कृषि मन्त्रालय भन्छ– ४२ हजार मेट्रिक टन मल मौज्दात छ

सरकारसँग हाल ४२ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल मौज्दात कृषि मन्त्रालयले जनाएको छ। त्यस्तै पुषको पहिलो साता जीटुजीमार्फत् ३० हजार मेट्रिक टन मल भारतबाट ल्याइनेसमेत मन्त्रालयले जनाएको छ।

काठमाडौँ- सरकारसँग हाल ४२ हजार मेट्रिक टन भन्दा बढी रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 

सरकारी स्वामित्वको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी कुल ४२ हजार ९ सय ८३ मेट्रिक टन मल मौज्दात रहेको हो। 

कृषि सामाग्रीसँग १५ हजार १ सय ७९ मेट्रिक टन युरिया, १८ हजार ४ सय ३२ मेट्रिक टन डीएपी, १ हजार ८ सय ३७ मेट्रिक टन पोटास गरी कुल ३५ हजार ४ सय ४९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए। 

यस्तै सोल्ट ट्रेडिङसँग ६ हजार ५ सय ८४ मेट्रिक टन युरिया, ८ सय ५४ मेट्रिक टन डीएपी र ९५ मेट्रिक टन पोटास गरी कुल ७ हजार ५ सय ३४ मेट्रिक टन रासायनिक मल मौज्दातमा रहेको छ।

चालु आर्थिक वर्षमा कृषि सामाग्री र साल्ट ट्रेडिङमार्फत २ लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि टेन्डर आव्हान भएको थियो। हालसम्म १ लाख १० हजार मेट्रिक टन मल आयात भइसेकेको समेत मन्त्रालयका प्रवक्ता सञ्चेलले बताए। त्यसमध्ये ८६ हजार मेट्रिक टन मल विक्री वितरण भइसकेको छ। टेन्डर भएको बाँकी मल माघ तथा फागुन महिनामा आइपुग्ने पनि मन्त्रालयले जनाएको छ।

जीटुजीको मल पुस पहिलो साता आउने
रासायनिक मल आपूर्तिका लागि भारत र नेपाल सरकारबिच (जीटुजी) भएको सम्झौताअनुसार ३० हजार मेट्रिक टन युरिया मल पुषको पहिलो साता नेपाल आइपुग्ने पनि मन्त्रालयले जनाएको छ। 

वार्षिक १ लाख ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने गरी गत वर्षको फागुन दोस्रो साता दुई मुलुकका अधिकारी बिच सम्झौता भएको थियो। सोही सम्झौता अनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया पुसको पहिलो हप्ता आइपुग्ने मन्त्रालयका प्रवक्ता सञ्चेलले बताए।

सरकारले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षका १५ अर्ब रुपैयाँ रकम विनियोजन गरेको गरेको थियो। तर अन्तर्राष्ट्रिय बजारमा भएको मृल्यवृद्धि लगायतका कारण सो रकम अपुग हुने भएपछि अर्थ मन्त्रालयबाट थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएको पनि मन्त्रालयले जनाएको छ।