राजनीतिले थलिएको मन्त्रालयको क्षमता उकास्नु उनका लागि चुनौतीपूर्ण छ। त्यसमाथि गठबन्धनको सरकारमा मन्त्री भएर काम गर्दा उनले कति दबाब थेग्न सक्छिन् त्यो भविष्यले नै देखाउने छ।
काठमाडौँ– सत्ता समीकरण बदलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गठन गरेको २२ सदस्यीय मन्त्रिपरिषद्मा उनको पार्टी (नेकपा एमाले) की सांसद विद्या भट्टराई पनि परिन्। सत्ता साझेदारी गर्न सहमत दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भागबण्डामा गठित मन्त्रिपरिषद्मा भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी पाएकी छन्।
कास्की निर्वाचन क्षेत्र नं. २ की सांसद भट्टराईलाई ओली नेतृत्वको मन्त्रिपरिषद्मा धेरैले आशालाग्दो अनुहारको रूपमा चर्चा गरेका छन्। शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभारका लागि सिंहदरबारस्थित शिक्षा मन्त्रालय पुगेकी मन्त्री भट्टराईमाथि भरोसा राख्दै बधाई दिनेहरूको घुइँचो लाग्यो।
उनीमाथि आम मानिसदेखि सरोकारवालाहरूसम्मले भरोसा देखाउनुका मुख्य दुई कारण देखिन्छन्। पहिलो, लामो राजनीतिक पृष्ठभूमिमा उनी पहिलो पटक मन्त्री बनेकी छन्। दोस्रो, उनले आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्न उपयुक्त मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी छन्।
काठमाडौँको चावहिलमा जन्मिएकी भट्टराईले पञ्चायतकाल किनारा लाग्दै गर्दा विद्यार्थी जीवनबाट राजनीति शुरू गरेकी थिइन्। कक्षा ९ मा अध्ययन गर्दा उनले विद्यालयमा पठनपाठन बन्द गर्न नमिल्ने भन्दै नारा लगाएकी थिइन्।
सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च र राष्ट्रिय पञ्चायतका सदस्य रहेका उनका बुवा हेमराजबाट विद्यार्थी राजनीतिमा लाग्न उनलाई प्रेरणा मिलेको थियो। २०४६ सालमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस भर्ना भएपछि अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य भएकी थिइन् उनी। २०५१ सालमा उनी अनेरास्ववियुको महिला विभाग प्रमुख पनि भइन्।

२०५५ सालमा पुग्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिवसमेत बनेकी थिइन्। भट्टराईले राजनीतिमा आफू स्थापित भएर महिलाका लागि पनि यो क्षेत्र उपयुक्त छ भन्ने सन्देश दिन चाहेकी थिइन्। तर विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५६ असार २६ मा उनको विवाह रवीन्द्र अधिकारीसँग भयो।
विवाहपछि उनले आफूलाई भन्दा पनि रवीन्द्रलाई स्थापित गर्न भूमिका खेल्नुपर्ने भयो। यद्यपि उनले विभिन्न चुनौती सामना गर्दै अध्ययनलाई निरन्तरता दिइन्। “मैले मेरो भविष्य राजनीतिमा देखेको थिएँ। तर विवाहपछि पारिवारिक जिम्मेवारीका कारण राजनीतिका लागि भागदौड गर्ने समय भएन,” २०७८ असारमा काठमाडौँमा भएको महिला सशक्तीकरणसम्बन्धी एउटा कार्यक्रममा उनले भनेकी थिइन्, “तर पनि मैले घर सम्हालेर जे गर्न सक्थेँ त्यो गरेँ। त्यो भनेको मेरो पढाइ नै थियो। पढाइ कहिल्यै छोडिनँ।”
रवीन्द्रले राजनीतिमा आफ्नो हैसियत बलियो बनाउँदै गर्दा उनले समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरिन्। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्रध्यापक बन्न सफल भइन्। त्यसअघि उनले कहिले काठमाडौँ त कहिले पोखराका सामुदायिक क्याम्पसहरूमा पनि पढाएर परिवारका लागि खर्च जुटाएकी थिइन्।
त्यो बीचमा उनले पार्टी भने कहिल्यै छोडिनन्। पार्टीको कुनै न कुनै भूमिकामा रहेर काम गरेको अनुभव उनीसँग छ। एमालेको उपत्यका महिला कमिटी सचिव रहेकी उनी २०६७ सालमा संघीय महिला विभागको सदस्य बनेकी थिइन्। २०७५ सालसम्म पार्टीको शिक्षा विभागमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।
२०७५ फागुन १५ को एउटा दुखद् घटनाले उनलाई फेरि राजनीतिमा फर्काएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री रहेका बेला उनका श्रीमान् रवीन्द्रको ताप्लेजुङको पाथीभरा नजिकै हेलिकप्टर दुर्घटनामा परी निधन भयो। यो घटनाले उनलाई मर्माहत बनाउनु स्वाभाविक थियो। तर शोकलाई शक्तिमा बदल्ने अठोट उनले गरिन्। किनभने छोराहरू र वृद्धावस्थाका बुवाआमालाई सम्हाल्न आफै सम्हालिनुपर्ने बाध्यतामा उनी थिइन्। “मलाई त्यो बेला रुने पनि छुट थिएन। दायाँबायाँ छोराहरू हुन्थे। उनीहरूको आँसु पुछ्न मैले आँसु लुकाएको थिएँ,” २०७७ वैशाखमा एमालेको मुख्यालयमा उनले भनेकी थिइन्।
रवीन्द्रको निधनसँगै उनको विरासत धान्न भट्टराईलाई पुनः राजनीतिमा सक्रिय हुन पार्टी तथा उनका शुभचिन्तकहरूले सल्लाह दिए। यसै पनि राजनीतिमा सक्रिय रहने उनको सपना अधुरै थियो। पार्टीले उनलाई पत्यायो। २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट उठेकी उनले २४ हजार ३९४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई हराइन्।
तर ‘आँसुको भोट पाएको’ आरोप उनीमाथि लाग्यो। अर्कोतिर नेकपा एमाले र माओवादी एउटै पार्टी (नेकपा) मा भएका बेला उनको जित सहज भएको टिप्पणी पनि गरियो। तर उनी कुनै अप्रिय टिकाटिप्पणीबाट विचलित नभई सांसदको जिम्मेवारी पूरा गर्नतर्फ लागिरहिन्। मौका पाएसम्म आफ्नो निर्वाचन क्षेत्रका समस्या सदनमा उठाउने सांसद हुन् उनी। आलोचना नै गर्नुपर्दा पनि शालीन ढंगबाट गर्ने खुबी उनीसँग छ।

२०७९ मंसिरको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट उनले राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी थिइन्।
हाल आएर सत्ता समीकरण बदलिएसँगै भट्टराईले शिक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी छन्। पटक–पटक मन्त्री फेरिँदाको नीतिगत अस्थिरता र राजनीतिले थलिएको मन्त्रालयलाई माथि उठाउनु उनका लागि चुनौतीपूर्ण छ। त्यसमाथि गठबन्धनको सरकारमा मन्त्री भएर काम गर्दा उनले कति दबाब थेग्न सक्छिन् त्यो भविष्यले नै देखाउने छ।
सुमनाले अघि बढाएका कामले निरन्तरता पाउलान्?
भर्खरै एक सक्षम महिलाले नेतृत्व गरेको मन्त्रालयमा उनले थालनी गरेका राम्रा कामलाई निरन्तरता दिने अवसर भट्टराईसँग छ। यसअघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षा मन्त्री भएकी थिइन्। मन्त्री श्रेष्ठ उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्ने प्रयासमा जुटेकी थिइन्। यसलाई निरन्तरता दिने दायित्व र चुनौती नवनियुक्त शिक्षामन्त्रीलाई सँगसँगै छ।
त्यस्तै, शिक्षमन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकले लिएको राजनीतिक दलको सदस्यता परित्याग गराउने अभियान नै चलाएको थियो। यो कामलाई पनि निरन्तरता दिने जिम्मेवारी नवनियुक्त शिक्षामन्त्रीलाई छ। मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयले निर्माण गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, शिक्षा मन्त्रालयमा इन्टर्न राख्ने कार्यविधि, विद्यालय स्थापना तथा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयन हुन बाँकी छन्।
मन्त्रालयबाट विदाइ हुँदै गर्दा श्रेष्ठले भनेकी छन्, “यो मन्त्रालयले काम गर्न धेरै नै बाँकी छ। मन्त्रालयले भ्याउने जति काम गर्न सक्छ। खलबलिएको परिस्थिति बदलिन सक्छ। कर्मचारीहरूको उच्च भएको मनोबल नघटोस्। हामीले शुरू गरेका कामले निरन्तरता पाऊन्।”
निवर्तमान शिक्षामन्त्री श्रेष्ठले सोमबार एक्समा लेखेकी छन्, “आज पदभार ग्रहण गर्नुभएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईज्यूलाई हार्दिक बधाई तथा शुभकामना। यहाँको कार्यकालमा दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउने प्रयासले अझ जोडतोडका साथ निरन्तरता पाउनेछ भन्ने विश्वास लिएकी छु।”
मन्त्री भट्टराईको नियुक्तिबारे उकालोलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्, “शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न र मन्त्रालयको विज्ञान तथा प्रविधि फाँटलाई नबिर्सन उहाँसहितका सबै मन्त्री एवं सांसद्हरूसँग मेरो विनम्र आग्रह छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
