गिरिका अनुसार नेपालमा समाजवादको निर्माणका लागि नयाँ आधार निर्माण गर्नु आवश्यक छ। गाउँलाई केन्द्र नबनाई नेपालमा कुनै पनि स्वतन्त्र, समतामूलक र समाजवादी समाज बनाउन सकिँदैन।
समाजवाद केवल सिद्धान्त होइन, आचरण हो। हामी समाजवादका सिद्धान्तको कुरा धेरै गर्छौं, तर आचरणमा लागू गर्न असमर्थ हुन्छौँ। सैद्धान्तिक रूपले समाजवादी हुन सकिएला, तर व्यवहारिक रूपमा समाजवादी हुन् निकै कठिन हुन्छ। नेपाली समाजवादी आन्दोलनका महत्त्वपूर्ण विचारक प्रदीप गिरि प्रजातान्त्रिक समाजवादका व्याख्यातामात्र नभएर प्रयोक्ता पनि हुनुहुन्थ्यो। उहाँ सत्ता निरपेक्ष भएर मूल्य मान्यताको राजनीति गर्ने, समयको आवश्यकता बुझेर अघि बढ्न सक्ने र समाजवादी दर्शनलाई आफ्नो जीवनमा रूपान्तरण गरेर देखाउने नेता हुनुहुन्थ्यो।
सम्पन्न परिवारमा जन्मिएका उहाँले सादगीपूर्ण जीवन बिताउनुभयो, जुन अनुकरणीय छ। उहाँले आफ्नो जन्मस्थल सिराहाको बस्तीपुरमा स्थापना गर्नु भएको 'श्री आश्रम'को अवधारणा, उद्देश्य, गतिविधि र प्रयोगले उहाँलाई व्यावहारिक समाजवादी बनाएको थियो। प्रदीप गिरिको सिंगो जीवन, चिन्तन, सिर्जना र अभियान दलित, महिला, जनजाति, मधेसीलगायत अन्य विपन्न ,सीमान्तकृत वर्ग-समुदायको जागरण, संगठन, संघर्ष र मुक्तिप्रति समर्पित थियो। यद्यपि, सीमान्तकृत वर्ग र समुदायलाई राजनीतिको अग्रभागमा राख्ने उद्देश्यले स्थापित समानुपातिक समावेशिताको अभ्यासलाई सबैजसो राजनीतिक दल र तिनको नेतृत्वले हुर्मत लिएको देखिन्छ।
समाजवादका लागि वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सभासम्मेलनको स्वतन्त्रता र संगठनको स्वतन्त्रता गरी चार स्वतन्त्रता अनिवार्य हुन्छ। गिरिले समाजवादी दर्शनको गहनतम् व्याख्या गर्नुभयो। गिरिले फ्रान्सेली क्रान्तिलाई समाजवादको सन्दर्भ विन्दुको रूपमा लिनुका साथै फ्रान्सेली क्रान्तिका विश्वप्रसिद्ध तीन नारा; स्वतन्त्रता, समता र बन्धुत्वलाई समाजवादसँग जोडेर विश्लेषण गर्नुभएको छ। नेपाली माटो र हावापानी सुहाउँदो समाजवादी भाष्य निर्माण गर्न प्रदीप गिरिको महत्त्वपूर्ण योगदान छ।
समाजवादको सन्दर्भमा गिरि महात्मा गान्धी, जयप्रकाश नारायण, राममनोहर लोहिया र बीपी कोइरालाबाट ज्यादा प्रभावित हुनुहुन्थ्यो। नेपालमा समाजवादको सन्दर्भमा उनीहरूको सान्दर्भिकता रहेको उहाँको निष्कर्ष थियो। वास्तवमा गान्धीले आफूलाई कहिल्यै समाजवादी भनेनन्। उनलाई सैद्धान्तिक समाजवादमा कुनै रुचि थिएन। यद्यपि आचरण र व्यवहारमा उनी निर्विवाद महानतम समाजवादी थिए। गिरिले गान्धीजीको पदचिन्हको उपयोगिता र हिन्दुस्तानमा ग्राम स्वराजको अवधारणाको नेपालमा सान्दर्भिकताबारे गर्नुभएको व्याख्या महत्त्वपूर्ण थियो।
नेपाली कांग्रेसको निम्ति पनि बीपीको समाजवादसम्बन्धी उद्धरण मूलमन्त्र हुने गरेको छ। तर गिरिको यसबारे फरक मत रहेको थियो। कुनै एक व्यक्ति विशेषको चिन्तन समाजवादको केन्द्र हुन सक्दैन र प्रजातान्त्रिक समाजवादको स्वभावले पनि यस्तो चिन्तन प्रणालीको औचित्य देख्दैन। बीपीले नै भनेको भए तापनि यस आधारमा नेपालमा समाजवादको निर्माण सम्भव नरहेको उहाँको जिकिर थियो।
समृद्धि र समाजवादको कुनै साइनो नरहेको, देश पूर्ण औद्योगिकीकरणमा गएर समाजवाद आउँछ भन्नु गलत रहेको उहाँको भनाइ थियो। पहिलो कुरा त, नेपालका राजनीतिक दलहरूले भनेजस्तो पुँजीवाद ल्याउन सकिँदैन र पूँजीवादको गर्भबाट कुनै प्रकारको समतामूलक समाज उत्पन्न हुँदैन भन्नुहुन्थ्यो उहाँ। उहाँको दृष्टिकोणअनुसार उत्पादन र वितरण एक अर्काका परिपूरक हुन्, विपरीत होइनन् र समाजवाद भनेको उत्पादन र वितरण दुवैलाई वृद्धि गर्ने र अघि बढाएर सँगसँगै लैजाने व्यवस्था हो।
गिरिका अनुसार नेपालमा समाजवादको निर्माणका लागि नयाँ आधार निर्माण गर्नु आवश्यक छ। गान्धीको गाउँकेन्द्रित विचार वर्तमान सन्दर्भमा सान्दर्भिक हुनसक्छ। गाउँलाई केन्द्र नबनाई नेपालमा कुनै पनि स्वतन्त्र, समतामूलक र समाजवादी समाज बनाउन सकिँदैन। विश्वव्यापी रूपमा शहरीकरणको होडबाजी चलिरहँदा नेपालमा पनि गाउँलाई एकाएक नगर घोषणा गर्ने काम भएको छ। हाम्रो समाजमा शहरिया जीवनलाई आधुनिकता, सम्पन्नता, र सभ्यतासँग जोडेर हेरिन्छ। जीवनको अन्तिम लक्ष्य शहर जानु भएको बुझाइ व्याप्त छ।
शहरीकरणको दौडमा गाउँका मान्छे नजिकको ठूलो बजार र ठूलो बजारको मान्छे झनै ठूलो बजार जाने प्रवृत्ति बढेकाले गर्दा नेपालमा विकासको नाममा खासगरी गाउँको विनाश बढिरहेको छ। गाउँलाई उत्पादनमुखी र अधिकारसम्पन्न स्वायत्त इकाईका रूपमा विकास नगरीकन कुनै पनि प्रकारको समतामूलक समाज बनाउन सकिँदैन। यद्यपि, स्थानीय तह र तिनका सरकारले त्यस प्रकारको भूमिका निर्वाह गर्न सकेको देखिँदैन। अचेल गाउँघरका सर्वसाधारण र जनप्रतिनिधिको मनमस्तिष्कमा समेत सभ्य गाउँको निर्माण भन्दापनि शहरीकरण प्रतिको सोच व्याप्त छ।
गिरिका अनुसार ग्रामीण संस्कृति र सभ्यताका केही मान्यताहरू हुन्छन्। गाउँको विकासको लागि त्यहीँकै उपयुक्त मोडेल आवश्यक पर्छ। वर्तमान मापदण्ड तिनका विकासका निम्ति उपयुक्त छैनन्। समाजमा सकारात्मक र दीर्घकालीन असर पुर्याउने खालका विषयहरू अहिलेका विकासे मोडलमा प्राथमिकतामा पर्दैनन्।
भौतिक विकासलाई मात्र विकास मान्ने र ठान्ने अवधारणा व्याप्त छ। शिक्षा, स्वास्थ्य, उत्पादन प्रणाली, शुद्ध खानेपानी र सरसफाइ आदिजस्ता विषयमा आवश्यक ध्यान पुग्न सकेको देखिँदैन। शहरीकरणका नकारात्मक र दीर्घकालीन असरहरूबारे बारेमा मानिसहरू जानकार छैनन्। सहरिया जीवनशैली बाँच्नका लागि निर्धारित मापदण्डका आधारमा अहिलेको जनसंख्यालाई आवश्यक पर्ने स्रोतसाधनको सीमितताबारे सोच्ने गरिएको छैन।
वर्तमानमा विकासको अवधारणालाई तथाकथित वृद्धिदरको आधारमा सफल भएको भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ। गिरि वृद्धिदर (ग्रोथरेट) लाई विकास मान्नुहुन्नथ्यो। आधारभूत विकास पनि छैन भने अंकको वृद्धिको कुनै अर्थ छैन भन्नुहुन्थ्यो। समाजवाद मुलुकमा ग्रोथरेट बढाउने होइन, रोजगार बढाउने व्यवस्था हो। शिक्षा र स्वास्थ्य क्षेत्रमा कुनै पनि नागरिकलाई आफू वञ्चित भएको महसुस हुन नदिने व्यवस्था हो।
सामान्यतः अर्थशास्त्री वा अर्थमन्त्रीहरू तथ्यमा आधारित भएर नेपालको विकासबारे प्रस्तुति दिन्छन्। तर, प्रदीप गिरिको दृष्टिकोणमा तथ्यमात्र होइन, सत्य अथवा यथार्थपरक विश्लेषण आवश्यक छ भन्ने थियो। तथ्यांकका आधारमा नेपालमा सरकारी लगानीमा हरेक गाउँमा स्वास्थ्य केन्द्र र विद्यालय खुलेका छन्। तर यथार्थमा विद्यालयमा बिरलै गुणस्तरीय शिक्षा प्रदान हुन्छ। स्वास्थ्य केन्द्रमा गुणस्तरीय उपचार पनि बिरलै हुन्छ। उल्टो स्वास्थ्य केन्द्रले रेफरल सेन्टरको भूमिका निर्वाह गरिरहेका छन्। विद्यालयले विद्यार्थीमा सहरिया मनोविज्ञानको विकास गराउँदै तिनलाई बिदेसिने उत्प्रेरकको भूमिका खेलिरहेका छन्।
नेपालको संविधानमा देशलाई समाजवादउन्मुख भनिएको छ। नेपालमा समाजवाद एउटा विचारधाराको रूपमा लोकप्रिय छ। यसले सबैको भलो गर्छ भन्ने सकारात्मक धारणा कतिपयमा छ। नेपालका प्रायः सबै प्रमुख राजनीतिक दलले समाजवाद शब्द प्रयोग गर्ने गरेको देखिएको छ। पहिले पुँजीवाद ल्याउने, उत्पादन बढाउने अनि वितरण गर्ने भन्नेमा पनि प्रायः सबै प्रमुख दल र नेताको समान धारणा रहेको देखिन्छ। तथापि, समाजवादप्रतिको कसैको दृष्टिकोण स्पष्ट छैन। समाजवाद शब्द उल्लेख गर्दैमा त्यस्तो व्यवस्था कायम हुने पनि होइन। त्यस्तै, विकास र समृद्धि भएपछि समाजवाद आउँछ भन्ने अर्को बुझाइ नेपालमा प्रचलित छ। नेपाल एक दिन स्विजरल्यान्ड र सिंगापुरजस्तो एकदमै धनी देश बनेपछि यहाँ समाजवाद आउँछ भन्ने गरिएको छ।
समाजवाद मूलतः मानवीय, नैतिक र समान व्यवहार गर्ने दृष्टिकोण हो। नैतिक मूल्यको निरन्तरता हो। समाजवादको प्रारम्भिक सिद्धान्त नै सबै मनुष्य समान हुन्छन् भन्ने हो। त्यसो हुँदा, समाजवाद विशेषगरी उत्पीडित, वञ्चित र सीमान्तकृत वर्गको निम्ति एउटा आशाको विचारधारा हो। समाजवाद व्यक्तिको हित भन्दापनि सिंगो समाजको हित गर्ने, उन्नति देख्ने गतिशील चिन्तन प्रणाली हो। उहाँका अनुसार, समाजवाद आर्थिक वा राजनीतिक दर्शन नभएर दुवै दर्शनको विभाजन मेटाउने दर्शन हो। आर्थिक र राजनीतिक चिन्तनलाई अलग राखेर हेर्न सकिँदैन भन्नेमा उहाँको जोड थियो।
पुँजीवादले मानिसलाई यान्त्रिक बनाएकाले यसले मानिसमा थुप्रै गुण भएर पनि एउटामात्र विषयमा केन्द्रित हुन बाध्य पारेको छ। तर समाजवादले पूर्णतम योग्यता भएको मानिस पैदा गर्छ भन्ने उहाँको भनाई थियो।
गिरिका अनुसार नै उहाँको समाजवादसम्बन्धी चिन्तन, विश्लेषण र दृष्टिकोणलाई अकाट्य रूपमा नलिएर समय, सन्दर्भ र परिस्थितिअनुरूप पुनर्व्याख्या गर्दै जानुपर्छ। समाजवादका सिद्धान्तहरूको व्याख्या र विश्लेषणमा मात्र केन्द्रित नभएर यसको व्यवहारिक प्रयोगमा ज्यादा जोड दिन सक्नुपर्छ। अनि मात्र उहाँको समाजवादी चिन्तन र विचारले सार्थकता पाउँछ। समाजवाद एकै क्षणमा आकाशवाणी हुने विषय नभएर क्रमशः अघि बढ्ने यात्रा हो। यसलाई त्यस यात्रातर्फको एक कदम मान्न सकिन्छ भन्ने उहाँको दृष्टिकोण थियो।
(लेखक संविधानसभा सदस्य हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
