मञ्चबाट एकीकृत समाजवादीलाई बलियो बनाउने संकल्प, नेता कार्यकर्ता एमालेमै फर्किन खुट्टा उचाल्दै

नेकपा एकीकृत समाजवादीलाई बलियो बनाउने प्रयास जारी हुँदै गर्दा पनि धेरै नेता तथा कार्यकर्ता एमालेमा जान आतुर देखिन्छन् ।

काठमाडौं– पार्टी पुनर्गठनको एक वर्ष पूरा भएको अवसरमा उत्सव मनाउन नेकपा (एकीकृत समाजवादी) ले बिहीबार बानेश्वरको एउटा पार्टी प्यालेसमा कार्यक्रम गर्दा हल मुस्किलले भरिएको थियो। भित्र पार्टीका शीर्ष नेताहरूले संबोधन गरिरहँदा बाहिर प्राङगणमा राखिएका कुर्सी लगभग रित्तै थिए। बरू, नेता तथा कार्यकताहरूका सवारी साधन ‘पार्क’ गर्न ती कुर्सी धमाधम हटाइयो। 



बाहिर प्राङगणमै भेटिएकी सांसद समिना हुसेन तनावमा थिइन्। शीर्ष नेताहरूले संबोधन गरिरहँदा उनी हलभित्र र बाहिर गरिरहेकी थिइन्। त्यही बेला उनलाई बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट्न चाहेको भन्दै फोन आयो। बिहीबार मात्रै बालकोटबाट उनलाई आएको त्यो दोस्रो फोन थियो।  



एमाले पृष्ठभूमिकी सांसद हुसेनलाई ओलीसँगको भेट गुमाउनु थिएन र एकीकृत समाजवादीको राजनीतिक भविष्यसँग आशावादी हुन पनि सकेकी थिइनन्। ‘अहिले म कार्यक्रममा छु, पछि कुरा गरौंला’ भन्दै उनले बालकोटलाई ‘होल्ड’मा राखिन्। 



ओलीविरूद्धको संघर्षमा आफूलाई साथ दिँदै नयाँ पार्टीमा सामेल भएपछि अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा प्रतिनिधि सभा सांसदका लागि टिकट दिने वाचा हुसेनसँग गरेको धेरै भएको छैन। तर, सत्ता गठबन्धनमा आबद्ध दलहरू नै तालमेल गरी चुनावमा उत्रिने निर्णय भएपछि नेपालले आफूलाई पन्छाएको हुसेनले महसुस गरेकी छिन्। 



रौतहट क्षेत्र नं. ३ की समानुपातिक सांसद हुसेन आफू महिला मात्रै नभई मुस्लिम समुदाय र मधेसबाट पनि प्रतिनिधित्व गर्ने भएकाले प्रतिनिधि सभामा जसरी पनि आउनु पर्ने निष्कर्षमा छिन्। अब जता टिकट हात पर्छ उतै जाने उनको ‘मुड’ बुझ्न मुस्किल छैन। ‘अहिलेको पार्टीमा टिकट नपाएकै कारण एमालेमा जाने भन्ने त हुँदैन, तर कसैलाई काखा, कसैलाई पाखा गर्ने नीति नेतृत्वबाट अपनाउँदा त्यसबारे पनि सोच्नु पर्ने हुन्छ। अपमान कसैका लागि पनि स्वीकार्य हुँदैन,’ हुुसेनले भनिन्। 



यो अभिव्यक्तिबाट पनि उनी अब लामो समय समाजवादीमा टिक्ने संकेत देखिँदैन। ‘एमाले मेरो घर हो। नेतृत्वको बेइमानीले गर्दा घर छोड्नु परेको थियो। आफ्नो घर बिर्सन सकिँदैन। त्यसैले म एमालेमा फर्किएँ भने असामान्य हुने छैन,’ उनले भनिन्।



एकीकृत समाजवादीमा असन्तुष्ट हुने हुसेन मात्रै एक्लो होइनन्। नेतृत्वको कार्यशैली ओलीको भन्दा फरक नभएको निष्कर्ष निकाल्दै अबको राजनीतिक विकल्पबारे सोच्ने नेता धेरै छन्।। पार्टीमा आफ्नो चाहना अनकुल हैसियत नपाएपछि आफूहरुका लागि अहिलेलाई उत्तम विकल्प भनेकै एमाले प्रवेश हुने एक नेताले बताए। एमालेले पनि चुनाव नजिकिदै जाँदा उनीहरूलाई विभिन्न ‘अफर’ गरी फर्काउने अभियान नै चलाउन थालेको छ।   



कार्यसम्पादनको उचित मूल्याङन नगरी अपमानजनक ढंगले मन्त्रीबाट हटाएको झोंकमा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेता नेपालसँग दूरी बढाएको लामै समय भयो। पार्टी स्थापना दिवस समारोहमा पनि उनी उपस्थित भइनन्।



पार्टीमा अन्तरकलह चुलिएपछि एमालेबाट अलग भइ नयाँ पार्टी खोल्न नेता नेपालको हात समातेर २०७८ भदौ २ मा निवेदन दिन निर्वाचन आयोग पुग्ने झाँक्री नै थिइन्। तर, अब त्यो जोस झाँक्रीमा छैन, उनले कुनै पनि बेला नेपालको साथ छोड्ने संकेत देखिएको छ। समाजवादी पार्टी स्रोतअनुसार झाँक्रीलाई एमालेमै फर्काउन योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेताहरू निरन्तर लागि परिरहेका छन्। 



काम गर्न नसकेको छवी निर्माण गरी मन्त्रीबाट हटाएको भन्दै तत्कालै  झाँक्रीले आफू निकटहरूसँग ‘अब समाजवादीको साधारण सदस्य पनि रहिन्न’ भनेकी थिइन्। गुल्मी–२ बाट समानुपातिक सांसद झाँक्रीले त्यसको केही दिनपछि आगामी चुनावमा त्यही क्षेत्रबाट प्रत्यक्ष लड्ने घोषणा गरिन्। 



एमाले नेतृत्व झाँक्रीलाई फिर्ता बोलाउने निष्कर्षमा पुगे पनि नेता गोकर्ण विष्ट र झाँक्रीको निर्वाचन क्षेत्र एउटै भएकाले समस्या  भएको एमाले स्थायी समितिका एक नेताले बताए। एमालेमा फिर्ता गराउन झाँक्रीलाई कस्तो ‘अफर’ गर्ने भन्नेमा टुंगोमा नपुगेको ती नेताको भनाइ छ। ‘नेपालसँग अन्तुष्ट भएकै बेला झाँक्रीलाई एमालेमा फर्काउने कोशिश भएको छ। तर, नेतृत्वलाई उनको व्यवस्थापन टाउको दुखाइको विषय भने बनेको छ’, ती नेताले भने। 



झाँक्रीसँगै मन्त्रीबाट बर्हिगम भएका सासदद्वय प्रेम आले र किसान श्रेष्ठ पनि नेपालसँग असन्तुष्ट छन्। उनीहरू पनि बिहीबार बानेश्वरमा भएको पार्टी पुनर्गठन दिवसको कार्यक्रममा देखिएनन्। टिकट हात पर्ने निश्चित भएमा उनीहरू एमालेमै फर्किने ती स्थायी समिति सदस्यले दाबी गरे। 



कार्यक्रममा उपस्थित विरोध खतिवडा पनि पहिले जस्तो उत्साहित ‘मुड’मा देखिएनन्। पार्टी उपाध्यक्ष जयन्ती राई कार्यक्रममै थिइनन्। त्यही बेला पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्दै थिए, ‘हाम्रो पार्टी झन् झन् एक ढिक्का हुँदैछ, पार्टीमा जनलहर देखिएको छ, हामी एक भएको देखेर एमालेलाई सकस परेको छ।’



एकीकृत समाजवादीमा पार्टीको माथिल्लो तहमा मात्रै होइन, प्रदेश र स्थानीय तहमा पनि नेतृत्वप्रति असन्तुष्टी चुलिएको छ। बिहीबार नै सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाहीले पदबाट राजीनामा दिएर पार्टी त्यागेको घोषणा गरे। हाललाई उनले आफू स्वतन्त्र रहने सार्वजनिक बताए पनि एमालेमा फर्कने उनको तयारी छ। सुदुरपश्चिमकै प्रदेश सांसद तारा लामा तामाङ, प्रतिनिधि सभा सांसद बिना बुढाथोकी, कञ्चनपुर बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दलाई पनि एमालेले फर्काउने निश्चित भएको एमाले  सुदुरपश्चिमका एक प्रभावशाली नेताले बताए। ‘भदौ १५ मा सुदुरपश्चिममा समाजवादीका धेरै नेता तथा कार्यकर्ता एमालेमा फर्किदैछन्। अध्यक्ष र महासचिव उनीहरूको स्वागतका लागि आउँदैछन्,’ उनले भने। 



एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य गणेश विश्वकर्माले आफ्नो पार्टी नेतृत्वले एकपछि अर्को त्रुटि गर्दा एमालेले नेता तथा कार्यकर्ता लग्ने मौका पाएको बताए। ‘मन्त्रीमण्डलबाट केही साथीहरूलाई फिर्ता बोलाउँदा नेतृत्व र मन्त्रीहरूबाट अनुशासनहीनता देखियो। पार्टी कमिटीमा योग्यता, क्षमताभन्दा पनि नेतृत्वको देवत्वकरण गर्नेलाई स्थान दिइयो। संगठन परिचालनमा पनि नेतृत्व चुकेको छ। यस्ता समस्या नयाँ पार्टीमा पनि जन्मिदा स्वतः यो पार्टी छोड्ने र पुरानै पार्टीमा फर्किने क्रम बढ्न सक्छ,’ विश्वकर्माले भने। 



सिन्धुपालचोकका सहइन्चार्ज एवं राष्ट्रियसभा सदस्य बहादुर रसाइली, प्रदेशसभा सदस्य सरेश नेपाललगायत नेताहरूलाई पनि एमालेमा प्रवेश गराउन निरन्तर प्रयास भइरहेको छ। ‘पार्टीको आन्तरिक जीवन एमालेको जस्तै गरी चल्यो भने हिजोकै स्थितिमा पुगिन्छ। पार्टीमा निरन्तर लागेका साथीरूको पनि मूल्याङन गर्नुपर्ने आवश्यकता छ। त्यसो गरिएन भने पार्टी संकटमा पर्छ र नेता कार्यकर्ता पनि तितरवितर हुन्छन्,’ रसाइलीले भने। 



यसअघि एमाले अध्यक्ष केपी ओलीले बारम्बार माधव नेपालबाहेक एकीकृत समाजवादीका सबै नेता तथा कार्यकर्तालाई फिर्ता बोलाउने अभियान नै चलाउन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका थिए। एमाले प्रचार तथा प्रकाशन विभागका उपप्रमुख  विष्णु रिजालले आगामी चुनावमा एमालेलाई सबभन्दा ठूलो पार्टी बनाउने उद्देश्यका साथ आफूहरू लागेको र एकीकृत समाजवादीमा रहेका पुराना नेता कार्यकता फर्काउने अभियानलाई तीव्रता दिएको बताए। ‘हामीबाट अलग हुनुभएका प्राय सबै साथीहरू एकीकृत समाजवादीमा अहिले खुसी हुनुहुन्न। उहाँहरूलाई सम्मानपूर्वक आफ्नो पुरानो घरमा फिर्ता बोलाउन हामी लाग्नु स्वाभाविक हो,’ रिजालले भने।



तत्कालीन नेकपालाई २०७७ फागुन २३ मा सर्वोच्च अदालतले पूर्ववर्त एमाले र माओवादी केन्द्रमा फर्काइदिएको थियो। नेकपा यथावत् रहँदा अध्यक्ष ओलीविरूद्धको संघर्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मोर्चाबन्दी गरेको नेपाल पक्ष एमालेमा लामो समयसम्म टिक्न सकेन। ओलीले दुईदुई पटक संसद विघटन गरेर प्रतिगमन गरेको निष्कर्ष निकाल्दै नेपाल समूहले नयाँ दल नेकपा एकीकृत समाजवादी जन्माएको थियो।