तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी वकी डाँगीले सञ्चालन गरेको फर्ममा ३८ वटा भैँसी पालिएका छन्। दुई जनाले रोजगारी पाएका छन्।
दाङ– तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या भैँसी फर्ममा बित्ने गरेको छ। डाँगी आफूलाई छोटो समयमा भैँसीपालनबाट सफल उद्यमीका रूपमा चिनाउन सफल भएकी छन्।
उनले आठ वर्षदेखि भैँसीपालन गर्दै आएकी हुन्। परिवारले पनि उनलाई सघाएका छन्। भैँसी फर्ममा अन्य दुई जनाले रोजगारसमेत पाएका छन्। “वार्षिक सात लाख रुपैयाँ बचत गर्न सफल भएको छु। आम्दानी राम्रो भएपछि दैनिकी सहज बनेको छ”, उनले भनिन्। परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फर्म’ दर्ता गरी व्यावसायिक भैँसीपालन थालेकी हुन्।
“शुरूमा एक लाखमा उन्नत जातको भैँसी किनेर थालेको हो। अहिले ३८ वटा भैँसी छन्”, उनले भनिन्, “तीमध्ये १० वटा दुहुना छन्। दिनको ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ।” उनले तुलसीपुर बजारमा डेरी उद्योग पनि सञ्चालन गरेकी छन्। त्यहीँबाट बिक्रीवितरण गरिरहेको उनले सुनाइन्।
कोरोना महामारीका समयमा दूधले बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले बजारको समस्या छैन। दाङमा दूधको फुटकर मूल्य प्रतिलिटर ९० र दहीको सय रुपैयाँ छ। घरआँगनमै शुद्ध दूध खान पाइने भएकाले फर्मबाटै दूध लैजाने गरेको स्थानीय राधा पाण्डेले बताइन्। “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ”, उनले भनिन्। डाँगीले फार्ममा ४० लाख लगानी गरिसकेकी छन्। दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ।
आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर पोहोर सात लाख रुपैयाँ बचत गरेको उनले बताइन्। यसपटक डेरी पनि सञ्चालनमा रहेकाले बचत बढ्न सक्ने उहाँको भनाइ छ। घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ। “सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने पाएको छैन”, डाँगीले भनिन्।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उहाँको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरू आउने गरेका छन्। राज्य नारामा मात्र सीमित नभई कृषि व्यवसायमा लाग्नेलाई व्यावहारिक रूपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने उनको धारणा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
