Friday, April 19, 2024

-->

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्‍याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे जबर्जस्ती लिएर गए

काठमाडौँ– “तपाईंलाई महानगरको ठूलो मान्छे भेटाएर, यहीँ फर्काउछौँ।” ५२ वर्षिय डिल्लीबहादुर कार्कीलाई मंगलबार दिउँसो महानगर प्रहरीले व्हिलचेयरसमेत उचालेर ट्रकमा राख्नुअघि भनेको वाक्य अझै पनि सम्झना छ। पुरानो बसपार्कस्थित पुल नजिकैबाट महानगरको ट्रकमा आएका चार पाँच जना महानगर प्रहरीले त्यसपछि उनलाई गाडीमा राखे।

“हिँड्डुल गर्न सक्ने मान्छे भएको भए त भागिहाल्थेँ होला दिउँसै,” कार्कीले भने। उनको कम्मरभन्दा तलको आधा भाग चल्दैन र ह्विलचेयर समेत आफैले धकेल्न सक्दैनन्।

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगरले चार घन्टा टेकु लगेर राखेको घटना महानगरको पछिल्लो विवादास्पद कदम हो। यसले अपांगता भएका व्यक्तिको मानवाधिकारको मात्र नभएर महानगरपालिकाको शक्ति दुरूपयोगबारे पनि प्रश्न उठाएको छ।

बालेन शाह काठमाडौँको मेयर निर्वाचित भएपछि नगरपालिकाले फुटपाथ, पार्किङ र सुकुमवासी व्यवस्थापनमा कडाइ गर्दै आइरहेको छ। यी विषयले काठमाडौँमा वादविवाद सिर्जना गरिरहेको छ भने, यसको विरोधमा धेरै समूहहरू प्रदर्शनमा उत्रिएका छन्।

महानगरले दिएको पीडा
मंगलबार महानगर प्रहरीले समातेर लैजाँदा कार्की सधैँझैं पुरानो बसपार्कको एउटा चोकमा व्हिलचेयरमा बसेर खुद्रा सामान बेचिरहेका थिए। मंगलबारको घटनाले आफूलाई विक्षिप्त बनाएको उनी बताउँछन्। 

“सरकारले पनि म जस्तो अपांग व्यक्तिलाई दु:ख दिने रहेछ,” उनी भन्छन्, “हिँड्डुल गर्न नसकेपछि यस्तै सानोतिनो केही गरेर औषधी उपचार धान्छु भनेर सोचेको थिएँ। तर, यो शहर हाम्रो लागि रहेनछ। मेयर बालेन शाहले हामी दुखी, गरिबलाई हेर्नुहुन्छ जस्तो लागेको थियो। आज आफैँमाथि यस्तो आइपर्यो।”

मंगलबारको घटनाले मानसिक मात्र नभई शारीरिक रूपमा पनि गाह्रो पारेको उनी बताउँछन्। संघीय राजधानीको भद्रगोल बाटो, सडकका खल्डाखुल्डीले महानगरको गाडी चढ्नु मात्रै भयो। गाडी थचारिदा ढाड र कम्मर अझै दुखिरहेको उनले बताए।

कार्कीका अनुसार, उनलाई त्यहाँबाट महानगरको शाखा कार्यालय वातावरण विभाग टेकुमा लगेर चार घन्टाजति राखियो। साँझ ५ बजेपछि कार्कीलाई महानगर प्रहरीको त्यही टिमले घर फर्किन भन्यो। 

दिउँसो महानगरको ठूलो मान्छेलाई भेटाउँछु भनेर ल्याइएको उनलाई कसैले पनि किन र कहाँबाट ल्याएको समेत नसोधेको उनले बताए। “मलाई जहाँबाट ल्याएको त्यही ठाउँ फर्काउँछु भनेको होइन भनेर मैले सोधेँ,” उनले उकालोलाई भने। 

‘हाम्रो फर्काउन चलन छैन। आफ्नो मान्छेलाई बोलाएर जा,’ भन्ने जवाफ आएको उनी बताउँछन्।

दुई जना महानगर प्रहरीले आफूलाई टेकुको मुख्य सडकसम्म ल्याएर छोडिदिएको उनी बताउँछन्। दिनभर भोकै रहेकाले नजिकै चौतारीको पसलमा चिया खाजा खाए। आफ्नो अवस्था देखेर चिया पसलेले पैसासमेत नलिएको उनी बताउँछन्। 

त्यसपछि, आफ्नो भान्जा पर्ने पुजन काफ्लेलाई फोन गरेर घर फर्किएको कार्की बताउँछन्। 

जीवन धान्ने कसरी?
उनी शारीरिक अशक्तता र कमजोर आर्थिक स्थितिले गर्दा आगामी दिनमा कसरी जीवन धान्ने भन्ने चिन्तामा रुमल्लिएका छन्। 

हात्तीसारमा कोठाभाडामा लिएर उनी श्रीमती र छोरीसँग बस्दै आएका छन्। श्रीमतीले थर्मसमा चिया बोकेर काठमाडौँ शहर डुल्ने गरेको उनले बताए। तर, चिया बेचेर खास आम्दानी हुँदैन। सडक, फुटपाथमा व्यवसाय गर्न नमिल्ने भएपछि दुई पटकसम्म थर्मस र गिलास जफत भइसकेको छ। 

असनको एक पसलमा काम गरेर मासिक ८ हजार कमाउने छोरीको तलबले कोठाभाडा, घर खर्च नपुग्दा आफ्नो औषधी खर्च जुटाउन गाह्रो हुने उनी बताउँछन्। “मेरो मासिक औषधी उपचार १८–२० हजार लाग्छ,” कार्कीले भने, “आफ्नो खर्च औषधी उपचारको खर्च उठाउन सकिन्छ कि भनेर पनि दुई वर्षदेखि यहाँ सडकमा व्यवसाय गर्न थालेको हुँ।”

नगरप्रहरी भन्छ- नियन्त्रणमा लिएको होइन
मंगलबारको यो घटनाले हाल सामाजिक सञ्जालमा काठमाडौँ महानगर र मेयर बालेन शाहको विरोध भइरहेको छ। 

महानगरले भने एक सूचना जारी गरी भ्रामक समाचार फैलिएको उल्लेख गरेको छ। कोही नभएका ती व्यक्तिलाई मानव सेवा आश्रममा लैजान खोज्दा नमाने पछि उनको परिवारलाई जिम्मा लगाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन्। 

फुटपाट, ठेलागाडा व्यवसायी हटाउने नीतिअनुसार सार्वजनिक स्थानमा व्यवसाय गरिरहेका कार्कीलाई हटाउन खोजिएको पाण्डेको दाबी छ। सार्वजनिक स्थानमा चुरोट, गुट्खा, खैनी लगायतका सामाग्री बेच्ने नपाउने उनी बताउँछन्। “सोही कारण पनि उहाँको उद्दारको हितले हामीले लगेका हौँ,” पाण्डेले भने, “यसलाई सञ्चारमाध्यममा नियन्त्रणमा लिएको भनी भ्रामक सूचना सम्प्रेषण भएको छ।”

महानगरले जारी गरेको सूचना र पीडित व्यक्तिको बयान ठ्याक्कै विपरीत छ। कार्की आफूलाई झुटो बोलेर लगेको भनिरहँदा पाण्डेले ललाइफकाइ गरी नल्याएको बताउँछन्। 

“उहाँलाई हामीले कोही नभए मानव सेवा आश्रममा लगेर राखिदिने योजनाले ल्याएका थियौँ,” नगर प्रहरी प्रमुख पाण्डेले भने, “उहाँको कोही नभए आश्रममा चिठी काट्नको लागि पनि तयार थियौँ तर, उहाँले आफैले आफ्नो आफन्तलाई फोन गरेर बोलाउनु भयो।”

कार्की आफैले आफन्त बोलाएर फर्किए भनिरहँदा पाण्डेले कार्कीलाई उनका परिवारको जिम्मामा छाडेको र भिडियो प्रमाण रहेको बताउँछन्। 

महानगर आफैँले भने आफन्तलाई फोन सम्पर्क नगरेको पाण्डे बताउँछन्। उनीसँग सम्बन्धित व्यक्तिको आफन्तको सम्पर्क नम्बर माग्दा पाण्डेले कुरा फेरे। “फोन उहाँ आफैले गर्नुभयो। उहाँको मान्छे लिन आए। उहाँलाई आफन्तले लिएर गएको भिडियोसमेत छ,” पाण्डेले थपे।

अख्तियारको दुरूपयोग कि मानवाधिकार उल्लंघन?
महानगरले अपांगता भएका कार्कीलाई उठाएर चारघन्टा राखेपछि यसले महानगरको अख्तियार दुरूपयोग र मानव अधिकारबारे प्रश्न सिर्जना गरेको छ।

राष्ट्रिय मानवाधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले ट्विट गर्दै महानगरको कदमको विरोध गरेकी छन्। “काठमाडौँ महानगरको यो हर्कत अत्यन्त असंवेदनशील र असह्य छ। व्हिलचेयर प्रयोगकर्ताको न्यूनतम मानवाधिकार आर्थिक सामाजिक र जीवन बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउने जिम्मा महानगरको होइन?”

यस्तै पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीका अनुसार, जो कोही व्यक्तिले कुनै पनि प्रकारको नियम कानून तोडेको भए पनि नियन्त्रण, हिरासतमा लिनको लागि प्रक्रियागत रूपमा जानु पर्छ। स्थानीय तहलाई कसैलाई नियन्त्रणमा लिने व्यवस्था छ वा छैन त्यसमाथि नै प्रश्न उठ्ने उनी बताउँछन्। 

स्थानीय सरकार ऐन र काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ मा महानगर प्रहरीको कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ। जसमा ‘सार्वजनिक आवागमनमा बाधा पुर्‍याइ राखेका निर्माण सामग्री पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने, नमानेमा आफैँ हटाइ हटाउन लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुल उपर गर्न पेश गर्ने’  व्यवस्था छ।

नगर प्रहरी विनयामावली २०७२ मा पनि यति नै मात्र अधिकार दिइएको छ। तर दुवै ऐनमा कसैलाई नियन्त्रणमा लिने विषयमा केही पनि उल्लेख छैन।  “ऐन, विनियमावलीमा नियन्त्रण, हिरासतका विषयमा उल्लेख नभए स्थानीय सरकारलाई हिरासतमा राख्न मिल्ने अधिकार हुँदैन,” ठकुरी भन्छन्, “नियन्त्रणका लागि यस्ता विनियमावली र ऐनमा विभिन्न अवस्था र प्रावधान हुने गर्छ।”

मानवीय संवेदनाको अभाव
राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले महानगरको यस कदमको विरोध गरेका छन्। यो घटना मानवीय संवेदनाको हिसाबले निकृष्ट कार्य भएको उनी बताउँछन्।  यस विषयमा विज्ञप्ति निकाली महानगरलाई ध्यानाकर्षण गराउने र सम्बन्धित पीडित व्यक्तिसँग साक्षात्कार गर्ने उनले बताए। 

“महानगरको सडक व्यवस्थापनको विषय एक ठाँउमा छ तर, विशेष अवस्थामा भएको व्यक्ति जसको साँझबिहान हातमुख जोड्न कठिन छ, उसलाई महानगरले फकाएर एक ठाउँमा पुर्‍याएर पछि आफ्नो व्यवस्था आफैँ गर्न भन्नु गैरजिम्मेवारीपूर्ण कार्य हो,” उनले भने। 

अध्यक्ष आचार्यका अनुसार, स्थानीय सरकार संचालन ऐनको दफा (११) मा अपांगता भएका व्यक्तिको वृत्ति व्यवस्थापन स्थानीय सरकारले मिलाउने भनेको छ। तर, यहाँ व्यवस्थापन मिलाउनेभन्दा पनि आफ्नो जीविकोपार्जनको लागि सानो व्यवसाय गर्नेलाई ललाइफकाइ, जबर्जस्ती भगाउन खोजिएको आचार्य बताउँछन्। 

घटनामा कानूनी व्यवस्थाको आर्कषणभन्दा पनि मानवीय संवेदना र अधिकारको दृष्टिकोणले राज्यले अभिभावकको भूमिका तथा प्रत्याभूति नदिएको उनले बताए।

फर्कने कि बस्ने?
मंगलबारको घटनापछि, बुधबार डिल्लीबहादुर सोही स्थानमा थिए। महानगरको डरभन्दा पनि आफ्नो आर्थिक स्थिति र उपचार खर्चको लागि मास्क, गुट्खा, चुरोट बेचिरहेको उनी बताउँछन्।

दुई वर्षअघि रुखबाट खसेर उपचारको क्रममा काठमाडौँ आएका कार्की त्यसपछि फर्किएर गाउँ जान सकेका छैनन्। “मेरो कम्मर तलको भाग चल्दैन,” उनी भन्छन्, “काठमाडौँमा उपचारको क्रममा घरबाहेकको थोरबहुत रहेको जग्गा जमिन सकियो। महानगर भन्छ आफ्नै गाउँ गएर कमाउ। अब गाउँ गएर के गरौँ?”


सम्बन्धित सामग्री