Friday, April 26, 2024

-->

३२ मध्ये २० वडाध्यक्ष अर्कोतिर, कसको आडमा फुटपाथ व्यवसायीमाथि खनिँदैछन् बालेन?

फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउने बालेन शाहको नीतिविपरीत काठमाडौँका ६ वटा वडाका अध्यक्षले समय तोकेर नै व्यापार गर्न दिन थालेका छन्। अन्य १४ वडाका अध्यक्ष पनि वैकल्पिक व्यवस्थाको पक्षमा छन्।

३२ मध्ये २० वडाध्यक्ष अर्कोतिर कसको आडमा फुटपाथ व्यवसायीमाथि खनिँदैछन् बालेन
फाइल तस्वीर

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ आफैँ पनि दरबारमार्गस्थित पार्किङ हटाएकोमा सन्तुष्ट छैनन्। महानगरको निर्णयप्रति व्यवसायीहरू पनि रुष्ट रहेको उनी बताउँछन्। अब अन्नपूर्ण होटललगायत क्षेत्रमा पार्किङ सुविधा दिन छलफल गरिने उनले बताए।

बालुवाटार क्षेत्र पर्ने वडा नं. ४ का वडाध्यक्ष दिनेश महर्जन पनि महानगर प्रमुख बालेन शाहको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। मानवीय संवेदनालाई ख्याल नगरी फुटपाथ र ठेलागाडा व्यवसायीलाई हटाउन नसकिने उनको भनाइ छ।

शाहको कार्यशैलीप्रति असन्तुष्ट हुने वडाध्यक्ष धेरै छन्। तर खुलेर विरोध गर्न भने चाहँदैनन्। महानगर प्रमुख शाहले फुटपाथ र ठेलागाडा व्यवसायी हटाउँदा उनीहरूका लागि वैकल्पिक व्यवस्था गरिदिनुपर्ने काठमाडौँका २० वडाध्यक्षको मत छ। तीमध्ये ६ जना वडाध्यक्षले आफ्नो वडामा वैकल्पिक व्यवस्था पनि गरिदिइसकेका छन्।

कोर एरियाका पाँच वटा वडा र महाराजगन्ज क्षेत्र पर्ने वडा नं. ३ ले समय तोकेर फुटपाथ र ठेलागाडा व्यवसायीलाई व्यापार गर्न दिएका छन्। प्रायः वडाले बिहान ६ देखि ८ बजे र साँझ ७ बजेपछि व्यापार गर्न दिने निर्णय गरेका छन्। “आफ्नो वडामा व्यापार व्यवस्थापन गर्न हामीले मेयरलाई सोध्नु पर्दैन। आफ्नो वडाको व्यवस्थापनको निर्णय हामी आफैँ गर्छौँ”, मखन क्षेत्र पर्ने वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले भने।

शाहको समर्थनमा १० जना वडाध्यक्ष छन्। उनीहरू वैकल्पिक व्यवस्थाबिना नै फुटपाथ र ठेलागाडा व्यापारीलाई हटाउनुपर्ने बताउँछन्। वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाल भन्छन्, “वैकल्पिक व्यवस्था दिएर साध्य हुँदैन। अरूको दैनिकीको चिन्ता लिन सकिँदैन, त्यो त प्रदेश र संघीय सरकारले हेर्ने हो। भाडामा लिएर पसल राख्नेलाई समस्यामा पार्न पाइँदैन।”

गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि असारमा सम्पन्न नगरसभाको बोर्ड बैठकले फुटपाथ, ठेलागाडा, अवैध पार्किङ तथा सुकुम्बासी बस्ती हटाउन ३२ वटै वडाका अध्यक्षले प्रमुख शाहलाई अधिकार दिएका थिए। तर उनको कार्यशैलीप्रति धेरै वडाध्यक्ष असन्तुष्ट भए पनि कार्यपालिका बैठकमा खुलेर बोल्ने गरेका छैनन्। शाहले आफ्नो वडामा आफूहरूसँगै सल्लाह नगरी काम गरेको वडाध्यक्षहरूको भनाइ छ।

पशुपति क्षेत्र पर्ने वडा नं. ८ का वडाध्यक्ष आशामान संगत भने यो विषयमा बोल्न चाहेनन्। क्षेत्रपाटी क्षेत्र पर्ने वडा नं. १७ का वडाध्यक्ष तथा प्रवक्ता नवीन मानन्धर अहिलेसम्म वैकल्पिक व्यवस्था नगरिए पनि अब गर्न सकिने बताउँछन्।

राति पनि गस्ती हुने
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर एक हप्ताको अवधिमा महानगरपालिकाले निकालेको सूचनाका आधारमा धेरै परिवर्तन गरेको बताउँछन्। चाँडै नै महानगरले राति पनि नगर प्रहरी खटाएर फुटपाथ र ठेलागाडा हटाउने उनले बताए। 

“घरअघिको फुटपाथ भाडामा दिएका पसल व्यवसायलाई पनि नियन्त्रणमा ल्याउन हामी लागिरहेका छौँ”, प्रवक्ता मानन्धर भन्छन्, “यस्तो प्रवृत्ति विशेषतः असन भोटाहिटीमा बढी थियो।” 

मानन्धर महानगरले ‘हार्डकोर एक्सन’ लिइरहे पनि आवश्यकता अनुसार नरम नीति लिइने स्थान पनि रहेको बताउँछन्। “हामी जनप्रतिनिधि पनि हौँ। व्यवस्थापकीय पक्ष हेर्ने बेला जनताको मतलाई वेवास्ता गर्न मिल्दैन”, उनले भने, “काठमाडौँमा पसल व्यवसायी मात्र छैनन्, खरिदकर्ता पनि छन्। जनप्रतिनिधि भएकै कारण जनताको मर्म बुझ्नुपर्छ। महानगर निर्णयमा लचक हुनसक्छ।” 

यी वडाध्यक्षले गरे व्यवस्थापन 
काठमाडौँको कोर एरियामा पर्ने वडा २७, २०, २५, २४, २१ मा वडाध्यक्षहरूले फुटपाथ व्यवसायीको व्यवस्थापन गरेका छन्। अत्यावश्यक दैनिक उपभोग्य वस्तुको निर्धारण गरी बिहान र बेलुकी अथवा एक समयमा मात्र बजार सञ्चालन गर्न दिने ती वडाध्यक्षले निर्णय गरेका छन्। कोर एरियाबाहिरको वडा नं. ३ ले पनि फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गरिदिएको छ।

समाजशास्त्री मधुसुदन सुवेदी महानगरले व्यवस्थापकीय पक्षबाट काम गर्न खोजे पनि सामाजिक र मानवीय संवेदनाको पक्षमा भने मौन रहेको बताउँछन्। “कानून मान्ने विषयमा नेपाली जनता अटेरी पनि होलान्। तर, यही कारण जनताको जीविकोपार्जनको अवस्थामा महानगरले बिनाविकल्प हटाउनु जवाफदेही नहुनु हो। जुन ठीक होइन”, सुवेदले भने, “नगर धनीको मात्र होइन गरिबको पनि हो। महानगरले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्न सक्ने विषयमा पनि सोच्नु पर्छ। लखेट्ने, हटाउने लहडीमा मात्र लाग्नु सामाजिक न्याय हुँदैन।”

अझै पनि राजनीतिक, आर्थिकलगायत शक्ति काठमाडौँमा नै केन्द्रित भएको कारण ७७ जिल्लाकै मानिसको बसोबास हुनु स्वाभाविक भएको उनी बताउँछन्। “नेपाल साझा थलो हो, कुनै पनि नेपालीले देशभर आवतजावत र व्यवसाय सञ्चालनका विषयमा प्रश्न उठाउन मिल्दैन। यो हरेक नेपालीको संविधानप्रदत्त हक हो”, समाजशास्त्री सुवेदीले भने।

उकालोले महानगरका ३२ वटै वडाका अध्यक्षसँग प्रमुख शाहको काम गर्ने शैलीबारे प्रतिक्रिया लिएको छ। 

जो महानगर प्रमुखको कार्यशैलीसँग असन्तुष्ट छन्

 

भरतलाल श्रेष्ठ, वडा–१ (नक्साल)
काठमाडौँ महानगरपालिका वडा–१ का अध्यक्ष भरतलाल श्रेष्ठले दरबारमार्ग रहेको पार्किङ हटाउँदा दरबारमार्ग क्षेत्र सुनसानझैं बन्न पुगेको बताउँछन्। काठमाडौँमा खुल्ला स्थान अभाव भइसकेको भन्दै उनले अन्नपूर्ण होटल लगायतका क्षेत्रमा पार्किङका लागि छलफल गरिने बताए। 

आफ्नो वडामा फुटपाथ व्यवसायीको खासै समस्या नभए पनि पार्किङको विषयमा यस वडाका व्यवसायीबाट चर्को दबाब आइरहेको उनको भनाइ छ। “मेरो वडामा अन्यत्र पार्किङ छैन। पार्किङको लागि जग्गा कसरी मिलाउने त्यो समस्या छ”, उनी भन्छन्, “वैकल्पिक व्यवस्था नहुँदा यस क्षेत्रका व्यापारीहरू रुष्ट छन्।”

दिनेश महर्जन, वडा–४ (बालुवाटार)
वडाध्यक्ष दिनेश महर्जन मानवीय संवेदनालाई ख्याल गरी वैकल्पिक व्यवस्था गरेर मात्र हटाइनुपर्ने बताउँछन्। 

बालुवाटार क्षेत्रमा फुटपाथ र ठेलागाडा व्यवसायीको खासै समस्या नभए पनि महानगरले व्यवस्थापकीय पक्ष र सामाजिक न्याय दुवैलाई ध्यानमा राखेर निर्णय कार्यान्वयन गर्नुपर्ने उनको राय छ। 

विमलकुमार होडा, वडा–७ (मित्रपार्क)
काठमाडौँका घरबेटीहरूले आफ्ना घरअघिको फुटपाथलाई समेत भाडामा दिने हुँदा त्यसतर्फ महानगर चनाखो हुनुपर्ने वडाध्यक्ष होडाले बताए। 

फुटपाथ व्यवसायी हटाउनुअघि फुटपाथ कसरी बन्छ, यसको नीति के हो, घरबेटीले कसरी फुटपाथ कब्जा गर्छन्, यस्ता विषयमा नीति आउनु पर्ने उनको जोड छ। फुटपाथ, सडकमा राखिने पसलहरूको प्रयोजन र प्राथमिकताको आधारमा महानगरले व्यवस्था गर्नुपर्ने उनले बताए। महानगर एकोहोरो लहडी भएर लाग्नु उचित नभएको होडा बताउँछन्।

रामजी भण्डारी, वडा–९ (गौशला)
वडाध्यक्ष रामजी भण्डारी फुटपाथ, ठेलागाडा व्यवसायीलाई निमिट्यान्न पार्नेभन्दा पनि उनीहरूको पृष्ठभूमि हेर्नुपर्ने बताउँछन्। वैकल्पिक व्यवस्थाको रूपमा कुनै स्थान दिनुभन्दा पनि व्यापार गर्ने समयतालिका मिलाउँदा उचित हुने उनको भनाइ छ। 

व्यवसायीलाई व्यापारको लागि स्थान दिँदा भृकुटीमण्डपको जस्तो स्थिति हुन नहुने पनि उनले बताए। “यसरी स्थान दिन थालियो भने अबको ५० वर्षमा हाम्रो सडकमा हिँड्ने ठाउँ नै हुँदैन”, उनले भने, “फुटपाथ तथा पार्किङ साँँच्चै नै समस्या हुन्, तर व्यवसायी तथा उपभोक्ताको जीविकामा पर्ने प्रत्यक्ष असरबारे विचार गर्नैपर्छ।”

महानगरले पार्किङ तथा फुटपाथ व्यवसायीको विषय नीजि क्षेत्रलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ। “हाम्रो वडामा फुटपाथभन्दा पनि पार्किङको समस्या बढी छ। हस्पिटल धेरै भएको कारण पार्किङको व्यवस्था हुनु निकै आवश्यक छ”, उनी भन्छन्, “महानगरले आफैले पार्किङ हटाएर फेरि आफैँले पार्किङको व्यवस्था गर्नु उचित हुँदैन। यसले महानगरको पैसा कमाउने नीति जस्तो देखिन्छ।”

यस विषयमा महानगरका प्रमुखलाई प्रस्ताव गरेको, तर वडा र महानगरको दृष्टिकोण मेल नखाएको उनले बताए। 

रामकुमार केसी, वडा–१० (बानेश्वर)
वडाध्यक्ष रामकुमार केसीको लागि भने यो विषय नौलो होइन। उनका अनुसार, निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालमै बानेश्वर क्षेत्रका फुटपाथ पसल उठाउने योजना बनिसकेको थियो। जुन योजना लकडाउनका कारण रोकिएको हो।

काठमाडौँका बाटो विस्तार तथा फुटपाथ व्यवस्थापनको कार्य बानेश्वरबाटै शुरू भएको पनि उनले दाबी गरे। 

गत साउनमा काठमाडौँ वडा १०, टोल सुधार समिति, रातो क्लब र व्यवसायी मिलेर वडा १० का फुटपाथलाई हटाएका थिए। पछि मात्रै महानगरपालिका संलग्न भएको हो। हटाइएका करिब १०० पसल हाल एक निजी व्यक्तिको जमिनमा भाडामा सञ्चालन भइरहेको छ। “सडक, फुटपाथ पसल सञ्चालनका लागि होइन तर, वषौँदेखि यसैमा आश्रित वर्गलाई पनि मार्नु भएन”, उनले भने, “समस्या हामीले पहिचान त गर्यौँ तर, व्यवस्थापनको पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ।”

बालकृष्ण महर्जन, वडा –१२ (टेकु) 
वडाध्यक्ष बालकृष्ण महर्जन कतिपय विषयमा प्रमुखलाई एकाधिकार दिए पनि अवस्थाअनुसार वडाध्यक्षसँग समन्वय गर्नुपर्ने बताउँछन्। परिस्थितिअनुसार, जुनै वडामा जाँदा अग्रिम सूचना अथवा पत्राचार गर्नु आवश्यक छ। उनका अनुसार, आफ्नो वडामा भएको गतिविधि वडाध्यक्षलाई थाहा नहुँदा आमजनतामा नकारात्मक भावना उत्पन्न हुन्छ। ठेलागाडा तथा फुटपाथमा बसी गरिखाने वर्गलाई निश्चित समय तोकेर अथवा अन्य वैकल्पिक स्थानमा राख्न सकिन्छ। अध्यक्ष महर्जन, व्यवसायीका कारण पैदलयात्रु तथा सडक अलपलत्रमा भने पर्नु नहुने बताउँछन्। 

सुमन श्रेष्ठ, वडा–१४ (कलंकी)
फुटपाथ तथा जथाभावी पसल व्यवस्थापनमा आफूहरूले सहमति दिएको वडाध्यक्ष सुमन श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “तर, यस्ता पसल राख्नका लागि रात्रि अथवा दिवाकालीन कुनै उपयुक्त समय तोक्न पाए सुनमा सुगन्ध हुने थियो।”

सडक, फुटपाथ पसल बजार व्यवस्थापन महानगरको जिम्मा हो भने ती सडक, फुटपाथ सरसफाइ गर्न व्यवसायीको पनि उत्तिकै दायित्व हुन्छ। 

आफ्नो वडा कलंकीस्थित ग्रिडिङ भइरहँदा सडक फूटपाथमा बस्ने व्यवसायीले कपडा सुकाउने, फोहोर गर्ने समस्याका भुक्तभोगी उनी भएका छन्। “बिना भाडा,सडकमा निर्वाध व्यवसाय गर्न पाउँदा व्यवसायीहरू पनि उत्तरदायी हुनुपर्छ”, उनले भने।

ईश्वरमान डंगोल, वडा–१५ (डल्लु)
करिब एक महिनादेखि पार्किङ, खुल्ला स्थान पत्ता लगाउन सर्भे गरिरहेको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए। वडामा विदेशमा जस्तै हाफ मार्केट, सन्डे मार्केट, मन्डे मार्केट, रात्रिकालीन सेवा लगायतका अन्तर्राष्ट्रिय अभ्यास सम्भव हुने नहुने विषयमा अध्ययन भइरहेको छ। स्वयम्भू क्षेत्रमा दिवाकालीन तथा रात्रिकालीन बजार विकसित गर्ने सोच रहेको पनि उनले बताए। “फुटपाथ भनेको मानिस हिँड्ने ठाउँ हो। त्यहाँ मानिसले हिँड्न पाउनुपर्छ”, उनी भन्छन्, “यसैले आवतजावतलाई समस्या नपर्ने गरी वैकल्पिक व्यवस्था मिलाउनुपर्छ।”

ख्यामराज तिवारी, वडा– २६ (लैनचौर)
वडाध्यक्ष ख्यामराज तिवारी महानगरले चालेको कदम दीर्घकालीन समाधान नभएको बताउँछन्। “फुटपाथका व्यवसायीलाई एक ठाउँबाट हटाए, उनीहरू अर्को ठाउँ खोज्न थाल्छन्। यो तत्कालीन समाधान त होला तर, दीर्घकालीन रुपमा यसले अझ अन्य सामाजिक समस्या निम्त्याउन सक्छ” वडाध्यक्ष तिवारी भन्छन्, “यसकारण पनि महानगरले बिनाविकल्पभन्दा पनि बिहान र साँझको समय तालिका विभाजन गरी फुटपाथ तथा ठेलागाडा पसलाई व्यवस्थापन गर्नुपर्छ।”

महानगर प्रमुख शाह फुटपाथ व्यवसायी पूर्णरूपमा हटाउनु पर्ने पक्षमा छन्। वैकल्पिक व्यवस्थाबारे नगर बैठकमा प्रस्ताव भइरहेको, तर सुनुवाइ हुन बाँकी रहेको तिवारी बताउँछन्।

भाइराम खड्गी, वडा–२८ (पुरानो बसपार्क)
वडाध्यक्ष खड्गी महानगरपालिकाले लहडीपनमा काम गरेको बताउँछन्। बोर्ड बैठकमा कुरा राखे पनि सम्बन्धित पक्षबाट सुनुवाइ नभएको उनको गुनासो छ। व्यापारसँगै सरसफाइ गररे फुटपाथमै पसल सञ्चालन गर्न समस्या नहुने उनको भनाइ छ। तर, यसका लागि समय तालिकाको विभाजन हुनुपर्ने उनले बताए।

उनी भन्छन् “बिहान र साँझको समय बस्ने विकल्प नदिई लेखेट्नु मात्र उचित होइन व्यवसायीहरूको पनि आफ्नै जीवन छ। उनीहरूले भाडा, कोठा तथा सन्तान पढाइरहेका  हुन्छन्। हामीले समभाव राख्नु पर्छ।”

कुश ढकाल, वडा–२९ (डिल्लीबजार)
वडा २९ मा फुटपाथभन्दा पनि ढल र जथाभावी पार्किङको समस्या रहेको वडाध्यक्ष ढकालले बताए। उनका अनुसार, फुटपाथको समस्या समाधानका लागि फुटपाथमा कारोबार गर्ने दिने घरबेटीलाई पनि कडाइ गर्नुपर्छ। घरबेटीलाई पनि सचेत गराउनसके फुटपाथ व्यवसायी कम हुने उनको तर्क छ।

“ठेलागाडा व्यवसायीका सम्बन्धमा समय मिलाउन सकिन्छ। हाल असन तथा कोर एरियामा अभ्यास भइरहेको छ। हामीले पनि यसमा केही गर्न सक्छौँ”, उनले भने।

प्रमुख शाहको निर्णय तथा कार्यशैलीप्रति असन्तुष्ट उनले ‘हेर र पर्ख’को स्थितिमा रहेको बताए। “हामीले केही भन्न मिल्दैन। प्रमुख शाहलाई देवताजस्तो मान्नेहरू छन्। हामी वैशाखदेखि बोल्ने छौँ।”

सरोज दाहाल, वडा–३१ (भीमसेनगोला)
महानगरले जुन कार्यशैलीमा कार्यान्वयन गरिरहेको छ, त्यो उचित नभएको वडाध्यक्ष दाहाल बताउँछन। यस्ता विषयमा मानवीय जनधनको कम क्षति हुने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ। 

राजेशकुमार श्रेष्ठ, वडा–१९ (दमाई टोल)
आफ्नो क्षेत्रमा कुनै फुटपाथ व्यवसायी नभएका कारण अन्य वडाका विषयमा बोल्न उचित नहुने वडाध्यक्ष राजेशकुमार श्रेष्ठ बताउँछन्। अल्पकालीन रूपमा छोटो समयका लागि भने बिहान, बेलुकीको समय तोकेर व्यापार गर्न दिन सकिने र दीर्घकालीन समाधानका लागि सडकपेटीमा सामान राख्न नमिल्ने उनले बताए। राज्यले यसको भार लिनुपर्ने उनको भनाइ छ। 

मचाराजा महर्जन, वडा–२३ (ओमबहाल)
ओमबहाल क्षेत्रमा फुटपाथ व्यवसायी खासै नभएको, तर वडाको सीमा मरु क्षेत्रतर्फ फुटपाथ तथा ठेलागाडा व्यवसायी रहेको महर्जन बताउँछन्। वैकल्पिक व्यवस्थापनका विषयमा उनी सकारात्मक छन्। फुटपाथ व्यवसायीले पनि आफ्नो तर्फबाट लचकता अपनाउनु पर्ने उनको भनाइ छ। 

अन्य कुनै स्थानमा विकल्प दिँदा पनि पुरानै ठाँउमा बस्न रुचाउने, वैकल्पिक स्थानलाई निजी जग्गा जमिनजस्तो गरी चलाउनेजस्ता समस्या व्यापारीमा रहेको उनको अनुभव छ। त्यसैले फुटपाथ व्यवसायीमध्ये पनि छानेर दुखी, गरिब पहिचान गरी कुनै एक स्थानमा समय तोकी व्यवस्थापन गर्नुपर्ने उनले बताए।

जसले फुटपाथ व्यवसायीलाई ठाउँ दिए

योगेन्द्रकुमार खड्गी, वडा–२७ (महाबौद्ध)
वडाध्यक्ष योगेन्द्रकुमार खड्गीका अनुसार, महानगरका कोर एरियामा डोजर तथा नगर प्रहरीका साधन प्रवेश नगराउने प्रयास भएको छ। “असनमा बिहान ८ बजेसम्म दुध पाउरोट, तरकारी बजार, पूजाका सामान, बेच्न पाउने व्यवस्था हामीले गरेका छौँ”, उनले भने, “यसबाहेक अन्य समयमा भने यस्ता पसल सञ्चालन गर्न दिइएको छैन। यसो हुँदा मूल चोकहरूमा समस्या देखिएको छैन। यद्यपि, कहीँँकतै गल्लीभित्र दिउँसो पनि व्यवसाय गरेको देखिन्छ।”

निर्धारित समयभन्दा अन्य समयमा व्यवसायी भेटिए नियन्त्रणमा लिने गरेको उनले बताए। त्यस्तै, बेलुकी ७ बजे र कार्यालय समयपछि पनि बजार राख्न मिल्ने उनले जनाए। 

हजारौँ, लाखौँको जीविका र आर्थिक प्रणालीमा अन्तर्निहित हुने कारण यस्ता विषयमा एकैपटक तत्काल र तुरुन्तै नियन्त्रण गर्न नहुने उनी बताउँछन्। त्यस्तै, पार्किङका विषयमा भने असनमा एक लाइन र भोटाहिटीमा निशुल्क एक लाइन पार्किङ गर्न दिइएको छ।

राजेश मानन्धर, वडा–२० (भीमसेन स्थान)
आफ्नो वडा पुरानो नगरक्षेत्र पर्ने कारण फुटपाथ नभएको वडाध्यक्ष राजेश मानन्धर बताउँछन्। फुटपाथ नभए पनि सडकमा फुटपाथ व्यवसायी भने रहेको उनले जानकारी दिए।

नगर क्षेत्रमा फलफूल तथा तरकारी व्यापारी र उपभोक्ताको आवश्यकतालाई पनि मध्यनजर गर्दै व्यवस्थित बजारको पहल गरिएको उनी बताउँछन्। कार्यालय समयलार्ई कटाएर साँझ ७ बजेपछि मात्र फुटपाथ पसल राख्ने व्यवस्था भएको छ। 

“७ बजेपछि नगर प्रहरी पनि ड्युटीमा हुँदैनन्, सोही कारण पनि हामीले एक समयको व्यवस्था गरेका छौँ”, उनले भने, “काष्ठमण्डप, मरुटोल गरी कोर एरिया सम्पदा क्षेत्र भएको कारण पनि पार्किङका कुनै प्रकारको सवारी निषेध गर्ने योजना भएको छ। यस विषयमा सुनुवाइ भने हुन बाँकी छ।”

विनोदकुमार राजभण्डारी, वडा–२४ (मखन)
मखन क्षेत्रमा फुटपाथभन्दा पनि मठमन्दिर र तारको समस्या धेरै रहेको वडाध्यक्ष राजभण्डारी बताउँछन्। “यसबाहेक, फुटपाथ तथा सडकका ठेलागाडा व्यवसायीको हकमा  २४, २५ र २७ वडाका अध्यक्षसँगको सहकार्यमा अत्याश्यक वस्तु खरिदका लागि बिहान साढे ८ सम्म फुटपाथ फुक्का गरेका छौँ”, उनले भने, “यसबाहेक, अन्य समय फुटपाथलाई निषेध नै गरिएको छ। नगर प्रहरी ड्युटीमा खटिएका नै छन्। कहीँकतै कुनै गल्लीमा लुकीछिपी ठेलागाडा व्यवसाय चलिरहेको पनि सुनिन्छ।” 
राजभण्डारी महानगरको निर्णय ठीक रहे पनि सामाजिक न्याय तथा संवेदनशील जस्ता पक्षमा ध्यान दिनुपर्ने बताउँछन्।

राजेश डंगोल, वडा–२५ (जनबहाल)
वडा २० र २४ मा जस्तै, दैनिकी र अत्यावश्यक सामानका लागि व्यवस्थापन गरेको डंगोलले बताएका छन्। कोर एरिया एकदम घना हुने कारण कार्यालय समयभन्दा पछि र अघिको समयलाई व्यवस्थापन गरिएको उनको भनाइ छ। 

उदयचन्द्रमणि बज्राचार्य, वडा–२१ (ज्याबहाल)    
कोर एरियामै पर्ने वडा नं. २१ का अध्यक्ष बज्राचार्य वडाका निर्णय वडाध्यक्षकै हातमा हुने बताउँछन्। यस्ता विषयमा महानगरले जे भन्यो त्यही गर्नु नपर्ने उनको भनाइ छ। आफ्नो वडाको केन्द्रमा पर्ने लगनटोलमा बिहान ८ बजेसम्मको समयलाई उनले फुटपाथ तथा ठेलागाडको पसलका लागि खुल्ला गरेका छन्।

प्रेम थापा, वडा–३ (महाराजगन्ज)
कोर एरियाबाहिर वडा–३ मा पनि, खास फुटपाथ तथा पार्किङको समस्या नरहेको वडाध्यक्ष प्रेम थापा बताउँछन्। महानगरले गरेका निर्णयमा सहमति भए पनि बिहान र साँझको समय फुटपाथ व्यवसायीका लागि छुट्याएको र माइकिङ गरी तोकिएको समय उलंघन गरे नगर प्रहरीले सामान जफत गरिरहेको उनले बताए।

जसले शाहको कदमलाई समर्थन गरे

Caption

राजेन्द्रकुमार श्रेष्ठ, वडा–२ (लाजिम्पाट)
वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले महानगरको कदमलाई पूर्ण समर्थन गरेका छन्। लाजिम्पाट क्षेत्रमा फुटपाथ र पार्किङको समस्या त छैन, तर यस्ता विषयमा महानगर अझ कडाइका साथ लाग्नु पर्ने उनको तर्क छ। काठमाडौँमा जीविकोपार्जन गर्ने जनसंख्याको विषयमा संघीय सरकार जिम्मेवार हुनुपर्ने उनले बताए। “नेपालभरका मानिस आएर काठमाडौँमा बसोबास गर्दा एउटा महानगरले मात्र कहाँ सम्हाल्न सक्छ?” उनले भने।

लाजिम्पाट क्षेत्रमा ठडिएका पोलहरूमा ‘कामदार आवश्यकता, कुक आवश्यकता’ जस्ता प्रचारका कागज टाँस्ने प्रवृत्तिलाई पनि हटाउनु पर्ने उनी बताउँछन्। गएको पुस २९ गतेको कार्यपालिका बैठकमा उनले यस विषयमा पनि प्रमुखको ध्यानार्कषण गराएका थिए।  

वीरेन्द्र प्रजापति, वडा–५ (हाँडीगाउँ)
वडाध्यक्ष वीरेन्द्र प्रजापति फुटपाथ व्यवसायी समस्या भएको भन्दै नियन्त्रण गर्न नसकिने बताउँछन्। देशका ७७ जिल्लाबाट आएका सबैलाई मिलाउन नसकेर अनियन्त्रित अवस्था सृजना भइसकेको उनको भनाइ छ। यद्यपि, काठमाडौँका स्वबासीको हकमा भने वैकल्पिक व्यवस्था गर्न सक्ने तर्क उनको छ।

भुवन लामा, वडा–६ (बौद्ध)
वडाध्यक्ष भुवन लामा फुटपाथमा व्यवसाय गर्न दिने घरबेटीलाई कडाइ गर्नुपर्ने बताउँछन्। आवत्जावत्का् हकलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। अमानवीय शैली र विकल्पको विषयमा आफूभन्दा पनि महानगर प्रहरीसँगै बुझ्न उचित हुने उनले बताए। 

हीरालाल तण्डुकार, वडा–११ (त्रिपुरेश्वर)
वडा ११ का अध्यक्ष  हीरालाल तण्डुकार,  नगरपालिकाको नगरसभा बोर्ड बैठकमा फुटपाथ व्यवसाय, पार्किङ, बाटो छेउका अनधिकृत संरचनाको विषयमा सर्वसम्मतमै  निर्णय भएको बताउँछन्। लामो समयदेखि रहँदै आएको यस समस्यालाई निमिट्यान्न पार्नुपर्ने उनको भनाइ छ।  “७७ जिल्लाका बासिन्दाको चाप महानगरले कसरी थेग्ने?”, उनी प्रश्न गर्छन्, “प्रदेश सरकार र राज्य यसमा जिम्मेवार हुनुपर्दैन?” 

यस्ता व्यवसायी वैकल्पिक व्यवस्था तथा समय समायोजन गर्दैमा नियन्त्रिण नहुने उनको बुझाइ छ। “एकघरबाट चार–पाँचबाट गाडा निस्कन्छ, यसलाई कसरी व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने”, उनले भने। 

ध्रुवनारायण मानन्धर, वडा–१३ (कालीमाटी)
वडाध्यक्ष ध्रवनारायण मानन्धर महानगरको निर्णय र कार्यशैलीबाट खुशी छन्। आफ्ना क्षेत्रका बासिन्दा हाल भइरहेका गतिविधिप्रति सकारात्मक रहेको उनले बताए। उनी अन्य व्यवसायीलाई वैकल्पिक ठाउँ दिनसक्ने स्थिति नभएको बताउँछन्।  

२०५४ सालदेखि नै सडक व्यवसायीको समस्या देख्दैभोग्दै आएका उनले यसको व्यवस्थापन नहुने र निमिट्यान्न पार्नु नै सबैका लागि उचित हुने बताए। 

नेपालीदेखि भारतीय मूलका मानिसहरूले बिनाभाडा साइकल, ठेलागाडामा व्यवसाय गर्दा स्थानीय व्यवसायीले चर्को भाडा तिरेर खोलेका पसल सञ्चालनमा समस्या हुने गरेको बुझाइ उनको छ। महानगर वैधानिक रूपमा अघि बढेकोमा उनको समर्थन छ।

न्हुछेकाजी महर्जन, वडा–१८ (नरदेवी)
बटुवा हिँड्दा दुर्घटना पर्ने सम्भावना भएको हुँदा फुटपाथमा व्यापार गर्नेहरूलाई उठाउनुपर्ने वडाध्यक्ष महर्जनको तर्क छ। जहाँ भीड छ त्यहीँ व्यापार हुन्छ भन्ने नाममा ठेलागाडा तेस्र्याउँदा समस्या उत्पन्न भएको पनि उनले बताए। 
जति व्यवस्थापन गर्यो यो समस्या त्यति बढ्ने उनी बताउँछन्। भृकुटीमण्डप र खुल्लामञ्चलाई उदाहरणको रूपमा लिनुपर्ने उनी बताउँछन्।

चिनीकाजी महर्जन, वडा–२२ (टेबहाल)
वडाध्यक्ष चिनीकाजी महर्जन फुटपाथ व्यवसायी नियन्त्रणभन्दा पनि धपाउने खेद्ने र लखेट्ने काम मात्र भइरहेको बताउँछन्। “चोक तथा मूल सडकबाट नगर प्रहरीले धपाउँछ, उनीहरू गल्लीतिर गएर बस्छन्”, अध्यक्ष महर्जन भन्छन्, “काठमाडौँको यो समस्या समाधान शक्ति विकेन्द्रीकरण नभई हुँदैन।” गाउँमा रोजगारीको अर्को विकल्प नभएसम्म यस्ता विकल्प एक–दुई महिनाभन्दा कार्यान्वयन नहुने र दुई–तीन सय नगर प्रहरीले हजारौ संख्यामा रहेका फुटपाथ व्यापारी नियन्त्रण र व्यवस्थापन गर्न नसक्ने उनले बताए।

दलबहादुर कार्की, वडा–३० (ज्ञानेश्वर)
महानगरका कदमलाई समर्थन गरिरहेका वडाध्यक्ष कार्की यस्ता समस्यालाई एक पक्षीय कोणबाट मात्र हेर्न नहुने बताउँछन्। त्यस्तै, भाडा तिर्न नपर्ने पसलमा किनबेच हुँदा महँगो भाडा तिरेर व्यवसाय गर्नेलाई पनि मर्का परेको उनको भनाइ छ।

कार्की बाटो विस्तारका कारण आफ्नो क्षेत्रमा फुटपाथको आकार घटेको बताउँछन्। प्रायः सडकमा फुटपाथ साढे दुई मिटरको हुनुपर्छ। तर, बाटो विस्तार गर्दा फुटपाथ एक मिटरमा परिणत भएको उनी बताउँछन्। जसकारण, फुटपाथमा सर्वसाधारणलाई हिँड्डुलकै लागि पनि कष्टकर भएको छ। यस्तो अवस्थामा फुटपाथमा पसल राख्दा पैदलयात्रीलाई अझ कष्टकर हुने उनको तर्क छ। 

नवराज पराजुली, वडा–३२ (कोटेश्वर)
कोटेश्वर क्षेत्रमा पर्ने वडा एक हप्ताको अवधिमा निकै नियन्त्रणमा आएको अध्यक्ष पराजुलीले उकालोलाई बताए। सर्वसाधारणको आवगमनमा सहज भएको छ। महानगरले यसअघि नै पटकपटक सूचना जारी गरेर अवैधरूपमा रहेका पसल, व्यवसाय हटाउन र आफैँले विकल्प खोज्न समय दिएको हो उनको भनाइ छ। 

मुकुन्द रिजाल– वडा १६ (सोह्रखुट्टे)
काठमाडौँ महानगरपालिकाको पहिलो बैठकमा प्रमुख बालेन शाहसँगको टकरावले चर्चामा आएका वडाध्यक्ष मुकुन्द रिजाल महानगरको कदमलाई सराहनीय मान्छन्।  

फुटपाथ पैदलयात्रुको आगमनको हकअन्तर्गत हिँड्न पाउने अधिकार रहेको उनको भनाइ छ। “शहरका व्यावसायिक भवन व्यवसाय गर्न र गर्नेका लागि निर्माण भएका हुन्। खाली सटर, मलका व्यवसाय सञ्चालन गर्ने हो”, उनले भने, “सडकमा राइट टु मुभमेन्ट हुनुपर्छ। ”

तटस्थ  
वडा नं. ८ का अध्यक्ष आशामान संगत भने यस विषयमा बोल्न पन्छिएका छन्। महानगरको विषय भएको कारण आफ्नो धारणा बरु प्रत्यक्ष रूपमा राख्ने उनले बताए।


सम्बन्धित सामग्री