नयाँ वर्षको अवसर पारेर ३ चलचित्र प्रदर्शनमा

नयाँ वर्षकाे अवसर पारेर शुक्रबारदेखि नेपाली चलचित्रहरू ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।

काठमाडौँ– नयाँ वर्षको अवसरमा तीन वटा नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन्।

शुक्रबारदेखि  ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्। यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भनिए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि मिति तय गरेको छ। नयाँ वर्षलाई नेपाली चलचित्रको व्यापार हुने समयका रूपमा लिइन्छ।

यस मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन्। तर, एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने पनि चर्चा छ। दयाहाङ राई अभिनित दुई वटा चलचित्र ‘बिहे पास’ र ‘जारी’ एकसाथ प्रदर्शनमा आएका छन्।

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्‌को कथा समेटिएको छ। कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बूलगायतले अभिनय गरेका छन्। यस्तै ‘बिहे पास’मा राईसँगै प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतको अभिनय छ।

प्रवेश पौडेलको निर्देशन रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तुलाई उठाइएको छ। “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ। हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि,” अभिनेता राईले भने। 

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’। कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गरेका हुन्।

सुरक्षा पन्त, नरेन खड्कासँगै निर्माता विष्ट स्वयमंले पनि अभिनय गरेका छन्।