Friday, March 29, 2024

-->

मिटरब्याजको कहर : अपहरण गरेर मारिदिने धम्कीपछि भाइसँगै स्कुल छाडेकी गरिमा

'काठमाडौँले न्याय दिन्छ भन्ने सुनेका थियौँ। न्याय दिन सकिँदैन भने हामीलाई बरु यहीँ मार्नु, तर हामी यत्तिकै फर्कँदैनौँ।'

मिटरब्याजको कहर  अपहरण गरेर मारिदिने धम्कीपछि भाइसँगै स्कुल छाडेकी गरिमा

काठमाडौँ– 

‘पीडितलाई न्याय दे’
‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’
‘मिटरब्याजविरुद्ध कानुन निर्माण गर’

माइतीघर मण्डलको सडकबाट मिटरब्याज पीडितहरू यस्तै नारा लगाइरहेका थिए। त्यही भीडमा एक बालिका चर्काेस्वरमा भीडले भट्याएको नारालाई दोहोर्‍याउँदै थिइन्।

उनको नाम गरिमा राई हो। सिरहाको मिर्चैयादेखि मिटरब्याज विरुद्धको लडाइँमा सरिक हुन काठमाडौँ आइपुगेकी हुन् उनी। उनको परिवार मिटरब्याजको कहालीलाग्दो पीडा बेहोर्ने ज्युँदो जाग्दो उदाहरण हो। १२ दिन हिँडेर उनी र उनकी आमा ममता आफ्ना व्यथा सुनाउन काठमाडौँ आइपुगेका हुन्।

चार वर्षअघि छोराको मस्तिष्कमा समस्या देखिएपछि उपचारका लागि ममताले रकम जोहो गर्नुपर्ने भयो। मिर्चैयाकै सुजाता शाह मिल्ने साथी भएकोले ममताले उसैलाई गुहारिन्। सुजातासँग ममताले त्यतिबेला दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। तर सुजाताले त्यो ऋण रकम बढाएर कागजमा भने ६ लाख रुपैयाँ लेखिदिएकी रहिछन्।

ममताले त्यसबारे सोध्दा सुजाताले ‘केही हुन्न, यो लेख्नका लागि मात्रै लेखेको हो’ भनेकी थिइन्। त्यसैले ममताले त्यसमा उति वास्ता गरिनन्।

त्यो दुई लाख रुपैयाँ खर्च गरेर ममताले छोरालाई काठमाडौँ ल्याई उपचार गराइन्। छोराको उपचार भएको केही समयपछि नै सुजाताले ममतालाई पैसा तिर्न दबाब दिन थालिन्। साथै हप्ताको साढे सात हजार रुपैयाँ तिर्नुपर्ने भन्दै मिटरब्याज जोडिदिइन्। 

“दुई लाख रुपैयाँ ऋण लिएको चार वर्षमा पटक—पटक गरी ३५ लाख बुझाइसक्यौँ,” गरिमा भन्छिन्, “६ धुरको एउटा जग्गा र १० धुरको अर्को जग्गा गरी दुई कित्ता जग्गा पनि त्यही सुजाताले लिइसकिन्। अहिले महिनामा ६० हजार रुपैयाँ बुझाउन दबाब दिइरहेकी छन्।”

अहिले ममताले लिएको ऋणको सावाँ नै बढेर १६ लाख पुगेको छ। त्यसको ब्याज हरेक महिना ६० हजार बढिरहेको छ। गरिमाका बुबा वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन्। उनैले कमाएर पठाएको पैसाबाट ममताले ऋण तिरिरहेकी थिइन्। तर ब्याज बढ्दै गएपछि उनले पैसा तिर्न सकिनन्। त्यसपछि सुजाताले दबाब दिन अपरिचित पुरुषहरूलाई घरमा पठाउन थालिन्।

“पैसा नतिरे छोराछोरीलाई विद्यालयबाटै अपहरण गर्ने र मार्ने धम्की दिएका थिए,” ममता भन्छिन्, “सन्तान गुमाउने त्रासकै कारण सात महिनादेखि स्कुल पठाउन बन्द गरेकी छु।”

पैसा तिर्न धम्की आएपछि ममता जिल्लाकै विभिन्न सरकारी अड्डाहरू धाइन्। तर त्यहाँका कर्मचारीले पनि ‘लिएको ऋण तिर्नुपर्छ’ भनेर उल्टै ममतालाई नै हप्काएर पठाए। अहिले त्यही ऋणका कारण ११ वर्षे भाइ र गरिमाको पढाइ छुटेको पनि सात महिना भइसकेको छ।

सरासर पढ्न पाएको भए गरिमा यतिखेर कक्षा पाँचको अन्तिम परीक्षाको तयारी गरिरहेकी हुने थिइन्। तर, उनले सात महिनादेखि विद्यालयमा टेकेकै छैनन्। 

ममताका अनुसार गरिमा जेहेन्दार छात्रा थिइन्। व्याज तिर्दातिर्दै खान लाउनसमेत धौ—धौ भएपछि पढ्नुपर्ने समयमा गरिमा न्यायको लागि काठमाडौँ धाउनुपरेको छ।

चैत २ गतेदेखि मिटरब्याज पीडितहरूसँगै गरिमा र उनकी आमा ममता काठमाडौँ आइपुग्न महोत्तरीको बर्दिबासबाट हिँडेका थिए। १२ दिनको पैदल यात्रापछि उनीहरू काठमाडौँ आइपुगे। १२ दिन हिँडेको थकाइ मेट्ने फुर्सद पनि उनीहरूलाई भएन। आएलगत्तै उनीहरू घरी बालुवाटार त घरी माइतीघर धाइरहेका छन्। हिँडाइले थकित भए पनि नारा लगाउन भने गरिमाले पूरै भएभरको जोस लगाइरहेकी छन्।

१२ दिनसम्म हिँडिरहँदा गरिमा एउटै कुरा सोच्थिन्, ‘काठमाडौँ गएपछि न्याय पाइन्छ।’

न्याय पाउने आसमा हिँड्दै गर्दा लागेको चोटको पनि पर्बाह नगरी उनी लगातार हिँडेकी थिइन्। जब जब गाह्रो हुन्थ्यो उनी मिटरब्याजको कारण गुमाएको घरजग्गा, छुटेको पढाइ सम्झन्थिन्। हिँड्दा बाटोमा खाने र बस्ने कुनै ठेगान थिएन। सँगै हिँडेका मानिसहरू पनि बिरामी परे। लाएको चप्पल पनि च्यातिएपछि खाली खुट्टा नै उनी हिँडेकी थिइन्।

खाली खुट्टा हिँड्दा लागेको चोट अझै पनि आलै छ उनको खुट्टामा। चोटको समेत पर्बाह नगरी काठमाडौँ आएकी उनी काठमाडौँले गरेको व्यवहारले भने दुःखी छिन्।

“हाम्रो जिल्लामा त गरिबलाई चिन्दैनन्, त्यहाँ धनीहरूलाई मात्र चिन्छन्। न्यायको लागि प्रहरी चौकी पुग्दा उल्टै अपमान बोकेर फर्किनु पर्थ्यो,” उनी भन्छिन्, “लाग्थ्यो, काठमाडौँ पुगिएला र हामीलाई न्याय मिल्ला। तर, अहिलेसम्म पाइएको छैन।”

काठमाडौँ आइपुगेको दिन खुल्ला मञ्चमा प्रवेश गर्न काठमाडौँ महानगरका नगरप्रहरीले रोक्दा उनीहरूले वीर अस्पताल अगाडिको सडकमै रात बिताउन बाध्य हुनुपरेको थियो। सबैबाट सान्त्वना मात्रै पाइरहेका छन् उनीहरूले। पीडितहरू झनै पीडित भइरहँदा सरकारले तत्काल समस्या समाधान गर्न तदारुकता नदेखाएपछि उनीहरू दुःखी छन्। न्याय कहिले मिल्छ भन्ने उनलाई थाहा छैन। तै पनि न्याय नपाइन्जेल नफर्कने अठोट लिएकी छन् उनले।

भन्छिन्, “न्याय दिन सकिँदैन भने हामीलाई यहीँ मार्नु तर, हामी यत्तिकै फर्कँदैनौँ।”


सम्बन्धित सामग्री