गर्छन्।



बिहे भएपछि सोही वर्ष बेहुली माइतीमा भए केटा पक्ष र घरमा भए केटी पक्षले सिजनमा आँपको कोसेली लैजाने चलन पनि छ। गृह प्रवेश होस् वा धार्मिक अनुष्ठान आँपको पात, दतिवन, पल्लव, दाउरा र काठको आवश्यकता पर्छ। सबैभन्दा पवित्र मानिने छठ पर्वमा प्रसाद तयार गर्न आँपकै काठ चाहिन्छ। मृत्यु उपरान्त अन्त्येष्टिमा पनि आँपका काठ/दाउरा चाहिने हुन्छ। यसरी आँप तराई क्षेत्रमा खास गरी बहुसंख्यक रहेका हिन्दु समाजमा जीवनको प्रारम्भदेखि सद्गतिसम्ममा चाहिने एउटा रुख हो, जसले सिजनमा मिठो र रसिलो फल दिन्छ।



वस्तुशास्त्रअनुसार आवासीय घरनजिक रुखहरू लगाउनु हुँदैन। तर, आँप र शमीको रुख स्वीकार्य र शुभ मानिन्छ। महिलाहरूले संस्कारगीतको लोकभाकामा जब आशीर्वाचन प्रदान गर्छन्, त्यसमा लक्षित व्यक्ति आँपको रुख र बगैँचाले सम्पन्न होस् भन्ने कामना गरिन्छ। आँपको बगैँचा हुनु गाउँ–समाजमा वैभवको प्रतीक पनि हो।



आँपको बगैँचा पहिला धेरै देखिन्थ्यो। वर्षमा एक पटक मात्र आम्दानी दिने भएपछि काठको भाउमा रुख बिक्री गरेर जग्गा खाली गराइदिने चलन बढ्यो। अहिले बगैँचाभित्र पनि मिश्रित खेतीमा जग्गाको उपयोग गर्ने अवधारण आएपछि यो क्रम केही कम भएको छ। वृक्षारोपणको अवधारणाले आँपलाई पुनर्स्थापित गर्न थालेको छ।



रुख यतिकै पनि मानव जीवनका लागि अत्यावश्यक भनेर स्विकारिएकोमा वर्षमा एक पटक अमृततुल्य आँप फल्ने रुख नै किन नलाउने? भन्ने मानिसहरूले ‘रियलाइज’ गर्न थालेका छन्। हुन पनि तराई/मधेशमा व्यावसायिक उत्पादनका लागि आँपको बगैँचा लगाउने अभियानहरू बृहत् रूपमा चाल्नुपर्छ। यसमा अनुदानमा उन्नत जातका र माटो सुहाउँदो आँपक‍ा विरुवा उपलब्ध गराउने अभिभारा स्थानीय सरकारहरूले उठाउनु उचित हुन्छ।



बढ्दो तापक्रम, अनावृष्टि र अतिवृष्टिको समस्या भोगिरहेको मधेशको पर्यावरणीय सन्तुलनका लागि वृक्षारोपणले योगदान गर्ने छ भने एउटा पुस्ताले लगाएको आँपबाट त्यसपछिका पुस्ताले व्यावसायिक लाभ लिन सक्छन्। सँगसँगै सांस्कृतिक जगेर्ना पनि हुनेछ।



यतिखेर मिठो स्वादिलो फलको लागि आकर्षणको केन्द्र आँपको बगैँचा वर्षभरि कुनै न कुनै रूपमा तराई/मधेशको लोकजीवनको हिस्सा बनिरहेको हुन्छ। पंक्तिकारकै पुरानो छोटो कविताले यस्तो भन्छ:



भीडभडाका, शोर शराबा से भरल

राउर शहर में बस काम से काम बा,

लोग चिन्हाए उहाँ त पद आ पैसा से

फोकट में शहर के ‘शहर’ नाम बा

फुलवरिया में सिहके बयार जहाँवा

आईं चली देहात जहाँ गाछ बा, आम बा।



अर्थात्,



भीडभाडा र होहल्लाले भरिएको तपाईंको शहरमा कामसँग मात्र मान्छेको काम छ।

त्यहाँ मानिसहरू पद र पैसाले चिनिन्छन्, फोकटमै शहरको ‘शहर’ नाम छ।

बगैँचामा सिरिरी हावा चल्छ जहाँ, आउनुस् जाऊँ देहाततिर रुख छ अनि आँप छ।