उच्च अदालत पोखराले पल शाहलाई दियो सफाइ

उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोग लागेका पल शाहलाई सफाइ दिएको छ। 

काठमाडौँ– नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ। 

आइतबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो। उच्च अदालत पोखराका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले शाहले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ पाएको जानकारी दिए। 

नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिको फैसला सुनाएकाको थियो। नवलपुर जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै शाह उच्च अदालत पुगेका थिए।

उच्च अदालतले सफाइ दिएसँगै उनी जेलमुक्त हुने भएका छन्। शाह यतिबेला नवलपुर अदालतको फैसला भुक्तानका लागि तनहुँ कारागारमा छन्। अब कानुनी प्रक्रिया पूर्‍याएर जेलबाट रिहा हुने छन्। 

नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतमा परेको मुद्दामा शाहले सफाइ पाइसकेका छन्। नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।