नेयमार मैदान फर्किँदै

कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल अन्तर्गत् साेमबार दक्षिण कोरियाविरुद्धकाे खेलबाट ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।

तस्वीर : नेयमारकाे ट्वीटरबाट

काठमाडाैँ– कतारमा जारी विश्वकप फुटबलकाे प्रि-क्वार्टरफाइनल खेलमा ब्राजिलका स्टार फरवार्ड नेयमार मैदान फर्किने भएका छन्।

मुख्यप्रशिक्षक टिटेले सोमबार एसियाली राष्ट्र दक्षिण कोरियासँग हुने खेलमा नेयमार मैदान उत्रिने जानकारी दिएका हुन्। नेयमार अहिले खुट्टाको चोटबाट निको भइसकेका छन् र पूनरागमनका लागि प्रशिक्षण गरिरहेका छन्। समूह चरणअन्तर्गत सर्बियाविरुद्धको पहिलो खेलमा उनी घाइते भएका थिए।

उक्त खेल ब्राजिलले २–० ले जितेको थियो। त्यसपछि उनले स्वीट्जरल्यान्ड र क्यामरुनविरुद्धको खेल गुमाएका थिए। ब्राजिलसँग स्वीट्जरल्यान्ड १-० ले पराजित भएको थियो। अन्तिम खेलमा भने ब्राजिल सोही नतिजामा क्यामरुनसँग आश्चर्यजनक रूपमा पराजित भएको थियो। "नेयमारले आज अभ्यास गर्नेछन्। यदि उनले राम्रो गरे भने उनलाई टोलीमा राखिनेछ," आइतबारको पत्रकार सम्मेलनमा प्रशिक्षक टिटेले भने।

नेमारको दाहिने खुट्टामा लामो समयदेखि समस्या छ। चार वर्षअघि उनको सोही खुट्टाको शल्यक्रिया गरिएको थियो। ब्राजिलका अर्का खेलाडी डानिलो पनि सर्बियाविरुद्धको खेलमा घाइते भएका थिए। योसँगै एलेक्स टेल्स र फरवार्ड गेब्रियल जेससले क्यामरुनविरुद्धको खेलमा घुँडाको चोट बोकेका थिए। उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्।

पाँच पटकको विश्वविजेता ब्राजिलले लगातार आठौँ पटक क्वार्टरफाइनल पुग्ने लक्ष्य राखेको छ। पछिल्लो पटक सन् १९९० मा प्रि-क्वार्टरफाइनलमा पराजित भएको ब्राजिल त्यसयता दुई पटक ( सन् १९९४ र २००२ मा) च्याम्पियन बनेको छ। योसँगै ब्राजिलले तीन पटक क्वार्टरफाइनल (सन् २००६, २०१० र २०१८)मा हार बेहोरेको छ।

घरेलु मैदानमा सन् २०१४ मा आयोजना भएको विश्वकपमा ब्राजिल चौथो स्थानमा रह्यो। ब्राजिल सन् २००२ पछि च्याम्पियन बन्ने लक्ष्यमा छ।