मदन पुरस्कारको सपना र यथार्थ

लुधियान्वीले लेखेको र देवानन्द नाचेको गीतले भनेजस्तो जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ।

काठमाडौँ आएर बिए पढ्दा मास्टर भएँ- बालकोट प्राथमिक विद्यालयमा। स्कुले केटाकेटीलाई पढाएर खाने काम कठिन! मैले पढाइरहेको शैक्षिक सत्र सकिएपछि पढाउने काम गर्न सक्छु भन्ने लागेन। छाडिदिएँ। जागिर खान फर्म भरेँ। सञ्चयकोषमा पाँचौँ तहको जागिरको लिखित परीक्षामा पास भएँ। अन्तर्वार्तामा फेल!

डिल्लीबजारमा पुस्तक र पत्रिका पसल थालेँ। ‘साहुजी, विमर्श छ?  साहुजी, हिरो पेन छ? साहुजी, चेलपार्क मसी छ?’ बिहानदेखि बेलुकासम्म ‘साहुजी’ शब्दले लखेटेको लखेट्यै!

मलाई लाग्थ्यो- साहुजी भनेको बढी ब्याज लिएर गरिबको शोषण गर्ने मान्छे हो। मिटरब्याजी भन्छन् नि आजभोलि। तर पनि पसलले जसोतसो मेरो पेट पालिदिएकाले ‘साहुजी’ भन्ने गाली खाएर पनि म पसलमै झुन्डिइरहेँ।

मेरो पसल संयोगले दैनिक समाज पत्रिकाको अफिसछेउमा पर्न गएछ। त्यसका सम्पादक मणिराज उपाध्याय र व्यवस्थापक व्रजेश शर्मासँग चिनजान भएपछि पत्रिकामा काम गर्न पनि थालेँ।

अर्थशास्त्रमा एमए गरेर कलेजमा पढाउने सपना थियो। २०४५ सालमा भारतले नाकाबन्दी लगाएकाले कलेज बन्द भएपछि त्यो साँच्चिकै सपना भयो।   

२०४७ सालमा चारवटा किताब छापेँ। आरके मैनालीको लुटिएका दुई थुँगा फूल, सीपी मैनालीको वर्तमान राजनीतिक आन्दोलनबारे र मोदनाथ प्रश्रितको हिन्दू धर्म र नारी पाँच/पाँच हजारप्रति छापेको थिएँ। ६ महिनामा सबै बिक्री भए तर पैसा चाहिँ फर्केर आएन। त्यसपछि मेरो जीवनको अर्को असफल पेसा अर्थात् व्यापारलाई मेरो जीवनबाट सदाका लागि बिदा दिएँ।

झापामा १० बिघाहा खेतमा धान रोपेर बिए पढ्न काठमाडौँ हिँडेको थिएँ। २०/२१ वर्षको हुँदासम्म खेती गरेका आधारमा मलाई के लाग्छ भने संसारको सबैभन्दा दुःख पाउने काम खेती हो। त्यता फर्कने कुरा थिएन।

लुधियान्वीले लेखेको र देवानन्द नाचेको एउटा गीतले भनेजस्तो म जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ। तर उनले भनेजस्तो त्यसको उत्सव मनाएर हिँड्न भने सकिनँ।

त्यसैले कुनै दिन पत्रकार हुँला भन्ने सपना नदेखेको मान्छे म पत्रकार भएँ। त्यसमा मेहनत गरेँ, इमान नबेची काम गरेँ। मेहनत गरेका/गर्न खोजेका यसअघिका पेसालाई जस्तो गरी यसलाई त्याग्नु परेन। बीस वर्षको भइन्जेल जुन पेसा संसारमा छ जस्तो लागेको थिएन त्यही पेसामा टिकेँ।

अरू किसानले जस्तै मेरो बुबाले भन्नुहुन्थ्यो: किसानका छोराछोरी र गँड्यौलाले माटो छाड्नु हुँदैन। चराले टिपेर खाइदिन्छ, कमिलाले चिलेर मार्छ।

माटो अर्थात् खेतीपाती छाडिहालेँ। चरा र कमिलाले अकालैमा नमारुन् भनेर जे काम आइलाग्यो त्यसमा कठिन मिहिनेत गरेँ। यही बानीले गर्दा गर्छु भनेर नसोचेका केही काम गर्न पुगेँ। जस्तै, किताब लेखौँला भन्ने थिएन। लेखेँ। पत्रकारिताका सिलसिलामा जेजस्ता कुरा भोगेँ र जानेँ त्यसका आधारमा। एउटा होइन, दुइटा होइन, तीनवटा।

त्यसपछि मलाई नाम, पेसा र पैसा दिलाउने पेसामा अर्को ठूलो फड्को मार्न भनेर कान्तिपुर दैनिक गएँ। त्यहाँ हप्तामा ६ दिन, दिनको १४ घण्टाका दरले एक वर्षसम्म मिहिनेतपूर्वक, अलिअलि सिर्जनशील भएर खोजमूलक/गहन रिपोर्टिङका कामको संयोजन गर्ने भनेर गएको थिएँ। कोरोनाले त्यसो गर्न दिएन। साहिरले भने झैँ गर्न नपाएको कामको सुर्ता गर्नु भएन। जुन अवसर गुम्यो त्यसलाई भुलेर अघि बढ्नुपर्‍यो।

यस्तैमा मेरा लागि विल्कुलै नयाँ विषय इतिहासको किताबको काम कुन संयोगले हो मेरा सामुन्ने आइलाग्यो। निकासा भएको तर खर्च गर्न नपाएको मेरो तागत, जो भएको  सीर्जनशीलता र समय कतै न कतै खर्च गर्नै पर्थ्यो। यसैमा खर्च गरेँ। पहिले छुट्याए जतिले नपुगेकाले थप तागत, सिर्जनशीलता र समय निकासा गराएँ।

किताब छापियो। चर्चा भयो।  

उकालोका देवेन्द्र भट्टराईले यो छोटो लेख लेख्न शीर्षक दिनुभएको थियो: मदन पुरस्कारको सपना यथार्थ। काम लगाउनेले दिएको शीर्षक बदल्न मिलेन। त्यसैले शीर्षक त्यही राखेँ। अन्त्यतिर कुरा बदल्न अवश्यै मिल्ला भनेर लेखेको छु: मदन पुरस्कारको सपना देखेकै थिइनँ, मदन पुरस्कार पाएँ भन्ने समाचार सपना जस्तो भएको छ। मीठो सपना!

भन्नुहोला तैँले कोट गरेको साहिरले गीतको अन्तिममा भनेका छन्- आफ्नो दिललाई बेखुशी र खुशी फरक महसुस नहुने मुकाममा पुर्‍याएर हिँडिरहेँ।

यो मुकाममा साहिरजस्ता मानिस मात्र पुग्लान्। मेरो दिल मैले नदेखेको तर मेरो किताब ‘मुकाम रणमैदान’ले ल्याइदिएको मदन पुरस्कारको बिपनामा भुलेको छ।